भर्खरै :

बासुमा शिक्षक भेला

भक्तपुर, १३ जेठ । बासु माध्यमिक विद्यालय तथा कलेजका शिक्षकहरूबीच ‘कोभिड महामारी र शिक्षकको भूमिका’ बारे बिहीबार अपराह्न छलफल भएको छ । भनपाको कोभिड महामारी नियन्त्रण कोषमा सहयोग गर्ने विद्यालयका प्रअको प्रस्तावलाई शिक्षकहरूको एकमतले पारित ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बासु माविको व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले कोभिड महामारी थप फैलिन नदिन अभिभावक तथा विद्यार्थीलाई सचेत पार्ने जिम्मेवारी शिक्षककै भएको भनाइ राख्नुभयो । उहाँले महामारीबारे शिक्षकले गम्भीर अध्ययन गरी सही जानकारी प्रवाह गर्नुपर्ने भन्दै गलत तथा अवैज्ञानिक कुराले महामारी नियन्त्रणको काम थप जटिल भएको विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले अब व्यक्तिवादी सोच तथा व्यवहारबाट महामारी नियन्त्रण नहुने र सामूहिक भावनाको प्रचार गर्नुपर्ने भन्दै टोल र समाजको एकता भएमा सरकारको मुख ताक्नु नपर्ने धारणा राख्नुभयो ।
भक्तपुरमा अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरिदको निम्ति सहयोग प्रदान गर्न आग्रह गर्दै उहाँले बौद्धिक मजदुरको पसिना परेको रकमको उपयोग श्रमिकको सेवामा उपयोग हुने बताउनुभयो । उहाँले भन्नुभयो– “सरकारले गरेन भनी हात बाँधेर बस्यौँ भने श्रमिक जनताले दुःख पाउनेछन् ।”
भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले जनताको अपनत्व स्थापित गर्न भनपाले कोभिड महामारी नियन्त्रण तथा अस्पतालका स्वास्थ्य सामग्री खरिदको निम्ति आर्थिक सङ्कलन अगाडि बढाएको भन्दै भनपाप्रति सरकारले गरेको भेदभावको जवाफमा जनता एकजुट हुन आवश्यक भएको विचार राख्नुभयो ।
बासु माविका प्राचार्य अम्बिका न्याइच्याईले बासु माविका शिक्षक, कर्मचारी, पूर्वविद्यार्थीको तर्फबाट आर्थिक सङ्कलन गरी भनपाको कोभिड नियन्त्रण कोषमा जम्मा गर्ने भन्दै ख्वप अस्पताल देशकै नमुना अस्पताल बन्ने धारणा राख्नुभयो ।
बासु माविका सहप्राचार्य रविलाल प्रधानले शिक्षकको तत्परतापछि समाजका विभिन्न समुदायका मानिसले कोभिड महामारी नियन्त्रणको निम्ति आर्थिक सहयोगको हात अगाडि बढाएको विचार राख्नुभयो ।
विद्यालयका अर्का सहप्राचार्य राजकुमार ह्योँमिखाले अज्ञानताकै कारण डर भएको भन्दै डर हटाउन सही ज्ञानको प्रचार गर्न बासुका शिक्षकहरू लागिपरेको बताउनुभयो ।
कृषि विज्ञानका संयोजक सविन ख्याजूले भक्तपुर शैक्षिकमात्र होइन चिकित्साकै केन्द्र हुने आशा व्यक्त गर्दै भनपालाई सहयोग गर्न सबै तदारूक भएको धारणा राख्नुभयो ।
प्रावि तहका इन्चार्ज विष्णुप्रसाद दुमरूले ख्वप अस्पतालको निम्ति आर्थिक सङ्कलनको अभियानले सबैलाई उत्साहित गरेको बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरूले भनपाको सहयोग कोषमा जम्मा गर्ने सहयोग रकम स्वघोषणासमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *