भर्खरै :

चीनको क्वाङचाओमा सङ्क्रमण, कडा निगरानी

क्वाङचाओ, ३० मे । दक्षिण चीनको क्वाङतोङ प्रान्तको राजधानी क्वाङचाओमा कोरोना–१९ का नयाँ बिरामी देखिएपछि रोकथामको निम्ति त्यहाँको प्रशासन जोडतोडका साथ लागेको छ । क्वाङचाओ चिनियाँ सहरमध्ये सबभन्दा बढी अन्तर्राष्ट्रिय हवाई आवागमन हुने सहर हो । त्यहाँ २६ जना मानिसमा भारतमा फेला परेको कोरोना भाइरसको प्रजातिको सङ्क्रमण फेला परेको हो ।
चीनको दक्षिणी सहर मानिने क्वाङचाओ सहरबाट चाँडै सङ्क्रमण फैलिने भाइरसको प्रजातिको सङ्क्रमण फैलिनुले चीनको महामारी नियन्त्रणको विफलताभन्दा पनि स्थानीय अधिकारीहरूलाई छिटोभन्दा छिटो तदारूकता देखाउन, सङ्क्रमणको खास स्रोत सकेसम्म चाँडो पत्ता लगाउन र सबै छिद्रहरू टाल्न सजग बनाउने विज्ञहरूको भनाइ छ ।
क्वाङचाओले यसअघि पनि आयातीत सङ्क्रमणबाट सुरू भएको ६ चरणको स्थानीय सङ्क्रमण रोकथामको सफल प्रयास चलाइसकेको थियो । ती ६ वटै चरण छोटो शृङ्खलामा सीमित र एकै प्रजातिको कोभिड–१९ भाइरस सङ्क्रमण भएको थियो । तथापि, यो पटकको उत्परिवर्तित भाइरसले लामो शृङ्खला बनाएको बताइएको छ । एकै जनाले पाँच जनासम्मलाई सारेको पाइएको छ ।
“रोगको तीव्र सङ्क्रमण र अन्तरपुस्ता सङ्क्रमणको छोटो अवधिले भारतमा उत्परिवर्तित भएको भाइरस क्वाङतोङको लागि ठुलो खतरा बनेको छ । यसअघि भाइरस रोकथामको निम्ति उदाहरण स्थापित गरेको क्वाङतोङको निम्ति यो पटक चुनौती बनेको छ”, महामारी रोकथाम र नियन्त्रणमा विशेषज्ञता हासिल गरेका चाङ युसिनले भने ।
सङ्क्रमण क्वाङचाओसँगै छिमेकी सहरहरू फोशान र माओमिङमा पनि फैलिएको छ । ती सहरहरूमा पाँच जना व्यक्तिमा सङ्क्रमण फेला परेको छ । आइतबारसम्ममा २१ जना मानिसमा रोगको लक्षण नदेखिने सङ्क्रमण पुष्टि भएको छ ।
क्वाङचाओले शनिबारसम्ममा २२ लाख ५० हजार मानिसमा न्युक्ली एसिट परीक्षण गरिसकेको छ । त्यसक्रममा २० जना मानिसमा कोभिड–१९ पुष्टि भएको थियो । सङ्क्रमितमा फेला परेको भाइरसको आनुवंशिक परीक्षण गर्दा सबै भारतबाट उत्परिवर्तित भाइरस नै भएको स्थानीय स्वास्थ्य अधिकारीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *