भर्खरै :

अनलाइनमा ब्राह्मी लिपि तालिम

भक्तपुर, २९ जेठ । स्क्रिप्ट ख्वपको आयोजनामा बिहीबार अनलाइनमार्फत ब्राह्मी लिपिको तालिम सम्पन्न भयो ।
लकडाउनको समय सदुपयोग गर्ने हेतुले अनलाइनमार्फत सञ्चालन गरिएको उक्त तालिम दोस्रो पटकको हो । उत्तर लिच्छवि लिपि तालिम अनलाइनमार्फत सञ्चालन गरिसकेको यस ग्रुपले यो पटक ब्राह्मी लिपिको प्रशिक्षण दिएको छ । नयाँ युवा पुस्तालाई आफ्नो लिपिसम्बन्धी र लेख्ने विधिबारे जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस ग्रुपले अनलाइनमार्फत लिपि तालिम सञ्चालन गरेको हो । लकडाउनको समय, त्यसमाथि आजकलका नयाँ युवा पुस्ता मोबाइल तथा सामाजिक सञ्जालमा नै व्यस्त हुन्छन् । उनीहरूलाई अनलाइनबाटै प्रशिक्षण गराउँदा मोबाइल चलाएर केही कुरा सिक्न पाउने लिपि प्रशिक्षक श्रीराइम खाइतु बताउनुहुन्छ ।
“बिस्तारै लिपि लोप हुँदै गइरहेको छ । लिपि पढ्न सक्ने व्यक्ति थोरैमात्र छन् । भविष्यमा लिपि पढ्न सक्ने व्यक्ति नै नहोला भन्न सकिन्न । तर, आफूले सिकेको कुरा नयाँ पुस्तालाई सिकाउन पाउँदा उनीहरूले यो लिपि अर्को नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछन् ।”
कार्यक्रमका प्रशिक्षक श्रीराइम खाइतुले आफ्नो लामो समयदेखिको सिकाइ प्रशिक्षार्थीहरूलाई सिकाउन पाउँदा हर्षित भएको बताउनुहुन्छ ।
कार्यक्रम संयोजक रेणुका कर्माचार्यले प्रशिक्षार्थीहरूको उत्साह देखेर थप तालिम दिने हौसला मिलेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीले तालिम सञ्चालन प्रशिक्षार्थीको जोश र हौसला देखेर नै गरिरहेका हौँ । उहाँहरूको प्रतिक्रिया राम्रो नै पाइरहेका छौँ । उहाँहरू चाहनुहुन्छ अझै अन्य लिपि तालिम दिन तयार छौँ ।”
सह–प्रशिक्षकको रूपमा किशोर गोसाई, सृजना दुवाल, रोजिना बनमाला हुनुहुन्थ्यो । कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षकलाई श्रीराम खाइतुले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *