भर्खरै :

कोरोना भाइरसको नामकरण र दोषारोपणको राजनीति

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नामाकरण गर्न नयाँ पद्धति विकास गरेको छ । कोरोना भाइरसका विभिन्न प्रजातिको नामाकरण गर्न ग्रीक अक्षरको प्रयोग गरिने भएको छ । बी ११७ (जसलाई युके वा केन्ट प्रजाति भनिएको थियो) लाई अब अल्फा, बी १३५१ (दक्षिण अफ्रिकामा भेटिएको) लाई बिटा, पी १ (ब्राजिलमा भेटिएको) लाई गामा र बी १६१७२ (भारतमा भेटिएको) लाई डेल्टा नामाकरण गरिएको छ ।
त्यस्तै संरा अमेरिकामा भेटिएको बी १४२७÷बी १४२९ को उपप्रजाति (द भेरियन्ट अफ इन्टरेस्ट) लाई इप्सिलन, ब्राजिलमा भेटिएको उपप्रजाति पी २ लाई जेटा, बी १५२५ लाई इटा, फिलिपिन्समा भेटिएको पी ३ उपप्रजातिलाई थेटा, संरा अमेरिकामा भेटिएको बी १५२६ मा आयोटा र भारतमा भेटिएको बी १६१७१ उपप्रजातिलाई कप्पा नामाकरण गरिएको छ । भाइरसको प्रजाति र उपप्रजातिको नाम राख्ने यो नयाँ नामाकरण प्रणालीले भेटिएको ठाउँको आधारमा नामाकरण गर्ने अभ्यासले पु¥याउने प्रभावलाई कम गर्नेछ । जस्तै अब ‘भारतीय प्रजाति’ को सट्टा ‘डेल्टा प्रजाति’ नामाकरण गरिएको छ ।
यो एउटा महत्वपूर्ण निर्णय हो । भौगोलिक आधारमा नामाकरण गर्दा जातीय विभेद र घृणालाई प्रोत्साहित गर्न सक्छ । नयाँ प्रजातिको भाइरसको खोजीमा त्यसले देशहरूलाई अनिच्छुक बनाउन सक्छ । नयाँ प्रजाति भेटिए देशकै छवि खराब हुन सक्ने भएकोले देशहरूले सकेसम्म अनुसन्धानलाई दबाउन खोज्छन् । भाइरसको प्रजाति पहिचान हुनु अघि नै प्रजाति धेरै ठाउँमा फैलिसक्ने भएकोले भूगोलको आधारमा नामाकरण गर्दा त्यो नै सही हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।
पुरानो चलन
ठाउँको आधारमा रोगको नामाकरण गर्ने परम्परा निकै पुरानो परम्परा हो । अघिल्ला शताब्दीमा इटाली, जर्मनी र बेलायतमा सिफलिसलाई ‘फ्रान्सेली रोग’ भनिन्थ्यो । फ्रान्सेलीहरू भने त्यो रोगलाई ‘निएपोलिटन रोग’ भन्थे । रुसीहरू त्यो रोगलाई ‘पोल्यान्डको रोग’ भन्थे । पोल्यान्डका मानिसहरू भने त्यही रोगलाई ‘जर्मनीको रोग’ भन्थे । अनि डेनिस र पोचुर्गिजहरू ‘स्पेनिस रोग’ भन्थे ।
रोगहरूका औपचारिक नामाकरण प्रायशः त्यो रोग भेटिएको देश र क्षेत्रसँग पनि जोड्ने गरिन्छ । जस्तै जर्मनी मिसिलेस, पश्चिम नाइल भाइरस, मध्यपूर्व श्वासप्रश्वास रोग, इबोला (प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एउटा नदीबाट नामाकरण गरिएको), जापानी इन्सफ्लाइटिस, जिका (युगान्डाको एउटा जङ्गलको नाम) र लिम रोग (कनेक्टिकटको एउटा सहरको नाम) आदि ।
कसैलाई पनि आफ्नो देश र ठाउँको बेइज्जत भएको मनपर्दैन । कसैलाई पनि आफ्नो सहर, जङ्गल, नदी आदिको नाम पनि कुनै सङ्क्रामक रोगसँग जोडिएको मनपर्दैन । सन् १९१८ मा फैलिएको महामारीलाई ‘स्पेनिस फ्ल्यु’ नामाकरण गरियो । त्यो रोग पक्कै पनि कहीँ अन्यत्र नै उत्पत्ति भएको थियो । तथापि त्यसको नामाकरणले स्पेनलाई चोट पुगेको थियो । रोगको बारेमा सुरुमा उसले जानकारी दिएकोले उसको स्पेनको नाम त्यो रोगसँग जोडियो ।
तर, अहिले चिकित्सा क्षेत्रमा जुन ठाउँमा रोग पहिलोपटक भेटिएको थियो, त्यो ठाउँको नामबाट नामाकरण गर्ने चलनलाई हटाउने दिगो प्रयास भएको । सार्स–कोभ–२ को कारण लाग्ने रोगलाई विश्व स्वास्थ्य सङ्गठनले ‘कोरोना रोग–२०१९’ लाई सङ्क्षेपमा कोभिड–१९ भनी नामाकरण ग¥यो ।
विश्व स्वास्थ्य सङ्गठनले यति गर्दा पनि संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सार्स–कोभ–२ लाई ‘चाइनिज भाइरस’ भने । त्यही कारण संरा अमेरिकामा एसियाली–अमेरिकीहरूविरुद्ध जातिवादी हिंसा र घृणा फैलियो । बाइडेन सरकारको निम्ति त्यो ठुलो टाउको दुखाइको विषय बनेको छ । यो समस्या समाधानको निम्ति बाइडेन सरकारले अलग्गै कानुन नै बनाउनुप¥यो । अरू पश्चिमा देशहरूमा पनि यस्तै खालको एसियालीविरोधी लहर नै उठ्यो ।
दोषारोपणको खेल छोड
यी सबै कदम र प्रयासपछि पनि अहिलेसम्म कम्तीमा पत्रकार र सर्वसाधारणले कोरोनाका विभिन्न प्रजातिलाई जहाँ पहिलोपटक भेटिएको हो, त्यही ठाउँको नामलाई जोडेर चिन्ने–चिनाउने गरेको छ । हामी दक्षिण अफ्रिकी प्रजाति, ब्राजिलको प्रजाति, भारतीय प्रजातिको कुरा गरिरहेका छौँ, जसले ती देशका जनताविरुद्ध जातिवादी घृणालाई बढावा दिइरहेको छ ।
संसारलाई निकै सङ्क्रामक मानिएको बेलायती प्रजातिबारे पनि थाहा छ । बेलायतमा त्यसलाई केन्ट प्रजाति भनिएको छ । केन्टमा भने त्यसलाई सम्भवतः आइसल अफ शेप्पी प्रजाति भनिन्छ । यसरी एकअर्कालाई दोष लगाउने काम भइरहेको छ ।
“प्रजातिहरूका आफ्ना वैज्ञानिक नाम पक्कै छन् । तर ती नाम पनि निकै अलमल छन्”, नेचर जर्नलले भनेको छ । उदाहरणको लागि युके प्रजातिको पनि दुई वटा प्रक्रियाअन्तर्गत दुई वटा औपचारिक नाम छन् । पाङ्गो प्रणालीअनुसार युके प्रजातिको नाम बी ११७ हो भने नेक्स्ट्रेन प्रणालीअन्तर्गत भाइरसको नाम २० आई÷५०१ वाई.भी १ हो । वैज्ञानिक नाम भन्न नै गा¥हो भएकोले सञ्चारमाध्यमहरूले युके प्रजाति र त्यस्तै नाम दिने गरेका छन् ।
तर, ती नामहरू कसैलाई चोट पर्ने खालका छन् । पत्रकारहरूले पाठकको मनोभावनामा कमै मात्र चोट पार्ने मनसायले ‘बेलायत÷ब्राजिल÷दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको प्रजाति’ भनी लेखे पनि देशसँग जोडेर राखिएको नाम यति सहज भइसकेको छ कि मानिसहरू त्यसैगरी पढ्न अभ्यस्त भइसकेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले नयाँ प्रणालीअन्तर्गत नामाकरण गरेको छ । यो राम्रो निर्णय हो । उसको भनाइमा यसरी ग्रीक अक्षरबाट नामाकरण गर्दा भाइरसको नाम भन्न र सम्झन सजिलो हुनेछ । अनि कसैलाई औँला पनि उठाइएको हुने छैन । आशा गरौँ, यही नाम नै स्थापित हुँदै जानेछ । अनि कुनै देश वा ठाउँमाथि दोष लगाउने कुराको अन्त्य हुनेछ ।

(लेखक बाथ विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः द कन्भर्सेसन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *