भर्खरै :

किसिङ्जर युगको पर्दा खस्दै छ

चीनको हङकङ (शेनचेन) स्थित चिनियाँ विश्वविद्यालयको मानविकी तथा समाज विज्ञान विभागका कार्यकारी डिन चेङ योङनियानले चीनबारे संरा अमेरिकी रणनीतिको विश्लेषण गर्ने क्रममा हालै एउटा नयाँ अवधारणा पस्केका छन् । उनले सो अवधारणालाई ‘उत्तर–किसिङ्जर मनस्थिति’ (पोस्ट–किसिङ्जर माइन्ड सेट) भनी नामकरण गरेका छन् । चेङका अनुसार आजको विश्व राजनीतिमा संरा अमेरिकाले रुसलाई आफ्नो लागि ‘समस्याको कारक’ माने पनि चीनलाई जस्तै रुसलाई उसले खास खतरा मानेको छैन । त्यही आधारमा उनले ‘उत्तर–किसिङ्जर मनस्थिति’ ले जरा गाड्न थालेको तर्क गरे । उनको विचारमा विगतको चीन–संरा अमेरिका–रुसको त्रिकोणात्मक सम्बन्ध अब चीन–संरा अमेरिका–भारतको नयाँ त्रिकोणात्मक सम्बन्धमा रूपान्तरण भइरहेको छ । नयाँ त्रिकोणात्मक सम्बन्धमार्फत चीनलाई घेरा हाल्न संरा अमेरिकाले भारतलाई अघि सार्न खोज्दै छ ।
संरा अमेरिकाका पूर्व विदेश सचिव हेनरी किसिङ्जरले संरा अमेरिकी विदेश नीतिमा अहम् भूमिका खेलेका थिए । शक्ति सन्तुलनको सिद्धान्तका त उनी ज्ञाता नै थिए । शीतयुद्धकालमा उनले सोभियत सङ्घसँग जुझ्न चीनसँग कूटनीतिक सम्बन्धको ढोका खोलेका थिए ।
उनको रणनीतिको सामान्य सार हो– एउटा पक्षसँग ‘मिलेर’ दुवैले तेस्रो पक्षको सामना गर्ने । यही नीतिको आधारमा पहिले सोभियत सङ्घविरुद्ध सन्तुलन कायम गर्न चीनसँग संरा अमेरिका मिल्नु र अहिले चीनविरुद्ध भारतलाई संरा अमेरिकाले आफ्नोतिर तान्नुमा कुनै भिन्नता छैन । मूलतः यसको अर्थ एउटै हो । त्यसकारण कसैले ‘उत्तर किसिङ्जर मनस्थिति’ लाई कुनै नौलो विषय मान्न सक्दैन ।
पहिलो कुरा त विश्व व्यवस्थाको प्रमुख पात्रको रूपमा रुसको भूमिकामा भारत आउनै सक्दैन । तसर्थ, चीन–संरा अमेरिका–भारत त्रिकोणलाई चीन–संरा अमेरिका–रुस त्रिकोणले विस्थापित गर्न आजको विश्व परिस्थितिमा त्यत्ति सम्भव छैन ।
संरा अमेरिकाले चीनलाई आफ्नो ‘सबभन्दा ठुलो खतरा’ को रूपमा लिएको अवस्थामा भारतलाई आफ्नो शिविरमा तान्नु संरा अमेरिकाको मुख्य मुद्दा बनेको छ । तर, यसो गर्न सजिलो भने पक्कै छैन । भारतले आफै आफ्नै घरभित्र धेरै थरी चुनौती र जटिल अन्तरविरोध सामना गरिरहेको छ । अहिले भारतमा बढ्दो कोरोना भाइरसको बिरामी पनि त्यहाँको आन्तरिक शासनले सामना गरिरहेका अनेकन जटिलताको एउटा उदाहरण हो । संरा अमेरिकाले भूराजनीतिक खेलमा भारतलाई आफ्नो महत्वपूर्ण रणनीतिक साझेदारको रूपमा व्यवहार गरे पनि केही पर्यवेक्षकहरूले भारत संरा अमेरिकाको लागि अधिकांश समय घाँडो बन्ने विश्लेषण गर्छन् ।
अर्कोतिर भारत आफै पनि संरा अमेरिकासँग वास्तवमै मोर्चाबद्ध हुन अनकनाइरहेको छ । निःसन्देह पछिल्ला वर्षहरूमा भारत आफ्नो असंलग्नताको नीतिबाट टाढा जान खोजिरहेको सही हो । आज भारत आफुलाई विश्वको प्रमुख शक्ति ठान्छ । तर, संरा अमेरिकासँग मिल्नु भारतको आफ्नो स्थापित अन्तर्राष्ट्रिय छविविपरीत हो । संरा अमेरिका र भारत दुवै जना एकआपससँगको साझेदारीमा ढुक्क छैनन् । उनीहरू एकआपसलाई पूर्णतः विश्वास पनि गर्न सकिरहेका छैनन् ।
पहिलेको चीन–संरा अमेरिका–रुसबीचको त्रिकोणात्मक शक्ति सन्तुलनजस्तै चीन–संरा अमेरिका–भारत त्रिकोणात्मक सम्बन्ध अघि बढाउन अहिले सम्भव छैन । यद्यपि, चीन र संरा अमेरिका भने अहिले ‘उत्तर–किसिङ्जर युग’मा प्रवेश गरिसकेको भन्नु उपयुक्त हुन्छ ।
किसिङ्जरले चीन र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको आधार तयार गरेका थिए । त्यसयता चीनप्रति संरा अमेरिकी नीतिमा हेरफेर भइसकेको छ । तर, ‘रणनीतिक संलग्नता’ को मूल मुद्दा भने अझै ओझेल परेको छैन । डोनाल्ड ट्रम्प सरकारदेखि नै रणनीतिक असफलताबारेको छलफल अझ सघन बनेको थियो । बाइडेन सरकारको चीन नीति पनि प्रस्ट भइरहेको छः चीनलाई उसले आफ्नो ‘सबभन्दा गम्भीर प्रतिस्पर्धी’ मानेको छ । अर्थतन्त्र, प्रविधि, सुरक्षा वा राजनीति सबै क्षेत्रमा चीनलाई संरा अमेरिकाले आफ्नो प्रतिस्पर्धी ठानेको छ । त्यसकारण, चीनप्रति संरा अमेरिकाको ‘रणनीतिक संलग्नता’ अन्त्यतिर गइरहेको बताइँदै छ । विस्तृत रणनीतिक प्रतिस्पर्धाको नयाँ युग सुरु हुँदै छ । चेङलगायतका विश्लेषकहरूको विश्लेषण पनि यस्तै छ ।
चीनले संरा अमेरिकासँग द्वन्द्वरहित, तनावरहित, आपसी सम्मान र सबैको जीत हुने विशेषतामा आधारित सम्बन्धलाई जोड दिँदै आएको छ । तर, चीनले लिएको ‘जैतुनको हाँगो’ (शान्तिको प्रतीक) लाई संरा अमेरिकाले देखे–नदेखेझैँ गरेको छ । त्यसकारण संरा अमेरिकासँगको सम्बन्ध पहिलेको जस्तो ‘हनिमुन’ अवधि हुने आशा त्याग्नुमै चीनको कल्याण छ । चीनले ढिलै भए पनि हाल त्यो बाटो चुनेको छ । दुई देशबीचको पछिल्लो उच्चस्तरीय संवादमा चीन कुनै पनि मतान्तर वा द्वन्द्वसँग डराउने छैन भन्ने कुरा देखिसकेको छ ।
किसिङ्जर युगको पर्दा खस्दै छ । तथापि, यदि संरा अमेरिका बिनासंयम चीनसँग विस्तृत प्रतिस्पर्धाको बाटोमै अडिग भइरहे रणनीतिको गलत मूल्याङ्कन हुनेछ जसले दुईपक्षीय तनाव थप सघन बन्नेछ ।
विज्ञान र प्रविधि क्षेत्रमा चीन र संरा अमेरिकाबीचको प्रतिस्पर्धाले समयान्तरमा ‘दोहोरिने’ (डिकपलिङ) को समस्या आउने विश्लेषकहरूको चिन्ता छ । जसले दुई वटा अलग–अलग उच्च प्रविधि प्रणालीको विकास हुनेछ । त्यस्तो अवस्थाले विश्व अर्थतन्त्र र विश्व आपूर्ति शृङ्खलाको सुरक्षामा असर गर्ने उनीहरूको चिन्ताको विषय बनेको छ ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद :सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *