ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
अनन्त कोठामा झुन्डिएका नक्साहरू हेर्दै थियो । भित्ताको एउटा कुनामा देशकै नक्सा झुन्डिएको थियो भने अर्को कुनामा विश्वको अर्थात् एसिया, अफ्रिका, ल्याटिन अमेरिका र अष्ट्रेलिया तथा अनगिन्ती टापुहरू भएको अर्को नक्सा ।
“बाबु, अनन्त ! अघिदेखि एकोहोरो ती नक्साहरूमा के हेर्दै छौ तिमी ?”
“आमा ! ती देशहरूका हिजो, आज र भोलिको समाजबारे सोच्दै छु ।” अनन्तले आमाले बुझ्ने भाषामा सम्झायो ।
“हेर बाबू, तिमी पचास वर्ष नाघ्यौ, अहिलेसम्म छोरा–छोरी छैन, हामी बुढाबुढी भयौँ, तिमीले अब घरको बारेमा पनि सोच्ने गर ! संसारको बारेमा सोच्ने त धेरै होलान्– अनन्त !”
“आमा ! सबैले सोच्ने भइदिएको भए हुन्थ्यो ! संसार र समाज कहाँ त्यस्तो हो र आमा !” मुसुमुसु हाँसेर अनन्तले आमाको मन राख्ने शैलीमा बोल्यो ।
“के राजा महाराजाहरूले सोचेका थिएनन् ? नेता, मन्त्री, ठुलठुला डिट्ठा, सुब्बा र काजीहरू सोच्थे होइन त बाबू ?”
“आमा, त्यो जमाना गयो । हाम्रो देशमा राजा पनि गयो । त्यस्ता डिट्ठा र काजीहरू पनि गए, ती सबै पुराना कुरा भए । पहिलेका पुराना नेताहरू कतिपय सहिद भए, मारिए र मरे–कालगतिले, अहिलेका कतिपय नेता, मन्त्री र प्रधानमन्त्रीहरू भए, तिनीहरू सबैले जनतालाई बिर्से र बिग्रे ?”
“बाबू ! आन्दोलन, क्रान्ति र लडाइँबाट आएका नेताहरू पनि बिग्रे रे ! त्यसो भए सप्रेको केलाई भन्ने ?” आमाले आश्चर्य हुँदै अनन्तलाई एकोहोरो हेरिरहिन् ।
अनन्तले सँगै बसेकी र आश्चर्य मानेकी आमाको हात समात्दै र सुुम्सुम्याउँदै भन्यो, “एक जना साहुले अर्को साहुसँग बिनालिखत एक लाख रूपैयाँ लिन्छ– एक हप्ताभित्र फर्काउँछु भनेर । तर, २—३ महिनापछि पनि फिर्ता गर्दैन र पैसा लिएकै छैन भनेजस्तै सरकारमा गइसकेपछि जनतालाई दिएको वाचा र वचन पूरा नगरेजस्तै त हो, नि आमा !”
“त्यसो भए बाबू हिजोका तिम्रा मन्त्री बनेका साथीहरू सबै ती साहुजस्तै बेइमान र ठग भए होइनन् ¤ त्यसो भए बाबू, अनन्त तिमी किन त्यस्ता ठग बेइमानहरूसँग लाग्यौ ?” आमा असन्तोष र रिसको आवेगमा झर्किन् ।
अनन्तले आमालाई सम्झाउँदै भन्यो, “आमा ¤ मानिस र साथीहरू सबै बेइमान हुँदैनन् । बेइमानहरू र स्वार्थीहरू कम हुन्छन्, बढीभन्दा बढी जनता र साथीहरू राम्रा हुन्छन् । बेइमान र स्वार्थीहरू जिउँदै मरेका हुन्छन् र पदबाट खुस्केपछि जनतासँग नाता–गोतासँग पनि मुख लुकाएर हिँड्छन्, घरमै रक्सी र चुरोट खाएर मर्छन्, कतिपय विदेश भाग्छन् र कति त छोराछोरीको समेत सराप सुनेर जिउँदै मरेका हुन्छन् ।” बिस्तारै देश र जनताको सेवा गर्ने नेताहरू बाँकी छन् भनी हौसला दिन्छ– आमालाई अनन्तले ।
आमाले मनको बह पोखिन्, “बाबू हरिमाया फुपूले आफ्ना केटाकेटी नभएकाले आफ्ना भदाहरूलाई सम्पत्ति लेखिदिए । तर, स्याहार नपुगेर पहिले फुपाजू बित्नुभयो र पछि फुपूको सबै सम्पत्ति खाएर भदाहरूले उपचारै नगराई मारे विचरी हरिमायालाई ! बाबू, त्यस्तै छोराछोरी हुनु पनि राम्रो होइन ।” अनन्त आमाको मनको बह सुन्दै थियो र केही नबोलेपछि आमाले थपिन्, “हिजो त काम छ भनी तिमी जिल्ला–जिल्ला सङ्गठन भनी जान्थ्यौ, अब त प्रजातन्त्र र गणतन्त्र आयो, तिम्रो मनकामना पुरा भयो होला, अब घर छोडेर जिल्ला–जिल्ला नजानू ।” एकछिन रोकिन् र भनिन्, “जाऔँ अहिले खाना खान ।” दुवै माथि गए ।
२
साँझ आठ बजेको थियो– टीभीमा समाचार हेर्दै थिए– अनन्त, बुबा (कान्छा दाइ) आमा र केशरी नामकी बुहारी । कान्छा दाइ पेन्सन पाकेका एक कर्मचारी हुन् । बुहारी एक शिक्षिका र आमा जुनु साँच्चै घर समाल्ने महिला । समाचारमा कोरोना रोग फैलिएको र सरकारले केही गर्न नसकेको, नाक र मुख छोप्ने मास्क, कीरा मार्ने औषधिको सिसी (स्यानीटाइजर), व्यक्तिपिच्छे अक्सिजन नाप्ने अक्सिमिटर, जोर नाप्ने थर्मामिटर आदि सामानको समेत भाउ महँगिँदै गएको, सामान लुकाई बढी मोलमा लुकिछिपी बेच्ने कालो बजारी भएको, त्यस्ता व्यापारीलाई कारबाही नभएकोमा गन्थन भयो ।
समाचार सुनेपछि मनमा ठूलो जिज्ञासा उठेको बारे लोग्ने, छोरो र बुहारीको आमाले अगाडि भनिन्, “अनन्तको बुबा धेरै आन्दोलन, क्रान्ति, परिवर्तन, गणतन्त्र, प्रजातन्त्र केके जाति भयो भनी खुसियाली मनाएका थिए– राताराता झन्डा, रुख, चारतारे झन्डा, घन र हँसियाका झन्डाहरू लिएर ठुल–ठुला जुलुस र टुँडिखेलमा ठुलठुला सभा गर्थे । खोइ त हाहाकार र कालोबजारी गराउन ती सबै जुलुस र जनसभा भएको हो ? मैले त केही बुझिनँ । हिजो हाम्रै घरमा लुकीलुकी बैठक र साउती गर्ने नेताहरू मन्त्री भएको सुनेको यस्तै गराउन हो, बाबू ? अस्पतालमा भर्ना नलिने, के जाति लामो भाँडो नलगी अस्पताल नभित्र्याउने यो के भएको हो ?”
देशको परिस्थितिबारे समाचार सुन्दा सुन्दा आफ्नी आमा हैरान भएको अनुभव गरेका अनन्तले भन्यो, “काङ्ग्रेस भनेको धेरै धेरै पैसावाल साहु–महाजन, जग्गा धनी, मारवाडी र व्यापारी एवं कारखानाका मालिकहरूको हित गर्ने पार्टी हो–आमा । अनि घन र हँसिया चिह्न भएको एमाले, एमाओवादी, जनमोर्चा, राप्रपा, मधेसवादी भनेका सबै भाइकाङ्ग्रेस हुन् । तिनीहरू काम गरी खाने जनताको पक्षमा होइनन् आमा, तिनीहरू त्यही धनीहरूलाई धनी बनाउनेहरू हुन् । तिनीहरू सारमा एउटै पार्टी हुन् – नाममात्रै फरक हो । मन्त्री बन्न, ठुलठुलो रकम भ्रष्टाचार गर्न, नाफा खान, घर–जग्गाको व्यापारको नाममा गरिबको जग्गा सस्तोमा हात पारी महँगोमा लाखौँ नाफा खाई बेच्ने, पुल, सडक, ठुलठुला कार्यालय, भवन आदि कमजोर बनाई करोडौँकरोड नाफा खाने ठेकेदारहरू, नदी र पहाड–पर्वतमा बारुद पड्काई गिटी र ढुङ्गा तथा खोलानाला र नदीको बालुवा लिई बाढी–पहिरो ल्याउने, वनजङ्गल मास्ने वन तस्कर तिनीहरूकै मानिस हुन् । त्यही काम र नाफामा तिनीहरूको झगडा हो, आमा ! बुझ्नुभयो ।”
“त्यो नराम्रो काममा तिमी किन लागेको त यत्रो वर्ष, किन दुःख भोग्यौ त ? त्यस्ता नराम्रा मानिससँग किन सङ्गत गरेको त बाबू ? यस्ता मानिसहरूलाई चिया र खाजा खुवाउँदा र गिलास, रिकापी माझ्दा हाम्रो हातै कहिलेकाहीँ सुनिएको हुन्थ्यो । के पाउँछौ भनी लागेको बाबू तिनीहरूजस्ता पापीहरूसँग ?” आमाले अनन्तसँग प्रश्न गरिन् ।
“के भन्ने ¤ म पनि अचम्मै परेको छु ¤” कान्छा दाइले पनि लाचारी व्यक्त ग¥यो ।
“कतिपय मानिसहरू सुरुमा बुझेर वा नबुझेर राजनीतिमा लाग्दारहेछन्, त्यसको बाङ्गोटिङ्गो बाटो देखेपछि कतिपयले छोडेर जान्छन्, कति निराश हुन्छन्, कहिले अर्कै बाटो लाग्छन् र सानो उद्देश्य र सानो स्वार्थमा भुल्नेहरू तिनीहरूसँगै लाग्छन् । हामीसँग लाग्नेहरू पनि कति ठुलो नदी तर्न हाम्रो डुङ्गा प्रयोग गर्छन् र नदी तरेपछि भाग्छन् । सोधेमा लाजै नमानी हामीसँगै सोध्छन् – के नदी तरेपछि डुङ्गा बोकेर पहाड चढ्ने ? पहाड चढ्न लौरा काम लाग्छ, डुङ्गा काम लाग्दैन भन्छन् । अब जनताले थाहा पाए– सरकारमा मन्त्री हुने दलहरू जनताका दल होइनन्, तिनीहरू शोषक, सामन्त, जमिनदार, पुँजीपति र मारवाडीहरूकै पक्षपाति हुन् । यसकारण, हामी अब तिनीहरूसँग मेलमिलापमा होइन झगडा गर्दै छौँ ।” आमालाई सम्झाउन अनन्तले बिस्तारै बतायो ।
कान्छा दाइले पनि अनन्ततिर हेरेर आफ्नो मनमा खेल्दै गरेको पोको खोले, “बाबू अनन्त ¤ त्यसो भए तिनीहरू अर्थात् काङ्ग्रेस र कम्युनिस्ट भन्नेहरू कसरी मिले ?”
“बुबा, नेपाली काङ्ग्रेसले प्रस्टै भन्छ– समाजवाद आउँदैन, वीपी कोइरालाले भावुक भएर मुखले भनेका हुन् । अहिले उनी छैनन्, समाजवाद आउँदैन, समाजवाद भनेको जनतालाई ठग्ने मन्त्र हो । भारतमा पनि नेहरू र इन्दिरा गान्धीले पनि गरिबी हटाउने र समाजवाद ल्याउने भन्ने गरेकै थिए । भारतमा न गरिबी हट्यो, न त समाजवाद आयो । संसारमा सबैभन्दा बढी गरिब भारतमा छन्, एक अर्ब ३५ करोड जनतामध्ये आधा जनताले आधा पेट पनि खाना पाउँदैनन् । आमा ¤ समाजवाद भनेको गरिब र काम गरी खाने जनताको हित हुनेहरूकै सरकारले मात्र ल्याउँछ । त्यसको अर्थ हो– एक–एक पाइला गरेर ठुलठुला खेत–खलिहान, कलकारखाना, बस सेवादेखि हवाइसेवासम्म, व्यापार सबै जनताको सरकाको हातमा जान्छ । जनता र देशलाई ठग्ने, नाफा खाने र काला बजारी गर्ने सबै जेल जानेछन् । त्यसो नगरेसम्म तिनीहरूले जनतालाई शोषण गर्न छाड्ने छैनन् ।’
एकछिन रोकेर पुनः उसले सम्झाउँदै गयो, “हिजो राजाको शासन (राजतन्त्र) समाप्त भयो र अब पुँजीपति वर्गको शासन आयो । व्यापारी, उद्योगपति, घर–जग्गाका व्यापारी, गिटी–बालुवा र निर्माण व्यवसायी ठेकेदार, तस्कर (लुकीचोरी सीमा व्यापार गर्ने), जग्गा धनी, जिल्ला–जिल्लाका जालीफटाहा सबै पुँजीपति वर्गकै हुन् । त्यस वर्गको विरोधमा देशमा काम गरिखाने सबै मजदुर, किसान, युवा–विद्यार्थी, खेलाडी, शिक्षक र प्राध्यापकहरू, वैज्ञानिक र कानुन व्यवसायीहरू, स–साना पसले र व्यापारी, ड्राइभर– क्लिनर आदि सबै अत्यन्त बहुमत जनता जुरुक्क उठ्ने छन् । अब तिनीहरूको शासन सुरु हुन्छ । त्यहाँ सबैले कामअनुसारको ज्याला पाउने छन्, योग्यताअनुसार काम पाउने छन् । सबैले समानरूपले योग्यताको विकास गर्न पाउने छन् । जोताहाहरूले जग्गा पाउनेछन् र काम गरिखाने मजदुरहरूले काम पाउने छन् । बास नहुनेलाई बासको बन्दोबस्त हुनेछ । युवा र युवती, पुरुष र महिला सबैले कामको मात्रा र गुण हेरी समान ज्याला पाउने छन् । टुहुरा–टुहुरी, अशक्त र अक्षम, बिरामी, ज्येष्ठ नागरिकहरूको पनि बन्दोबस्त आ–आफ्नो ठाउँमा समाजले गर्नेछ । सबैले व्यक्तित्व विकासमा समान अवसर पाउने छन् । हरेक टोल र बस्तीमा एकैबाजी शिशुशाला र बालोद्यानहरूको बन्दोबस्तले केही महिनाभित्र लाखौँ महिलाहरूले काम पाउने छन् ।”
अनन्तले कुरा टुङ्गो लाउन खोज्दै थियो, बुहारीले हातले सङ्केत गर्दै आफ्नो जिज्ञासा राख्ने इच्छा जाहेर गरिन् । आमाले बुहारीको आशय बुझेर भनिन्, “बुहारी, भन के भन्न लागेको हो ?” टाउको हल्लाउँदै आमा र बाबाट बोल्ने स्वीकृति पाएपछि अनन्ततिर फर्केर बिस्तारै जिज्ञासा राखिन्, “केही महिनाभित्र एकैबाजी लाखौँ महिलाले कसरी के काम पाउने छन्, मैले बुझिन ।” लाज र अप्ठेरो मान्दै बुहारीले आमा र बाको मुख हेरेर चूप लागिन् ।
अनन्तले बुबा–आमाको मुख हेर्दै सम्झाउने ढङ्गले भन्यो, “प्रवेशिका पास गरेका दिदीबहिनीहरूलाई दुई–चार महिनाका शिशु र बालबालिकाहरू स्याहार्ने तालिम दिएर एकैबाजी हरेक गाउँ र बस्ती वा वडाहरूका शिशुशाला र बालोद्यानमा काम दिएर ठुलो सङ्ख्यामा आमाहरूलाई पनि श्रम शक्तिमा परिणत गर्न सकिने छ । अनिमात्रै महिलाहरू साँचो अर्थमा स्वतन्त्र र रोजगारमा सक्रिय हुनेछन् र आर्थिकरूपले आफ्नो खुट्टामा उभिन सक्ने स्थिति सुरु हुनेछ ।”
Leave a Reply