भर्खरै :

कोभिडको उत्पत्तिमा अनुसन्धान–इराकमा आणविक हतियारको खोजीजस्तै

वाशिङ्टन, ५ जून । कोभिड–१९ को उत्पत्तिको अनुसन्धान गर्ने संरा अमेरिकी जो बाइडेनको निर्णयलाई एक जना टिप्पणीकारले ‘इराकमा आमविनाशकारी हतियार’ को खोजी गर्ने पुरानो अमेरिकी जालसाजीको पुनरावृत्तिको संज्ञा दिएका छन् ।
‘एसिया टाइम्स’ का टिप्पणीकार केन मोकको हालै प्रकाशित ‘संरा अमेरिका–चीनको सम्बन्ध शौचालयमा पखालिने छैन’ शीर्षकको लेखमा भाइरसको उत्पत्तिको अनुसन्धान ‘कुनै न कुनै हिसाबले इराकमाथि कब्जा गर्न जर्ज डब्ल्यु बुशले अघि सारेको तर्ककै पुनरावृत्ति’ भएको बताएका छन् ।
बाइडेनले गत साता संरा अमेरिकी गुप्तचर निकायलाई कोभिड–१९ को उत्पत्तिको सोधखोज गर्न निर्देशन दिएका थिए । तर, धेरै विज्ञहरूले भने भाइरसको उत्पत्ति कुनै प्रयोगशालाबाट भएकोमा सन्देह व्यक्त गर्दै आएका छन् ।
चीनको उहानस्थित कुनै पनि प्रयोगशालाबाट कोभिड–१९ चुहिएको कुरा आधारहीन र राजनीतिकरूपमा अभिप्रेरित भएको प्रमाणित भइरहेको छ ।
मोकको शब्दमा भाइरसको उत्पत्तिको खोजी गर्ने बाइडेनको निर्णय ‘आफ्नो देशका जनतालाई चित्त बुझाउने खेलबाहेक केही नभएको’ बताए ।
संरा अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशले आफ्नो समयमा गुप्तचर विभागलाई इराकमा ‘आमविनाशकारी हतियार’ भएको कुरा प्रमाण ‘जुटाउन’ निर्देशन दिएका थिए । सोहीअनुसार अमेरिकी गुप्तचर विभागले बनाएका ‘प्रमाण’ कै आधारमा सन् २००३ मा इराकमाथि हमला गर्न अमेरिकी राष्ट्रपतिलाई बहाना मिलेको थियो ।
त्यही इतिहासको आधारमा मोकले यो पटक पनि संरा अमेरिकी गुप्तचर विभागले कुनै ‘विश्वसनीय’ प्रमाण भेटाए कुनै आश्चर्यको विषय नहुने टिप्पणीकारले बताए । गुप्तचर निकायको निष्कर्ष नयाँ गुप्तचरी सूचना अथवा कुनै प्रतिवेदनलाईआधार बनाए पनि त्यसको अन्तिम लक्ष्य भनेको चीनलाई अहिलेको महामारीको लागि दोषी बनाउने र भाइरसको कारण भएको क्षतिको निम्ति जिम्मेवार बनाउनेबाहेक केही नभएको मोकले बताए । यो पुरानै बठ्याइँ हो । “यसले महामारीलाई नियन्त्रण गर्न केही भूमिका खेल्नेछैन । बरु यसले संरा अमेरिकामा एसियालीविरोधी अपराध र घृणा बढाउनुका साथै संरा अमेरिका–चीन सम्बन्धलाई क्षय गर्नेछ”, उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *