भर्खरै :

अक्सिजन प्लान्ट र भक्तपुर नपालाई सहयोग

कोभिड–१९ को दोस्रो लहरले उचाइ लिएसँगै देशभरका अस्पताल र स्वास्थ्य चौकीहरूमा अक्सिजनको अभाव पनि चुलियो । अघिल्लो लहरभन्दा फरक दोस्रो लहरमा कोभिडका धेरै बिरामीलाई उपचारको लागि अक्सिजनको सख्त आवश्यकता प¥यो । धेरै बिरामीलाई एकैचोटि अक्सिजन चाहिने भएपछि अस्पतालहरूको आपूर्ति प्रणाली नै अस्तव्यस्त भयो । अक्सिजनको अपर्याप्तताको कारण कतिपय बिरामीको निधन भयो । चिकित्सकहरू अक्सिजनको पर्याप्त आपूर्ति हुँदो हो त मृतकमध्ये धेरैको ज्यान जोगाउन सकिन्थ्यो भन्दै छन् । नेपाललाई दोस्रो लहरले गाँज्नुअघि भारतमा दोस्रो लहरको दुष्प्रभाव विकराल बनिसकेको थियो । भारतमै पनि अक्सिजनको हाहाकारी भइसकेको थियो । जोगाउन सकिने भएर पनि अक्सिजनको अभावको कारण धेरै मानिसको जीवन गइरहेको थियो । तर, यता समय भएर पनि नेपाल सरकारले महामारी सामनाको लागि ठोस तयारी गरेन । जब अक्सिजनको अभावको कारण मानिसको भकाभक ज्यान जान थाल्यो, तब सरकारी निकायको बल्ल होस खुल्यो । विडम्बना ¤ त्यत्तिञ्जेल निकै ढिला भइसकेको थियो ।
सरकारकै मात्र भर पर्न नसकिने भएपछि केही स्थानीय तहले जनताको स्वास्थ्य रक्षाको लागि आ–आफ्नो अनुकूलतामा अक्सिजन प्लान्ट निर्माणको थालनी गरे । अधिकांश स्थानीय पालिकाले राज्यको माथिल्लो तहबाट आएको बजेटबाट अक्सिजन प्लान्टको निर्माण कार्य थाले । तर, स्थानीय पालिका सञ्चालनमा धेरै विषयमा उदाहरण बन्दै आएको भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणमा पनि भिन्न शैली अपनाएर अर्को उदाहरण प्रस्तुत गर्न खोजिरहेको छ । सधैँ माथि वा विदेशबाट आएको पैसाकै भरमात्र काम गर्ने प्रवृत्तिभन्दा भिन्न भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणको लागि आवश्यक पर्ने पैसा जोहो गर्न जनतासमक्ष आह्वान ग¥यो । जनताको स्वास्थ्यको लागि नगरपालिकाले गरेको आह्वानलाई भक्तपुरका जनताले सहर्ष स्वीकारे । विशेषतः नगरका विभिन्न सहकारी संस्थाहरूले यो अभियानमा होस्टेमा हाइसेँ गरे । व्यक्तिगत तहमा पनि नगरवासीहरूले सहायता गरिरहेका छन् ।
केन्द्रीय र प्रदेश सरकारले भक्तपुर नगरपालिकालाई राजनीतिक पूर्वाग्रहका आधारमा गरेको पक्षपातपूर्ण व्यवहारसामु जनताको सहभागितामा बन्न लागेको अक्सिजन प्लान्ट एउटा गतिलो जवाफ पनि बनेको छ । शासक दलले जितेका पालिकाभन्दा धेरै उदाहरणीय काम भएको भक्तपुरमा फेरि पनि शासकका पूर्वाग्रह चिर्दै अर्को उदाहरणीय काम हुन लागेको छ । जनताको सहभागितामा हुन लागेको यो काम ‘माथिबाट झर्ला र खाउँला’ भन्ने प्रवृत्तिको लागि चुनौती बनेको छ ।
जनताको लागि जनताकै सहमति र सहभागितामा विकास गर्नु नै वास्तवमा लोकतन्त्रको मूल भावना हो । भक्तपुर नपाले आज यही भावनालाई अघि बढाइरहेको देखियो । नगरपालिकाले आह्वान गरेलगत्तै भक्तपुर नगरपालिका, भक्तपुर जिल्ला र देशकै विभिन्न क्षेत्रका जनता र संस्थाले समेत सहायता दिन थालेका छन् । यसले ख्वप अस्पताललाई देशकै उदाहरणीय अस्पताल बनाउने सङ्कल्पले जग बसाल्दै गरेको देखिंदै छ ।
बिहानीले दिनको सङ्केत गर्छ । ख्वप अस्पताल अहिले निर्माणको चरणमा छ । कोभिड–१९ महामारीसँगै अस्पतालअन्तर्गत कोभिड वार्ड सुरु गरेर जनतालाई कदरयोग्य सेवा भइरहेको छ । ख्वप अस्पतालकै हिस्साको रूपमा आकस्मिक रूपमा अक्सिजन प्लान्ट बनाउन गरिएको आह्वानप्रति सहयोगको वर्षाले ख्वप अस्पतालको फराकिलो बन्दै गएको भविष्यतिर सङ्केत गरेको छ । जनताको यो सहायताको वर्षा नगरपालिका, जनप्रतिनिधि, ख्वप अस्पतालप्रतिको विश्वास हो । त्यो विश्वास जिम्मेवारी पनि हो । जनताबीच हुर्केर जनताकै सेवा गर्ने भावनाका साथ अघि बढिरहेको भक्तपुर नपालाई अक्सिजन प्लान्ट स्थापनाको निम्ति आइरहेको सहायता जनताकै जगमा उभिएर पनि धेरै उदाहरणीय काम गर्न सकिने दमदार दृष्टान्त बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *