भर्खरै :

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

काठमाडौँ, ८ जेठ । बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गइरहेको कोभिड–१९ सङ्क्रमणविरूद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमितरूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो ।
निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो ।
आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो । नेपाललगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरिसकेको र नेपालका लागि करीब तीन लाख पचास हजार कोभ्याक्स छुट्याइसकेको सदनलाई सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले जानकारी दिनुभएको थियो ।
दुई दिनअगाडि नेपालका परराष्ट्रमन्त्रीसँग छलफल भएको र यहाँस्थित नेपाली दूतावासका प्रतिनिधिसँग छिट्टै भेटेर आफ्नो योजना राख्ने अहमदले सदनलाई बताउनुभयो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पनि यहाँका सम्बन्धित निकायमा निरन्तररूपमा संवाद भइराखेको र सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो ।
केही दिनअगाडि बेलायतकी चर्चित नायिका जुवाना लुम्लेलगायत यहाँ करीब पचास जना बेलायतीहरूले नेपाललाई खोप उपलब्ध गराउन यहाँको सरकारलाई पत्र लेखेर आग्रह गरेका थिए । यहाँका नेपाली सङ्घ–संस्थाले संस्थागत रूपमै पिटिसनमार्फत ऐक्यबद्धता चलाएर दबाब दिन समाजसेवी रमेशराज पण्डितले अभियान नै सञ्चालन गर्नुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *