भर्खरै :

अब बन्ने मन्त्रीहरू कस्ता चरित्रका होलान् ?

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्य विभाजन गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । तीनजना उपप्रधानमन्त्रीको नियुक्ति यो पहिलो पटक होइन । देशको लागि तीनजना उपप्रधानमन्त्री आवश्यक नभए पनि अन्य दललाई खुसी पार्न, आफ्नो सत्ता टिकाउन र समर्थन पाउन नियुक्ति गरिएकोमा शङ्का छैन । के देशको लागि तीनजना उपप्रधानमन्त्रीको खाँचो छ ? उपप्रधानमन्त्री धेरै भएपछि के देशको छिटो विकास हुने हो ?
प्रतिनिधिसभा भङ्ग भएपछि बनेको कामचलाउ ओली सरकारले गठन गरेको यो पहिलो मन्त्रिपरिषद् हो । ओलीले प्रमको साथै उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । आधा दर्जनभन्दा बढी मन्त्रालयको जिम्मेवारी समालिरहेबाट प्रम ओलीले फेरि छिट्टै मन्त्रिपरिषद्को नियुक्ति र हेरफेर तथा कार्य विभाजन गर्नुहुनेमा शङ्का छैन । मन्त्रिपरिषद्को नियुक्ति र हेरफेर तथा कार्यविभाजन कामचलाउ सरकारले गर्न पाउँछ, पाउँदैन, कानुनसम्मत छ छैन भन्दा पनि कस्ता कस्ता पात्रहरूलाई मन्त्री बनाउँछन् भन्ने अर्को चासोको विषय बनेको छ । अब प्रमले समालेका मन्त्रालयहरू कुन कुन नेताले पाउने हुन् ? ती नेताहरू कस्ता चरित्रका हुने छन् ? हेर्न बाँकी छ । कतै डनका समर्थकहरू, ‘नाउँसमेत लिन लायक’ नभएका सांसदहरू पनि मन्त्री बन्ने हुन् कि भन्ने शङ्का जनतामा नभएको होइन ।
अब बन्ने मन्त्रीहरू कतै एमालेका माधवकुमार नेपाल पक्षका नेताहरू त पर्दैनन् ? मन्त्री बनाउनुको स्वार्थ देश र जनताको सेवा बढीभन्दा बढी गराउन हाइन, त्यो दलका नेतालाई खुसी पार्न, सरकारको समर्थन पाउन, सत्ता लम्ब्याउन या टिकाउन मन्त्रीहरू हेरफेर गर्ने गरेको यो पहिलो होइन, न त अन्तिम नै हुनेछ । पुनर्गठित मन्त्रिपरिषद्मा अहिले जसपाका मन्त्रीहरू बहुमत भएको हुँदा अरु कुनै निर्णय गर्नुअघि प्रम ओलीले छिटो मन्त्रिमण्डल हेरफेर गर्नुहुनेछ । जसपाका नेताहरू के देश र जनताको सेवा गर्न मन्त्री बनेका हुन् ? के अब तराईका शोषित पीडित जनताले मुक्ति पाउँछन् ? उनीहरूले न्याय र समानता पाउँछन् ? के उनीहरूमाथि भइरहेको भेदभाव र असमानता अन्त्य हुन्छ ? के नयाँ बनेका मन्त्रीहरूको ध्यान समग्र देश र जनताको सेवामा पुग्छ ? पदअनुसारको आचरण गर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *