भर्खरै :

कोभिड महामारीको दोस्रो प्रहार !

शोकको पोखरीमा !
३ जेठ २०७८ । गएको एक सातामा यो लेखकका केही मित्रहरूलाई ‘कालले मिति नपुग्दै’ लिएर गयो, अफसोस ! कोभिड महामारीबाट अल्पायुमा बित्नेमध्ये तपाईँ पाठकसमेतका चिनजानका मानिस धेरै होलान् । हामी नेपालीहरू हजारौँ मानिसको मृत्युको शोक मनाइरहेका छौँ । नेपालको ‘स्वास्थ्य प्रणाली विकलाङ्ग’ भएको हेरिरहन हामी ‘अभिशप्त’ छौँ ।
आफन्तजनको मृत्यु कसैको निम्ति पनि प्रिय हुँदैन । कोही चिनेजानेका अल्पायुमा बित्दा त्यस्तो खबर भने खपिनसक्नु हुन्छ । आईसीयू र भेन्टिलेटरको खोजी गर्दागर्दा कसैको प्रियजनको मृत्यु हुन्छ भने त्योजतिको पीडादायी कुरा उसको निम्ति अरू के होला ¤ अस्पतालको प्राङ्गणमा अश्रुधारा बगाइरहेका मानिसको उच्छवास वेदनाको गहिराइबाट विस्फोट हुँदा कति दुख्छ होला ! मृतकप्रति श्रद्धाञ्जलीको दुई थुँगा फूल र एक अञ्जुली पानी पनि चढाउन नसकिने यो महाव्याधीको समयमा आममानिसमा एकखालको विरक्तिभाव आउनु स्वाभाविक हो । तैपनि, मानिससँग एउटा अद्भूत क्षमता छ – धैर्य !

रोगव्याधि स्वाभाविक हो तर अहिले धेरैजसो मृत्यु अस्वाभाविक भइरहेको छ नेपालमा । यसै कुराले आममानिसलाई चिन्ताग्रस्त बनाइरहेको छ, निरीहताको ‘मृत सागर’ मा अत्तालिरहेका छन् मानिसहरू !
अकस्मात् आउने यस्ता असह्य परिस्थितिको कसरी सामना गर्ने ? शोकलाई शक्तिमा बदल्ने कसरी ? आगामी दिनमा मानिसमा आउनसक्ने मानसिक तथा सामाजिक समस्या र त्यसको समाधानका उपाय के के होलान् ? हाम्रो समस्याका जरा र हाँगा कहाँ छन् ? यो महामारी नियन्त्रणको निम्ति नागरिकको भूमिका के हुन्छ ? आदि विषयमा बहस तथा छलफल पनि भइरहेका छन् ।
कोभिडका केही उदाहरणहरू
कोभिड–१९ महामारीको समयमा नेपालको नक्सामा यतिखेर सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला, पूर्वी तराई र पूर्वी नेपालका हिमाली क्षेत्रबाहेक सबै ठाउँमा ‘रातो रङ्ग’ पोतिएको देखिन्छ । काठमाडौँ उपत्यका र लुम्बिनी प्रदेशको अझ गाढा रातो रङ्गले ‘कोरोना भाइरसको हटस्पट’ भन्ने बुझाउँछ । दैनिक ८–९ हजार कोरोना सङ्क्रमित थपिँदै गरेकामध्ये आधाजसो काठमाडौँ उपत्यकामा छन् । २०७८ को वैशाखमा मात्र देशभर १ लाख बिरामी थपिएकोमा (२०७७ को वर्षभरिमा जम्मा ३ लाख सङ्क्रमित थिए) आधाजसो काठमाडौँ उपत्यकावासी छ । काठमाडौँ उपत्यकावासी कसरी कोरोना भाइरस सङ्क्रमणको चपेटामा परे ? यो पङ्क्तिकारले केही घटनाको अध्ययन गरेको छ ।
प्रस्तुत कोभिडका केस भने भक्तपुर नगरपालिकाकेन्द्रित हुन् । जनघनत्वको हिसाबले सबभन्दा बढी आबादी भएको नगर मानिन्छ यो नगरपालिका । कोभिड–१९ बाट सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङको क्रममा भक्तपुर नगरपालिकाले २०७७ पुस २२ गतेदेखि फागुन ५ गतेसम्म गरेका ५१ वटा पीसीआर परीक्षणमा जम्मा ११ वटा केसमात्र पोजिटिभ भेटिए । त्यसपछि (२०७७ चैत ३१ सम्म) गरिएका कन्ट्याक्ट ट्रेसिङ परीक्षणमा कोही पनि पोजिटिभ भेटिएनन् । तर, २०७८ वैशाख ९ गते १५ जनामा गरिएको कन्ट्याक्ट ट्रेसिङ परीक्षणमा ६ जना पोजिटिभ निस्किए । यसलाई नै भक्तपुरमा कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएको प्रमाण मान्न सकिन्छ ।
केस नं १
२०७८ वैशाख २ गते भक्तपुर नगरपालिका वडा नं ८ का लालबहादुर कोजू (नाम परिवर्तन) आफ्नी श्रीमती र छोरोसहित टोलवासीहरूसँग मुक्तिनाथ भ्रमणमा गए । सो टोलीमा ५३ जना थिए । सबैजना वैशाख ६ गते बेलुका यात्राबाट आ–आफ्नो घर फर्र्किए । लालबहादुरकी आमाको आँखाको उपचारको निम्ति कोभिड–१९ बाट सङ्क्रमित भएनभएको पत्ता लगाउन वैशाख ८ गते पीसीआर गराउनुपर्ने भयो । उनकी आमालाई कोभिड भएको रहेछ । वैशाख ९ गते सपरिवारको परीक्षण गराउँदा घरका अन्य ४ जनालाई पनि कोभिड भएको रहेछ । वैशाख ६ गते लालबहादुरको दाजुको श्राद्ध गरिएको रहेछ, त्यस दिन परिवारका सदस्यका साथै अरू नातेदार पनि लालबहादुरको घर आएका थिए । आफ्नो परिवार कसरी सङ्क्रमित भयो भन्ने बारेमा लालबहादुरलाई ठ्याक्कै थाहा छैन । तर, सँगै मुक्तिनाथ भ्रमणमा गएका टोलीको अर्को एक जोडीमा पनि पीसीआर पोजिटिभ देखिएबाट भ्रमणको क्रममा रोग सरेको देखिन्छ । भ्रमण टोलीका सँगै हिँडेका अरू सदस्यहरूले पीसीआर परीक्षण नगरेकाले पनि हुनसक्छ, कसैको केस रिपोर्टिङ भएको छैन । अथवा, सामान्य रुघाखोकी वा ज्वरो ठानेर अरूले बेवास्ता गरेको पनि हुनसक्छ वा तिनीहरूमा जटिल लक्षण नदेखिएको पनि हुनसक्छ । तर, भक्तपुरमा लालबहादुर कोजूको केस नै दोस्रो लहरको सुरुआती केसमध्ये भएको अनुमान गर्न सकिन्छ ।
केस नं २
क्यान्सरको आशङ्का भएपछि त्यसको परीक्षणको निम्ति भारतको कुनै अस्पताल गएर वैशाखको पहिलो साता नेपाल फर्किएका भनपा वडा नं ८ का प्रवोध प्रजापति (नाम परिवर्तन) को कोभिड परीक्षण नै नगराई किमोथेरपी सुरु गरिएको थियो । रोगका अरू लक्षणको आधारमा आशङ्का भई कोभिड परीक्षण गराउँदा परिणाम पोजिटिभ आयो, त्यतिबेलासम्ममा परिवारका अन्य सदस्यलाई रोग सरिसकेको रहेछ । कोभिड चेक नै नगरी किमोथेरपी गरिँदा बिरामी नराम्ररी थलिए । धेरै दिनसम्म भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भयो ।
केस नं ३
भक्तपुर कमलविनायककी कमला श्रेष्ठ (नाम परिवर्तन) भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ‘आइसोलेसन केन्द्र’ मा बसी उपचाररत छिन् । नारायणघाट माइती गएकी श्रेष्ठ वैशाखको पहिलो साता माइतीघरको ‘घरपूजा’ सकाएर भक्तपुर फर्किँदा गाडीमा भिडभाडमा परिन् । घर फर्किएको ३–४ दिनमा उनलाई ज्वरो आयो, निको होला कि भनेर ६ दिनसम्म घरमै बसिन् । कमलालाई सास फेर्न गा¥हो हुनथाल्यो, खान मनलाग्न छोडेपछि पीसीआर परीक्षण गराइन् । नतिजा पोजिटिभ आयो । त्यतिबेलासम्ममा परिवारका केही व्यक्ति सङ्क्रमित भए, अरू कतिजना सम्पर्कमा आए, त्यसको हिसाब छैन । अक्सिजन स्याचुरेसन बिन्दु ७७ मा झरेपछि कमला भनपाले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा भर्ना भइन् । खुसीको कुरा कमला अहिले स्वास्थ्यलाभ गर्दै छिन् ।
केस नं ४
ललितपुर अस्थायी बसोबास गरिरहेका कुुुसुम बोहजू (नाम परिवर्तन) लाई वैशाखको दोस्रो सातातिर खोकी लाग्यो । स्थानीय एउटा औषधी पसल सञ्चालकले सामान्य रुघाखोकी हो, निको हुन्छ भनेर केही औषधी दिएछन् । उनी ज्वरो अलिकति कम भएको अनुभव भएपछि श्रीमती र एउटा बच्चासाथ भक्तपुर वडा नं ८ स्थित आफ्नो घर आएर बस्नथाले । तर, ज्वरो र खोकी घटेन । कुसुमकी श्रीमतीमा पनि लक्षण देखापर्न थालेको थियो तर सामान्य रुघाखोकी भनेर तिनीहरू चुपचाप बसे । सास फेर्न गा¥हो हुन थालेपछि पीसीआर परीक्षण गर्दा पोजिटिभ देखियो । त्यतिबेलासम्ममा घरका अन्य सदस्य तथा आफन्तमा कोभिड फैलिसकेको थियो ।
लामो समयपछि घर आएको नाति ‘सबैको प्यारो’ हुन्छ  । माया गरी काखमा लिइन्, सिँगान पुछिदिइन् हजुरआमाले । तीन वर्षको बच्चालाई आफन्त र छरछिमेकका अन्य केटाकेटीसँग खेल्न दिइयो । एकाघरका ६ जना सदस्यको भान्सा एउटै थियो । बच्चामा रोगको कुनै लक्षण देखानपरे पनि उसबाट सर्ने सम्भावना छँदै थियो । त्यसको ख्याल नै नगर्दा सङ्क्रमण फैलियो । कुसुमका दम्पति पनि भनपाको आइसोलेसन केन्द्रमा स्वास्थ्यलाभ गर्दै छन् ।
प्रस्तुत केही घटनाबाट भक्तपुरमा कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर कसरी फैलियो भन्ने कुराको छनक पाइन्छ । यस्ता कैयौँ केस होलान्, यो सानो आलेखमा ती सबैको विश्लेषण गर्न सकिन्न । यसबाट काठमाडौँ उपत्यका कोभिड–१९ को ‘हटस्पट’ कसरी बन्न गयो भन्ने बुझ्न सजिलो हुन्छ कि !
माथि प्रस्तुत सबैजसो घटनाका पात्र वा तिनका परिवारका सदस्यमध्ये कोही न कोहीले कलेजस्तरको शिक्षा प्राप्त गरेका रहेछन् । यसमानेमा ती ‘कोही’ पनि कोभिड–१९ बारे सूचनाविहीन वा जानकारी राख्न नसक्ने त होइनन् तर किन असावधानी भयो ? कि त कोरोना भाइरस केही होइन भनेर त्यसै बसे ? ती पात्रहरू रोगको लक्षण देखिनेबित्तिकै सचेत नहुँदा रोग फैलिरह्यो । यसले हाम्रो शिक्षाको गुणस्तरमाथि नै प्रश्न गरिरहेको छ ।
यसैबीच ‘लगन’ को नाममा विवाह समारोहमा भएका जमघटबाट सङ्क्रमण बढिरहेको पाइएको छ । सरकारबाट जारी निषेधाज्ञामा भनिएझैँ कतिपयले घरका सदस्यमात्र बसेर विवाहको औपचारिकता पु¥याउने काम गरेको देखिन्छ । यसै अवधिमा सगर्व ‘आमाको मुख’ पनि हेरियो । नेवार समुदायका केही मानिसले स्थानीय नगरपालिकाको आह्वानविपरीत आइतबार र अक्षय तृतीयाको दिन देवाली पर्व मनाएका छन् । आफ्नो परिवारमात्र बसेर देवालीको ‘सामाजिक भोज’ खाएका छन् । यसको दुष्परिणाम आउन बाँकी छ ।
समुदाय परिचालन उत्तम उपाय
छिमेकी भारतको केरला प्रान्त कोभिड महामारी नियन्त्रणमा सफल हुनुमा जनसमुदायको क्रियाशिलता मानिएको छ । चीन, क्युवा, भेनेजुयलाको सफलतामा पनि स्थानीय जनसमुदायको सक्रियता, जिम्मेवारीबोध र आपसी सहयोगलाई मुख्य कारक मानिएको छ ।
समुदायमा कोही सङ्क्रमित भएमा आवश्यक औषधी, खाद्यान्न, तरकारीलगायत आवश्यक सामान घरसम्म पु¥याइदिने काम तालिमप्राप्त स्वयम्सेवकहरूले गर्नसक्छन् । रोग लागिसकेपछि छरछिमेक र आफन्तले प्रेम र सद्भाव देखाउँदा बिरामीको रोग आधा निको हुनसक्छ ।
वडा वा टोलमा बसोबास गर्ने चिकित्सक, नर्स वा स्वास्थ्यकर्मीको समन्वयात्मक भूमिकासहित घरघरमा आइसोलेसनमा रहेका स्थानीय रोगीलाई आवश्यक चिकित्सकीय सल्लाह दिन सकिन्छ । तिनले नै बिरामीलाई खानपानसम्बन्धी सल्लाह र ढाडस दिने हो भने रोग जटिल हुन पाउँदैन । कोरोना पोजिटिभ भएको सुन्नेबित्तिकै आत्तिने र रोइकराइ गरेका घटना पनि सुनिन्छ । तनावले रोग झन् बल्झिने स्थिति बन्छ । जस्तो, कुनै बिरामीले सास फेर्न गा¥हो भएको सूचना दियो भने घरमै गर्नसक्ने उपचार, कुन अवस्थामा अस्पताल जाने भन्नेबारे टोल वा गाउँका स्वास्थ्यकर्मीले सल्लाह दिन सक्छन् । कुन अस्पतालमा बेड खाली छ भन्नेसमेत बिरामीले नै बुझ्नुपर्ने अवस्थाले गर्दा बिरामीलाई झनै गलाएको छ । समुदायमा स्वास्थ्यज्ञान भएका स्वयम्सेवकले बिरामीलाई अस्पताल पु¥याउन आवश्यक सहयोग गर्न सक्छन् । आजकल टेलिप्याथीको माध्यमबाटै कसैको उद्धार उपचार कार्यमा सहभागी हुन सम्भव छ ।
इन्फोडेमिकबाट बचौँ !
विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीको क्रममा फैलिएको गलत सूचनाको महामारी (इन्फोडेमिक) ले जनस्वास्थ्यमा नकारात्मक असर पारेको जनाएको छ । कोभिड–१९ बाट मुक्त हुने प्रयासमा भारतमा नाकमा कागतीको रस हाल्दा एकजनाकोे मृत्यु भयो । भारतबाटै ‘गोमुत्र र गोबर दलेर कोरोनाको प्रतिरोध’ गरेको खबर आएको छ । कोभिड पोजिटिभ देखिएको जानकारी पाएपछि आफ्नो रोग अरूलाई सर्ने डरमा भारतमै एक दम्पतिले आत्महत्या गरे ।
भारतमा शङ्ख फुकेर, बत्ती बालेर र घण्टी बजाएर ‘कोरोना भगाउने जुक्ति’ पनि गरियो । आजको हाहाकार देख्दा भन्न मन लाग्छ – नेपाली शासकहरू पनि ‘कोरोना माई’ को पूजामा सीमित रहे । समय छँदासम्म कालो माटोको टीका लगाएर कोरोना सङ्क्रमणबाट बच्न खोज्ने पिछडिएको नेपालीजनको साक्षी भइरह्यो यो ‘प्रगतिशील’ सरकार !

कुनै मानसिक विकृति आएमा मनोपरामर्शदातासँग सहयोग माग्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा नातागोता वा साथीसङ्गातीसँग कुराकानी गर्ने, आराम गर्ने, लामोलामो सास फेर्ने अभ्यास गर्ने, राम्रा पुस्तक पढ्ने वा अनलाइनमा पाइने रमाइला सामग्रीको आस्वाद गर्नु पर्दछ । आफूलाई मात्र दुःख आइपरेको नसम्झेर संसार नै यो महामारीबाट पीडित भएको अवस्थामा धैर्य गर्नु ठूलो औषधी हुन्छ । यो महामारीको दोस्रो लहरमै कोभिड–१९ को अन्त्य हुने छैन, अहिले सङ्क्रमण दर बढिरहेको छ । यो बिस्तारै कम हुँदै जानेछ । तर, हामी सबैले अर्को लहरको निम्ति तयारी गर्न ढिलाइ गर्नु हुँदैन ।

नेपालीको रोगप्रतिरोधी क्षमता उच्च रहेको र कोरोना भाइरसले नेपालीलाई सङ्क्रमित गर्दैन भन्दा नेपालका प्रम केपी ओली विवादित बनेका थिए । प्रम ओलीले यो रोगबाट बच्न बेसारपानी खाए पुग्ने, नेपालीको भान्सामै कोरोनाको औषधी भएको तर्क गरिरहेकै कारण आज अक्सिजनको हाहाकार मच्चिएको छ । गत वर्ष यो महामारी नेपालमा नफैलिँदै नेपालीले बीसीजी, डीपीटीजस्ता अनेक खोप लगाएका र धुलोधुवाँ खपेकाले कोरोना सङ्क्रमण नभएको भनेर प्रचार गरियो । वैशाख–जेठको गर्मीमा रुघाखोकी लाग्दैन, कोरोना सङ्क्रमण पनि हुँदैन भनियो गत वर्षको सुरुआतमै ।
सामाजिक सञ्जालमा आएका सूचनाको परीक्षण नै नगरी अरूलाई पठाउँदा आज ‘सूचना महामारी’ बाट नेपाली पनि आक्रान्त भएका छन् । यस्ता अन्धविश्वास तथा भ्रम चिर्न समाजमा वैज्ञानिक चिन्तनको प्रचार गर्नु आवश्यक थियो । तर, सरकार र प्रतिपक्षहरू मौन बसेका छन् !
मानसिक समस्याबाट मुक्ति
कोभिड महामारीकै कारण धेरै मानिसमा निद्रा नलाग्ने, छटपटी हुने, आत्तिने आदि समस्या बढेको मानसिक रोग विशेषज्ञले बताएका छन् । बिरामीहरूमा सास फेर्न गाह्रे हुने, नकारात्मक सोच आउने, दिक्दारी महसुस गर्ने, मुटुको ढुकढुकी बढ्ने, पेट पोल्ने, पसिना छुट्ने, एक्लै बस्न मन पराउने, झिँझो मान्नेजस्ता समस्या बढेको छ । डिप्रेसनको सिकार भएका रोगीले आत्महत्याको बाटो लिने सम्भावना बढ्ता हुन्छ । घरेलु हिंसा पनि बढ्ने उनीहरूको चेतावनी छ । आर्थिक तथा सामाजिक समस्या थपिनाले यस्तो चुनौती थपिनु स्वाभाविक हुन्छ । धेरै नकारात्मक सोच आउँदा व्यक्तिको रोगप्रतिरोधी क्षमतासमेत कमजोर हुन्छ भन्ने विज्ञको सुझाव छ ।
कुनै मानसिक विकृति आएमा मनोपरामर्शदातासँग सहयोग माग्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा नातागोता वा साथीसङ्गातीसँग कुराकानी गर्ने, आराम गर्ने, लामोलामो सास फेर्ने अभ्यास गर्ने, राम्रा पुस्तक पढ्ने वा अनलाइनमा पाइने रमाइला सामग्रीको आस्वाद गर्नु पर्दछ । आफूलाई मात्र दुःख आइपरेको नसम्झेर संसार नै यो महामारीबाट पीडित भएको अवस्थामा धैर्य गर्नु ठूलो औषधी हुन्छ । यो महामारीको दोस्रो लहरमै कोभिड–१९ को अन्त्य हुने छैन, अहिले सङ्क्रमण दर बढिरहेको छ । यो बिस्तारै कम हुँदै जानेछ । तर, हामी सबैले अर्को लहरको निम्ति तयारी गर्न ढिलाइ गर्नु हुँदैन ।

One response to “कोभिड महामारीको दोस्रो प्रहार !”

  1. Gopal Sundar Gosain says:

    एकदमै राम्रो लेख।

Leave a Reply

Your email address will not be published. Required fields are marked *