नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
चीनको हङकङ (शेनचेन) स्थित चिनियाँ विश्वविद्यालयको मानविकी तथा समाज विज्ञान विभागका कार्यकारी डिन चेङ योङनियानले चीनबारे संरा अमेरिकी रणनीतिको विश्लेषण गर्ने क्रममा हालै एउटा नयाँ अवधारणा पस्केका छन् । उनले सो अवधारणालाई ‘उत्तर–किसिङ्जर मनस्थिति’ (पोस्ट–किसिङ्जर माइन्ड सेट) भनी नामकरण गरेका छन् । चेङका अनुसार आजको विश्व राजनीतिमा संरा अमेरिकाले रुसलाई आफ्नो लागि ‘समस्याको कारक’ माने पनि चीनलाई जस्तै रुसलाई उसले खास खतरा मानेको छैन । त्यही आधारमा उनले ‘उत्तर–किसिङ्जर मनस्थिति’ ले जरा गाड्न थालेको तर्क गरे । उनको विचारमा विगतको चीन–संरा अमेरिका–रुसको त्रिकोणात्मक सम्बन्ध अब चीन–संरा अमेरिका–भारतको नयाँ त्रिकोणात्मक सम्बन्धमा रूपान्तरण भइरहेको छ । नयाँ त्रिकोणात्मक सम्बन्धमार्फत चीनलाई घेरा हाल्न संरा अमेरिकाले भारतलाई अघि सार्न खोज्दै छ ।
संरा अमेरिकाका पूर्व विदेश सचिव हेनरी किसिङ्जरले संरा अमेरिकी विदेश नीतिमा अहम् भूमिका खेलेका थिए । शक्ति सन्तुलनको सिद्धान्तका त उनी ज्ञाता नै थिए । शीतयुद्धकालमा उनले सोभियत सङ्घसँग जुझ्न चीनसँग कूटनीतिक सम्बन्धको ढोका खोलेका थिए ।
उनको रणनीतिको सामान्य सार हो– एउटा पक्षसँग ‘मिलेर’ दुवैले तेस्रो पक्षको सामना गर्ने । यही नीतिको आधारमा पहिले सोभियत सङ्घविरुद्ध सन्तुलन कायम गर्न चीनसँग संरा अमेरिका मिल्नु र अहिले चीनविरुद्ध भारतलाई संरा अमेरिकाले आफ्नोतिर तान्नुमा कुनै भिन्नता छैन । मूलतः यसको अर्थ एउटै हो । त्यसकारण कसैले ‘उत्तर किसिङ्जर मनस्थिति’ लाई कुनै नौलो विषय मान्न सक्दैन ।
पहिलो कुरा त विश्व व्यवस्थाको प्रमुख पात्रको रूपमा रुसको भूमिकामा भारत आउनै सक्दैन । तसर्थ, चीन–संरा अमेरिका–भारत त्रिकोणलाई चीन–संरा अमेरिका–रुस त्रिकोणले विस्थापित गर्न आजको विश्व परिस्थितिमा त्यत्ति सम्भव छैन ।
संरा अमेरिकाले चीनलाई आफ्नो ‘सबभन्दा ठुलो खतरा’ को रूपमा लिएको अवस्थामा भारतलाई आफ्नो शिविरमा तान्नु संरा अमेरिकाको मुख्य मुद्दा बनेको छ । तर, यसो गर्न सजिलो भने पक्कै छैन । भारतले आफै आफ्नै घरभित्र धेरै थरी चुनौती र जटिल अन्तरविरोध सामना गरिरहेको छ । अहिले भारतमा बढ्दो कोरोना भाइरसको बिरामी पनि त्यहाँको आन्तरिक शासनले सामना गरिरहेका अनेकन जटिलताको एउटा उदाहरण हो । संरा अमेरिकाले भूराजनीतिक खेलमा भारतलाई आफ्नो महत्वपूर्ण रणनीतिक साझेदारको रूपमा व्यवहार गरे पनि केही पर्यवेक्षकहरूले भारत संरा अमेरिकाको लागि अधिकांश समय घाँडो बन्ने विश्लेषण गर्छन् ।
अर्कोतिर भारत आफै पनि संरा अमेरिकासँग वास्तवमै मोर्चाबद्ध हुन अनकनाइरहेको छ । निःसन्देह पछिल्ला वर्षहरूमा भारत आफ्नो असंलग्नताको नीतिबाट टाढा जान खोजिरहेको सही हो । आज भारत आफुलाई विश्वको प्रमुख शक्ति ठान्छ । तर, संरा अमेरिकासँग मिल्नु भारतको आफ्नो स्थापित अन्तर्राष्ट्रिय छविविपरीत हो । संरा अमेरिका र भारत दुवै जना एकआपससँगको साझेदारीमा ढुक्क छैनन् । उनीहरू एकआपसलाई पूर्णतः विश्वास पनि गर्न सकिरहेका छैनन् ।
पहिलेको चीन–संरा अमेरिका–रुसबीचको त्रिकोणात्मक शक्ति सन्तुलनजस्तै चीन–संरा अमेरिका–भारत त्रिकोणात्मक सम्बन्ध अघि बढाउन अहिले सम्भव छैन । यद्यपि, चीन र संरा अमेरिका भने अहिले ‘उत्तर–किसिङ्जर युग’मा प्रवेश गरिसकेको भन्नु उपयुक्त हुन्छ ।
किसिङ्जरले चीन र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको आधार तयार गरेका थिए । त्यसयता चीनप्रति संरा अमेरिकी नीतिमा हेरफेर भइसकेको छ । तर, ‘रणनीतिक संलग्नता’ को मूल मुद्दा भने अझै ओझेल परेको छैन । डोनाल्ड ट्रम्प सरकारदेखि नै रणनीतिक असफलताबारेको छलफल अझ सघन बनेको थियो । बाइडेन सरकारको चीन नीति पनि प्रस्ट भइरहेको छः चीनलाई उसले आफ्नो ‘सबभन्दा गम्भीर प्रतिस्पर्धी’ मानेको छ । अर्थतन्त्र, प्रविधि, सुरक्षा वा राजनीति सबै क्षेत्रमा चीनलाई संरा अमेरिकाले आफ्नो प्रतिस्पर्धी ठानेको छ । त्यसकारण, चीनप्रति संरा अमेरिकाको ‘रणनीतिक संलग्नता’ अन्त्यतिर गइरहेको बताइँदै छ । विस्तृत रणनीतिक प्रतिस्पर्धाको नयाँ युग सुरु हुँदै छ । चेङलगायतका विश्लेषकहरूको विश्लेषण पनि यस्तै छ ।
चीनले संरा अमेरिकासँग द्वन्द्वरहित, तनावरहित, आपसी सम्मान र सबैको जीत हुने विशेषतामा आधारित सम्बन्धलाई जोड दिँदै आएको छ । तर, चीनले लिएको ‘जैतुनको हाँगो’ (शान्तिको प्रतीक) लाई संरा अमेरिकाले देखे–नदेखेझैँ गरेको छ । त्यसकारण संरा अमेरिकासँगको सम्बन्ध पहिलेको जस्तो ‘हनिमुन’ अवधि हुने आशा त्याग्नुमै चीनको कल्याण छ । चीनले ढिलै भए पनि हाल त्यो बाटो चुनेको छ । दुई देशबीचको पछिल्लो उच्चस्तरीय संवादमा चीन कुनै पनि मतान्तर वा द्वन्द्वसँग डराउने छैन भन्ने कुरा देखिसकेको छ ।
किसिङ्जर युगको पर्दा खस्दै छ । तथापि, यदि संरा अमेरिका बिनासंयम चीनसँग विस्तृत प्रतिस्पर्धाको बाटोमै अडिग भइरहे रणनीतिको गलत मूल्याङ्कन हुनेछ जसले दुईपक्षीय तनाव थप सघन बन्नेछ ।
विज्ञान र प्रविधि क्षेत्रमा चीन र संरा अमेरिकाबीचको प्रतिस्पर्धाले समयान्तरमा ‘दोहोरिने’ (डिकपलिङ) को समस्या आउने विश्लेषकहरूको चिन्ता छ । जसले दुई वटा अलग–अलग उच्च प्रविधि प्रणालीको विकास हुनेछ । त्यस्तो अवस्थाले विश्व अर्थतन्त्र र विश्व आपूर्ति शृङ्खलाको सुरक्षामा असर गर्ने उनीहरूको चिन्ताको विषय बनेको छ ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद :सुशिला
Leave a Reply