बगेको खोला र समय कसैले रोकेर रोकिन्न । १९८६ ले हामीबाट बिदा लिइसकेको छ । राजनैतिक, आर्थिक, ऐतिहासिक, विज्ञान–प्रविधिलगायत अरू धेरै क्षेत्रमा कैयौँ परिवर्तनहरू भए । केही घटनाले कति जनालाई हर्षित तुल्याए भने कतिलाई दुःखी । १९८६ ले विज्ञान र प्रविधिको क्षेत्रमा भने हामीलाई नरमाइला घटनाहरूको याद छोडेर गएको छ ।
हुन त ‘शान्ति वर्षको’ रूपमा प्रवेश गरेको १९८६ ले वर्षको सुरु अथवा जनवरी महिनामै अमेरिकी शट्ल यान च्यालेन्जरका ८ विभत्स दुर्घटनालाई हेर्नु प¥यो । त्यस दुर्घटनामा एक अरब दुई करोड डलर बराबरको भौतिक मूल्य नष्ट भयो र सात मानव जीवन अज्ञातमै बिलिन भए । सातजनामध्ये एउटी शिक्षिका थिइन् । कङ्कड हाइस्कुलकी अध्यापिका क्रिष्टा म्याक आलिफका बाबु, आमा र उनको स्कूलका १२०० छात्र–छात्राहरू टेलिभिजन अघिल्तिर बसेर च्यालेन्जर उडानको प्रतिक्षा गरिरहेका थिए । यान छुट्दा ती खुसीले गद्गद् भए तर दुर्भाग्यवश तिनीहरूको हर्षलाई छिनमै रोदन र पीडामा परिणत गरिदियो । प्रक्षेपनस्थल केप केनावरलबाट छुटेको दुई मिनेट पनि पुग्न नपाउँदै यान आगोको ज्वालामा परिणत हुँदै टुक्राटुक्रा भएर समुद्रमा बिलायो ।
चेर्नोविल दुर्घटना
च्यालेन्जरको दुर्घटना अमेरिकी जनताको लागि मात्र शोकको कुरा नभई सारा विश्वका जनताका लागि दुःखको कुरो बन्न पुगेको छ । किनकि, यसले लिएका उद्देश्यहरूमध्ये धेरै मानव हितकै लागि थिए ।
संसारको एक महाशक्ति अमेरिकाको च्यालेन्जर दुर्घटनाको तीन महिना बित्न नपाउँदै अर्को महाशक्ति देश सोभियत रुसमा अर्को दुर्घटना हुन पुग्यो, च्यालेन्जरभन्दा पनि भयानक–चर्नोविल !
दार्शनिक कार्ल माक्र्सको भौतिकवादी सिद्धान्तअनुसार हरेक वस्तुको दुई विपरीत पक्ष हुन्छ । यस कुरा हरेक वैज्ञानिक उपलब्धिमा लागू हुन्छ । मानवपयोगी बिजुली उत्पादनको लागि सञ्चालित चर्नोविलस्थित बिजुली घरले पनि यही कुरोलाई पुष्टि गरिदियो । संसारमा यस्तो दुर्घटना पहिलो नभए तापनि सोभियत सङ्घको ३२ वर्षको परमाणविक ऊर्जाको इतिहासमा भने यो पक्कै पहिलो हो । यस दुर्घटनाको कारणले ‘फेसनरूपी’ शीत लहरलाई एकपल्ट फेरि चर्काइदियो ।
अनुमान गरिएअनुसार यस दुर्घटनाले रुस सरकारलाई ३ अरब डलरको क्षति पुग्न गयो । तर, योभन्दा दुःखको कुरो यसबाट फैलिएको मृत्युरूपी विकिरणले रुसीलगायत अरू युरोपेलीहरूको स्वास्थ्यमा अदृश्य कु–प्रभावलाई नै मान्न सकिन्छ । हुन त यस दुर्घटनाबाट अहिलेसम्मा ३१ व्यक्तिको मात्र मृत्यु भएको भए तापनि आउँदो ७० वर्षमा धेरै व्यक्ति क्यान्सर र अन्य रोगबाट मृत्यु हुने अनुमान गरिएको छ । रुसी अनुसन्धानकर्ताहरूका अनुसार त्यो सङ्ख्या ४०,००० छ भने अमेरिकी परमाणु संस्थासँग सम्बन्धित डा. रिचार्ड बैबाका अनुसार पुगनपुग ७,८०,००० व्यक्ति क्यान्सरले मर्नेछन् । त्यस्तै यूरोपको परमाणविक ऊर्जाविरोधी सङ्गठनका अनुसार यो सङ्ख्या २,८०,००० छ । ब्रिटेनको रेडियोधर्मी तत्व सम्बन्धित अध्ययन एवम् सुरक्षा सङ्घका अनुसार युरोपमा २००० व्यक्तिमध्ये बेलायतमा मात्रै ४० व्यक्तिको मृत्यु हुनेछ । उक्त सङ्घले सोभियत सङ्घ बाहिर विकिरणको नराम्रो प्रभाव पर्ने देशमा इटाली, प. जर्मनी, पोलायन्ड र स्केन्डिनेभियाको भू–भाग बताएको थियो ।
यो दुःखलाग्दो घटना घटेको ठाउँ युक्रेन गणतन्त्रको राजधानी ‘कीभ’ बाट ८० माइलमात्र टाढाको सानो बस्ती चेर्नोविल थियो । यस क्षेत्रमा करिब २५,००० व्यक्तिको मात्र बसोबास छ । हाल निर्माणाधीनसमेत जम्मा पाँच बिजुली घर यस क्षेत्रमा छन् । तीमध्ये सबभन्दा नयाँ वा चौथोमा दुर्घटना भएको थियो । यसको कार्य सञ्चालन १९८३ देखि भएको थियो । दुर्घटनाअघि यस बिजुली घरमा पानीको अक्सिजन र हाइड्रोजनलाई विखण्डन गर्दा निस्कने तापबाट टरवाईन चलाई बिजुली उत्पादन गरिन्थ्यो । हाइड्रोजन र अक्सिजनको विखण्डनबाट निस्कने अति चर्को तापलाई नियन्त्रणमा ल्याउन यस बिजुली घरमा ग्राफाइट ९नचबउजष्तभ० लाई नियन्त्रक ९मंदक–mयमभचबतयच० को रूपमा प्रयोग गरिन्थ्यो र चिस्याउने काममा साधारण पानीकै प्रयोग गरिन्थ्यो । सोभियत सङ्घका ५१ वटा परमाणविक बिजुली घरमध्ये २५ वटा यस्तैखाले छन् ।
दुर्घटना हुनुअघि त्यस भट्टिमा एउटा प्रयोगात्मक परीक्षण गरिएको थियो । उक्त परीक्षणको मूल उद्देश्य रियक्टरबाट निस्कने बाफलाई बन्द गरी अरू यान्त्रिक शक्तिको प्रयोग गरी टरवाइन चलाउने सम्भाव्यतालाई अध्ययन गरिएको थियो । तर, उक्त परीक्षणको सिलसिलामा रिएक्टरमा (बिजुली–घरको प्रमुख केन्द्र वा मुटु जहाँ परमाणु विखण्डनबाट तापको सृजना गरिन्छ) तापलाई नियन्त्रण गर्ने नियन्त्रक छाडी सही ठाउँमा राखिएको थिएन । रिएक्टरलाई चिस्याउने प्रक्रियामा प्रयोग हुने पानीको प्रबन्धलाई बन्द गरिएको थियो । यी कारणले रिएक्टरमा आवश्यकभन्दा कैयौँ गुणा ताप बढ्यो । त्यस तापले रिएक्टर नै पग्ली ताप र विकिरण बाहिर प्रसारण भयो । जसको फलस्वरूप आगलागी हुन गएको थियो । यो दुर्घटना अप्रिल २५÷२६ को रातको ठीक १ बजेर २३ मिनेट जाँदा घटेको थियो । संसारको लागि अज्ञात सहर, चेर्नोविल अब त्यस किसिमले ऐतिहासिक नगरको रूपमा परिणत भइसकेको छ । जसरी १९४५ मा जापानको हिरोसिमा र नागासाकी तथा अमेरिकाको थ«ी माइल नामक टापुमा जहाँ त्यस्तै परमाणु विकिरण दुर्घटना भएको थियो । साँच्चिकै यस चेर्नोविल दुर्घटनाले सम्पूर्ण युरोपलगायत संसारको धेरै ठाउँमा आतङ्क मचाएको थियो । फलस्वरूप युरोपका प्रायः सबै देशका जनताले यस्तो ‘परमाणु शक्ति’ को विरोधमा आवाज उठाए । खासगरी जर्मनी, ब्रिटेन, इटाली, स्वीडेन र अस्ट्रियामा परमाणु शक्तिविरोधी सङ्गठनले (खासगरी ग्रीन पार्टीले) व्यापकरूपमा आन्दोलन चलाए ।
यस चेर्नोविल दुघर्टनाको सिलसिलामा अन्तर्राष्ट्रिय परमाणविक शक्ति सङ्घ (International Atomic Energy Agency (IAEA) को केन्द्रीय कार्यालय भियतनाममा ५०० वैज्ञानिकहरूको तीनदिने सम्मेलन सेप्टेम्बर २४, (१८८६) मा सम्पन्न भयो । IAEA को इतिहासमा यस्तो सम्मेलन पहिलो थियो । उक्त सम्मेलनमा चेर्नोविल दुर्घटनाबारेको छलफलबाहेक दुईवटा सन्धिमा ५० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए । ती सन्धिमा पछिल्लो कुनै देशमा यस्तो दुर्घटना भएमा चाँडै त्यसको जानकारी सबै देशलाई दिने र दोस्रो यस्तो विकिरणसम्बन्धी सङ्कटकालीन दुर्घटनाको अवस्थामा एकले अर्कालाई सहयोग गर्ने । यी सन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये–रुस, अमेरिका, फ्रान्स, ब्रिटेन र चीन पनि थिए ।
उक्त सम्मेलनमा परमाणु शक्तिको प्रयोगको सुरक्षा र यसले वातावरणलाई दूषित पार्ने सम्बन्धमा विस्तृत छलफल भयो र अन्तिम निर्णयमा यसको प्रयोगलाई विकास गर्दै विश्वमा शक्तिको खाँचोलाई पूर्ति गर्दै जाने भन्ने थियो ।
आज युरोपका परमाणु शक्तिविरोधी सङ्गठनहरू विकिरणको खतरालाई अघि सार्दै संसारका सबै परमाणु बिजुली घरलाई नष्ट गर्नुपर्ने तर्क अगाडि राख्छन् । तर, हामीलाई एक दृष्टिले यस्तो तर्क ठिक्कै पनि लाग्छ, किनकि मानवोपयोगीको लागि परमाणु बिजुली घर स्थापना गर्ने तर यसैको कारण लाखौँ मानिसको ज्यानको जोखिम लिनुमा के उपलब्धि ? फेरि अर्कोतिर विचार गर्दा सबै वैज्ञानिक उपलब्धिहरूको नकारात्मक पक्षलाई मात्र हेरेर त्यसको तिरस्कार गर्नु त्यत्तिकै मूर्खता हुनेछ, जति करेन्टको डरले बिजुली निभाई टुकी बाल्नुमा छ ।
एक समूह वैज्ञानिकहरूको अनुमानअनुसार चेर्नोविल दुर्घटनाको कारणले आगामी ७० वर्षमा ५ हजारदेखि २० हजार व्यक्तिको मृत्यु हुनेछ भने सोही अवधिमा कोइला, पेट्रोल प्राकृतिक ग्याँसजस्ता खनिज इन्धन र वायुमण्डलमा हुने प्रदूषणको कारणले एक करोड पचास लाख व्यक्तिको मृत्यु हुनेछ ।
यस तथ्यलाई अध्ययन गर्दा परमाणु भट्टिको तिरस्कार गर्नुमा कता कता अप्ठ्यारो महसुस हुन्छ ।

तत्कालीन सोभियत सङ्घको युक्रेनमा सन् १९८६ को अप्रिल २६ मा भएको चेर्नोबल दुर्घटनाको दृश्य । तस्वीरः इन्टरनेट
शक्तिको अरू स्रोतभन्दा परमाणविक शक्ति कैयौँ गुणा कम खर्च भएको कुरा सबैलाई विदित्तै छ । एक ग्राम प्राकृतिक युरेनियमको टुक्राइबाट १६० कि. वा. ताप प्राप्त हुन्छ भने अझ प्रजनक (Breader) परमाणु बिजुली घरमा एक ग्राम युरेनियमबाट योभन्दा ७० गुणा बढी अर्थात् ११२५०० कि.वा. ताप प्राप्त हुन्छ । संसारमा आज २.५ करोड टन युरेनियम भएको अनुमान गरिन्छ । जुन 2.5 x 1017 (१ पछाडि सत्रवटा शून्य) कि.वा. ताप प्राप्त नै पर्याप्त छ । यो ताप संसारमा भएको सम्पूर्ण कोइला र पेट्रोलबाट प्राप्त हुने तापभन्दा ५०० गुणा बढी छ । अझ स्पष्टको लागि ‘सलाई बट्टा साइजको युरेनियमबाट ३०० ट्रक भारी जति असल कोइला बराबरको शक्ति उत्पादन गर्न सकिन्छ ।’ संसारको विभिन्न देशमा आज ३७४ वटा परमाणु बिजुली घरहरू सञ्चालित छन् । ती बिजुली घरहरूबाट विश्वको कुल विद्युत् उत्पादनको १४ प्रतिशत उत्पादन गर्दछ । IAEA को भनाइअनुसार त्यो प्रतिशत सन् २००० मा २० प्रतिशत पुग्नेछ । आज रुसको ४० वटा परमाणु बिजुली घरबाट २ करोड ८० लाख कि.वा. विद्युत् उत्पादन हुन्छ र फ्रान्सको ४४ वटा बिजुली घरले देशको कुल बिजुली उत्पादनको ६५ प्रतिशत विद्युत् आपूर्ति गर्दछ ।
जे होस्, चेर्नोविल दुर्घटनाबाट परमाणु भट्टी भएका देशहरूलाई अझ बढी होसियारी हुन सङ्केत गरिएको छ । योभन्दा पनि महत्वपूर्ण कुरो–परमाणु हतियारको भण्डारले सुसजित देशहरूलाई परमाणु युद्धको सबभन्दा सानो नमुनाको भयङ्कर प्रभावलाई चेर्नोविल दुर्घटनाले प्रस्तुत गरेको छ । साँच्चिकै परमाणु युद्ध भएमा त्यसको प्रतिकुल प्रभावको अनुमान लगाउन पुनः एकपल्ट युद्धप्रेमी देशहरूलाई घच्घच्याएको छ ।
राइन नदीको दुर्घटना
युरोपको लागि चेर्नोविल पछिको अर्को दुःखको कुरो राइन नदीको दूषितता थियो । पश्चिम जर्मनीको दक्षिण क्षेत्रको एक भागमा पश्चिम जर्मनी र स्वीजरल्यान्डको सिमानाको रूपमा रहेको कोनस्टाएनसी तालबाट (Lake of constance) सुरु भएर यो नदी सुरुमा पश्चिमतिर बग्दै पछि उत्तर दिशा मोडेर उत्तरी समुद्रमा (North Sea) खस्दछ । यस नदीको प्रारम्भिक भाग (पश्चिमतिर बगिरहेको करिब १७० कि.मि. सम्म) ले पश्चिम जर्मनी र स्वीजरल्यान्डको सिमानाको काम गर्दछ भने उत्तरी दिशामा बग्ने यस नदीको भागले पश्चिम जर्मनी र फ्रान्सलाई छुट््याउँदछ ।
राइन नदी आफैले यो दुर्घटना गरेको थिएन । दुर्घटना त स्वीजरल्यान्डको उत्तर पश्चिमी भागको वेसेल (Basle) सहरको एक रासायनिक कारखानामा भएको थियो ।
वेसेल सहर, पश्चिम जर्मनी, फ्रान्स र स्वीजरल्यान्ड तीन देशको सिमाना जोडिएको ठाउँमा पर्दछ । यस सहरमा र यसको वरिपरि करिब ४ लाख जनसङ्ख्याले बसोबास गरेका छन् । जसमध्ये आधाले प्रत्यक्ष वा परोक्षरूपमा रासायनिक उद्योगमा काम गर्दछन् । होफ म्यान ला रोची, सीवा–गी र सेन्दोजजस्ता विशाल रासायनिक कारखानाहरू यस सहरमा छन् । यी कारखानाहरूमा झारपात एवम् कीटनाशक, रङ्गरोगन तथा औषधिहरू उत्पादन गर्दछन् । राइन नदीकै छेउमा उभिएको यस बेसेल सहरका यी उद्योगहरूमा हजारौँ टन विषालु, रासायनिक तत्वहरू यसका भण्डारहरूमा थुपारिन्छन् ।
नोभेम्बर एक तारिखमा, बिहानको ३,४ बजेतिर सेन्दोज कारखानाका कामदारहरूले कारखानाको भण्डार नं. ९५६ मा आगलागी भएको कुरो थाहा पाए । दमकलका कर्मचारी आइपुग्दा आगोका मुस्लाहरू एकदम चर्कोरूपमा ६० मि. माथिसम्म आकाशिँदै थियो । यसबेला भण्डार–९५६ मा तयारी, अर्धतयारी र कच्चा पदार्थ गरी जम्मा १२४६ टन विभिन्न किसिमका रासायनिक तत्वहरू प्लास्टिक र फलामका भाँडोमा राखिएका थिए जसमध्ये १२ टन त अर्गानिक मर्करी (पारो) थियो । यसको केही मिलिग्राम मानिसलाई मार्न पर्याप्त हुन्छ । त्यस्तै चार टन जति पानीमा तुरुन्तै घुल्ने र आगोले समात्ने तत्व पनि थिए ।
दमकल कर्मचारीहरूले प्रत्येक मिनेट २५ क्युविक मिटरका दरले आगोलाई निभाउन पानीको धारालाई ५ घण्टासम्म छोड्दै रहे । त्यसरी छोडिएको पानी भण्डारमा थुपारिएका विषाक्त तत्वसँगै मिली राइन नदीतिर बग्न थाले । फलस्वरूप राइन नदीको करिब ८० कि.मि. जति भाग दूषित हुन पुग्यो । करिब २०० के.जी. मर्करीलगायत १२ टनभन्दा बढी अरू विषालु तत्वहरू राइन नदीका सबै जीव जन्तुलाई सखाप पार्दै बग्न थाले । आगो निभाउन प्रयोग गरिएको पानीले यदि भण्डार ९५६ भन्दा १५ मिटर टाढा रहेको अर्को भण्डारमा रहेका रासायनिक तत्वलाई छोएको भए परिणाम अझ भयङ्कर हुने थियो । किनकि, त्यस भण्डारमा यस्ता तत्व थिए, जुन सोडियम र पानीको सम्पर्कमा आउनासाथ विस्फोटन हुनसक्थ्यो । त्यहाँ पहिलो विश्व युद्धमा प्रयोग गरिएको र १९८४ को डिसेम्बर महिनामा भोपाल ग्याँस काण्डमा जस्तै मान्छेलाई मार्ने फोसिजीन ग्याँस पनि थियो ।
उक्त आगलागीले राइनलाई मात्र दुषित नपारी बेसेलको वायुमण्डललाई समेत दूषित पारेको थियो । दुर्घटनास्थल वरिपरिका निवासीहरूलाई ६–७ घण्टासम्म रेडियोद्वारा झ्याल ढोका थुनी भित्र बस्न आह्वान गरियो ।
सेन्दोजको आगलागीले राइन नदी त दु्षित भयो नै, तर प्रयोगशालामा नदीको पानी परीक्षण गर्दा निस्किएको रिपोर्टले अझ आश्चर्य पारेको छ । त्यस रिपोर्टअनुसार राइनको पानीमा सेन्दोजबाट बगेर आएका तत्वहरूमात्र नभई अरू दूषित तत्वहरू पनि मिसिएको पाइयो । यो अन्य दूषित पदार्थहरू राइन वरिपरिका अरू उद्योगबाट मौकाको फाइदा उठाई फ्याँकिएका हुन् भनी अनुसन्धानकर्ताहरूले बताएका छन् ।
राइन नदीको दूषितताले पानीमा रहेका सबै जीवजन्तु र त्यसमा आश्रित पशुपक्षीलाई त मारे नै त्यस्तै यस नदीबाट पिउने पानी प्राप्त गरिराखेका २ करोड जनतालाई पनि यसले नराम्रो असर पारेको छ । योभन्दा चिन्ताको कुरो नदीको पिँधमा जम्मा भएका विषालु मर्करीको कारणले नदी वरिपरिका खेतीयोग्य भूमि (खासगरी अलसास् (Alsace) मैदान, भोसगेस (Vosges) पहाड र राइन नदीको बीचको भूमि) मा प्रतिकूल असर पर्नेछन् । अनुसन्धानकर्ताहरूको भनाइअनुसार मानिसले खानाको लागि प्रयोग गर्ने माछा र सूक्ष्म जीवको माध्यमले बोटबिरुवा दूषित भई खाद्यान्न उत्पादन प्रक्रियामा नराम्रो असर पर्नेछ । अझ चिन्ताजनक विषय आगलागीमा वष्फीकरण भएका विषालु तत्व वर्षात्को रूपमा फेरि पृथ्वीमै झर्नेछन् ।
चेर्नोविल दुर्घटना कामदारको गल्तीले भएको थियो । प. जर्मनीको जूरिज भर्सि चिरङ्गा नामक बीमा संस्थानले १९८१ मा तयार गरेको रिपोर्टरलाई मनन गर्दा सेन्दोज कम्पनीको उक्त आगलागी घटना सम्बन्धित व्यक्तिहरूको कन्जुसी र हेलचक्रयाइँले हुन गएको बुझिन्छ । हाल दुर्घटनाग्रस्त भण्डार ९५६ को बारे उक्त बीमा संस्थानको रिपोर्टमा त्यस भण्डारमा आगो निभाउने सामानको राम्रो व्यवस्था नभएको र यान्त्रिक सामान राख्न बनाएको भण्डारमा विषालु तत्व राख्न उपयुक्त नभएको कुरो उल्लेख भएको थियो । यस रिपोर्टमा स्पष्टसँग लेखिएको थियो, “यदि भण्डारमा आगलागी भयो भने यहाँबाट बग्ने पानीले राइन नदीलगायत वायुको प्रदूषण हुनेछ ।” जुन कुरो सत्य साबित भएको छ ।
सायद त्यत्तिबेला सेन्दोज कम्पनीका मालिकहरूले उक्त बीमा संस्थानको रिपोर्टलाई मनन गरी भण्डारमा आगो निभाउन स्वचालित यन्त्रको राम्रो व्यवस्था वा कम्पनीको वरिपरि पानी जम्मा हुने ठुलो खाल्डो बनाएको भए राइनको त्यो विभत्स दुर्घटना हुने थिएन होला । वर्षको साढे आठ अरब फ्रेन्च फ्रान्क नाफा गर्ने सेन्दोज कम्पनीले आगो निभाउने यन्त्रको लागि लाग्ने १ लाख २५ हजार फ्रेन्च फ्रान्कलाई धेरै ठुलो रकम देख्यो ! कम्पनीको यस्तो नराम्रो अवस्थालाई देखेर त्यो रिपोर्ट तयार गर्ने बीमा संस्थानले भण्डार ९५६ को बीमालाई अस्वीकार गरेका थिए । त्यस भण्डार ९५६ को बीमा प. जर्मनीको ग्रेलिङ्ग(Greling) बीमा संस्थानले लिएको थियो । फलस्वरूप सेन्दोज कम्पनीलाई ग्रेलिङ्गले २ करोड फ्रैन्क क्षतिपूर्ति गर्ने भएको छ । तर, राइन नदी प्रदूषण, वायु प्रदूषण र त्यसबाट जनजीवनमा परेको क्षतिको क्षतिपूर्ति कसले र कसरी गरिने छ ? पुँजीवादी समाजको यो एउटा उदाहरण हो ।
राइन नदीको पानीलाई शुद्ध पार्न १९६३ मा अन्तर्राष्ट्रिय संस्था गठन भएको थियो । त्यस संस्थाले केही वर्षअघि राइनको पानीलाई शुद्ध गर्न सफल भएको थियो । तर, दुर्भाग्यवश सेन्दोजको आगलागीबाट राइन फेरि १५ वर्षअघिको अवस्थामा फर्किसकेको छ । १५ वर्षअघि राइन नुहाउन योग्य थिएन र सबै जातका माछा बाँच्नका लागि अनुपयुक्त थियो । अन्वेषकहरूको भनाइअनुसार पुनः यसलाई शुद्ध पार्न कम्तीमा ५ देखि १० वर्ष लाग्नेछ ।
जे होस् युरोपमा स–साना दुर्घटनाहरूलाई छोडेर दुई प्रमुख औद्योगिक दुर्घटनाको नरमाइलो सम्झना दिलाउने १९८६ हामीभन्दा पर पुगिसकेको छ । संसारको प्रत्येक देशमा यी दुर्घटनाबाट आउँदा वर्षहरूको सुरक्षाको लागि पाठ सिक्नुपर्नेछ । किनकि, चेर्नोविलजस्ता बिजुलीघर रुसमा मात्र होइन त्यस्तै सेन्दोजजस्ता उद्योग युरोपमा मात्र होइन विश्वका अन्यत्र पनि छन् । आज परमाणु बिजुली घर नभएमा देशहरूमा भविष्यमा यसको स्थापनालाई नकारात्मक पक्षले हेर्न सकिँदैन । १९८६ का दुर्घटनालाई मात्र होइन त्यसभन्दा अधिकारलाई पनि उत्तिकै चनाखो भएर हेर्नु जरुरी हुन्छ । किनभने, विज्ञानको विकासमा वैज्ञानिकहरू एवम् अनुसन्धानकर्ताहरूले हासिल गरेका उपलब्धिहरूको मात्र भूमिका नभई अनेक किसिमका दुर्घटना र त्यसमा वीरगति प्राप्त गरेका प्रत्येक सहिदहरूको पनि उत्तिकै ठुलो भूमिका रहेको हुन्छ ।
समाप्त
स्रोत ः पञ्चायत मासिक
विसं २०४३ वर्ष–५, अङ्क–३ पूर्णाङ्क–४
Leave a Reply