भर्खरै :

घाम नछिर्ने घर न्यानो हुन्न

गणतन्त्र दिवसको दिन सामाजिक सञ्जालको भित्तामा अनेक थरीको प्रतिक्रिया पोटेको देखियो । जनताले आशा गरेअनुसारको फल गणतन्त्रले दिननसक्दा निरासाका प्रतिक्रिया आउनु अस्वाभाविक होइन । पुँजीवादका हिमायतीहरूले गणतन्त्रको दोष नभई सत्ता सञ्चालकहरूको कमजोरी भनेर जनताको असन्तोषलाई मत्थर पार्ने चेष्टा गरेको पनि देखियो । हुन त गणतन्त्र स्थापना भएपछि सत्तामा गएका सरकारी दलहरूले बहुमत कामदार जनताको हितमा काम नगरेको असत्य होइन । सत्ताधारी दलका नेताहरू एकले अर्कोलाई दोषी देखाएर पानीमाथिको ओभानो हुने चेष्टा गरेको पनि देखियो । फलानुको पालामा केही भएन भन्नुभन्दा आफ्नो पालामा के गरियो भन्ने सोच्नुपर्दथ्यो । काम गर्न नसक्नुको कारण खोज्नुपर्दथ्यो । तर, गणतन्त्र स्थापना भएदेखि आजसम्मका शासकरूले पद र पैसाको भागबन्डामा लिप्त भई कुर्सी मोह र भ्रष्टाचारमा लागेर जनजीविकाको सवाल ओझेलमा परेको यथार्थ कसैबाट लुकेको छैन ।
गणतन्त्रमाथि प्रश्न तेस्र्याउँदै कतिपय मानिसहरूले राजतन्त्र फर्काउनु पर्ने भनिरहेका छन् । एउटा राजा फालेर सयौँ राजा पाल्नुपर्ने गणतन्त्र चाहिँदैन भनिरहेका छन् । तर्क गर्नु मानिसको स्वभाव हो । तर, इतिहास दुरूस्त फर्किन्न, अनेक जङ्घार पार गर्दै अगाडि बढ्छ । समाज विकासको क्रमलाई हेर्दा गणतन्त्र पनि एकै नासका छैनन् । गणतान्त्रिक मुलुकहरूलाई नियाल्दा दुई छिमेकी मुलुकको गणतन्त्र पनि फरक–फरक पाउँछौँ । दक्षिणी छिमेकी देश भारतको गणतन्त्र पुँजीवादी गणतन्त्र हो भने उत्तरी छिमेकी देशको गणतन्त्र समाजवादी गणतन्त्र हो । जनताले चाहेको गणतन्त्र बहुमत कामदार जनताको भलो गर्ने गणतन्त्र हो । अर्थात्, काम–मामको ग्यारेन्टी हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने, शोषणको विरोध गर्ने अधिकार हुने, व्यक्तित्व विकासमा समान अवसर हुने, ज्येष्ठ नागरिकहरूको जीवनयापन सुनिश्चित हुने, शिशुशाला र बालोद्यानको बन्दोबस्त हुने, बेरोजगार युवाहरूलाई भत्ताको बन्दोबस्त हुने, टुहुरा–टुहुरी, अपाङ्गता, विधवा, बिरामी, अशक्त असहाय नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित हुनेलगायतका बन्दोबस्त भएको गणतन्त्र जनताले चाहेको हो । जनताले आशा गरेको बन्दोबस्त यो गणतान्त्रिक संविधानमै उल्लेख गरिएन । जुनसुकै शासक दल सरकारमा गए पनि फरक नहुनुको मुख्य कारण यही हो । घाम नछिर्ने घर बनाएर न्यानो भएन भन्नुको के अर्थ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *