भर्खरै :

सिन्जियाङ र गाजाः दुई सहरको कथा

संरा अमेरिकाको विदेश विभागअन्तर्गत अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कार्यालयका निर्देशक डानिएल नादेलले आफ्नो वार्षिक प्रतिवेदनमा ‘चीन सरकारले सिन्जियाङको सिङ्गो क्षेत्रलाई खुला कारागारमा परिणत गरेको’ लेखेका छन् । यो साता गाजा सहरमाथि भीषण हमला भइरहेको बेला संरा अमेरिकी अधिकारीबाट यस्तो प्रतिक्रिया आउनु निकै खेदजनक विषय हो ।
प्यालेस्टाइन र इजरायल
इजरायलको उपनिवेशवादी बस्ती विस्तार र प्यालेस्टाइनमाथि कब्जा सन् १९४८ मा इजरायलले राज्यको मान्यता पाएबाट नै अन्तर्राष्ट्रिय विवादको मुद्दा बन्दै आएको छ । यो विवादमा सन् १९६७ को सीमाअनुसार प्यालेस्टाइनी सार्वभौमिकता र स्वाधीनतालाई धेरै देशले समर्थन गर्दै आएका छन् । मानव अधिकारवादी सङ्गठनहरूले इजरायलको जातिवादी अपराधबारे लगातार बोल्दै आएका छन् ।
हालसालै शिख जराहनजिक इजरायलीहरूले आफ्नो देशको प्रहरीको सहायतामा त्यहाँ बस्दै आएका प्यालेस्टाइनीहरूलाई जबरजस्ती धपाउँदा चर्को विरोधको लहर उठ्यो । इजरायलीहरूको त्यो हमलालाई आलोचकहरूले चौथो जेनेभा महासन्धिको उल्लङ्घनको रूपमा लिए ।
रमादान पर्वको अन्तिम शुक्रबारको दिन इस्लाम धर्मावलम्बीहरूको तेस्रो पवित्र थलो प्यालेस्टाइनको जेरुस्लामस्थित अल अक्स मस्जिदमा प्रार्थना गरिरहेका भक्तजनहरूमाथि इजरायली प्रहरीले जथाभावी ग्रिनेड हमला गरेका थिए । भक्तालुहरूलाई तितरबितर बनाउन उनीहरू मस्जिदभित्रै हतियार लिएर पसेका थिए । रमादानको अन्तिम शुक्रबार मुसलमानहरूले उल्लासपूर्वक इद मनाउने गर्छन् । तर, प्यालेस्टाइनी मुसलमानहरूले त्यो उल्लासपूर्ण पर्व आफ्ना आफन्तजनसँग बसेर खुसियाली बाँड्न पाएनन् । बरु उल्टो प्यालेस्टाइनी इसाई, यहुदी र विभिन्न आस्थाप्रति आस्थावान प्यालेस्टाइनी जनताका प्रियजन इजरायलको हवाई हमलामा परी मारिए र कति आफ्नो घर छोडेर भाग्न बाध्य भए ।
गत साता एक सत्न्दा बढी सर्वसाधारण प्यालेस्टाइनी इजरायली हमलामा परी घाइते भए । तीमध्ये दर्जनौँ बालबालिका थिए । इजरायली सेनाको सैनिक कारबाहीअन्तर्गत बमवारी हुँदा हजारौँ प्यालेस्टाइनीहरू विस्थापित भए । इजरायली अतिवादीहरूले प्यालेस्टाइनी परिवारहरूमाथि हमला गरेको समाचार प्रकाशित भएका छन् । त्यसलाई जातीय सफाया र धार्मिक दमन मान्न सकिन्छ ।
संरा अमेरिकाले एकतर्फीरूपमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्लाई वक्तव्य जारी गर्न रोक लगायो । त्यस्तै इजरायलीहरूले धार्मिक थलोमाथि हमला गर्दा इजरायल–प्यालेस्टाइनबीचको द्वन्द्व अझ तनावपूर्ण बनेको विषयमा छलफल गर्न बोलाइएको आकस्मिक बैठक पनि संरा अमेरिकाले रोक्यो । बैठकको लागि सुरक्षा परिषद्का १५ जना सदस्यमध्ये १४ जनाले पक्षमा मतदान गरे भने संरा अमेरिकाले विपक्षमा मतदान ग¥यो ।
सिन्जियाङ मुद्दा
पश्चिमा सर्च इन्जिनहरू (इन्टरनेटमा कुनै पनि विषयबारे खोजी गर्ने थलो) मा ‘खुला कारागार’ शब्दको खोजी गर्दा सिन्जियाङ उइगुर स्वशासिन क्षेत्रबारे पश्चिमा समाचार, लेख र तस्वीरहरूमात्र आउने गर्छ । चीनले पहिले नै खण्डन गरिसकेको यातना गृह र इस्लामिक धर्मावलम्बीहरूप्रतिको दमनको बारेमा समाचार र तस्वीर देखाउने गरेको छ । चिनियाँ सामाजिक सञ्जालहरूले राखेका सिन्जियाङको इद–कह मस्जिदमा र चीनका अन्य स्थानहरूमा पनि इद मनाइरहेका दर्जनौँ दृश्य भने ती सर्च इन्जिनले देखाउँदैनन् ।
बरु, संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएको पैसाबाट चलेको रेडियो फ्रि एसिया (आरएफए) ले प्रायोजितरूपमा सिन्जियाङमा धार्मिक पर्व मनाउन मानिसहरूलाई पैसा दिने गरेको र त्यही दृश्याङ्कन गरेर प्रसारण गर्ने गरिएको बताएको छ । आरएफएले पहिले एडरियन जेन्जको अनुसन्धानलाई आधार मानेर सिन्जियाङमा मुसलमानहरूलाई आफ्नो धार्मिक आस्थाअनुसार अभ्यास गर्न रोक लगाएको बताउने गरेको थियो । त्यसकारण, ती पात्रहरूलाई मेरो प्रश्न–चीनले सिन्जियाङमा त्यहाँका जनतालाई धार्मिक दमन गरिरहेको छ वा धर्म मान्न कर गरिरहेको छ ?
पश्चिमा सञ्चारमाध्यमको निम्ति सत्य पक्कै पनि नाप्न नसकिने होला । तर, सत्य के हो भने मुसलमान जनताको ठुलो उपस्थिति भएको विश्वको भूभागले बिनायुद्ध, हिंसा वा वैदेशिक हस्तक्षेप प्रगतिको बाटोमा अघि बढ्न सक्छ ।
संरा अमेरिकाको नैतिक पतन
आरएफएले संरा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आदिवासी प्यालेस्टाइनी जनतामाथिको इजरायलको आतङ्कपूर्ण हमला किन अस्वीकार गरिएन भन्ने विषयमा प्रश्न गर्नसक्छ । इजरायललाई वार्षिक ३ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सैनिक सहायता किन दिइयो भन्ने विषयमा सोध्न सक्छ ।

संरा अमेरिकाले जलवायु परिवर्तन कार्यक्रममा खर्च गर्ने पैसाभन्दा यो बढी हो ।
त्यस्तै हिंसाको मुख्य दोषीको रूपमा हमासलाई एक्ल्याउनु संयुक्त राष्ट्र सङ्घको प्रस्ताव ३७÷४३ लाई उपेक्षा गर्नु हो । सो प्रस्तावले आफ्ना जनताको स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, उपनिवेश तथा वैदेशिक दमनबाट मुक्तिको लागि सशस्त्र सङ्घर्षसहित सम्भव सबै उपाय अपनाउन सक्ने प्यालेस्टाइनी अधिकारलाई उपेक्षा गर्छ ।
हमास नामको राजनीतिक सङ्गठनको सैनिक अङ्गसँग भएको घरेलु रकेट र संरा अमेरिकाबाट प्राप्त अरबौँ डलर सहायताबाट बनेको इजरायली सुरक्षा प्रणालीबीच तुलना हुनसक्दैन । गाजामा पछिल्लो एक सातामा मारिएका, घाइते र विस्थापित भएका प्यालेस्टाइनी जनता र तेल अभिभमा यो समयमा घाइते र मारिएकाहरूको सङ्ख्याको तुलनाबाट यो कुरा प्रस्ट हुन्छ ।
केही दिनअघि मात्र इजरायली सेनाले एसोसिएट प्रेस र अल जजिराजस्ता सञ्चारमाध्यमको कार्यालय रहेको भवनमै हवाई हमलाबाट ध्वस्त बनायो । इजरायली सेनाले एक घण्टा अघि पूर्वसूचना जारी गरेको थियो ।
प्यालेस्टाइनी जनतामध्ये ६९ प्रतिशत २९ वर्षभन्दा कम उमेरका छन् । यी युवाहरूले आफ्नो जीवन नै युद्ध र हिंसामा बिताएका छन् । सबभन्दा टीठलाग्दो कुरा के हो भने सघन जनसङ्ख्या भएको गाजा क्षेत्रको कुल जनसङ्ख्याको ४९ प्रतिशत बालबालिका छन् । त्यसको अर्थ उनीहरूको सम्पूर्ण बाल्यकाल त ‘खुला कारागारभित्र कैद’ रह्यो ।
‘खुला कारागार’ यो शब्द प्यालेस्टाइनी जनताबीच निकै प्रयोगमा थियो जब प्यालेस्टाइनी जनतालाई इजरायलले थोपरेको अवैध नाकाबन्दीको कारण गाजामा कसैलाई पस्न वा बाहिर जान पनि अनुमति दिइएको थिएन । त्यसैकारण गाजाका जनताको घरमा बत्ती बल्ने समय सीमित थियो, गाजाभन्दा बाहिर गएर स्वास्थ्योपचार गर्ने उनीहरूलाई अनुमति छैन । गाजामा सीमित सङ्ख्यामा मात्र कोभिड–१९ को खोप पुगेको छ ।
यी सबैबीच संरा अमेरिकाले प्यालेस्टाइनी जनताको सार्वभौमिकतालाई अस्वीकार गर्दै आएको छ । प्यालेस्टाइनी जनताविरुद्ध इजरायली युद्ध अपराधबारे अन्तर्राष्ट्रिय अदालतमा अनुसन्धान गर्ने विषयमा पनि अमेरिका विपक्षमा छ ।
चीन र प्यालेस्टाइनको सन्दर्भमा संरा अमेरिकाको राजनीतिक धारणा घामजत्तिकै प्रस्ट छ । अमेरिकाले नैतिकतालाई वास्ता गरेको छैन । मानव अधिकारको सम्मान गरेको छैन । बरु, संरा अमेरिकाको एकध्रुवीय विश्वलाई मान्यता दिने शक्तिलाई नै उसले साथ दिने गरेको छ ।
(लेखक लण्डनमा आधारित स्वतन्त्र राजनीतिक टिप्पणीकर्ता र सार्वजनिक क्षेत्रका कामदार हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *