भर्खरै :

‘हाइब्रीड धानका पिता’ युआनको अस्त

चाङ्सा, २३ मे । पहिलो हाइब्रीड धानको विकास गरेर असङ्ख्य मानिसको भोक मेटाउने चीनका विख्यात वैज्ञानिक युआन लोङपिङको शनिबार निधन भएको छ । उहाँका शरीरका विभिन्न अङ्गले काम नगरेपछि ९१ वर्षको उमेरमा निधन भएको हो ।
हुनान प्रान्तको चाङ्सास्थित स्थानीय समयअनुसार शनिबार दिनको १ बजे धानका वैज्ञानिक युआनको निधन भएको अस्पताल स्रोतले जनाएको हो । उहाँका श्रीमती, तीन छोरा र नातिनातिनाहरू छन् ।
चिनियाँ समाचार स्रोतअनुसार युआनका परिवारका सदस्यहरूले अन्तिम क्षणमा उहाँलाई अति मनपर्ने गीत उहाँकै छेउमा बसेर गुनगुनाएका थिए ।
दिवङ्गत वैज्ञानिकप्रति सम्मान व्यक्त गर्न शनिबार अपरान्ह ठूलो सङ्ख्यामा मानिसहरू अस्पताल परिसरमा भेला भएका थिए । उनीहरूले ‘युआन बाजे ¤ शान्तिपूर्वक आराम गर्नुहोस् ¤’ भनी श्रद्धाञ्जली अर्पण गरेका थिए । उहाँको शव यात्रा झन्डै ४ बजे अस्पतालबाट बाहिरिएको थियो ।
गत मार्च महिनामा हैनान प्रान्तको बीउ उत्पादन केन्द्रमा अनुसन्धान गर्ने क्रममा लडेपछि उहाँको स्वास्थ्योपचार भइरहेको थियो ।
अस्पतालका स्वास्थ्यकर्मीहरूका अनुसार हाइब्रीड धानको उत्पादनमा दत्तचित्त युआन अस्पताल बसाइको क्रममा पनि नियमितरूपमा मौसम र तापक्रमबारे चासो राखिरहनुहुने बताए ।
“उहाँको स्वास्थ्य निकै कमजोर भइसकेको थियो । तर, उहाँ आफ्ना धान खेतबारे मात्र चिन्ता मानिरहनुहुन्थ्यो”, उहाँको उपचारमा संलग्न चिकित्सकले भने ।
चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानमा सम्बद्ध प्राज्ञले चीनमा धेरै चमत्कारिक काम गर्न मद्दत गर्नुभयो । संसारको कुल ९ प्रतिशतभन्दा कम खेतीयोग्य जमिनमा संसारकै झन्डै पाँच खण्डको एक खण्ड मानिसलाई खान खुवाउन युआनले निकै महत्वपूर्ण योगदान गर्नुभयो ।
“युआनका उपलब्धिलाई सारमा केही शब्दमा भन्न सकिन्छः उहाँले संसारलाई भोकबाट जोगाउन मद्दत गर्नुभयो”, चिनियाँ राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानका महानिर्देशक हु पैइसोङले भन्नुभयो ।
सन् १९३० मा पेइचिङमा जन्मनुभएका युआनले सन् १९७३ मा संसारकै सबभन्दा बढी फल्ने धानको बीउ विकास गर्न सफल हुनुभयो । त्यही धानको बीउले चीन र अन्य देशहरूमा पनि ठुलो परिमाणमा उत्पादन गर्न सफल बनायो । त्यो धानको बीउको विकास भएपछि पहिलेको तुलनामा धानको उत्पादन ठूलो परिमाणमा बढ्यो ।
त्यसपछिका चार दसक उहाँले लगातार हाइब्रीड धानको अनुसन्धान र स्तरोन्नतिमा विकास गर्नुभयो । अहिले हाइब्रिडको तेस्रो पुस्ताको बीउ उत्पादन भइरहेको छ ।
“सन् १९४९ भन्दा अघि चीनका सडकमा मानिसहरू भोकले मरिरहेको हृदयविदारक दृश्य देख्थें, म हाइब्रिड धानको अनुसन्धानमा दत्तचित्त भएर लागेँ ।”, युआनले पेटभरि खान पनि नपुग्ने चीनको गम्भीर समस्याको युग स्मरण गर्दै भन्नुभयो ।
१ अर्ब ४० करोड जनताको देश चीनका बहुमत जनता दैनिक भात खान्छन् । चीनमा अहिले वार्षिक १ करोड ६० लाख हेक्टरभन्दा बढी जमिनमा हाइब्रीड धान खेती गरिन्छ । अर्थात् कुल धान खेतीमध्ये ५७ प्रतिशत खेतमा हाइब्रीड धान रोपिने गरेको छ । त्यसले वार्षिक थप ८ करोड मानिसलाई खुवाउन पुग्ने धानको उत्पादन भएको छ ।
युआनले काम गर्नुभएको चिनियाँ राष्ट्रिय हाइब्रीड धान अनुसन्धान र विकास केन्द्रका अनुसार चीन बाहिर हाइब्रिड धान उत्पादन गर्ने भूमि ८० लाख हेक्टरमा विस्तार भएको छ । सबभन्दा पछिल्लो समय उहाँले हासिल गर्नुभएको उपलब्धि भनेको नुनिलो–क्षारीय माटोमा पनि राम्ररी उत्पादन हुने प्रजातिको धानको विकास हो । जनवरीमा उहाँको टोलीले आगामी आठदेखि दस वर्ष चीनका विभिन्न नुन–क्षार मिसिएको माटो भएको ६७ लाख हेक्टर जमिनमा नयाँ प्रजातिको धान उत्पादन गर्ने योजना घोषणा गरेको थियो ।
युआनले एक पटक आफ्ना दुई सपना भएको बताउनुभएको थियो– पहिलो, मान्छेभन्दा अग्लो धानको बोटमुनि बसेर शीतलमा आराम गर्ने र दोस्रो, संसारभरको खाद्य अभाव समाधान गर्न मद्दत गर्ने हाइब्रिड धान विकास गर्ने ।
भोक मेटाउन युआनले जीवनभर गर्नुभएको समर्पणको कारण उहाँ चीनको राष्ट्रिय नायक र लोकप्रिय बन्नुभयो ।
सन् १९९९ मा चीनको राष्ट्रिय अन्तरिक्ष संस्थाले भेटाएको एउटा उपग्रहको नाम उहाँकै नामबाट युआन राखेको थियो । सन् २०१९ मा उहाँलाई चीनकै सर्वोच्च सरकारी सम्मान ‘गणतन्त्र पदक’ले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *