भर्खरै :

कोरोनासँगको लडाइँमा शासकहरूको पराजय !

‘मृत्युको कबुलियतनामा’ शीर्षकको समाचारमा थप लेखिएको छ – ‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन ।’
३५ वर्षको बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । बिरामीको नाम हो – जिवनराम गिरी र बिरामीको अभिभावकको नाम – अग्निराम गिरी । ‘अति संवेदनशील मञ्जुरीनामा ।’ सहीछाप… । (नयाँ पत्रिका, ३० वैशाख २०७८)
वीर अस्पतालको बिरामी सङ्ख्या–१६०, आवश्यक अक्सिजन ३०० सिलिन्डर, कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आपूर्तिको हस्तक्षेपका कारण कोटा दियो– दैनिक ३०० सिलिन्डर र आपूूर्ति ३० सिलिन्डर !?
त्रिवि शिक्षण अस्पतालमा बिरामी सङ्ख्या ३४५ जना, आवश्यक अक्सिजन ३०० सिलिन्डर, सीसीएमसीको कोटा १५० सिलिन्डर र आपूर्ति १०० सिलिन्डर ?
बानेश्वरको सिभिल अस्पतालमा बिरामी सङ्ख्या ८४, आवश्यक अक्सिजन १०० भन्दा बढी र सीसीएमसीको कोटा ६० सिलिन्डर तथा उपलब्ध ३० सिलिन्डर ।
भक्तपुर अस्पतालमा बिरामी सङ्ख्या ७४ जना, आवश्यक अक्सिजन २०० सिलिन्डर, कोभिड सङ्कट व्यवस्थापन केन्द्रबाट कोटा ५० सिलिन्डर र आपूर्ति शून्य (०) ।
अस्पतालहरूमा रोगीहरू भटाभट मर्न थाले– अक्सिजन नपाउँदा ¤ कोभिड सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष हुन् – उपप्रधानमन्त्री ईश्वर पोखरेल !
पैसा तिरेर पनि अस्पतालमा अक्सिजन नपाउनु भनेको बिरामीहरूले नचिताएको विषय हो । यसमा सरकार अर्थात् शासक दलहरू – नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी (प्रचण्ड), जनता समाजवादी पार्टी वा सरकारमा सहभागी अन्य राजनैतिक दलहरू र ती पार्टीका नेता एवम् मन्त्रीहरू, केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी आदि सबै जिम्मेवार छन् ।
३ जेठको ‘मजदुर’ दैनिकमा सांसद प्रेम सुवालको सम्बन्धित सबै मन्त्री र कर्मचारीहरूलाई समेत फोनबाटै ध्यानाकर्षण, अनुरोध, आग्रह छापियो । प्रम ओलीको प्रमुख निजी सचिव इन्द्र भण्डारी, सल्लाहकार विष्णु रिमाल, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल, औषधी विभागका महानिर्देशक भरत भट्टराई आदिलाई अक्सिजनको हाहाकारबारे अवगत गराएको पढ्ने अवसर पाठकहरूले पाए ।
माननीय प्रेम सुवाललाई राम्रै थाहा होला, साधारण जनताको घर–घरमा भरे तथा भोलिको निम्ति अलिकति पानी, खानेपानी र औषधीमूलोको झारपातसमेत जोहो गरेर राखिएको हुन्छ । तर, सरकारले अर्थात् प्रम, स्वास्थ्यमन्त्री, सचिव, डाइरेक्टर तथा हाकिमहरूले २–४ महिनाको निम्ति अग्रिम जरुरी सामान अर्थात् अक्सिजन, भेन्टिलेटर वा औषधी र उपचारका साधनहरू पहिले नै जगेडा किन राखेनन् !?
कोभिड–१९ हिजो वा आज आएको होइन, एक डेढ वर्षदेखि हाहाकार मच्चाइरहेकै विषय हो । यदि यसमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्री जिम्मेवार छैनन् भने सचिव, डाइरेक्टर, सम्बन्धित हाकिमहरू वा औषधी व्यवस्था विभागका महानिर्देशक के हेरेर बसे ? जनताले तिनको तलबको निम्ति त्यसै कर तिरेका होइनन् । आगलागी हुँदा बेवास्ता गर्ने वारुण यन्त्र (दमकल) कार्यालयमा ढुङ्गामुढा गर्ने जनताले देशमा यत्रो हाहाकार हुँदा माथिका सम्बन्धित प्रधानमन्त्रीका दाबेदार, मन्त्री र कर्मचारीहरूमाथि किन केही कारबाही गर्न तयार छैनन् ?
सिंहदरबारका माथि उल्लिखित पदाधिकारीहरूको मनमा होला – काठमाडौँमा दुई–चार हजार होइन दुई–चार लाख मान्छे मरे पनि ठीकै हो– काठमाडौँको बोझ हट्ला !
यो पूरै प्रतिगामी र अपराधी सोच हो ! होइन भने, किन राज्यले केही अरबको अक्सिजन र अन्य सामाग्रीको बन्दोवस्त गरेन ? के काठमाडौँमा आज एउटै जाति र भाषाभाषी मात्र बसेका छन् ? समयमै देशको सन्तुलित विकास नगरेको हुँदा उपचारको निम्ति स्वाभाविकरूपले पीडितहरू राजधानी आउने कुरो माथि उल्लेख भएका नाम र पदाधिकारीहरूलाई थाहा नहोला ? कस्तो असंवेदनशीलता ¤ कस्तो गैर जिम्मेवारी, कस्ता देशविरोधी र जनद्रोहीहरू !?
राजनीति भनेको खाली पदको ‘कुकुर झगडा’ सम्झनेहरूले बेलायती पुँजीवादी क्रान्तिको पराजयपछि क्रामबेलदेखि राजासम्मलाई ज्यान सजाय दिने अदालतका मुख्य र अन्य बहुमत न्यायाधीश तथा पदाधिकारीहरूलाई समेत ज्यान सजाय भएको सम्झनुपर्छ । चिहान खनेर कङ्काललाई झुन्ड्याइएको थियो । माथिल्ला कर्मचारीहरूलाई मात्रै होइन, तिनीहरूका छोरा–छोरी र नाता–गोतासमेत घुन पिसिएजस्तै पिसिएका थिए । बालुवाटार, सिंहदरबार र शितलनिवास सधैँ अहिलेका शासक दलहरूको मात्रै हुने छैन । किनभने, संसार परिवर्तनशील छ ।
फ्रान्सेली राज्य क्रान्तिमा राजाले विदेशीसँग मिलेर आफ्नै देशमाथि आक्रमण गराउन खोजेको हुँदा राजारानीलाई मानिस मार्ने यन्त्र ग्यालोटिनबाट शिर छेदन गराइएको थियो । प्रतिक्रान्तिकारीहरूले षड्यन्त्र गर्दै थिए । त्यस बेलाका ज्याकोबिन दलका नेताहरू रोबेस्पियर, दाँते र माराटले देशविरोधी उद्योग वाणिज्यवालाहरूलाई खबरदारी गरेका थिए । यदि सीमामा लड्ने सिपाहीहरूले भोलि बिहानसम्ममा जुत्ता पाएनन् भने कुनै पनि उद्योगपति र व्यापारीले जुत्ता लगाउन पाउने छैनन् ।
देश र जनतालाई विश्वासघात गर्ने उद्योगपति र व्यापारीहरूको ग्यालोटिनमा राखी शिर छेदन गरिएको थियो । तर, अहिले कालाबजारिया, उद्योग–व्यापारीहरूले अक्सिजन सिलिन्डर लुकाएका छन् । शासक दलका नेताहरूले पदको निम्ति र अर्को निर्वाचनको निम्ति काला बजारियाहरूसँगै लेनदेन गर्दै गरेको हल्ला गल्लीगल्लीमा सुनिन्छ – जनताको लाससँगै ।
तर, इतिहासको पाठ तीतो छ – पद र पैसाको निम्ति नेका, एमाले, माओवादी र जसपाका नेताहरू ‘कुकुर झगडा’ गरिरहेका छन् । तर, ‘आतङ्कको राज्य’ मा मुख्य – मुख्य नेताहरू गल्ली, सडक र ग्यालोटिनमा मारिएको इतिहास तिनले सम्झनुपर्छ ।
जनताको लाससँग खेलबाड गर्ने नेताहरूले बुझ्नैपर्ने विषय हो – राजनीतिको अर्थ देश र जनताको हितलाई नै प्राथमिकता दिने हो, व्यक्तिगत हितलाई होइन ।
निर्वाचनमा कसले जित्ने प्रश्नभन्दा जनताको निम्ति कोभिडलाई कसरी पराजित गर्ने र रोगीहरूको जीवन कसरी बचाउने भन्ने हुनुपर्छ । कालाबजारिया र अस्पतालको नाममा रोगीहरूलाई निचोरेर मार्नेहरू पनि मानसिकरूपले स्वस्थ हुने छैनन् र तिनीहरूका छोराछोरीले पनि आफ्नै आमाबुबालाई माफी दिने छैनन् ।
यही भावना अहिले अस्पतालहरूमा बगिरहेका आँसु र सुस्केराहरूमा अनुभव गरिँदै छ ।
समयमै सबैको दृष्टिकोण सकारात्मक विषयमा जाओस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *