भर्खरै :

गिलास हल्लाउनेलाई चिनौँ !

कमिलामाथि एउटा अनुसन्धान गरिएको थियो । अनुसन्धानको लागि १०० वटा राता कमिला र १०० वटा काला कमिला एउटा काँचको गिलासमा राखिएको थियो । त्यसबेला कसैले कसलाई केही गरेको देखिएन । दुवै थरी कमिला आ–आफ्नै धुनमा चलिरहेका थिए । तर, एक पटक गिलास हल्लाएपछि, एकै छिनमा ती कमिलाहरू एक आपसको आक्रमणमा परी सबै मरे । कालो कमिलाले सोच्दा रहेछ रातो कमिलाले हमला गरेको हुनुपर्छ । रातो कमिलाले कालो कमिलाले हमला गरेको होला भन्ने ठान्दा रहेछ । तर, तेस्रो पक्षले गिलास हल्लाएको वास्तविकता दुवै थरी कमिलालाई थाहा थिएन । हाम्रो परिवार, समाज, देश वा संसारमा पनि यस्तै भइरहेको छ । हामी मिलेर बसेका हुन्छौँ । तर, अदृश्य शक्ति आएर हामीबीच फुट ल्याउन कसैले गिलास हल्लाएको हुन्छ जुन कुरा हामीले चालै पाउँदैनौँ । लोग्ने स्वास्नीबीच, छिमेकीबीच, राजनीतिक पार्टीबीच र राष्ट्रहरूबीच पनि यस्तो घटना भइरहेका हुन्छन् । मात्र फरक भनेको गिलास हल्लाउने चाहिँ दुराशययुक्त नियत भएका दुष्टहरू व्यक्ति वा कुनै देश पनि हुन सक्छ ।
नेपालमा राजनीतिक पार्टीहरूले झन्डै २५० वर्ष पुरानो राजतन्त्रविरुद्ध विभिन्न चरणमा जनआन्दोलन गरेर गणतन्त्र स्थापना गरे । तर, नेपालमा राजनीतिक स्थिरता भयो भने आफ्नो प्रतिकूल हुने देख्ने भारतले समय – समयमा गिलास हल्लाएर नेपालका नेताहरूबीच द्वन्द्व गराएर अस्थिरता सिर्जना गरिरहेको छ । कहिले भारतीय राजदूतले गिलास हल्लाउँछन् भने कहिले भारतीय गुप्तचर नेपालमै आएर गिलास हल्लाउँछन् । कसैले गिलास हल्लाएको भरमा निरङ्कुशतन्त्रविरुद्ध सँगै मिलेर आन्दोलन गरेका राजनीतिक पार्टीहरूबीच कमिलाले जस्तै एकले अर्कोलाई शत्रु देख्छन् । परिणाम तिनीहरूबीचको द्वन्द्वले देश नै धरापमा पर्ने खतरा आउन थालेको छ । कमिलाबीचको द्वन्द्वमा उनीहरूमात्र समाप्त भए । तर, नेताहरूको झगडाले अहिले जनता र देश जटिल समस्यामा परेका छन् । देश कमजोर भएको छ, जनताले कष्टकर जीवन बिताउनु परिरहेका छन् ।
अहिले छिमेकी मुलुकलाई समाप्त पार्न गिलास हल्लाइरहने भारत इतिहासको कुनै कालखण्डमा आफ्नै देशभित्र बेलायती साम्राज्यले गिलास हल्लाएर ४०० वर्ष शासन चलायो । मुसलमान र हिन्दूबीच मित्रता भयो भने आफ्नो शासन कमजोर हुने ठानेर अङ्ग्रेज सधँै गिलास हल्लाएर भारतलाई आफ्नो उपनिवेश बनाउन सफल भयो । हिन्दू मुसलमानले अङ्ग्रेजले गिलास हल्लाएको कमिलाले जस्तै चाल पाएनन् । एउटा सुँगुर मारेर मस्जिदअगाडि फ्याल्ने अनि गाई मारेर मन्दिरअगाडि फ्याल्ने । यी घटनाबारे एक आपसमा आरोप लगाउन लगाएर हिन्दू मुसलमानबीच दङ्गा मच्याउने अङ्ग्रेजको काम हुन्थ्यो । जब हिन्दु मुसलमान काँधमा काँध मिलाएर अङ्ग्रेजविरुद्ध क्रान्ति गरे तबमात्र भारत स्वतन्त्र भयो । तर, अङ्ग्रेजले भारत छोड्ने समयसम्म पनि भारत र पाकिस्तानको रूपमा विभाजन गरेर सधँैको लागि झगडाको बीउ रोपेर गयो । आफू आफू नमिल्दा भोगेका दुख बिर्सेर हो कि वा त्यसैबाट सिकेर हो, अङ्ग्रेजको ‘फुटाउ र राज गर’ नीतिलाई आफ्नै छिमेकी मुलुक नेपालमा पनि लागु गर्ने कोशिश गरिरहेको छ, भारत । त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशको उद्देश्यलाई विफल बनाउन आफ्नै पहलमा बनाइएको दुइटा तराईकेन्द्रित राजनीतिक पार्टी राष्ट्रिय जनता पार्टी र जनता समाजवादी पार्टीको पोहोर साल हतार हतार भारतले एकीकरण गरायो । तर, भारतअनुकूल सरकार बनाउने वातावरण बनाउन फेरि भारतले गिलास हल्लायो । परिणामस्वरूप यी पार्टीबीच आन्तरिक कलह सुरु भइसकेको छ । एउटा पार्टीले अर्को पार्टीका पदाधिकारीहरूलाई पार्टी निष्कासन गरिरहेको छ ।
गिलास हल्लाएर द्वन्द्व गराउने खेल देशभित्र मात्र होइन देश देशबीच पनि गराउने रहेछ । एशियाका दुई ठुला मुलुक चीन र भारतबीच राम्रै सौहार्दपूर्ण सम्बन्ध थियो । दुबै विकासोन्मुख राष्ट्र सँगसँगै स्वतन्त्र भएका मुलुक हुन् । तर, यिनीहरूको मित्रतादेखि सहन नसक्नेले गिलास हल्लायो । फलस्वरूप दुई मुलुकबीच सन् १९६२ मा ठुलो युद्ध भयो । पछिल्लो समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कैयौँ पटक चीनको भ्रमण गरे । चीनसँग भारतको पुरानो सम्बन्धको खुलेर प्रशंसा गर्थे । चीनका राष्ट्रपति सि चिनफिङको भारतको भ्रमणताका दुई मुलुकका प्रमुखहरू पिङमा बसेर कुराकानी गरेको सबैको आँखामा ताजै छ । यस्तो न्यानो सम्बन्धलाई देखी नसहने कोही कोही इष्र्यालु तेस्रो पक्ष पनि हुन्छ । यी मुलुकबीच द्वन्द्व सिर्जना गरेर एशियामै अस्थिरता ल्याउने हेतुले अरु मुलुकको प्रगति सहनै नसक्ने, मिलेर बसेको देखी नसक्ने र विश्वमा आफ्नै हैकम चल्नुपर्ने मानसिकता भएको अमेरिकाले गिलास हल्लायो । त्यसैको परिणामस्वरूप अहिले एशिया महादेशको विद्यमान शान्तिस्थितिमा ग्रहण देखापरेको छ ।
मिलेर बस्नु भन्नुको अर्थ विचारमा असीमित समानता हुनुपर्छ भन्ने होइन । फरक विचारमा पनि एकताबद्ध हुनसक्छ । देश देशबीच, देशभित्र, समाजभित्र वा परिवारभित्र फरक विचार र फरक प्रवृत्तिका मानिसमा व्यवहारिक र भावनात्मक मेल छ भने त्यो प्रजातान्त्रिक व्यवहार भनेर बुझ्नुपर्छ न कि शत्रुता भनेर । लोग्ने स्वास्नीबीच शतप्रतिशत विचारमा सहमत भएमात्र मिलेर बस्ने भन्ने पनि होइन । उदार समाज र उदार देश भनेजस्तै उदार परिवारको कल्पना प्रजातान्त्रिक विचारधाराका परिवारका सदस्यकै आधारमा सम्भव हुन्छ । मिलेर बस्नुको अर्थ फरक विचार राख्नै पाउँदैन भन्ने कुरा प्रजातान्त्रिक चरित्र होइन । एकआपसमा स्वतन्त्र निर्णयको सम्मान र समान अधिकार हुनुपर्छ भन्नु नै मिलेर बस्नको लागि चाहिने अपरिहार्य शर्त हो ।
अन्तमा, यो भनाइ पनि नभुलौँ, एकसाथ आउनु भनेको सुरुवात हो, एकसाथ हुनु भनेको प्रगति हो र सँगै काम गर्नु भनेको सफलता हो । यी वास्तविकतालाई मनन गरेर गिलास हल्लाउनेलाई चिनौँ, कमिलाले जस्तै व्यवहार पनि नगरौँ । अनि मानिसमा भएको विवेक प्रयोग गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *