भर्खरै :

कक्षा १० र १२ को परीक्षाबारे विद्यार्थी सङ्गठनबीच छलफल

काठमाडौँ, ९ जेठ । कक्षा १० र कक्षा १२ को परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा विद्यार्थी सङ्गठनहरूसँग जुममार्फत अनलाइन बैठक सम्पन्न भयो ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई लामो समयसम्म अन्योलमा नराख्न कक्षा १० र १२ को परीक्षा स्थगित गरी उपयुक्त विकल्पको लागि सरोकारवाला पक्षहरूसँग छलफल र अन्य देशका संस्थाहरूले अवलम्बन गरेका पद्धतिको बारेमा अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले विद्यार्थी सङ्गठनहरूको सल्लाह–सुझावहरूलाई मध्यनजर गर्दै कक्षा १० र कक्षा १२ लाई छुट्टाछुट्टै तरिकाबाट गर्ने ढाँचाको विकल्प पेश गर्ने र त्यसबाट बोर्ड, मन्त्रालय र नेपाल सरकारले पनि एउटा निर्णयमा पुग्ने आशा व्यक्त गर्नुभयो ।
बैठकमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका संयोजक प्रकाश गुरूङले विषयगत शिक्षकले आन्तरिक मूल्याङ्कन गरी कक्षा बढुवा गर्नु सिद्धान्ततः गलत नभए पनि केही शिक्षक र विद्यालयका कारण नेपालको शैक्षिक गुणस्तर खस्कने काम भएकोमा विरोध गर्नुभयो ।
उहाँले अघिल्लो वर्ष आन्तरिक मूल्याङ्कनमात्र भए पनि राष्ट्रिय परीक्षा बोर्डले उठाएको परीक्षा शुल्क विद्यार्थीलाई हालसम्म फिर्ता नगरेकोमा अविलम्ब फिर्ता गर्न माग गर्नुभयो ।
उहाँले नेक्राविसङ्घको तर्फबाट हालको कोभिड–१९ महामारीको विषम परिस्थितिमा बोर्डसमक्ष केही समयपछि स्थिति सामान्य भएर भौतिकरूपमा परीक्षा गर्ने भएमा ४० प्रतिशत आन्तरिक मूल्याङ्कन र ६० प्रतिशत अङ्कभार, भौतिकरूपमा सम्भव नभएमा ४० प्रतिशत आन्तरिक मूल्याङ्कन र ६० प्रतिशत खुला बुक पद्धतिमा र खुला बुक पद्धति सम्भव नभएमा ४० प्रतिशत आन्तरिक मूल्याङ्कन र ६० प्रतिशत अङ्कभार छुट्याएर अनलाइन वा टेलिफोनमार्फत वस्तुगत प्रश्न सोधेर गर्नुपर्ने सुझाव दिनुभयो । बैठकमा विभिन्न विद्यार्थी सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो सङ्गठनको धारणा राख्नुभएको थियो ।

One response to “कक्षा १० र १२ को परीक्षाबारे विद्यार्थी सङ्गठनबीच छलफल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *