भर्खरै :

ठुला दलकै कारण देशमा सङ्कट

सिद्धान्त र विचार बन्धक राखी सरकारको निम्ति ज्यानतोड गर्ने ठुला दलका नेताहरू पहिले सरकार अस्थिर हुनुको दोष साना पार्टीका नेताहरूलाई लगाउँथे । साना दलका नेताहरूको भर छैन, सरकारमा नजाने दललाई जिताउनु हुँदैन, जित्नेलाई भोट दिनुपर्छ भनी झूटको खेती गर्ने काम ठुला दलका नेताहरूले गरे । समयले ठुला दलका नेताहरूको यो भ्रम झूट सावित ग¥यो । कति बुद्धिजीवीहरू पनि साना या हार्ने पार्टीलाई भोट दिए भोट खेर जाने कुरा फलाक्थे । तर, यस्तो काममा ठुला दलकै हात हुन्थ्यो । आज ठुला दलकै कारण पार्टी विभाजन भयो । पदको निम्ति पार्टीभित्र गुट उपगुटमा विभाजन भयो । दलहरू फुटको सङ्घारमा पुगे । राजनीतिक अस्थिरताका कारण केही महिना नबित्दै प्रतिनिधिसभा भङ्ग भयो । तीन वर्षमा पटक–पटक मन्त्रिपरिषद् हेरफेर भयो ।
जनताको मत सिद्धान्त र विचारको लागि हो । जित्नेलाई भोट पुँजीवादी राजनीति हो । जित्नेलाई भोट दिएरै आज नेपाल भ्रष्टाचारमा बदनाम देश बन्यो । देशमा ठुला दलहरूले पालैपालो सरकारको नेतृत्व गरिरहे । भारतसँग असमान सन्धि र सम्झौता भयो । एमसीसी सम्झौतामा पनि नेका र एमालेजस्ता ठुला दलका मन्त्रीहरूले हस्ताक्षर गरेका थिए । ठुला दलहरूकै कारण कोसी, गण्डक र टनकपुर सम्झौता गरेर नेपालका नदी–नाला भारतलाई सुम्पिएको थियो । नेपाल–भारत सीमा एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाउ पनि टुलुटुलु हेरेर बस्ने दल ठुला दलहरू नै हुन् ।
देश राजनीतिक सङ्कटमा छ, देशमा अस्थिरता छ । देश अनिर्णयको बन्दीजस्तो बनिरहेको छ । देशमा भ्रष्टाचार, कमिसन, कालाबजारी व्याप्त छ । आर्थिक अनियमिता, ढिलासुस्ती, पक्षपात र भेदभाव त्यतिकै छ । यी सबै बेथितिहरू सत्तारूढ दल या ठुला दलकै कारण भएका हुन् । जित्नेलाई भोट दिने भए दलको सिद्धान्त, विचार र उद्देश्यको के खाँचो ? दलको काम बलको राजनीति गर्ने होइन । जनताले दलको सिद्धान्त र विचारको आधारमा मतदान गर्ने हो । सिद्धान्त र विचारको ख्याल नभएकै कारण साम, दाम, दण्ड र भेदको राजनीति भइरहेको हो । पैसा, लोभलालच र भोजभतेरमा कति मतदाता बिके । अरू त अरू वर्तमान सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले समेत जित्नेलाई भोट दिनुपर्ने कुरा उठाए । सिद्धान्त र विचारको ख्याल नगरी जित्नेलाई भोट दिने गलत मानसिकताले गर्दा देशलाई दूरगामी असर पार्ने, असमान सन्धि–सम्झौता गर्ने, देशलाई परनिर्भर या भारत निर्भर बनाउने दलहरू निर्वाचनमा जिते । दिशा निर्देश विचार र सिद्धान्तले गर्ने हो, सङ्ख्याले होइन । ठुलो दल भए पनि सिद्धान्त र विचारको ख्याल नगरेकै कारण देशमा राजनीतिक सङ्कट देखिएको हो, अस्थिरता निम्तिएको हो । अतः जनताले सिद्धान्त र विचारको आधारमा मतदान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *