कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
इतिहासकार एवम् लेखक निर्मल श्रेष्ठले पाल्पा तानसेनको सांस्कृतिक वैभव उजिल्याउने पुस्तक ‘सांस्कृतिक नगर तानसेन : जीवन्त सङ्ग्रहालय’ पाठकमाझ ल्याउनुभएको छ । लेखक श्रेष्ठका थुप्रै पुस्तक, लेख रचनाहरू प्रकाशित छन् । उहाँले आप्mनो लेखन यात्राको क्रममा थुप्रै सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ । तीन – चार दशकदेखि विशेषतः इतिहास, कला, संस्कृति र सम्पदालाई मूलभूत विषयवस्तु बनाएर उहाँको कलम चलेको देखिन्छ ।
पुस्तक ‘सांस्कृतिक नगर तानसेन ः जीवन्त सङ्ग्रहालय’ तानसेन सहरको ऐतिहासिकता, सहरको मूर्त तथा अमूर्त सांस्कृतिक, धार्मिक सम्पदाहरूको विषयमा केन्द्रित छ । पाल्पा तानसेनको भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थितिबारे जानकारी राख्न चाहने जोकोहीका निम्ति यो पुस्तक राम्रो खुराक बन्नेछ । इतिहास र संस्कृतिका विद्यार्थीका निम्ति छुटाउनै नहुने सन्दर्भ सामग्री बनेको छ । पुस्तक पठनीय र जानकारीमूलक छ । इतिहासदेखि वर्तमान नयाँ पिढीसम्म तानसेन नगरमा मनाइने संस्कृति, रितिथिति एवम् रहनसहनको बृहत् अध्ययनको सार प्रस्तुत गरिएको पुस्तक हँुदा तथ्यपरक अनुभूत हुन्छ ।
संस्कृति र सांस्कृतिक सम्पदा मानव सभ्यताकै महत्वपूर्ण उपज हो । नेपाल जस्तो विविध संस्कृतिको सङ्गमस्थलमा हरेक क्षेत्र, गाउँ र सहरको वस्तुपरक एवम् गहन अध्ययन नयाँ समयको आवश्यकता पनि हो । इतिहास र हाम्रो उद्गमसँग जोडिएका संस्कारहरूलाई भुल्दै, बिर्सँदै जाने आजको प्रवृत्तिले हाम्रो अर्थात् मानव समाजको विकास यात्रा अध्ययन पनि अपूर्ण बन्दछ । त्यसकारण, लेखक निर्मल श्रेष्ठले नयाँ पिढीका निम्ति ठूलो गुण लगाउनुभएको महसुस हुन्छ । उहाँको पुस्तकमा तानसेन नगरको संस्कृति र सांस्कृतिक सम्पदा सङ्ग्रहालयमा झैँ सङ्ग्रहित रहनेमा कुनै शङ्का छैन ।
मानव संस्कृतिलाई मानव समाजकै श्रेष्ठत्तम् उपलब्धिका रूपमा व्याख्या गरिन्छ । मानिस–मानिस, मानिस–प्रकृति, मानिस–पर्यावरण लगायत पक्षहरूसँगको सम्बन्धलाई परिभाषित गर्ने तथा त्यसलाई मूर्त बनाउने माध्यमका रूपमा संस्कार र संस्कृति हुर्केको हो भन्न सकिन्छ । पुस्तकका प्रकाशक तानसेनको संस्कार र सांस्कृतिक सम्पदाको दस्तावेजीकरण भएकोमा प्रशन्न छिन् । लेखकले संस्कृति क्षेत्रमा आप्mनो कलम यात्रा थाल्नुअघिका पृष्ठभूमि, बाल्यकालका अमिट छापहरू र इतिहासप्रतिको आप्mनो लगावलाई मिठो भाषामा अभिव्यक्त गर्नुभएको छ । पाल्पाको तानसेन नगर विभिन्न जातजाति र भाषाभाषीहरूको सङ्गमस्थल हो । तानसेनलाई सांस्कृतिक विविधताको सङ्गमविन्दुको रूपमा पनि लेखकले विवेचना गर्नुभएको छ । पुस्तकमा सांस्कृतिक नगर तानसेनको मानचित्र देख्न पाइन्छ । तथ्याङ्कले तानसेनलाई बुभ्mन सघाउँछ । तानसेन नगरको प्रादुर्भाव कसरी भयो, यो नगरको ऐतिहासिक पृष्ठभूमि के हो, नगरको नामाकरण तानसेन नै किन ? पुस्तकमा यी प्रश्नहरूको तथ्यपरक जवाफ पाइन्छ । झट्ट हेर्दा पुस्तकले तानसेनको सांस्कृतिक पक्षमात्र उजागर गरेजस्तो देखिन्छ तर पुस्तकले तानसेनको जीवन, जीवनपद्धति, राजनीति, आर्थिक र सामाजिक पक्षलाई पनि परोक्ष उजागर गरेको छ । लेखक स्वयम् भन्नुहुन्छ – “सांस्कृतिक नगर तानसेनको परम्परा संस्कृति र सभ्यतालाई थप अविष्कृत गर्न खोजिएको झिनो प्रयास हो ।” ‘सांस्कृतिक नगर तानसेन ः जीवन्त सङ्ग्रहालय’ पुस्तकलाई पाठकसामु आँखीभ्mयाल, तिकिझ्यालको रूपमा पस्कन खोजिएको छ । पुस्तकले सांस्कृतिक नगर तानसेनको सांस्कृतिक परम्परालाई मात्र पस्कन खोजेझैँ लाग्न सक्छ । तर, संसारको एउटा कुनाबाट अर्को कुनासम्म जसरी संस्कृतिले यात्रा तय गर्दे सांस्कृतिक नगर तानसेनसम्म आइपुगेर घुलन भई सांस्कृतिक नगर तानसेनको आप्mनै सभ्यता पहिचान र सांस्कृतिक शृङ्खलाको कडी बन्न गएको छ, यस कुरालाई पाठकसामु ल्याउने प्रयास पनि पुस्तकको हो । पुस्तकमा नेपालको राजनैतिक इतिहास केलाइएको छ । नेपालका शासकहरूको सन्दर्भहरूसँगै तानसेन नगरको जन्मको इतिहास छ ।
तानसेन किन एउटा सांस्कृतिक एवम् ऐतिहासिक नगर हो ? यो जिज्ञासा मेट्न लेखक पूर्णतः सफल हुनुहुन्छ । ई.सं १९६१ मै सोह्रवटा नगरहरू रिकर्ड गर्ने क्रममा तानसेन पनि नगरको रूपमा उल्लेख भइसकेको थियो । २००७ सालमा तानसेन नगर पञ्चायतको गठन भएको र २०१४ देखिमात्र नगरको आधिकारिक हैसियत तानसेनले पाएको जानकारी पुस्तकबाट मिल्छ । तानसेनका चार किल्लाहरूको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे पुस्तकमा चर्चा छ ।
तानसेन प्राकृतिक सम्पदाले सुसज्जित नयाँ सहर जस्तो देखिन्छ । तानसेनमा अठारौँ शताब्दीभन्दा पहिले र त्यसपछि बनेका काष्ठकलाको बेजोड नमुनायुक्त घरहरू, नेपाली शैलीको छाना, बेजोड काष्ठकलाले सजिएका सुन्दर झ्यालहरू, रातो इँटाले निर्मित पाल्पा गभर्नरको दरबार, अठारौँ शताब्दीमा निर्मित भगवती र नारायणका मन्दिरहरूले तानसेन सहरलाई पुरानो अर्थात् ऐतिहासिक हो भन्ने तथ्य प्रस्तुत गर्छ भने तानसेनको रिती–रिवाज, परम्परा संस्कृतिले पुरानो पाल्पाको पनि झल्को दिन्छ । तानसेनको ऐतिहासिक पक्ष नपढेका र नबुझेका मानिसहरूले तानसेनलाई नयाँ सहर पनि भन्लान् तर यसको ऐतिहासिकता पुस्तकभित्र भेटिन्छ । तानसेनको परिचयका निम्ति निर्मल श्रेष्ठको पुस्तकले यथोचित योगदान गर्ने निश्चित छ ।
संस्कृतिले कुनै पनि राज्यको कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन, तथा त्यहाँको समाजको मूल्यमान्यता र परम्पराको प्रतिनिधित्व गरेको हुन्छ भन्नुहुन्छ लेखक श्रेष्ठ । संस्कृति मानिसको आन्तरिक मानसिक कठिनाइहरूमाथि काबु प्राप्त गर्नमा सहायक सिद्ध हुन्छ भन्ने लेखकको ठम्याइ हो । संस्कृति, संस्कार र सभ्यताबीचको गहिरो अन्तरसम्बन्धलाई मिहिन ढङ्गले व्याख्या गरिएको छ । मानिस जङ्गली युगदेखि आजको युगसम्म आइपुग्दा भएका परिवर्तनहरूमा संस्कृति र सभ्यताले कस्तो भूमिका निर्वाह ग¥यो भन्ने विषयमा पनि लेखकले चर्चा गर्नुभएको छ ।
सांस्कृतिक नगर तानसेन ‘पाल्पाली सभ्यता’ को केन्द्रविन्दु हो भन्नुहुन्छ लेखक । मौलिक रितिरिवाजको धनी नेवार समुदाय, रैथाने मगर, आर्यनहरूको सांस्कृतिक मिलनविन्दुको रूपमा तानसेनले जात्रा, पर्व, चाडहरू मनाउँछ । सांस्कृतिक नगर तानसेनका ग्रामीण भेगमा हुने भैलो, ठूलो नाच, फागु झाम्रे, करुवा नाच, नारायण पुजा, खट जात्रा, लक्षवर्ति, चुड्काहरूले सांस्कृतिक नगर तानसेनको सांस्कृतिक परम्परालाई उच्च बनाएको छ । तानसेनमा पहाडका मुसलमानहरू, इसाई समुदायले पनि आप्mनो स्थान पाएका छन् । तानसेन आप्mनो मौलिक सांस्कृतिक सम्पदामा त धनी छ नै साथै नेपालका विभिन्न भूमिमा मनाइने परम्पराहरूलाई पनि आफ्नै ढङ्गले मनाउँछ । काठमाडाँै उपत्यकाका मौलिक संस्कृतिसँग त्यहाँका नेवार समुदायको संस्कृतिले मेल खान्छ । उपत्यकाका नेवार समुदायलाई तानसेनको सांस्कृतिक पक्ष अझ रोचक लाग्ला । यस पुस्तकभित्र तानसेनका मूर्त र अमूर्त संस्कृतिको जीवन्त सङ्ग्रह भेटिन्छ । संस्कृतिलाई इतिहास, किम्बदन्ती, वातावरण र विज्ञानसँग जोड्ने लेखकको प्रयास सराहनीय छ । त्यहाँ मनाइने श्री ७ वटुक भैरव जात्राले हिन्दु, बौद्ध, जैन समुदायमा विशेष महत्व राख्छ । विधिविधान, रितिरिवाज, मूर्तिकला, तन्त्रशास्त्रहरूको खोतलखातल पनि पुस्तकले गरेको छ ।
पुस्तकमा तानसेनको बौद्ध र बौद्ध संस्कृतिको चर्चा छ । बुद्ध जयन्तीसँग जोडेर बौद्ध कला, वास्तुकला र सांस्कृतिक गरिमा प्रस्तुत गरिएको छ । चैत्य, गुम्बा, विहारहरूको चर्चा छ । रैथाने मगर र संस्कृतिको विषयमा लेखिएको छ । रैथाने मगरहरू को हुन् ? तिनका सांस्कृतिक परम्परा तानसेनमा कसरी विकसित भयो ? भन्नेबारे चर्चा छ ।
तानसेनमा नेवार समुदायको गुठी संस्कृतिबारे जानकारीमूलक परिच्छेदहरू पुस्तकभित्र छन् । तानसेनमा नेवारहरूको आगमन सेनकालदेखि नै भएको तथ्य उजागर गरिएको छ । उपत्यकाका नेवारहरूको आगमनले उपत्यकाका संस्कारहरूलाई तानसेनमा जीवन्त राखेको यथार्थ पनि प्रस्तुत छ ।
पुस्तकले सांस्कृतिक विविधताको झलक दिन्छ । गथाःमुग, घण्टाकर्णलाई पौराणिक तन्त्रकथासँग जोडेर व्याख्या गरिएको छ गथाःमुगलाई कृषि, पर्यावरण र सरसफाइसँग जोडेर मनाइने सांस्कृतिक परम्पराको रूपमा पनि चर्चा गरिएको छ ।
सांस्कृतिक लाखे नाच र किम्बदन्तीको विषयमा रोचक प्रसङ्गहरू उल्लेख छन् । नाग पञ्चमी, सांस्कृतिक चतुर्मास ब्रत, गुंपुन्हि, जनै पुर्णिमाको सांस्कृतिक महत्व उल्लेख छ । सापारु, गाइजात्रा तानसेनमा कसरी मनाइन्छ ? चर्चा छ । जन्मदेखि मृत्युसम्मको संस्कार र त्यो संस्कारसँग जोडिएको सांस्कृतिक पक्षभित्र मान सम्पदाको झल्को मिल्छ । ती अमूर्त सम्पदाहरूले नै सहर र बस्तीहरूलाई जीवन्त बनाउँछन् । मानिसलाई सामाजिक बनाउन संस्कार र सांस्कृतिक मूल्यमान्यताले सघाउँछ । पुस्तकले यही सन्देश दिन्छ ।
रोपाइँ जात्रा किसानी कर्म अर्थात् कृषिसँग जोडिएको जात्रा हो, सामन्तवादी व्यवस्थामा किसानहरूको अवस्थाबारे सो प्रथाले परोक्ष जानकारी प्रदान गर्दछ ।
दाफा, सांस्कृतिक वाद्यवादन, भजन, धिमेले तानसेनलाई अझ बढी जीवन्त बनाएको छ । बाघ जात्राले तानसेन सहरमा मानिस र पशुपन्छीबीचको सम्बन्ध अर्थात् पर्यावरणसँगको सम्बन्धलाई उजिल्याउँछ । श्री ७ गणेश जात्रा, श्रीकृष्ण जन्माष्टमी, श्री ७ अमरनारायण जात्रा, भगवती जात्राहरूको वर्णनसँगै नेपालमा अङ्ग्रेजहरूको हमला र प्रतिकारसमेतको चर्चा छ ।
तीज र ऋषिपञ्चमी, सांस्कृतिक पर्व चथाः गणेश चतुर्थी र यसको जिवन्त महत्वबारे लेखकले मार्मिक ढङ्गमा उल्लेख गर्नुभएको छ । श्री ७ लक्ष्मीनारायण जात्रा, सयाःपुन्हि, बडादसैँ अर्थात् मोहनी, सेनकालीन सांस्कृतिक परम्परा सराएको रौनकको शब्दचित्र पुस्तकमा छ । तिहार, स्वन्ति, मनमोहक मण्डल, नेपाल संवत् र म्हःपूजा, भाइटीकाले तानसेनलाई अझ समृद्ध बनाएको छ । रुरुक्षेत्र, रिडी र ऋषिकेशव जात्रा, यमरि पुन्हि, श्री स्वस्थानी ब्रत, श्रीपञ्चमी, महाशिवरात्री, फागुपुर्णिमा, श्री हनुमानजात्रा, माण्डण्य ऋषिको रथयात्रा आदि ऋतुअनुसार मनाइने चाडहरू हुन् । पुस्तकले तानसेनको मौलिकता र विशेषतालाई थप व्याख्या गरेको छ । चौरासी पूजा, ज्या जँक्व, इहि, बा¥हा तयगुजस्ता नेवार समुदायको सांस्कृतिक परम्परा कर्मबारे विवेचना पुस्तकमा छ ।
यसरी, तानसेन सहरमा मनाइने चाडपर्व, जात्रा, संस्कृतिको पौराणिक एवम् ऐतिहासिक महत्व, किम्बदन्तीका साथै अहिलेको समाजसँग संस्कृति कसरी जोडिएको छ भन्नेबारे वर्णन लेखक सरल तरिकामा गर्नुहुन्छ । शाब्दिक अर्थ समेत प्रस्ट पारी पर्व र जात्राको केस्राकेस्र्रा केलाउन सफल लेखक श्रेष्ठले साँचो अर्थमा ४७५ पृष्ठको यस पुस्तकमा सांस्कृतिक नगर तानसेनको सांस्कृतिक पक्षलाई जीवन्त पार्नुभएको छ । तानसेनको वैभवको दस्तावेजीकरण गर्न उहाँ सफल हुनुहुन्छ । समग्र नेपालको संस्कृति र सांस्कृतिक सम्पदा अध्ययनमा लेखक श्रेष्ठको देनप्रति नेपाली पाठक जरुर आभारी रहनेछन् । नेपाली बौद्धिक वृत्त, इतिहास र संस्कृतिविद्हरूले पनि तानसेनलाई अझ नजिकबाट चिन्न निर्मल श्रेष्ठजीको पुस्तक जरुर पल्टाउनेछन् । अथक प्रयास, अध्ययन, खोज तथा लेखनका निम्ति लेखकप्रति आभार !
Leave a Reply