सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
सास फेर्न चाहने जनतालाई जवाफ देऊ, सरकार !
अहिले अस्पतालहरूको तस्बिरले देशमा कुनै भयानक हमला या युद्ध त चलिरहेको छैन भन्नुपर्ने स्थिति छ । देशको स्वास्थ्य क्षेत्र ‘कोल्याप्स’ भएको या कामै गर्न नसक्ने स्थितिमा पुगेको एकातिर विज्ञहरू बताउँदै छन् भने अर्कोतिर सरकार लाज पचाएर त्यसको खण्डन गर्दै छ । अस्पतालमा गम्भीर प्रकृतिका बिरामीका लागि नभइ नहुने अक्सिजन वा प्राणवायुको चरम अभाव छ । अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधीको अभावका कारण दस–बा¥ह दिनयता थुप्रै नेपाली दाजु–भाइ, दिदी–बहिनीहरूको ज्यान गइसकेको छ । वीर अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालजस्ता नाम कहलिएका र सुविधासम्पन्न मानिएका अस्पताललगायत देशभरिका अस्पतालमा विशेषगरी अक्सिजन र अक्सिजन सिलिन्डरको हाहाकार देखियो । भैरहवा, बुटवल, नेपालगञ्ज, विराटनगर लगायतका मुख्य–मुख्य सहरका अस्पतालमा दैनिक दर्जनौँ मानिस त्यही कारणले मरे । ‘एक लिटर भएपनि अक्सिजन चाहियो !’ भन्दै यताउता भौँतारिने र चिच्याउनेहरू असङ्ख्य देखिए । सामाजिक सञ्जालमा सहयोगको याचनाको बाढी नै आयो ! अस्पतालहरूको अस्तव्यस्तता तथा अतिआवश्यकीय सामग्रीको अभावका कारण यथोचित उपचार दिन नसक्दा र बिरामीलाई ढोकैबाट फर्काउनुपर्दा नर्स र डाक्टरहरू आफै त्रसित र दुःखी छन् । जोगाउन सम्भव भएका कैयौँ मानिस अकालमै मर्दै छन् ।
महामारी सामना गर्न सरकार शून्य तयारीमा थियो भन्ने कुरा यो दृश्यले प्रस्ट बताउँछ । प्राणवायु नपाएर मानिसको मरण हुन्छ भने त्यो हत्या ठहर्छ कि ठहर्दैन ? अहिले यही विषयमा चर्को बहस सुरु भएको छ । त्यसको जिम्मेवारी कसले लिन्छ ? के सरकार तयार छ ? सास फेर्न चाहने जनतालाई जवाफ देऊ, सरकार ! मृत्युसँग धेरै पटक मुकाबिला गरेँ भनी कथा सुनाउने र मृत्युलाई कैयौँ बार परास्त गरेको भनी घमण्ड गर्ने नेताले देशको बागडोर सम्हालिरहँदा जनता मृत्युसँग अस्वाभाविक ढङ्गमा पराजित हुने स्थिति कायम रहनु पटक्कै शोभनीय भएन, सरकार !आफ्नो र नातागोताको ज्यानमात्र त राणाहरूले पनि जोगाएकै थिए ! त्यति त पशुपन्छिले पनि गर्छन् । केही त फरक अनुभूति जनताले पाउनु प¥यो ! तसर्थ, सास फेर्न गा¥हो भयो भनी चिच्याइरहेकाहरूको आर्तनाद सुन्ने क्षमता देखाऊ, सरकार ! सास फेर्न पाऊँ भनी अनुनयविनय गरिरहेकाहरूको हृदयको आवाज सुन्ने तागत देखाऊ, सरकार ! खबरदार, देशलाई आधुनिक ‘ग्यासच्याम्बर’ हुनबाट तुरुन्तै जोगाऊ !
युद्धग्रस्त देशका अस्पतालको झल्को !
सरकारी होस् या निजी अस्पतालहरूमा अक्सिजन उत्पादन गर्ने प्लान्टहरू नै नभएको वा भएका पनि खराब अवस्थामा भेटिए । सरकारको पूर्वतयारी, सतर्कता या संवेदनशीलताबारे कमजोरी या यथार्थ यसले उदाङ्गो पार्दैन र ? प्राथमिकता या आवश्यकतासमेत पहिचान गर्ने क्षमता या सोचसमेत सरकारसँग नभएको पुष्टि गर्न के अरू दृष्टान्त पेश गर्न आवश्यक होला र ? ‘महामारीमा यस्तै हुन्छ’, ‘सिमसिम पानीमा छाताले थेग्ला तर आँधीहुरीमा थेग्दैन’, ‘महामारी यस्तो होला भनेर सोचेकै थिइनँ तर यो पटक फरक भयो’ जस्ता प्रधानमन्त्री ओलीका पछिल्ला भनाइले उनी कति जिम्मेवार छन् भन्ने उदाङ्गो पार्छ । देशको जिम्मेवार शासकबाट यस्तो अभिव्यक्ति आउनु गैरजिम्मेवारीको पराकाष्ठा होइन ? हुन त उनको संवेदनशीलता या गाम्भीर्यताबारे लामो छलफल आवश्यक नहोला ! छर्लङ्ग भइसकेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री ज्ञवाली ‘यस्तै परिस्थितिलाई त महामारी भनिन्छ’ भनी परिभाषा, व्याख्यामा समय बर्बाद गर्दै छन् । ‘कूटनीतिक असफलता’ छताछुल्ल भइरहेको अवस्थामा उनको यो अभिव्यक्तिले आपतमा परेका नेपालीहरूको मन झनै रुवायो । नेपालको ‘कूटनीतिक अक्षमता’ को मूल्य चुकाउन नेपाली जनता यतिखेर बाध्य छन् । यी दृष्टान्तले सरकार कुन धरातलमा छ र कतातिर जाँदै छ भन्ने प्रस्ट बताउँछ । अहिले तर्क –वितर्क या जुहारी खेल्ने बखत जरूर होइन । तर, युद्धग्रस्त देशका अस्पतालको झल्को दिने स्थितिबाट जति सम्भव छ त्यति चाँडै पार लगाउन सकेमात्रै सरकारको नाक जोगिएला !
‘डिजिटल’ युगमा स्वास्थ्य क्षेत्र भने पुरातन !
बिरामी लान एम्बुलेन्स नपाइने, अस्पतालमा शय्या नभेटिने, अक्सिजनका सिलिन्डरदेखि आईसीयू र भेन्टिलेटर पहुँचवालाले मात्र पाउने आदि कारणले जनता आतङ्कित छन् ।
कोभिडसँग भन्दा पनि जताततै अभाव, हाहाकार र आतङ्कका कारण मानिसहरूको ज्यान जाँदै छ । ‘बाहिर हल्ला गरिएझैँ अस्पतालमा अभावको स्थिति होइन’, ‘सबै सुविधासम्पन्न अस्पताल जान चाहेको भएर मात्र यो स्थिति आएको’ जस्ता जवाफ दिनमै व्यस्त मन्त्री र प्रधानमन्त्रीले यहाँ यति शøया छ भनेर देखाइदिएको भए राहत मिल्ने थियो ! बडो ‘डिजिटल’ युगको आरम्भ भएको घोषणा गरेथ्यौ ! अस्पताल र स्वास्थ्य सेवाबारे जानकारी प्रविधिको प्रयोग गरी किन द्रुत्त तथा सहज ढङ्गमा उपलब्ध गराइएन ? त्यसो गरिएको भए अविश्वासको वातावरण बन्ने नै थिएन र सरकारलाई पनि ढाँटको सहायता लिनुपर्ने बाध्यता आउने थिएन । कहिलेसम्म स्वास्थ्य जगत पुरातन स्थितिमा छोड्ने ?
जनताले सरकारप्रति विश्वास नै गर्न छोडे !
भारतमा कोरोनाको दोस्रो लहर चैतमै सुरु भएको थियो । संसारलाई थाहा छ, नेपाल सरकारले चाहेको भए तयारी गर्न प्रशस्त समय थियो । उल्टै सरकार भ्रम फैलाउन तल्लिन बन्यो । महामारीसँग जिस्किबस्यो । त्यसको दुष्परिणाम नेपाली जनता भोग्न बाध्य छन् । आजसम्म पनि यति उति गरेँ भनी डम्फू बजाउनमै सरकार व्यस्त छ । तर, जनता छटपटाउँदै छन् । अस्पतालहरू अत्यावश्यकीय उपकरण अभावका कारण विस्फोटको स्थितिमा छन् । आइतबारसम्ममा पाँच हजारभन्दा बढीको ज्यान गइसकेको छ । अरू कतिको ज्यान जाने हो ? ठेगान छैन । २०७२ सालको विनाशकारी भूकम्पमा करिब नौ हजार नेपालीको ज्यान गएको थियो । पाँच वर्षपछि फेरि यति धेरै नेपालीको मृत्यु हुनु अत्यन्त दुःखद हो ।
यस्तो विषम् परिस्थितिमा समेत सरकार राष्ट्रिय एकताको भावना फैलाउन सफल हुन सकेन । त्यस खालको प्रयास समेत भएन । उल्टै जनताको मनोबल कमजोर पार्ने अभिव्यक्ति तथा गतिविधिमा व्यस्त रह्यो । स्वास्थ्य क्षेत्रको जनशक्ति र व्यापक जनपरिचालनमा यथोचित ध्यान पु¥याउनुपथ्र्यो । पक्षपात बन्द गरिनुपथ्र्यो । ती केही केही पनि भएनन् । फलस्वरूप जनताले सरकारप्रति विश्वास नै गर्न छोडे । सरकारबाट सुरक्षित महसुस गर्न पाएनन् बहुमत जनताले । सत्ता लुछाचुँडीको घृणित खेलमा मस्त शासक नेता तथा मन्त्रीप्रति विश्वास घट्नु स्वाभाविक हो । यो सङ्कटले स्वास्थ्य सङ्कटलाई झन् बढी गम्भीर बनायो । नत्र यो महामारी रोक्न या कम गर्न तुलनात्मकरूपमा सहज बन्ने थियो ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिनु अगाडि गाउँ–गाउँमा स्वास्थ्य केन्द्र, नगर तथा जिल्लामा सुविधासम्पन्न अस्पताल, हरेक प्रदेशमा ‘वीर अस्पताल’, हरेक अस्पतालमा अक्सिजन प्लान्ट, आईसीयू र भेन्टिलेटरको बन्दोवस्त गरेको भए आज यो स्थिति आउने नै थिएन । स्वास्थ्य क्षेत्रमा देखिएको यो लापरबाहीका निम्ति अहिलेसम्मका सम्पूर्ण स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीहरू नै जिम्मेवार छन् । कमिसन खानका निम्ति स्वास्थ्यमन्त्री बन्ने, औषधी तथा स्वास्थ्य उपकरणका व्यापारीबाट गैरकानुनी या अनुचित लाभ हासिल गर्न पदमा पुग्ने प्रवृत्तिका कारण स्वास्थ्य क्षेत्र खोक्रो, बदनाम तथा भताभुङ्ग भएको हो । उपचारै नपाउने, सिटामोलसमेत अभाव हुने स्थितिमा समेत लज्जाबोध नगर्ने नेताहरू निर्णायक तहमा जबसम्म पुगिरहन्छन् तबसम्म नागरिकहरूको अकाल मृत्यु अनौठो हुने छैन ।
अर्को महामारीको तयारी पनि सँगै गरौँ !
यो महामारीसँगै अर्को सम्भावित महामारीका लागि गम्भीरतापूर्वक तयारी, स्वास्थ्य पूर्वाधार निर्माण, स्वास्थ्य जनशक्तिको विकास तथा स्वदेशमै औषधी उत्पादनजस्ता कार्य व्यवस्थित ढङ्गमा थाल्नु अबको प्राथमिकता हुनैपर्छ । जिम्मेवार व्यक्तिले स्वास्थ्यजस्तो संवेदनशील विषयमा हल्काफुल्का टिप्पणी गरी भ्रम फैलाउने, हेलचेक्र्याइँ गर्नेजस्ता गैरजिम्मेवारीपूर्ण कार्य कहिल्यै नदोहो¥याउने प्रतिबद्धता सार्वजनिकरूपमा गर्न आवश्यक छ । त्यस खालका अहिलेसम्मका अभिव्यक्ति तथा गतिविधिका लागि क्षमा याचना गर्नैपर्छ !
नेपाली समाज स्वास्थ्य क्षेत्रमा ‘कस्मेटिक’ उपचार अर्थात् श्रृङ्गारपटार होइन गम्भीर शल्यक्रियाको पर्खाईमा छ । यो महामारीलाई अवसरमा बदल्ने बुद्धि, दीर्घकालीन सोच र हिम्मत आओस् ! अस्तु !
Leave a Reply