सरकारभन्दा कालाबजारी शक्तिशाली ?
- जेष्ठ २५, २०८३
प्रधानमन्त्री केपी ओलीले बीबीसी हिन्दी सेवाका पत्रकार शालू यादवसँगको कुराकानीमा कोभिड–१९ रोकथामको लागि एक छिमेकीले १८ लाख खोप र अर्को छिमेकीले २० लाख खोप दिएको बताए । प्रम ओलीको यो भनाइबाट स्थिति स्पष्ट भएन । एक छिमेकी चीनले १८ लाख खोप अनुदानमा दिएको थियो भने अर्को छिमेकी भारतले १२ लाख (नेपाली सेनालाई समेत) अनुदानमा दिएको थियो । भारतसँग २० लाख खोप खरिदको लागि नेपालले रकम भुक्तानी गरेकोमा १० लाख खोपमात्र प्राप्त भयो । १० लाख खोप प्राप्त भएको छैन । न रकम नै फिर्ता भयो ।
पत्रकार यादवले प्रम ओलीसँग भारतीय प्रम मोदीको लागि सन्देशबारे जिज्ञासा राख्दा प्रम ओलीले रकम भुक्तानी भइसकेको १० लाख खोप नेपाललाई पठाउनुपर्नेबारे उठाएनन् । प्रम ओलीले नेपाललाई अन्य देशभन्दा अलिकति फरक व्यवहार गर्न प्रम मोदीसँग ‘निवेदन’ गरेको समाचार प्रकाशित भयो । दुई ओटा सार्वभौम देशबीचका प्रधानमन्त्रीहरूबीच ‘निवेदन’ गर्नु जरुरी छैन । पत्रकार यादवले ‘निवेदन’ शब्द प्रयोग गरेको हो या प्रम ओली नै ‘निवेदन’ शब्द प्रयोग गरेर भारतसामु शिर निहु¥याएको हो स्पष्ट हुनु जरुरी छ ।
दुई ओटा सार्वभौम देशबीच अन्तर्राष्ट्रिय सिमाना बन्द हुनु आवश्यक छ । प्रम ओलीले पत्रकार यादवसँग राखे– “खुला सिमानामा दुवैतिर खेत छन् । कहीँकहीँ त दशगजा कहाँ छ, थाहा छैन । मानिसहरूबीच हरेक कुराको निम्ति आवतजावत हुन्छ ।” सार्वभौमिकताको विषयमा प्रम ओलीले “कहीकही त दशगजा कहाँ छ, थाहा छैन” भन्न मिल्दैन । दशगजा र सिमानाको यकिन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो । आफ्नो देशको सिमाना यकिन गर्न नसकेकाहरू प्रम हुनुको तुक छैन ।
प्रम ओलीसँग पत्रकार यादवले नेपालमा चीनको प्रभाव बढेको र भारतका प्रम मोदीसँग ६ वर्षयता मनमुताव भएको जिज्ञासा राखे । यो जिज्ञासाको जवाफमा प्रम ओलीले छिमेकी भएपछि पे्रम र समस्या पैदा हुने उल्लेख गर्दै भने, “कहिलेकाहीँ असमझदारी थिए । अब ती असमझदारी हटेको छ । हामी त्यसमै अल्झिएर बस्न हुँदैन । भविष्य हेरेर अगाडि बढ्नुपर्छ । हामीले सकारात्मक पक्षलाई अगाडि बढाउनुपर्छ ।”
प्रम ओलीले सकारात्मक पक्षलाई अगाडि बढाउनुपर्ने बताए पनि भारतले नेपालको ७१ भन्दा बढी ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरेको, त्यसमध्ये सुस्ता, कालापानी र लिम्पियाधुरामा बढी नेपाली भूमि अतिक्रमण भएको विषय उठाएनन् । भारत अतिक्रमित नेपाली भूमि फिर्ता नगरिएसम्म नेपाल–भारतबीचको असमझदारी कसरी हट्छ ? नेपालमा चीनको प्रभाव छैन । दुई देशबीच समानस्तरको सम्बन्ध छ । भारतीय आँखाले मात्र चीनको प्रभाव नेपालमा बढेको देख्ने हो ।
नेपालका प्रम, मन्त्री र अधिकारीहरू पत्रकारहरूसँग भारतसँगको आफ्नो असमझदारी हटाउने दाबी पेश गर्नसक्दैनन् र लिपापोती तर्क राख्छन् । दुईपक्षीय वार्तामा पेश गरिने अपेक्षा कसरी गर्ने ? प्रम ओलीले पत्रकार यादवसँग ‘अब ती असमझदारी हटेको छ’ भन्नु यथार्थभन्दा परको तर्क हो । कालापानीबाट भारतीय सेना नहटेसम्म र भारत अतिक्रमित नेपाली भूमि फिर्ता नभएसम्म दुई देशबीचको असमझदारी हट्नेछैन ।
Leave a Reply