कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
शुक्रबार प्रधानमन्त्री केपी ओली आफ्नो कुर्सी जोगाउन बालुवाटार शीतलनिवास दौडादौड गरिरहेको बेला युनिभर्सल कलेज अफ मेडिकल साइन्सकी अनमी राधा अर्याल (ज्ञवाली) कोभिड–१९ सङ्क्रमित बिरामीको ज्यान बचाउन एजडीयू वार्डमा दौडधूप गरिरहेकी थिइन् । कोरोना दोस्रो लहरमा परेका बिरामीहरू उपचार पाएसँगै सन्चो हुनुभन्दा पनि झन् जटिल बन्दै गएको अवस्था छ । अनमी अर्याल भन्छिन्, “बिरामी सन्चो होला भन्यो, झन् गाह्रो हुँदै गएको जस्तो देखिन्छ । छिटो सन्चो भएजस्तो नै लाग्दैन मलाई त । पहिलाभन्दा धेरै चुनौतीपूर्ण छ काम ।” अहिले बिरामीहरू तुरुन्तै गम्भीर हुने गरेका छन् । यसपालिको बिरामीमा धेरै खोकीकै समस्या देखिन्छ, पन्ध्र बीस दिनसम्म सन्चै नहुने ।
नयाँ भेरियन्टको कोरोना भाइरसले मानिसको फोक्सोमै बढी आक्रमण गर्ने गरेको विज्ञहरूको भनाइ छ । सङ्क्रमित बिरामीमा छिट्टै निमोनिया देखिने गरेको छ । निमोनिया भएको बिरामीलाई अक्सिजन धेरै दिनुपर्ने हुन्छ । देशका अन्य जिल्लामा जस्तै रुपन्देहीमा पनि अक्सिजनको आपूर्ति मागअनुसार हुनसकेन । अक्सिजनको अभावमा अस्पतालहरूले नयाँ बिरामीहरू भर्ना लिन पनि छोडेका थिए । वैशाख २९ गते अक्सिजन सप्लाई बन्द भएर नै लुम्बिनी प्रादेशिक अस्पतालको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ५ जना र भैरहवास्थित भीम अस्पतालमा ४ गरी सरकारी अस्पतालहरूमा उपचाररत ९ जना बिरामीको मृत्यु भएको थियो ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सको अस्पतालभित्रकै बिरामीलाई समेत अक्सिजनको अभावको कारण भवितव्य भएमा अस्पताल जिम्मेवार हुनेछैन भनी कागजमा वैशाख २८ यता बिरामीका कुरुवालाई सही गराइरहेको छ । यद्यपि, अर्यालका अनुसार कोभिड वार्डमा ड्युटी गरेका पछिल्ला आठ दिनयता अस्पतालमा अक्सिजन समस्या आएको छैन तर अक्सिजन सकिएमा अस्पताल जिम्मेवार छैन भनी सही गराइराखेकै छ । “त्यसैले अस्पतालका हरेक बिरामीले एउटा जम्बो सिलिन्डर ब्याकअप राखेका छन् । हाइ फ्लो अक्सिजन दिनुपर्ने बिरामीको लागि एक डेढ घण्टालाई भए पनि सपोर्ट गर्छ नि !” अर्याल भन्छिन् । अस्पतालको अक्सिजन सकिएको बेलामा आफ्नो बिरामीलाई अक्सिजन दिन छेउमै जगेडा सिलिन्डर राखेको छ ।

अक्सिजन र अक्सिजनको सिलिन्डर दुइटैको कमी छ । अक्सिजनको सिलिन्डर अभाव हुन नदिन घर – घरमा अक्सिजनको सिलिन्डर राख्न नहुने सरकारले भनिरहेको छ । अस्पतालमा सेन्टर सप्लाइबाटै अक्सिजन दिने हुँदा थोरै सिलिन्डरबाट धेरै बिरामीलाई एकैपटक सेवा गर्न सकिन्छ । सरकारले अक्सिजन आपूर्तिको सुनिश्चित नगर्दा अस्पतालमै हरेक बिरामीले अक्सिजन सिलिन्डर ब्याकअपमा राखेको अवस्थामा सिलिन्डर हाहाकार हुनु स्वाभाविक नै भयो । अनमी अर्याल भन्छिन्, “सरकारले सबै अस्पतालमा पर्याप्त अक्सिजन उपलब्ध गराएको भए बिरामी र स्वास्थ्यकर्मी दुवैलाई झमेला हुन्थेन । गाउँबाट आएको बिरामीका परिवारले अक्सिजन कहाँ पाइन्छ भन्ने पनि त थाहा हुँदैन ।” बिरामीका कुरुवाहरूले हजारौँ रकम धरौटी राखेर आफै अक्सिजनको सिलिन्डर बोक्दै हिँड्नु कम्ती सास्तीको विषय होइन ।
कोभिड–१९ वार्डमा काम गर्ने अस्पतालका स्वास्थ्यकर्मीहरूलाई लगातार १४ दिनको ड्युटी तोकिएको छ । १४ दिनको ड्युटी गरी पीसीआर परीक्षण नेगेटिभ आए घर आउन पाउँछन् । १४ दिनसम्म होस्टलमा खाने बस्ने सुविधा अस्पतालले दिएको छ । कुनै कर्मचारीको घरमै एकान्तवासमा बस्न मिले घर पनि जान दिइएको छ । परिवारका अन्य सदस्यलाई सङ्क्रमण हुने जोखिम होला भनेर नै प्रायः स्वास्थ्यकर्मीहरू १४ दिनसम्म होस्टलमै बस्ने गरेका छन् । कोभिड–१९ महामारीको बेला मानिसको ज्यान बचाउन खटिएको हुनाले आफ्नो परिवारले बाधा दिनुभन्दा पनि प्रोत्साहन नै दिइरहेको अर्यालको अनुभव छ । अस्पतालका सबै स्वास्थ्यकर्मीहरूले पालोअनुसार कोभिड–१९ वार्डमा सेवा गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
कोभिड–१९ को वार्डमा काम गर्ने स्वास्थ्यकर्मीहरूले पीपीईलगायत आवश्यक सावधानी अपनाएर सेवा गरेका हुन्छन् । त्यसैले कोभिड–१९ वार्डमा काम गर्ने सहकर्मी कसैलाई पनि कोरोना सङ्क्रमण भएको अनमी राधा अर्याल ज्ञवालीलाई थाहा छैन । बरु, अरु सामान्य बिरामीहरूको सेवामा खटिएको अवस्थामा स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण भएको छ । अर्याल भन्छिन्, “अरु वार्डमा मास्कको भरमा काम गर्नुपर्छ । को सङ्क्रमित हो ? भन्ने पनि थाहा हुन्न । त्यता झन् जोखिम बढी छ र सङ्क्रमित पनि भएका छन् ।”
मेडिकल कलेजमै पन्ध्र सोह्र वर्षदेखि स्वास्थ्यसेवा गर्दै आएकी अर्याललाई पहिलाभन्दा अहिले काम बढी चुनौतीपूर्ण लागेको छ । सङ्क्रमित बिरामीहरूको स्वास्थ्य स्थिति हेर्दा डरलाग्दो अवस्था छ । पहिले ड्युटी सामान्य नै लाग्थ्यो । अघिल्लो सालको कोभिड–१९ को बेलाभन्दा अहिले ड्युटीमा जान पनि डर लागे जस्तो हुन्छ । अर्याल भन्छिन्, “अहिले डरसँग लडाइँ लड्दै ड्युटी गरिराखेकी छु ।”
Leave a Reply