भर्खरै :

युवाहरूद्वारा २०३ औँ माक्र्स जयन्ती मनाइयो

नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा २०३ औँ माक्र्स जयन्तीको अवसरमा माक्र्सवाद र समसामयिक विषयमा प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नागरिकता अध्यादेशबारे प्रस्ट पार्दै विदेशीले पाएको नागरिकता छानबिन गरी कारबाही अगाडि बढाउनुपर्ने र बुबाको पहिचान नभएकोलाई नेपाली नागरिकता दिन नहुने विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले नागरिकतासम्बन्धीको व्यवस्था खुकुलो बनाउन नहुने धारणा पहिलेदेखि व्यक्त गर्दै आएको बताउँदै खुला सिमाना भएको देशमा सिनेमाको टिकटजस्तै नागरिकता वितरण गर्न नहुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेपाल मजदुर किसान पार्टीलाई विरोधीहरू विभिन्न बहानामा होच्याउँदै आएकोले पार्टी कार्यकर्ताहरू त्यस्ता तत्वहरूबाट सतर्क रहनुपर्ने बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय वैकल्पिक सदस्य राजेन्द्र चवालले माक्र्सवाद एक गहन र व्यापक विषय भएको र माक्र्सवाद परिवर्तनको सिद्धान्त रहेको विचार राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिका उपाध्यक्ष जीएस गोसाईंले द्वन्द्वात्मक भौतिकवादको विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
आयोजक समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सदस्य रामेश्वर मचामसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *