भर्खरै :

देशको पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही

काठमाडौँ, २६ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बुधबार सम्पन्न ८८ आँै भर्चुअल बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अङ्कित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिनुभयो । बैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिनुभयो । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *