भर्खरै :

कर्मचारी र इन्जिनियर भ्रष्टाचारको विरोधमा

भक्तपुर, १६ असार । नेपाल कर्मचारी समाज र भनपा कर्मचारी एसोसियसनको संयुक्त आयोजनामा भ्रष्टाचारविरोधी दिवसको सम्झनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले भ्रष्टाचार अन्त्य र नियन्त्रणको लागि राजनीतिक व्यवस्था र सोहीअनुसार जनतालाई शिक्षित गर्ने बन्दोबस्त आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा ‘कसैलाई पनि मृत्यु दण्डको सजाय दिइने छैन’ उल्लेख गरिएको हुँदा भ्रष्टाचारलगायत मानवताविरोधी अपराध बढिरहेको हो ।’
नेपाल मजदुर किसान पार्टीले २०१८-१९ सालदेखि भ्रष्टाचारविरोधी आन्दोलन अगािड बढाएको र पार्टीको बहुमत प्राप्त भक्तपुर नगरपालिकाले आर्थिक अनुशासन र पारदर्शी ढंगले विकास निर्माणको काम अगाडि बढाइएको हँुदा ट्रान्सपरेन्सी इन्टरनेशनलले सदाचारको टापु भनी विभूषित गरिएको सांसद सुवालले बताउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले पूँजीवादी व्यवस्थामा भ्रष्टाचारबाट अलग्ग हुन नसक्ने चर्चा गर्दै समाजवादविना कामदार जनताले सुख नपाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गलत कामको पछि लाग्नु हुँदैन, सत्यलाई अंगिकार गर्न सक्नुपर्छ ।’
नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका रोशनमैंया सुवाल, नेपाल क्रान्तिकारी मजदुर सङ्घका राजकृष्ण गोराले भ्रष्टाचारविरोधी आन्दोलनबारे बोल्नुभएको थियो ।
अन्तरक्रियामा दिलकृष्ण माक, काशीलाल प्रजापति, शिवराम धुख्वा, काजिबहादुर पञ्च, दिपेशराज शर्मा, धनबहादुर राउत, मुरज दिदिया, विनोद आगञ्जा, गणेशलाल फोजू, दामोदर सुवाललगायतले भाग लिनुभएको थियो ।
त्यस्तै इञ्जिनियर समाजको आयोजनामा पनि भ्रष्टाचारविरोधी दिवसको सम्झनामा प्रशिक्षण कार्यक्रम भयो ।
शुक्रबार भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पूँजीवादी व्यवस्थामा भष्टाचार बढ्दै जाने तर मान्छेको गर्भदेखि जन्म र मृत्युसम्मको सम्पूर्ण जिम्मेवारी राज्यले लिइने समाजवादी व्यवस्थामा भ्रष्टाचार नहुने बताउनुभयो ।
मानव समाजको विकास अध्ययनको क्रममा परिवारको विकाससँगसँगै व्यक्तिगत सम्पत्ति सुरू भएको र राज्यले व्यक्तिगत सम्पतिलाई नियमन गर्ने काम गर्न नसक्दा भ्रष्टाचार बढ्दै गएको सचिव सुवालले बताउनुभयो ।
समाजका अध्यक्ष रवीन्द्र फोजूको सभापतित्वमा भएको कार्यक्रममा समाजका सचिव नरेश खत्रीले भ्रष्टाचारविरोधी दिवसबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *