अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सोभियत सङ्घको उक्राइना गणतन्त्रको दोस्रो ठुलो सहर खार्कोभमा म १९७० देखि १९७६ सम्म अध्ययन गरेँ । त्यहाँ एउटा धेरै ठुलो सर्वसाधारण मनोरञ्जन पार्क छ । यसलाई ‘म्याक्सिम गोर्की केन्द्रीय सांस्कृतिक तथा मनोरञ्जन पार्क’ भनिन्छ । दुई हजार ६ सय रोपनी (१३० हेक्टर) भन्दा बढी जमिनमा फैलिएको उक्त पार्क पहिले रुसी महान कवि अलेक्जेन्डर पुश्कीनको नाममा स्थापना गरिएको थियो । सन् १९३८ मा म्याक्सिम गोर्कीको मृत्युपश्चात् २ वर्षपछि उक्त पार्क गोर्कीको नाममा परिवर्तन गरियो । ३०–४० हजार रुख, फलफुल र बोट बिरुवाहरूबाट सुुसज्जित उक्त पार्क युरोपका पार्कहरूमध्ये एक सुन्दर पार्कमा गनिन्छ । सोभियत सङ्घका धेरै सहरहरूमा (मस्कोलगायत) यस्ता सार्वजनिक पार्कहरू गोर्कीका नाममा राखिएका छन् ।
सन् १९४१ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धमा खार्कोभ सहरमा अवस्थित पार्कमा बनाएका प्रायः सबै संरचनाहरू ध्वस्त भएका थिए । युद्ध शान्त भएपछि सोभियत जनताको जनश्रमदानबाट उक्त गोर्की पार्कको पुनः संरचना गरियो । हाल उक्त पार्कमा बर्सेनि दसौँ लाख रुसी तथा विदेशी पर्यटक, दर्शकहरूको घुइँचो लाग्ने गर्छ । उक्त पार्कको मूल द्वारमा लेखक म्याक्सिम गोर्कीको एक विशाल सालिक छ ।
रुसका महान् कवि अलेक्जेन्डरलाई रुसी साहित्य अथवा रुसी वाङ्मयको पिता भनेजस्तै म्याक्सिम गोर्कीलाई सोभियत समाजवादी साहित्यको पिता भनिन्छ । गोर्कीको नाममा मनोरञ्जन तथा सांस्कृतिक पार्कहरूमात्र होइन मस्कोमा एक प्रतिष्ठित थिएटर पनि राखिएको छ । यसबाहेक ठुल–ठुला साहित्य तथा कलासङ्ग्रहालयलगायत थुप्रै शैक्षिक संस्थाहरू पनि स्थापना गरिएका छन् ।
सन् १९३६ मा म्याक्सिम गोर्कीको मृत्यु भएको थियो । उनको मृत्यु हुनु ४ वर्षपहिले सन् १९३२ मा उनी जन्मेको सहर ‘नीझ्नी नोभोगोरड’ लाई उनको सम्झनामा ‘गोर्की सहर नामकरण गरिएको थियो । उनको मृत्यु हुँदा ८ लाख सोभियत नागरिकहरू मलामीमा सामेल थिए । उनको मृत्यपश्चात् मस्कोको एक मूल सडक र एक ठुलो सिनेमा हल पनि गोर्कीको नाममा राखिएका थिए भनिन्छ । कैयौँ कलकारखानाहरू गोर्कीको नामाङ्कन गरिएको थियो । सोभियत सङ्घको हरेक गाउँ–सहरहरूमा गोर्कीका सालिकहरू स्थापना गरिएका थिए ।
यसरी सोभियत सङ्घभित्र गोर्कीको सम्मान गरिएको थियो । अनेकौँ विदेशी भाषामा अनुवादित भएर गोर्कीका पुस्तकहरू विश्वव्यापीरूपमा प्रकाशित भइरहेको छ ।
नेपालमा पनि गोर्कीको विश्व प्रसिद्ध उपन्यास ‘आमा’ नेपाली भाषामा अनुवादित भएर प्रकाशित भएको छ । उनको पुस्तकले विश्व जनमानसमा क्रान्तिकारी जनचेतना जगाउन धेरै योगदान पु¥याएको छ ।
तत्कालीन सोभियत सङ्घमा गोर्कीले लेखेको कुरामा धेरै विश्वास गर्थे । सन् १९०६ मा गोर्की केही समय संयुक्त राज्य अमेरिका बस्दा लेखिएका केही साहित्यिक रचनाहरू, चिठीपत्रहरू अनि पत्रपत्रिकामा छापिएका केही उनका लेख रचना र निबन्ध प्रबन्धहरू धेरै चर्चित रहे । यसैको आधारमा सोभियत जनताले अमेरिकालाई हेर्न थाले । सोभियत सरकारले पनि गोर्की अमेरिका हुँदा उनले अमेरिका र अमेरिकी जनजीवनबारे लेखेका कृतिहरू बारम्बार दोहो¥याएर प्रकाशन गर्न – थाले सोभियत जनतालाई अमेरिकी पुँजीवादी व्यवस्था र साम्राज्यवादी नीतिप्रति आफ्नो धारणा विकसित गर्न ।
गोर्कीको विश्व प्रसिद्ध उपन्यास ‘आमा’ बाहेक अमेरिकामा बस्दै गर्दा आफ्ना अन्तर्वार्ता सहित गोर्कीले थुप्रै लेखहरू स्थानीय पत्रपत्रिकामा छाप्न लगाए । यसबाहेक गार्कीले त्यही समय १९०६ अप्रिलदेखि १९०६ अक्टोबरसम्म ६ महिनामा ६ वटा निबन्धहरू लेखे, जुन सोभियत सङ्घमा धेरै प्रचार भए । ती ६ वटा निबन्धहरूमध्ये अमेरिकामा रहँदा नै स्थानीय पत्रिकाहरूमा दुई वटा कृतिहरू प्रकाशित भए जुन अमेरिकी जनतामाझ धेरै तरङ्गित भए । अमेरिकीहरूबाट गोर्कीले उक्त लेखहरूबाट धेरै विवाद खेप्नुप¥यो ।
स्थानीय न्युयोर्कको पत्रिका ‘कस्मोपोलिटान’ मा गोर्कीको ‘द मव’ (हुलदङ्गा) लेख प्रकाशित भएको थियो । त्यस्तै अर्को पत्रिका ‘एप्लेटनमा ‘द सिटी अफ एलो डेभील’ र ‘पीत प्रेमको सहर’ प्रकाशित भएको थियो । गोर्कीको आँखामा विश्वको सबभन्दा ठुलो व्यापारिक सहर न्युयोर्क पैसाको लालचमा डुबिएको एक नर्क थियो । त्यसैले उनले न्युयोर्क सहरलाई एक दानवीय सहरको रूपमा चित्रण गरे जहाँ सबै पैसाको दुनियाँमा मानवीय भावना नै हराएको थियो । अमेरिकी जीवन पद्धतिप्रति कठोर प्रहार गर्दै लेखिएका यी दुई कृतिहरूप्रति ठुलो आक्रोश व्यक्त भयो अमेरिकामा । गोर्कीलाई आफ्नो लेखको विरोधमा अमेरिकीहरूबाट झन्डै १२०० वटा विरोध पत्रहरू प्राप्त भयो ।
म्याक्सिम गोर्कीले आफ्ना लेखहरूमा मुख्यतया अमेरिकी जीवनमा धनाढ्य पुँजीपतिहरूको शासन चलिरहेको देखाइएको छ । उनीहरूको जीवन पुँजीवादको जन्जीरमा बाँडिएको हुन्छ । यसले गर्दा अमेरिकी जीवनले एक दासत्व ग्रहण गरिरहेको हुन्छ । उनीहरू वास्तविक स्वतन्त्रता भोगेका हुँदैनन् । स्वतन्त्रता एक नारामा मात्र घन्किएको हुन्छ । साम्राज्यवादी अमेरिकामा एउटा मुख्य धारणा थियो, गोर्कीको र उक्त धनदौलतमा लटपटिएको समाजमा साधारण जनता पुँजीवादी यन्त्रको पाङ्ग्राको घिर्नीमात्र हो जसले उक्त पुँजीवादी मेसिन कस्नमा र मजबुतसँग चल्नमा मद्दत गर्छ । ढोङ्गी पाखण्डी पादरीहरूले यो काम गर्न सहयोग गरिरहेका हुन्छन् । अमेरिकी जनता पुँजीपतिहरूको दास भइरहेका हुन्छन् तापनि नाटकीयरूपमा उनीहरूले आत्मसन्तुष्टि लिएका हुन्छन् ।
यही परिवेशमा अमेरिकी स्वघोषित राजाहरू (पुँजीपतिहरू) को आफ्नो धनमाथि धन थुपार्ने अभिलाषाले गर्दा त्यहाँ पैसाले मात्र सबै चीज निर्धारण गरिएको हुन्छ र मानवता भन्ने भावना नै हराएको हुन्छ । समाज पूर्णरूपले रङ्गभेद र यौन दासतामा चुर्लुम्म डुबेको हुन्छ । त्यहीँ भ्रष्टाचारले भित्रभित्रसम्म समाजको हर क्षेत्रमा जरा गाडेको हुन्छ । त्यही कुराको महसुस गर्दै गोर्कीले आफ्नो अमेरिकी प्रवासलाई लिएर लेखेका थिए, “अरु कुरा त ठिक्कै छ तर यहाँको जीवन नारकीत्न्दा तल्लो स्तरको छ ।”
सन् २००० देखि २००५ सम्म पाँच वर्ष अमेरिकामा बस्दा आफूलाई पनि त्यस्तै अनुभव भएको थियो । प्रत्येक दिन साँझ बिहान म गुनगुनाउने गर्थेँ, हाम्रा युगकवि सिद्धिचरणका यी हरफहर :
भाग्य लहरमा लहरी लहरी
पुगेँ म यस मरुस्थलमा कसरी
तर छैन खेद त्यो तिम्रो आकृति
कुँडिएको छ यो हृदत्रि ।
Leave a Reply