भर्खरै :

भाइरसको उत्पत्तिलाई राजनीतीकरण नगर

संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर विभागलाई कोभिड–१९ भाइरसको उत्पत्तिबारे अध्ययन गर्न हालै निर्देशन जारी गरेसँगै अन्तर्राष्ट्रिय समुदायमा विभाजनको रेखा देखिएको छ । महामारीलाई समुल नष्ट गर्न ऐक्यबद्ध भएर लाग्नुपर्ने परिस्थितिमा विशेषतः चीनप्रति लक्षित गरी बाइडेनले जारी गरेको निर्देशनले महामारीविरूद्धको लडाइँलाई कमजोर बनाउने आशङ्का बढाएको छ ।
सन् २०१९ को नोभेम्बर महिनामा चीनको उहान सहरमा धेरै सङ्ख्यामा रूघाखोकीजस्तो नयाँ खालको सङ्क्रमण व्यापकरूपमा फैलिएपछि चीन सरकारले जिम्मेवारीपूर्वक चीनमा फैलिनमात्र रोक्ने प्रयासमा लागेन, बरू संसारका अन्य देशहरूलाई पनि नयाँ भाइरसको आनुवंशिक सूत्र सार्वजनिक गरेर रोकथामको निम्ति सजग बनाउने दायित्व पूरा ग¥यो । झन्डै तीन महिनाको कडा सङ्घर्षपछि चीनमा त्यो सङ्क्रमण नियन्त्रणमा आयो । कोभिड–१९ नामकरण गरिएको त्यो भाइरसले उहानमा हाहाकार मच्चाए पनि त्यो भाइरस सङ्क्रमणको सुरूवात कहाँबाट भयो भन्ने विषयको बहस त्यही बेलादेखि नै चर्किएको थियो । पश्चिमा सञ्चारमाध्यमहरूले उहानमा फैलिएको महामारीलाई लिएर चीनको छविमाथि लगातार हमला ग¥यो । उहानको कुनै प्रयोगशालाबाट त्यो भाइरस चुहिएको हुनसक्ने प्रचारबाजी पनि भए । तर, त्यही समयमा भएको संसदीय सुनुवाइमा केन्द्रीय रोग नियन्त्रण केन्द्रका अधिकारीहरूले सेप्टेम्बर महिनामा नै अमेरिकाको केही राज्यहरूमा पनि रूघाखोकी फैलिएको र त्यसलाई कोभिड–१९ होइन भनी ठोकुवा गर्न नसकिने बताएका थिए । हालै इटालीबाट सार्वजनिक एक प्रतिवेदनअनुसार इटालीमा कोभिड–१९ को पहिलो सङ्क्रमित फेला परेको भनिएको मितिभन्दा धेरै अघि नै त्यहाँका केही मानिसको रगतमा कोभिड–१९ को प्रतिरोधी तत्व देखिएको खुलासा भएको छ । विभिन्न देशका प्रतिनिधिहरू सामेल रहेको विश्व स्वास्थ्य सङ्गठनको एउटा विज्ञ टोलीले पनि चीनको उहानबाट नै भाइरस पहिलो पटक उत्पत्ति भएको थियो वा थिएन भन्ने विषयमा अध्ययन गरिसकेको छ । टोलीको अध्ययनअनुसार उहानको कुनै पनि प्रयोगशालाबाट मानिसले त्यो भाइरस बनाएको र चुहेको हुनसक्ने सम्भावना नरहेको प्रस्ट पारिसकेको छ । अध्ययनले उहानमा व्यापक स्तरमा सङ्क्रमण फैलिएको भए पनि भाइरस कहीँबाट त्यहाँ आएको हुनसक्ने बताएको छ । उहानको एउटा समुद्री खाना बेच्ने बजारका धेरै जनामा सङ्क्रमण भेटिएको हुनाले कहीँबाट आएको समुद्री खानाबाट त्यो भाइरस सङ्क्रमण फैलिएको हुनसक्ने बताइएको छ ।
तर, वैज्ञानिकहरू अझै पनि त्यसको खास उत्पत्ति कहाँ भएको हो भन्ने प्रश्नलाई भविष्यकै गर्भमा छोड्नुपर्ने मत राख्दै छन् । यसलाई वैज्ञानिक अनुसन्धानकै नसुल्झिएको प्रश्न बनाइनुपर्ने उनीहरूको धारणा छ । तथापि, संरा अमेरिकाको ट्रम्प सरकारले यसलाई लगातार चीनविरूद्ध हिलोछ्याप्ने औजारको रूपमा प्रयोग गरिरह्यो । कोभिड–१९ भाइरसलाई ‘उहान भाइरस’ र ‘चाइना भाइरस’जस्ता नाम दिएर चीनमाथि राजनीतिक प्रहार गरिरह्यो । अहिलेको बाइडेन सरकारले पनि भाइरसको उत्पत्तिलाई वैज्ञानिक अनुसन्धानको विषय बनाउनुभन्दा राजनीतिक विषय बनाउन खोजिरहेको देखिन्छ । कुनै वैज्ञानिक प्रतिष्ठानलाई दिइनुपर्ने जिम्मेवारी बाइडेनले गुप्तचर निकायलाई दिनुबाट यो कुरा पुष्टि हुन्छ ।
भाइरसको उत्पत्तिलाई कुनै पनि देशको छविमाथि हमला गर्ने औजार बनाइनुहुन्न । न त भाइरस, महामारी, खोपलाई नै राजनीतीकरण गरिनुुपर्छ । यसले संसारमा विभाजनलाई अझ बाक्लो बनाउँछ । विभाजित संसारले कदापि महामारीविरूद्ध लड्न सक्दैन । महामारीलाई जरैदेखि उखेल्ने कामलाई यसले अवरूद्ध बनाउँछ । पछि पछुताउनुभन्दा समयमै दिमाग लगाउनु बुद्धिमानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *