भर्खरै :

महामारीको मारमा भारतीय अर्थतन्त्र

नयाँ दिल्ली, ३ जून । आर्थिक वर्ष सन् २०२०÷२१ को लागि भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वृद्धि ७.३ प्रतिशतदेखि ८ प्रतिशत हुने अनुमान गरिएको थियो । भारत सरकारले हालै जारी गरेको तथ्याङ्कअनुसार जनवरी–मार्चको पहिलो त्रैमासिकमा भारतको आर्थिक वृद्धि १.६ प्रतिशत थियो ।
तथापि, कोभिड–१९ महामारीको भयावह दोस्रो लहरले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा भारतमा आर्थिक पुनःस्थापनाको सङ्केत भने क्षीण बनाएको छ ।
औद्योगिक गतिविधिको स्थगन
अहिले भारतमा हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी छ । दोस्रो लहर सामना गर्ने क्रममा धेरै राज्यहरूले लकडाउन र कफ्र्यु घोषणा गरियो । त्यसले अधिकांश औद्योगिक क्षेत्र बन्द रहे । फलतः परिवारको आम्दानी घटेको छ । बेरोजगारी दर बढेको छ ।
भारतीय काङ्ग्रेसका नेता पी चिदम्बरमले मङ्गलबार भारतको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जीडीपी) आव २०२०/२१ मा १ लाख भारूले घटेको बताए । अघिल्लो वर्षको तुलनामा यो ८.२ प्रतिशतले घटेको छ ।
“चिन्ताजनक कुरा के हो भने अधिकांश भारतीयहरू दुई वर्षअघिभन्दा गरिब भएका छन्”, उनले भने ।
अस्पतालमा अक्सिजनको अभाव भएसँगै भारतका धेरै व्यापारिक निकायले आफ्नो नियमित उत्पादन बन्द गरेका छन् । साथै औद्योगिक अक्सिजनको उत्पादन चिकित्सकीय प्रयोजनमा लगाइएको छ ।
“यो वर्षको सुरूमा देखिएको उक्लिँदो आर्थिक प्रगति विनाशकारी कोभिड–१९ को दोस्रो लहरको कारण अचानक विथोलियो । बितेका केही सातामा सबै प्रमुख आर्थिक पुनःस्थापनाका सङ्केतहरू निराशाजनक देखिएको छ”, भारतीय उद्योग वाणिज्य महासङ्घका सभापति उदय शङ्करले भने ।
महासङ्घ कोभिड–१९ भाइरस ग्रामीण क्षेत्र र साना सहरहरूमा पनि फैलिएकोले अझ बढी चिन्तित भएको उनले बताए ।
भारतीय अर्थतन्त्रको अनुगमन केन्द्रको तथ्याङ्कअनुसार मे महिनामा राष्ट्रिय बेरोजगारी दर बितेका १२ महिनामै सबभन्दा बढी ११.९ प्रतिशत पुगेको देखाएको छ ।
“धेरै सङ्ख्यामा रोजगारी गुमेको र ग्रामीण क्षेत्रमा त्यसको गम्भीर प्रभाव परेको अवस्थामा जोडतोडका साथ खोप अभियान, प्रत्यक्ष रोजगारी र आम्दानी बढाउने कदमले अर्थतन्त्रलाई पुरानै स्थानमा फर्काउन सकिन्छ”, भारतको पत्रिका द हिन्दूले बुधबार सम्पादकीयमा लेखेको थियो ।
व्यापारीको गिर्दो मनोभावना
उद्योग–वाणिज्य महासङ्घले हालै गरेको सर्वेक्षणअनुसार भारतका व्यापारीहरू दोस्रो लहरको कारण ‘नराम्ररी प्रभावित’ बनेको बताए ।
“अघिल्लो वर्षको सर्भेअनुसार व्यापारीहरूको उत्साह दर ७४.२ प्रतिशत थियो भने यो वर्ष घटेर ५१.५ प्रतिशतमा झरेको छ”, उद्योग वाणिज्य महासङ्घले भनेको छ ।
व्यापारीहरूबीचको सर्वेक्षणले व्यापारीहरूको मूल चिन्ता उपभोक्ताको कमजोर मनोभावना हो । त्यसका साथै कच्चा पदार्थ र जनशक्तिको अभावको कारण पनि उनीहरूसामुका चुनौती हुन् । सर्वेक्षणमा सहभागी ७० प्रतिशत उत्तरदाताले मागको कमजोर अवस्थालाई सबभन्दा चिन्ताको विषय बनेको बताएका थिए ।
महामारीको पहिलो लहरमै अधिकांश परिवारले आफ्नो बचत खर्च गरिसकेका छन् । अहिले दोस्रो लहरमा उनीहरूले न्यून आयको समस्या सामना गरिरहेका छन् । मागको कमी भने केही लामो समयसम्म कायम रहनेछ ।
व्यापारीहरूको मनोभावना कमजोर भएको अवस्थामा देशका व्यापारिक क्षेत्रले अर्थतन्त्रलाई पुनःस्थापनाको लागि एक वर्षअघि बनाएको योजनालाई कार्यान्वयनमा लग्नुपर्ने उद्योग–वाणिज्य महासङ्घले भनाइ छ ।
“ग्रामीण क्षेत्र र सहरी क्षेत्रका न्यून आयका परिवारको लागि प्रत्यक्ष आम्दानी बढाउने टेवा, मध्यम वर्गको लागि आय करमा कटौती र अप्रत्यक्ष करमा अस्थायी कटौतीलाई तत्काल कार्यान्वयनमा लानुपर्छ”, महासङ्घले भनेको छ ।
त्यस्तै सुक्ष्म, लघु र मध्यम उद्योगहरूमा तरलतामा टेवा र ऋण सहायतालाई आवश्यकता भएको उनीहरूको भनाइ हो ।
काममा सरकार
केही भारतीय राज्यहरूले स्थानीय अर्थतन्त्रलाई टेवा दिने आशाका साथ लकडाउन खुकुलो बनाउँदै लगेको छ ।
उदाहरणको लागि भारतको सबभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशले आइतबार कोभिड–१९ रोकथामको लागि जारी उपाय खुकुलो बनाएको छ । बन्द पसल खोल्न थालिएको छ ।
तथापि, दैनिक ६ सत्न्दा बढी सङ्क्रमित भएका सहर र जिल्लामा भने खुकुलो बनाइएको छैन । ६ सत्न्दा बढी सङ्क्रमित भएका जिल्ला र सहरहरू कम्तीमा २० वटा छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा पनि सोमबारबाट लकडाउन खोल्ने क्रम आरम्भ भएको छ । त्यहाँ दैनिक ज्यालादारी मजदुरहरूको लागि टेवा पुगोस् भन्ने हेतुले निर्माण क्षेत्र र कलकारखाना सुचारू गर्न अनुमति दिएको छ । यद्यपि, जुन ७ सम्म स्थानीय तहमा कफ्र्यु कायम नै राखिएको छ । सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक बाहिर निस्कन नपाउने प्रावधानलाई कायम राखिएको छ ।
भारतको सङ्घीय सरकारले आर्थिक दुरावस्थाको कारण भविष्यप्रति जनतामा परेको भय मत्थर बनाउने प्रयास पनि भइरहेको छ ।
“महामारीको दोस्रो लहरको समग्र आर्थिक प्रभाव निकै उल्लेखनीय हुनेछैन । आगामी महिनादेखि उत्पादन गतिविधि अघि बढ्ने मैले आशा गरेको छु । त्यसले विभिन्न सेवाको माग बढाउनेछ”, भारत सरकारका प्रमुख आर्थिक सल्लाहकार कृष्णमुर्थी सुब्रमानियमले भने ।
“लकडाउन सहज बने सँगै पूर्वाधारमा लगानी बढेपछि अर्थतन्त्र अघि बढ्नेछ”, खोप अभियान जनताको स्वास्थ्यको लागि मात्र होइन बरू अर्थतन्त्रको स्वास्थ्यको लागि पनि अपरिहार्य भएको चर्चा गर्दै अर्थमन्त्रीले भने ।
टाइम्स अफ इन्डियामा दिएको अन्तर्वार्तामा भारतका वित्त तथा कर्पोरेट मामिलामन्त्री निर्मला सिथारमणले भनिन्,“कोभिड–१९ को दोस्रो लहरको कारण तत्काल आर्थिक उत्साहका कार्यक्रम घोषणा गर्ने हतार गर्नुहुन्न ।”
“चालु आर्थिक वर्षको भर्खर दुई महिनामात्र सकिएको हुनाले सरकारी व्ययसहित सङ्घीय बजेटले नै अर्थतन्त्र अघि बढाउनेछ”, उनले भनिन् ।
“भारतको सूक्ष्म आर्थिक सूचकहरू भने राम्रो छन्”, उनले भनिन् ।
स्रोत : सिन्ह्वा
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *