सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
कोभिड–१९ को दोस्रो लहरले नेपाललाई आच्छु – आच्छु पार्दै छ । पहिलो लहरभन्दा अहिलेको दोस्रो लहर नेपाली जनताको लागि अत्यन्त घातक साबित भएको छ । सरकारले समयमै सतर्कता नअपनाउँदा नेपाली जनताले दुःख पाउँदै छन् । यो सङ्कटमा नेपाली जनताले कोभिडविरुद्धको खोप समयमै पाउन नसक्नुका साथै सङ्क्रमित बिरामीहरूले यथोचित उपचार पनि पाउन सकेनन् । हाम्रो स्वास्थ्य प्रणाली यतिखेर निरीह देखिएको छ । सङ्क्रमित बिरामीले अक्सिजन नपाएर छटपटिएर मृत्युवरण गर्नुपरेको हृदयविदारक दृश्य देखिँदै छ । ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा लगाउने ओली सरकारले नेपाली जनताको लागि अक्सिजन र आवश्यक स्वास्थ्य सामग्रीको बन्दोवस्त गर्न सकेन । सङ्कटको बेला नेपालीहरूको ‘कन्तबिजोक’ संसारले देख्यो ।
राजधानीका धेरैजसो निजी अस्पतालले वैशाख २९ गते ‘अक्सिजन अभावमा कोभिड–१९ का नयाँ बिरामी भर्ना लिन नसकिने’ भन्दै प्रेस विज्ञप्ती प्रकाशित गरे । सरकारी अस्पतालहरूले पनि सङ्क्रमितका आफन्तलाई ‘अक्सिजन अभावमा बिरामी मृत्यु भएमा अस्पताल जवाफदेही नहुने’ भन्ने व्यहोरामा औँठाछाप लगाउन लगाई उपचार सुरु गर्दै छन् ।
यस्तो संवेदनशील अवस्थामा सम्पूर्ण नेपाली एकढिक्का भई कोभिडविरुद्ध लड्नुपर्नेमा शासक दलका नेताहरू सत्ता प्राप्तिको ‘कुकुर झगडा’ मा व्यस्त रहे । जनताको स्वास्थ्यप्रति सरकार र शासक दलका नेताहरू संवेदनशील भएनन् ।
नेपालमा कोभिड–१९ को दोस्रो लहर भारतको तुलनामा बढी खतरनाक देखियो । नेपालमा सङ्क्रमितहरूको दर दिनप्रतिदिन बढ्दै छ । भारतमा प्रति १० लाख जनसङ्ख्यामा दैनिक सङ्क्रमितको सङ्ख्या २४० छ भने नेपालमा त्योभन्दा बढी अर्थात् प्रति १० लाख जनसङ्ख्यामा ३४० सङ्क्रमित देखियो । दैनिक सङ्क्रमण दरमा पनि भारत विश्वको २१ औँ स्थानमा छ भने नेपाल भारतभन्दा अगाडि १५ औँ स्थानमा देखियो । सङ्क्रमण फैलिने दर भियतनामपछि नेपाल दोस्रो स्थानमा रहेको स्वयम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताउँदै छ । भियतनाममा सङ्क्रमण फैलिने दर २.४ छ भने नेपाल १.६ को अवस्थामा रह्यो ।
नेपाल–भारतबीच रहेको खुला सीमाको कारण नेपालमा सङ्क्रमणको दर बढेको हो । कोभिडको ‘हट स्पट’ रहेको भारतबाट खुला सीमाको फाइदा उठाउँदै सङ्क्रमितहरू नेपाल प्रवेश गरे । सरकारले खुला सीमालाई न नियमन गर्न सक्यो न सीमा क्षेत्रमा क्वारेन्टिनको उचित बन्दोवस्त गर्न सक्यो । भारत रोजगारीमा गएका नेपालीहरू ‘पीसीआर’ चेक र स्वास्थ्य उपचारविना घर पुग्दा गाउँका गाउँ नै कोभिड सङ्क्रमणले ग्रस्त बन्यो । विदेशी भूमिमा कोभिड कहरबाट बच्न स्वदेश फर्केका नेपालीहरू ‘तावाबाट फुत्केको माछो भुङ्ग्रोमा’ जस्तै भए । विज्ञहरूले नेपालमा कोभिड–१९ सङ्क्रमणको मूल कारण नेपाल–भारतबीच रहेको खुला सीमा नै हो, यसको नियमन गर्नै पर्छ भनेर पटक–पटक सरकारलाई सुझाव दिए । तर, सरकार ‘कानमा तेल हालेर’ बस्यो ¤ अहिले नेपाली जनता दुःख पाउँदै छन् ।
वैशाख २७ गते सम्पन्न प्रतिनिधिसभाको बैठकमा सरकारलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा छलफल भयो । उक्त बैठकमा प्रम केपी ओली र प्रतिपक्ष नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा, नेकपा माओवादीका नेता प्रचण्ड, जसपाका नेता उपेन्द्र यादवलगायत शासक दलका नेताहरूले एक अर्कोलाई कटाक्ष गर्दै ‘वचनवाण’ प्रहार गरे । यो बैठकमा कोभिड–१९ सङ्क्रमणले निम्त्याएको सङ्कट समाधानका उपायबारे शासक दलका नेताहरूले समय खर्चेनन् । उनीहरू सरकार बचाउने, गिराउने, प्रधानमन्त्री को बन्ने ? को नबन्ने ? भन्ने विषयमा मात्र अलमलिए । केवल नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देश र जनताबारे चिन्ता व्यक्त गर्नुभएको देखियो । नेपाली जनताले सङ्कटको बेला राजनीतिक दल र तिनका नेतालाई चिन्न सक्नु पर्दछ ।
सांसद सुवालले उक्त बैठकमा भारतसँगको खुला सीमामा क्वारेन्टिन र परीक्षणको प्रभावकारी व्यवस्था गर्नुपर्ने, देशभरिका योग्य छात्रछात्रालाई क्युवामा जस्तै अन्य विषय सरह डाक्टर विषय पढ्ने् सजिलो व्यवस्था गर्नुपर्ने, सबै उमेर समूहका नेपालीलाई कोभिड–१९ को रोकथाम खोप उपलब्ध गराउनुपर्ने, खोप र स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार र कमिसनबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धनअन्तर्गत रहेको ‘एमसीसी’ पारित गरेर नेपाललाई युद्धभूमिको रूपमा परिणत गर्न नहुनेजस्ता देश र जनताको हितसँग सम्बन्धित विषयमा विचार व्यक्त गर्नुभयो ।
उहाँले यस्तै संवेदनशील विषयमा २०७८ वैशाख २९ गते सरकार प्रमुखको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ती जारी गर्नुभएको छ । विज्ञप्तीमा भनिएको छ– “अहिले हरेक १० मिनेटमा एक सङ्क्रमितको मृत्यु भइरहेको छ । सङ्क्रमण रोकथामको निम्ति समयमा आवश्यक बन्दोवस्त नगरिए मृत्यु सङ्ख्या बढ्नेतर्फ हामीले सरकारको ध्यानाकर्षण गराउँदै आएको हो । स्वास्थ्यकर्मीहरूसमेत नेपालको स्वास्थ्य प्रणाली भत्किएको गुनासो गर्दै छन् ।”
“यो सङ्क्रमणलाई तदारुकताका साथ रोक्न नेपाल सरकारले चीन सरकारको अनुभव लिनु उपयुक्त हुनेछ । साथसाथै, सरकारले चीनसँग वार्ता गरी आवश्यक अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री अविलम्ब आपूर्ति गर्न प्रमज्यूको पुनः ध्यानाकर्षण गराउन चाहन्छु ।” भन्दै सङ्कटको बेला अलमलिएको सरकारलाई सांसद सुवालले बाटो देखाउने काम गर्नुभयो । तर, शासक दलका नेताहरू सत्ता समीकरणको जोडघटाउमै व्यस्त छन् । उनीहरूले सत्ताको छिनाझपटीमा विश्वले देख्ने गरी लाजमर्दो व्यवहार गर्न पनि पछि परेनन् । नेपाली जनताले यस्तो विषयको मूल्याङ्कन गर्नु जरुरी छ ।
नेपाल चिकित्सक सङ्घले पनि मुलुकभर ‘रेड अलर्ट’ घोषणा गर्दै सरकार, राजनीतिक दल, निजी क्षेत्र, सहयोगी निकाय लगायतलाई यो महामारीविरुद्ध लड्न अपिल ग¥यो । अपिलमा भनिएको छ, “जनताको जीवन रक्षाभन्दा ठूलो मुद्दा अरू हुन सक्दैन, सिङ्गो राष्ट्र एक ठाउँमा उभिएर जनताको जीवन रक्षाको निम्ति पहल गरौँ ! हामी कोरोना युद्धमा होमिएका छौँ, दृढतापूर्वक खटिने छौँ । यो लडाइँमा तपार्इँहरूको, सङ्कल्प, सत्प्रयास र साथ चाहिएको छ ।”
“आज फेरि पनि केही आशा गरेर यो बिन्ती गर्दै छौँ । अब केही महिना तपाईँका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् ! एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने ।” सङ्घले जारी गरेको अपिलमा उल्लेख छ ।
तर, के सरकार र शासक दलका नेताहरूको ध्यान यस्ता संवेदनशील विषयमा जाला ? सचेत नेपाली जनता खबरदारी गर्दै छन्– शासक दलका नेताहरू सत्ताको ‘कुकुर झगडा’ मा फसेर जिम्मेवारीबाट पन्छिन पाइन्न !
Leave a Reply