भर्खरै :

कोभिड महामारीमा अक्सिजन व्यापार

एकाबिहानै खबर आयो, “लौन बहिनीलाई निकै गा¥हो भो अक्सिजन सकियो । महामारीको बेला अस्पताल लान नपरोस् । पोरटेवल अक्सिजन पाए घरमै अक्सिजन दिएर राख्न पाए हुन्थ्यो ।” त्यसपछि चिनेजानेका इष्टमित्रहरूसँग हारगुहार गर्न थाल्यौँ । सबैतिर अक्सिजनको अभाव छ भन्नेमात्र खबर आयो । स्वास्थ्य चौकीहरू सबै कोभिड सङ्क्रमितले भरिभराउ छन् । अक्सिजन नपाएर कति बिरामीहरू एक अस्पतालबाट अर्काेमा अर्काेबाट अर्काेमा, सरुवा हुँदै गए अक्सिजनको आसमा । कतिले त आसैआसमा प्राण त्यागे । कतिले त आस बोकी अक्सिजन कम्पनीसम्म पनि धाए । पहँुचवालाहरूले एक फोनको भरमा कतै न कतैबाट मिलाए । अझ हुनेखानेले त आफ्नालाई नपुग्ला भनेर जगेडासमेत राख्न थाले । कतिले त अरूले देख्ला र लैजाला भनी लुकाउनसमेत भ्याए । यी कारणले गर्दा सर्वसाधारणको लागि अक्सिजनको अभाव हुनथाल्यो । यसै अभावको फाइदा उठाउन अक्सिजन व्यापारीहरूको मस्तिष्क वायुपङ्खी घोडा समान तेज दौडिन थाल्यो ।
बहिनीको लागि अक्सिजन सिलिन्डर खोज्न गएका हामीले जताततैबाट छैन, सकियो, कहाँ पाउनु र, कहाँ हुनु र यस्तो अवस्थामा भन्ने शब्दहरूमात्र पायौँ, अक्सिजन सिलिन्डर भेटाउन सकेनौँ । निराशा बढ्दै गयो । मुटुको धड्कन बढ्दै गयो । सामाजिक सञ्जालबाट केही राहत मिल्ला कि ? केही उपाय पाइएला कि ? अक्सिजन सिलिन्डर पाइ पो हाल्ला कि ? भन्ने सोचले सञ्जालहरूमा पनि खोजी सुरु गरँे । थुप्रै फोन नम्बरहरू पाएँ । अक्सिजन, अक्सिजन सिलिन्डर चाहिएमा सम्पर्क गर्नुहोला, निःशुल्क अक्सिजन सिलिन्डर प्रदान गर्छाैँ भन्ने आशलाग्दा सेवाग्राही सन्देशहरू खोजी खोजी फोन गर्न सुरु गरेँ । फोनबाट आएको जवाफ सुनेपछि ती आशलाग्दा सेवाग्राही सन्देशहरू एकैछिनमा नाफामूलक विज्ञापनमा परिवर्तित भएको पाएँ । धेरैबाट यस्तै जवाफ आउँथ्यो । हो, हामीसँग अक्सिजन, अक्सिजन सिलिन्डर छ, निः शुल्क दिन्छौँ तर हामी घर – घरमा दिएर पठाउन सक्दैनौँ, त्यसको लागि हाम्रोमा भर्ना हुनुपर्छ । हाम्रोमा बेड, आईसीयू पनि खाली छ, आउनुस् । मैले सुनेँ, महामारीमा सबै अस्पतालहरू सङ्क्रमितहरूले भरिसके कतै ठाउँ खाली छैन । बुझ्दै जाँदा थाहा भयो, सर्वसुलभ शुल्कमा सेवा प्रदान गर्ने जनस्वास्थ्य केन्द्र र सरकारी अस्पतालहरू जहाँ सर्वसाधारणको पहँुच पुग्छ सङक्रमितहरूले भरिभराउ भए र बिरामीहरूलाई बेड, आईसीयू तथा अक्सिजन नपुग हुन गयो । तर, च्याउ उम्रेझँै उम्रेका निजी स्तरका महँगा हेल्थकेयर सेन्टरका बेडहरू भने भरिसकेका थिएनन् । अकुत सम्पत्ति कमाएकाहरू घरबार जोड्नलाई पुग्ने रकम तिर्नुपरे पनि तिर्न तयार भएर सुविधा सम्पन्न पाँचतारे होटलजस्ता अस्पतालहरूमा धाएर प्राण जोगाउन थाले । यही मौकामा चौका हान्न सेवाग्राही भनिएका, अक्सिजन, अक्सिजन सिलिन्डर चाहिएमा सम्पर्क गर्नुहोला भनिएका, ती निजी स्तरका हेल्थकेयर सेन्टर र अस्पतालहरूले अक्सिजन निःशुल्क प्रदान गर्छौँ भन्दै प्रतिदिन प्रतिबेड ३०–४०,००० देखि लाखौँसम्म असुल गरी अक्सिजनको व्यापार गर्नथाले । तैपनि, सोझा साझा जनता परिवर्तनको आशामा पीडा सहेर पीडित भएर बसिरहेका छन् । सम्बन्धित निकायले चर्को शुल्क उठाउने स्वास्थ्य संस्थाहरूमध्ये एक दुई वटालाई कारबाही गरेजस्तो गरी स्पष्टीकरण मागे पनि अरू केही गर्ने सामथ्र्य देखाउन सकेनन् । अनि त डा. गोविन्द केसी बारम्बार किन अनसन बस्नुभयो भन्ने कुरा छर्लङ्गै भो ।
लकडाउन हुँदाहुँदै पनि उपचारका लागि प्राण रक्षानार्थ स्वास्थ्य सुरक्षाका मापदण्डसहित धेरै दौडधुप गरिसकेपछि धन्न बहिनीले नगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा बेड पाइन् त्यो पनि भर्खरै एउटा बिरामी डिस्चार्ज हुनुभएकोले । अब त देश विदेशबाट थुप्रै अक्सिजन सिलिन्डरहरू भित्रिएछन् । अब लुकाएर राख्नु नपर्ला कि ¤ अब त महामारीमा अक्सिजनको कालो व्यापार गर्नु नपर्ला कि ।
(लेखक भक्तपुर बहुमुखी क्याम्पसका शिक्षण सहायक हुनुहुन्छ ।)

One response to “कोभिड महामारीमा अक्सिजन व्यापार”

  1. सृस्टि शिल्पकर says:

    Great …. Its touches my heart…

Leave a Reply

Your email address will not be published. Required fields are marked *