नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
(सन् १९४६ मा प्रकाशित पुस्तक ‘टमिगनबाट प्रजातन्त्र’ दोस्रो विश्वयुद्धको उत्कर्षतिर दक्षिणपूर्वी एसियाका देशहरूको भ्रमण गरेका अस्टे«लियाली पत्रकार विल्फ्रेड बर्चेटको रिपोर्ताज हो । पुस्तकमा जापानी आक्रमणले आक्रान्त चीन र अङ्ग्रेजहरूले छोड्दै गरेको भारतमा आफूले देखेभोगेका विवरण बर्चेटले उतारेका छन् । पुस्तक पढ्दै जाँदा आजको चीन र भारत निर्माणको पृष्ठभूमि उजागर हुन्छ । चिनियाँ नेतृत्व जनताप्रति कति संवेदनशील थियो र भारतीय नेतृत्व कसरी जनताभन्दा पनि मानवीय सङ्कटमा मोटाउने दलाल र नाफाखोर पुँजीपति एवम् साहुमहाजनहरूको सेवामा तल्लिन थियो भन्ने कुरा पुस्तकले खुलस्त पार्छ । किसान समस्या र कोरोना महामारीले रन्थनिएको वर्तमान भारतको कहालीलाग्दो दृश्यले पुस्तकको निम्न अंश सान्दर्भिक देखिएको हुनाले यहाँ प्रस्तुत गरिएको छ । सं.)
समग्रमा युद्ध र बाहिरी संसारको अज्ञानता अनौठो थियो । सरकारले पाँचमध्ये दुइटा गाउँमा लाउड स्पिकर जोडेर र साँझपख सङ्क्षेपमा दैनिक घटनाहरू बताएर मानिसहरूलाई सूचना दिने प्रयास गरेको थियो । कसैलाई पनि काङ्ग्रेस पार्टीको बारेमा थाहा थिएन । यद्यपि, उनीहरूले गान्धीको बारेमा सुनेको बताए । उनीहरूले “गान्धी जोगी हुन् र उनले गरिबगुरुवाको भलो चिताउँछन्” भने ।
माथि वर्णन गरेको गाउँमा मैले प्रवक्तालाई मेरो विचारमा गाँठी प्रश्न सोधेँ ः
“लडाइँ सकिएपछि सरकारले तपाईँहरूलाई एउटा चीज दिन चाहे तपाईँले के माग्नुहुन्छ ?” मैले फ्याट्टै अङ्ग्रेजहरूले तत्काल भारत छोड्नुपर्छ भन्ने उत्तर आउने अपेक्षा गरेको थिएँ । धेरैले आफ्नो पाइताला बालुवामा रगडे । अनि, एकजना होचो कदका पाका व्यक्ति मान्छे पन्छाउँदै हामीनिर आए । ती वृद्धको दाह्री सेतो थियो, आँखा राता थिए र खुट्टामा उनले खैरो धोती बेरेका थिए । मेरो प्रतिक्रिया बुझ्ने हेतुले मलाई हेर्दै उनले भने ः
“साहेब हामीलाई हाम्रो जमिन फिर्ता चाहिन्छ । सरकारले गाउँलाई आफ्नो जमिन फिर्ता दिनुपर्छ ।”
गाउँलाई जमिन फिर्ता दिने भनेको के हो भनी मैले सोधपुछ गरेँ ।
“साहेब ¤ म भर्खरको छँदा जमिन गाउँको थियो । हामी सबैसित जमिन थियो । हामी सबै सँगै काम गथ्र्यौँ र हामीलाई पुग्ने चामल उब्जिन्थ्यो । अघिल्लो लडाइँमा हामीले आफ्ना छोराहरू लडाइँमा नपठाएकोले सरकारले हाम्रो जमिन खोस्यो । अब हामी सबैसित ससाना जमिनका टुक्रा छन् । त्यसको लागि हामीले जमिनदारलाई सालैपिच्छे धेरै पैसा तिर्नुपर्छ । हाम्रो जमिन कहिल्यै बढ्दैन तर हाम्रो परिवार बढिरहन्छ । हाम्रा छोरीहरू हुर्किन्छन् र तिनको बिहेको लागि दाइजोमा दिन हामीसित केही छैन । त्यसैले तिनीहरू हामीसँगै बस्नुपर्छ, उनीहरूको बिहे हुँदैन । हाम्रा छोराहरू हुर्किन्छन् र हामी सबैले गरिखान हामीसित उही सानो टुक्रा जमिन हुन्छ । हाम्रो परिवार ठूलो हुँदै जान्छ तर चामल जतिको त्यति रहन्छ । त्यसको पनि धेरै हिस्सा जमिनदारको पोल्टामा जान्छ । सरकारले गाउँलाई जमिन फिर्ता दिनुपर्छ । अनि, हामीले काम गर्न सक्छौँ र आपसमा चामल बाँड्न सक्छौँ । उहिलेउहिले जस्तै ।”
वृद्धले कुरा गरिरहेका थिए र उनी अझै धेरै कुरा बताउन चाहन्थे । यत्तिकैमा भीडमा हलचल भयो र उनका आँखामा तर्सेको भाव देखियो । ठूलाबडाको टाङमुनि लुकिरहेका केटाकेटीजस्तै फुर्तिला गाउँका मुखिया देखापरे । उनको शरीर हट्टाकट्टा थियो । अरूजस्तै उनको खुट्टा पनि नाङ्गै थियो तर उनको हातमा सामाजिक प्रतिष्ठा झल्किने गरुङ्गो लौरो थियो । उनी सिधै हामीतिर आए । भीडमा खासखुस सुनियो र एउटा व्यक्तिले आफ्नो छालाको जुत्ता अगाडि बढाइदियो । यसबाट मुखिया सिधै खेतबाट आएका थिए भन्ने बुझियो ।
आगन्तुकले आफ्नो बाक्लो जुङ्गामा ताउ लगाउँदै दोभाषेसँग कुरा गर्न थाले । उनी भिक्टोरियाली युगका नाटकीय कुपात्रजस्ता देखिन्थे । उनले आफूलाई मै हुँ देखाउन खोजिरहेका थिए । पाँचवटा गाउँमा हामीले भेटेका मान्छेमध्ये लेखपढ गर्न जान्ने उनी मात्र थिए । मुख्य कुरा उनी जमिनदार थिए । उनी तीनवटा गाउँका मालिक थिए । अघिल्लो युद्धमा अरूका छोराहरू सेनामा भर्ती गर्न सघाएको भनी कृतज्ञ भएको बेलायत सरकारले जमिनजति उनका बुबालाई सुम्पेको थियो । उनी र उनका बुवा कोही पनि युद्धमा गएनन् । तर, बेलायती ‘उपहार’ छोराको नाममा गयो ।

उनको आगमनले हाम्रो छलफल छोट्याइदियो । आफ्नो ‘कमारो’ सँग कुराकानी गरेकोमा उनले नाक खुम्चाए र आफ्नो मालिकको बारेमा नराम्रो बोलेको शङ्का गरे । उनको कठोर र रुखो अनुहार देखेर धेरै मान्छे बिस्तारै खेततिर फर्के, महिलाहरूले आफ्ना घैँटाहरू उचाले र घरिघरि पछि फर्किँदै आआफ्ना घरतिर लागे ।
जमिनदारले आफ्ना बुबाले सरकारको सेवा गरेको हुनाले आफूलाई विद्यालय पठाएको बताए । उनले दिल्लीबाट आउने दैनिक पत्रिका पढ्थे । युद्धको विषयमा साधारण मान्छेले थाहा पाउनुपर्ने सबै कुरा आफूले उनीहरूलाई बताएको भनी हामीलाई उनले आश्वस्त पारे ।
गरिबी र अशिक्षाको हकमा बाहेक यी पाँचवटा गाउँले नै समग्र भारतीय किसानको जीवन प्रतिविम्बित गर्छन् भन्न गा¥हो छ । प्रान्तअनुसार परिस्थिति फरक छ । सामाजिक सङ्गठन, शिक्षा र राजनीतिक चेतनाको स्तर तलमाथि छ । रोचक विषय, झन्डै भाइसरोयको दरबारमुनि अर्थात् दिल्ली नजिकैका यी गाउँमा अघोर अज्ञानता र गरिबी छ । संयुक्त प्रान्त (वास्तवमा दिल्ली समेट्ने यो एउटै प्रान्त हो) को जनसङ्ख्या ५ करोड छ । त्यसमध्ये ८५ प्रतिशत हिन्दु छन् । मैले घुमेका गाउँहरूमा हिन्दुभन्दा मुसलमान धेरै थिए । ती गाउँमा दुवै धर्मका मानिस सँगसँगै मिलेर बसेका थिए ।
आशाका किरणहरू
देशको कुल जनसङ्ख्याको ८० प्रतिशत ओगट्ने किसानहरूको जीवन जान्नु निकै कष्टदायी अनुभव थियो । फोहर, गरिबी, अज्ञानता, अशिक्षा, सङ्गठनको अभाव र आफ्नो निम्छरो जीवनमा ढुक्क हुने भाग्यवादी रवैया देशको विकासमा तेर्सिएका ठूला अवरोध थिए । शिष्ट उदासीनतामा जोड दिने भारतीय दर्शन र धार्मिक व्यवस्थाका जराहरू नउखेलेसम्म उन्नत जीवनका लागि जनतालाई एकगठ गर्न नसकिने जोकोहीले बुझ्न सक्थ्यो । युद्धकालीन औद्योगीकरणले सहरमा जनसङ्ख्याको एउटा ठूलो हिस्सालाई सर्वहारा तुल्याउँदै थियो । त्यहाँ सायद जनतालाई एकआपसमा जोड्ने र उनीहरूको जीवन सुधार गर्ने मौका थियो । उनीहरूसँग कम्तीमा सीपहरू सिक्ने मौका थियो । हजारौँ वर्षदेखि वास्तविक जीवनमा कुनै हेरफेर नभएको देशको गति पट्यारलाग्दो देखिने नै भयो ।
तर, त्यहाँ आशाका केही किरण पनि थिए । सुरुमा रुसको कृषिको अवस्था यस्तै कमजोर थियो, त्यहाँ पनि अशिक्षा र गरिबीले घाँटी जोडेका थिए, जमिन ससाना टुक्रामा विभाजित थियो र तिनलाई पुरातन शैलीमा कमाइन्थ्यो । कहिलेकाहीँ स्वास्नी र गोरुहरूलाई एउटै जुवामा राखेर जोताइन्थ्यो । केही वर्षभित्र रुसले परिवार र गाउँका सीमाहरू भत्काएको छ । टुक्राटाक्री जमिनलाई ठूलो खेतमा परिणत गरिएका छन्, खेतलाई सामूहिक खेतमा फेरिएको छ । विस्तृत कृषि क्रान्तिले २० वर्षभन्दा छोटो अवधिमा रुसका पिछडिएका किसानहरू विकसित देशका किसानहरूको दाँजोमा पुगेका छन् ।
नयाँ बिउबिजन र मलले खेतहरू पुनर्जीवित भएका छन् । ट्याक्टरलगायत प्रविधिको प्रयोगले उत्पादन ह्वात्तै बढेको छ । बिजुली, सरसफाइ र शिक्षाले गाउँमा संस्कार र प्रकाश भित्र्याएको छ । भारत र बेलायतका पुरातनपन्थी कृषिविद्हरूले सँगै टाउको हल्लाउँदै छन् र यस्तै परिवर्तनले भारतमा ‘प्रलय’ ल्याउनेछ भनिरहेका छन् । तर, २० वर्षअघिको रुसको बारेमा पनि के उनीहरूले यसै भनेका थिएनन् र ?
भारतमा किसानहरूले आफ्नो जीवन र संस्कृति उकास्ने विषयमा पाइला चालिसकेका छन् । यो शताब्दीको आरम्भमा भारतमा पहिलो किसान सहकारी बन्यो । आज त्यसमा ६० लाख सदस्य छन् । त्यसको पुँजी ३ करोड डलरबराबर छ । सहकारी खेतीको आन्दोलनले ससाना टुक्रे खेतहरू हटाउँदै पञ्जाबमा ठूलो स्तरमा खेतीपाती गर्ने सम्भावना बढेको छ । त्यहाँ १० लाख एकड जमिनको एउटै पाटोमा खेती हुँदै छ । आन्दोलन बिस्तारै अघि बढ्दै छ ।
सबैभन्दा राम्रो कुरा के हो भने प्रगतिको दृष्टिले खासगरी पञ्जाबमा किसानहरू अन्यायपूर्ण कर र कूतको प्रतिरोध गर्न एकगठ हुँदै छन् । कर वा कूत तिर्न नसकेर जमिनबाट निष्कासन हुँदै गरेका छिमेकीहरूलाई किसानहरूले मद्दत गर्दै छन् । उनीहरूको सङ्गठन विशुद्ध आर्थिक जगमा किसानको हितको उद्देश्यले बनेको छ । त्यसले अब राजनीतिक रूप लिँदै छ । सानो तर शक्तिशाली कम्युनिस्ट पार्टीको छत्रछायामा एउटा किसान युनियन बनेको छ । यसलाई किसान सभा भनिन्छ र ससाना उपसमितिहरूबाट यसको स्थापना भएको हो । यसमा अहिले लाखौँ सक्रिय सदस्य छन् । मैले सन् १९४३ को अप्रिलमा भारतभरिबाट २० हजारको सङ्ख्यामा आएका किसान सभाका प्रतिनिधि पञ्जाबको अमृतसरनजिकै एउटा गाउँमा आठौँ वार्षिक सम्मेलनको लागि भेला भएको देखेको थिएँ ।
भारतमा महान् किसान सङ्घर्षको प्रस्थान बिन्दुको रूपमा किसान सभालाई हेर्न सकिन्छ । यसलाई गान्धीवादजस्तो अर्ध रहस्यमयी विचारहरूले सिँचिएको छैन । रूपरेखाका हिसाबले यो राष्ट्रिय र अन्तर्राष्ट्रिय छ । १९४३ को सम्मेलनले काङ्ग्रेस नेताहरूको रिहाईको मात्र माग गरेन बरु यसले फासीवादविरोधी युद्धको पक्ष लियो । यसले कालोबजारी गर्नेहरूको विषयमा आफ्नो विचार दियो । सुरुमा ससाना गाउँले समितिहरू स्थानीय समस्यालाई लिएर बनेका थिए । सक्रिय सङ्गठक र बुद्धिमान नेतृत्वका कारण अब यो माथिल्लो स्तरमा उठ्दै छ, यसले राष्ट्रिय मुद्दा पनि समेट्दै छ । यो जमिनसँग जोडिएको छ । यसले गाउँलेका दैनिक समस्याहरूलाई लिएर सङ्घर्ष चलाउन आफ्नो बलबुता लगाउँदै छ ।
भारतको कृषिको हकमा बेलायती लगानीकर्ताहरूको रुचि चिया, सुर्ती, सुती, जुटजस्ता बालीमा छ । त्यसैले खाद्यान्नमा सुधारका लागि किसानहरू आफै सक्रिय हुने बाहेक अर्को विकल्प देखिन्न ।
रुसी शैलीको वास्तविक क्रान्ति नै किसानहरूको समस्याको उपयुक्त समाधान हुने देखिन्छ । यो किसान सभा र सहकारी आन्दोलनको विस्तारबाट सम्भव छ । यसमा मात्र ग्रामीण भारतमा नवजीवन भर्नसक्ने सामथ्र्य छ ।
अनुवाद ः गणेश
Leave a Reply