नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
म एक यहुदीवादी (Zionist) घरपरिवारमा जन्मेहुर्केको थिएँ, १२ वर्षसम्म म एक यहुदीवादी युवा आन्दोलनमा सक्रिय रहेँ । चार वर्ष इजरायलमा पनि बिताएँ । मेरा कतिपय साथीहरू र परिवारका सदस्यहरूले इजरायलको सुरक्षा अङ्गहरूमा काम गरेका छन् । जब यही नै तपार्इँको संसार हुन्छ, तपाईँकै अगाडि यहुदीहरूले जातीय विभेद गरे पनि त्यसलाई देख्न तपार्इँलाई कठिन हुन्छ ।
म फ्रान्सको एक यहुदी समुदायमा हुर्केको थिएँ, जहाँ यहुदीवाद र इजरायलको लागि बिनासर्त प्रेम र समर्थनलाई नै मूल्यमान्यता बनाइएको थियो । यहुदीवाद (Zionism) शब्द त्यस आन्दोलनको नाम हो, जसले आधुनिक प्यालेस्टिनमा यहुदी राज्य स्थापनाको लागि सक्रिय भूमिका निर्वाह गरेको थियो । प्यालेस्टिनीहरूको भूमिमा यहुदी राज्य बनाउँदा पनि हामीलाई गलत लागेको थिएन, कारण हामीलाई त्यसरी जानकारी वा शिक्षा नै दिइएको थिएन । हामीलाई त सिकाइएको थियो – सशस्त्र दङ्गा र पटक–पटकको जातीय नरसंहारहरूमार्फत यहुदीहरूलाई लेखेट्न र समाप्त पार्न खोजिँदै छ र एउटा यहुदी राज्यमात्र हामीलाई सुरक्षित बनाउने उपाय हो । आजको प्यालेस्टिन नै यहुदीहरूको सभ्यतास्थल र पुरानो घर रहेको स्थान हो ।
त्यसो त यहुदीविरोधी भावना पनि इतिहासको तथ्यमा मात्र सीमित थिएन, हामी सबैले आफ्नो दैनिक जीवनमा त्यसको अनुभव गरेका थियौँ ।
त्रास र डरमा नै यहुदीवाद (Zionism) को जरा गाडिएको छ । हुन त यसलाई यहुदी मानिसप्रतिको प्रेम र अस्तित्वको लागि हो भनिन्छ तर अरू कुनै पनि जातीय राष्ट्रवादजस्तै यहुदीवादले पनि एक तहगत मान्यता स्थापित गरेको छ । यसले यहुदी जातिका मानिसको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिन्छ, चाहे त्यो अरू मानिसको जीवनको मूल्यमै किन नहोस् ¤ यहुदीवादले एउटा वैकल्पिक ऐतिहासिक धारणा निर्माण गरिसकेको छ र त्यस धारणाले प्यालेस्टिनको कब्जालाई न्यायोचित र निरन्तरको हिंसालाई उचित सिद्ध गर्छ । त्यसैले यहुदीवाद स्वयम्ले न्यायपूर्ण शान्तिको स्थिति उत्पन्न गर्न र कायम गर्न सक्दैन, बाहिरी दबाबले मात्र त्यसको जातिवादी विभेदलाई अन्त्य गर्न सक्दछ ।
इजरायलद्वारा प्यालेस्टिनी भूमि पश्चिम किनारा (West bank) माथिको कब्जा जुनसुकै परिभाषाले पनि जातीय विभेद हो ः एकै स्थानमा बसोबास गर्ने दुई जातीय समूहका लागि दुइटा कानुनी प्रणाली लागु गरिएका छन् । त्यहाँ यदि कुनै एक यहुदी र अरब मूलका मुस्लिमले ठीक उस्तै अपराध गरेमा पनि यहुदीमाथि देवानी अदालतमा मात्र मुद्दा चल्छ तर अरबमाथि सैनिक अदालतमा मुद्दा चलाउने गरिन्छ । अधिकांश इजरायलीहरूले यसलाई अन्यायको रूपमा कल्पनासम्म गर्न सक्दैनन् । तिनीहरू विभेद शब्द प्रयोगलाई लिएर नै झगडा गर्न आउँछन् किनभने तिनीहरू भित्री मनदेखि नै भेदभावलाई जायज र आत्मसुरक्षाको विषय मान्छन् ।
हाम्रो यहुदी समुदायलाई यथार्थसित सम्बन्ध विच्छेद गरिएको ऐतिहासिक पूर्वधारणाद्वारा शिक्षित र दीक्षित गरिएको छ ः प्यालेस्टिन भनेको हामी बसोबास गर्न आउनुभन्दा अगाडि अधिकांशतः बसोबासरहित मरूभूमिको टुक्रा हो । हामीले भन्ने गरेको इजरायलको स्वाधीनता सङ्ग्रामको बेलामा प्यालेस्टिनीहरूलाई यहुदी लडाकुहरूले लखेटेका होइनन् बरु तिनीहरू आफ्नै स्वेच्छाले आफ्नो घर छाडेर गएका हुन् ताकि अरब सेनालाई –सबै यहुदीहरूलाई मारेर वा जिउँदै समुद्रमा फाल्नका लागि ठाउँ बनोस् । त्यस्तै, अरब नेताहरू कहिल्यै सम्झौताको लागि, इजरायल र संरा अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौतामा आउन तयार भएनन् । यस्तै यस्तै पूर्वधारणाहरू सबैजसो इजरायली र यहुदीहरूको दिलदिमागमा भर्ने काम निरन्तर भइरहेको छ ।
त्यस्ता पूर्वधारणाहरू धेरैअघिदेखि नै खण्डन पनि हुँदै आएका छन् । उदाहरणका लागि एक पूर्व इजरायली प्रधानमन्त्रीले सन् १९४८ को युद्धमा प्यालेस्टिनीहरूलाई देशबाहिर लखेट्न आफ्नो भूमिका स्मरण गरेका थिए र इतिहासकारहरूले यहुदीवादीहरूको बसाइसराइ आउनुभन्दा अगाडि प्यालेस्टिनका अधिकांश भूमि अरब मूलका किसानहरूले खेती गर्ने गरेको प्रमाणसहित लेखेका छन् । तर, इजरायल र यहुदीवादीहरूका पूरै विश्व पूर्वधारणाले नै छोपिएका छन्, इजरायलमा जन्मेहुर्केका इजरायली युवाका साथीहरू र परिवार, उनीहरूले उपभोग गर्ने इजरायली र अधिकांश पश्चिमा सञ्चारमाध्यमहरू, उनीहरू संलग्न हुने सङ्गठनहरू, तिनीहरूले पढ्ने शिक्षा पद्धति र पाठ्य सामग्रीहरू सबैमा कट्टर यहुदीवादीहरूले सिर्जना गरेका भ्रामक पूर्वधारणा भरिएका छन् । त्यही नै तिनीहरूका लागि यथार्थ बनेको छ । तिनीहरूका धारणा गलत हुन् र ऐतिहासिक तथ्यसित मेल खाँदैनन् तर तिनीहरू त्यसैलाई सत्य मान्छन् ।
कट्टर यहुदीवादीहरूले यस वैकल्पिक यथार्थलाई स्थापित गर्नका लागि एकसय वर्षभन्दा बढी समय लगाइसकेका छन् र इजरायलका यहुदीहरूको नजरमा प्यालेस्टिनीहरूलाई गैरमानवीकरण गरिसकेका छन् । जब इजरायली सुरक्षा बलले गाजा र पश्चिम किनारामा बमबारी गर्छन् र बालबालिकासहित ठूलो सङ्ख्यामा निहत्था सर्वसाधारणको हत्या गर्छन्, इजरायली यहुदीवादीहरू सोच्छन्, त्यसका लागि प्यालेस्टिनीहरू आफै दोषी छन् । यहुदीवादीहरूको धारणाअनुसार प्यालेस्टिनीहरू आफ्नै माझमा सशस्त्र समूहहरूलाई आश्रय दिन्छन्, आफ्ना केटाकेटीहरूलाई यहुदीहरूलाई घृणा गर्न सिकाउँछन् । यहुदीवादी नेताहरू इजरायली जनतालाई बताउने गर्छन् कि इजरायलले आफ्नो सुरक्षामात्र गरिरहेको छ र यसको अर्को कुनै विकल्प छैन ।
त्यही विचारको प्रक्रियाले गाजामाथिको घेराबन्दी र पश्चिम किनाराका जाँचचौकीहरू, अरब र यहुदी बस्ती छुटयाउने पर्खालहरू र प्यालेस्टिनी समुदायको बस्तीभित्रका घरहरूमाथि बुल्डोजर चलाउने कदमलाई पनि न्यायोचित ठहर गर्दछ । यहुदीवादीहरू इजरायलीहरूको पीडालाई मात्र वास्तविक मान्छन्, प्यालेस्टिनीहरूको पीडालाई नक्कली भन्ने गर्छन् वा प्यालेस्टिनीहरूद्वारा नै सिर्जित भन्ने गर्छन् ।
निश्चय नै केही इजरायलीहरूले यी पूर्वधारणाहरूलाई अस्वीकार गर्छन् र प्यालेस्टिनीहरूको स्वतन्त्रताका पक्षमा अभियान नै चलाइरहेका छन् । तर, तिनीहरूको सङ्ख्या निकै सानो मात्र छ । आधाआधी इजरायलीहरू पनि दैनिकरूपमा कब्जा गरिएका भूमि र साधनबाट आफ्नो जीविका चलाउनुपर्ने, आफ्नै देशको जाँचचौकीहरूमा पनि विदेशी सेनाको अगाडिजस्तै आत्मसमर्पण गर्नुपर्ने, कुनै पनि कुरा वा सबै कुराका लागि आफ्नो प्रतिनिधित्व नै नगर्ने सरकारबाट अनुमति लिनैपर्ने र सेनाले कुनै पनि बेला नागरिककोे घरमा घुस्न र कब्जामा लिन सक्ने व्यवस्थाहरूसित सन्तुष्ट छैनन् । इजरायलको कब्जाभित्र रहेका अरब मूलका प्यालेस्टिनीहरूको अवस्था त जनावरहरूको भन्दा गएगुज्रेको छ ।
प्यालेस्टिनीहरूको मुक्तिको एउटै उपाय इजरायलले आफ्नो फाइदाका लागि पछिबाट कब्जामा लिएका भूमिहरू क्षतिपूर्तिसहित फिर्ता गर्नु हो । जातीय विभेदकारी राज्यले त्यत्तिकै आफैले त्यस्तो गर्ने छैन, त्यसको लागि व्यापक अन्तर्राष्ट्रिय दबाब आवश्यक छ । दक्षिण अफ्रिकामा रङ्गभेदी जातिवादी शासनको अन्त्य अन्तर्राष्ट्रिय नाकाबन्दी, अस्त्रशस्त्रमाथिको नाकाबन्दी र विश्वव्यापी बहिष्कारको अभियानले मात्र हुनसकेको थियो ।
त्यस्तै, पूर्वी टिमोरमाथि इन्डोनेसियाको क्रुर कब्जा विश्वव्यापी ऐक्यबद्धता अभियान र अन्तर्राष्ट्रिय दबाबले मात्र अन्त्य हुन सकेको थियो । संरा अमेरिकाकै दक्षिणी भागमा दासप्रथाको अवशेषका रूपमा रहेको रङ्गभेदी व्यवस्था सङ्घीय कानुनहरू र सर्वोच्च अदालतका फैसलाहरूका आधारमा अन्त्य हुन सकेको थियो । बाह्य दबाबले नै जीम क्रोको जातीय विभेदको अन्त्य र समान अधिकारको प्रचलन लागु हुन सकेको थियो ।
माथिका सबै देशका घटनामा प्रभुत्वशाली शासक समूहहरू आफै निर्मित ऐतिहासिक पूर्वधारणामा यति धेरै अडिग हुन्छन् कि उनीहरूले आफ्ना ‘शत्रु’ हरूको मानवतालाई पनि देख्न सक्दैनन् र बाह्य दबाब वा हस्तक्षेपले मात्र न्यायोचित समाधानतिर अगाडि बढ्न सक्छन् । यो अवस्था आजको इजरायलको सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।
इजरायली– प्यालेस्टिनी द्वन्द्व अन्त्यका लागि इजरायललाई अन्तर्राष्ट्रिय मध्यस्थताको मार्गमा सहमत गराउन आवश्यक छ । इजरायली शासकहरू सहजै उक्त मार्गमा आउने छैनन् । त्यसका लागि विश्वका उपभोक्ताहरूले इजरायली उत्पादनको उपभोग बहिष्कार गर्नुपर्छ, व्यापारीहरूले इजरायली प्रविधि र उत्पादन बहिष्कार गर्नुपर्छ । इजरायलका मुख्य व्यापार साझेदार देशहरूले इजरायलसितको व्यापारमा प्रतिबन्ध लगाउनुपर्छ र संरा अमेरिका एवम् युरोपेली युनियनजस्ता राजनीतिक समर्थकहरूले समर्थन फिर्ता लिएर वार्ता र न्यायोचित सम्झौताका लागि दबाब सिर्जना गर्नुपर्छ ।
एक जाीय विभेदकारी राज्यले स्वेच्छाले आफैलाई बदल्ने छैन । बाह्य दबाब र उपायहरूले मात्र इजरायलजस्तो राज्यलाई अन्यायपूर्ण कब्जाको क्रम रोक्न, कब्जा गरिएका भूमि र सम्पत्ति फिर्ता गराउन र दीर्घकालीन शान्तिको बाटोमा अग्रसर गराउन सक्छ ।
(लेखक राफेल मिमौन फ्रान्सको बोर्डेक्समा जन्मेहुर्केका र इजरायलमा बसी अध्ययन गरेका विद्वान हुन् । हाल उनी संरा अमेरिकाको लस एन्जेलसमा बसी विश्वभरका मानवअधिकार रक्षकहरूसित मिलेर काम गरिरहेका छन् ।)
-Zionism cannot produce a just peace. Only external pressure can end the Israeli apartheid_
– Global Opinions
अनुवाद ः प्रकाश
Leave a Reply