भर्खरै :

सक्वको म राजदास–८८ / सोभियत सङ्घमा बिहे भएपछि

सोभियत सङ्घमा इन्जिनियरिङ्ग पढ्न गएको दुई वर्ष लगत्तै म एक सोभियतसँग विवाह बन्धनमा बाँधिन पुगेँ । ठीक गरेँ या बेठीक गरेँ तर विवाह भयो । मनले त्यति मानेको थिएन तर पनि विवाह गर्न पुगेँ । विवाह गर्नुमा मेरोभन्दा पनि श्रीमती भालेन्टिनाको इच्छा बढी थियो । उनको नेपाल आउने सपना थियो । हाम्रो विवाह हुनुपूर्व नै उनले मलाई नेपाल आएर के–के गर्ने भन्ने नानाथरीका कथाहरू बुनेर सुनाउन थालिन् । उनले नेपाल र इन्डियाको इतिहास, राजनीति र संस्कृतिबारे खोजीखोजी पढ्न र बुझ्न थालिन् र नेपाल आउने दृढ निश्चय गरिन् । मलाई बिहे हुनुपूर्व आफ्नाहरूसँग चिनाउन उनले मलाई आफ्नो गाउँघर लगिन् । हाम्रो विवाह हुने कुराले उनकी आमा आन्ना बढी चिन्तित हुन थालिन् । तर, छोरीको इच्छा विपरीत उनले केही भन्न सकिनन् र मौन समर्थन गरिन् ।
सन् १९७१ मा हाम्रो पढाइको दोस्रो वर्ष चल्दै गर्दा हाम्रो विवाह सोभियत उक्राइनाको खार्कोभ सहरमा सम्पन्न भयो । जहाँ हामी दुवै जना ‘खार्कोभ पोलिटेक्निकल इन्स्टिच्युटमा अध्ययनरत थियौँ । हामी दुवै केमिकल इन्जिनियरिङ्ग पढ्दै थियौँ । मेरो विषय इन्जिनियरिङ्ग सिमेन्ट टेक्नोलोजी र उनको विषय केमिकल इन्जिनियरिङ्ग ग्लास (सिसा) टक्नोलोजी थियो । विषय अलि फरक परेकोले हाम्रो फ्याकल्टी फरक फरक थियो । यद्यपि, इन्स्टिच्युट एउटै थियो ।
सन् १९६९ मा मस्को सहरमा हाम्रो परिचय भएको थियो । त्यहाँ म रुसी भाषा अध्ययन गर्दै थिएँ । हाम्रो इन्स्टिच्युटको छात्रावास सोकल भन्ने ठाउँमा थियो । त्यहाँ थुप्रै विद्यार्थी छात्रावासहरू थिए । भ्यालेन्टिना त्यसबेला मस्कोको मेन्डेलीभ केमिकल इन्स्टिच्युटमा प्रथम वर्षमा पढ्दै थिइन् । उनको छात्रावास र मेरो छात्रावास सँगसँगै थियो । त्यहाँ जम्मा ८ वटा होस्टेल (छात्रावास) थिए । त्यहाँ बस्ने विद्यार्थीको लागि एउटा साझा भोजनालय (स्टोलोभाया) थियो । त्यस भोजनालयमा बिहान, दिउँसो र साँझ विद्यार्थी लञ्च, ब्रेकफास्ट र डिनर खान आउँथे । त्यही भोजनालयमा जाँदा आउँदा भालेन्टिनासँग मेरो भेटघाट भएको थियो । राम्रो चिनापर्ची भएपछि म उनी बस्ने सँगैको होस्टेलमा जानआउन थालेँ । उनी चार जना आफ्ना साथीहरू (समकक्षी) सँग बस्थिन् । मेरो होस्टेलमा एकजना नेपालबाट सँगै गएको साथी र अरू दुईजना रुसी विद्यार्थीसँग एउटा होस्टेलको कोठामा बस्थेँ ।
विदेशी र रुसी विद्यार्थीका बीचमा राम्रो जानपहिचान होस् र एकआपसमा मित्रता र सद्भावमा विकास पनि होस् भन्ने हेतुले सोभियत सङ्घमा पढ्न आउने विदेशी विद्यार्थीलाई रुसी विद्यार्थीसँग मिलाएर एउटा कोठामा बस्न दिइन्थ्यो । यसले गर्दा उनीहरूसँग बस्दा हामी विदेशी विद्यार्थीलाई रुसी भाषामा छिटो सिक्ने अवसर प्राप्त हुने नै भयो ।
भालेन्टिनासँग हाम्रो मेलमिलाप बढ्दै गयो । कक्षा सकेपछि हाम्रो हरेक जसो साँझ उनको होस्टेलमा भेट्न थाल्यौ । यस घटनाले मलाई रुसी भाषा जान्नमा धेरै सजिलो भयो । रुसी संस्कृति र रहनसहनको बारेमा पनि धेरै कुरा जान्ने अवसर मिल्यो । एक वर्षसम्म हामी सँगै यसरी घुलमेल हुँदा भालेन्टिनाले मसँग बिहे गरेर नेपाल बस्न आउने कुरा उठाइन् । सुरुमा मैले यस्तो सोचेको थिइनँ तर समय बित्दै गएपछि मैले आफूले चाहेर पनि उनीबाट टाढा रहन सकिनँ ।
एक वर्षको रुसी भाषा अध्ययन गरिसकेपछि मलाई सोभियत उक्राइनाको खार्कोभ सहरमा पढ्न पठाइयो । म सोभियत सङ्घ पढ्न जाँदा ‘सिभिल इन्जिनियरिङ्ग’ विषय पढ्न भनी गएको थिएँ । सोभियत सङ्घको छात्रवृत्तिमा काठमाडौँस्थित अमृत साइन्स कलेजबाट आई.एस्सी (इन्टरमेडियत साइन्स) पास भएपछि केमेस्ट्रीमा मेरो रुचि थियो र आई. एस्सी. परीक्षामा मैले रसायनशास्त्रमा डिस्टिङ्सन मार्क (७८ प्रतिशत) पनि ल्याएको थिएँ । त्यसबेला पचहत्तर प्रतिशत भन्दा बढी नम्बर ल्याउनेलाई डिस्टिङ्सन भनिन्थ्यो । केमेस्ट्री र म्याथम्याटिक्समा डिस्टिङ्शन मार्क ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भएकोले मलाई सोभियत सरकारबाट प्राप्त भएको सिभिल इन्जिनियरिङ्ग विषयमा पढ्न जान सजिलै छानियो । ८–१० जना आफ्ना साथीहरूको समूहमा म सन् १९६९ को अगस्टमा काठमाडौँबाट मस्को गएको थिएँ । एक वर्ष रुसी भाषा अध्ययन गर्न सोभियत राजधानी मस्को बसेको थिएँ । रुसी भाषा प्रत्येक विदेशी विद्यार्थीले पढ्नु पर्दथ्यो । किनकि, कुनै पनि विषयमा उच्च शिक्षा हासिल गर्नु अघि त्यहाँ रुसी भाषामै पढाइन्थ्यो ।
एक वर्षको पढाइपछि मलाई सिभिल इन्जिनियरिङ्ग होइन केमिकल इन्जिनियरिङ्ग पढ्न सल्लाह दिइयो । किनभने मेरो नक्सा कोर्ने विषय (डिस्क्रिप्टीभ ज्योमेट्री) मा राम्रो दख्खल थिएन ।
एक वर्ष भाषा पढाउँदा त्यहाँ फिजिक्स, केमेस्ट्री, ज्योमेट्री र साहित्यिक विषयमा पनि पढाइ हुन्थ्यो । मेरो केमेस्ट्रीमा राम्रो अङ्क आएकोले केमिकल इन्जिनियरिङ्ग पढ्न भनी मस्कोबाट उक्राइनाको खार्कोभ सहर पठाइयो ।
यसरी मस्को छोडेर गएपछि भालेन्टिनासँगको भेटघाट हुन छोड्यो । उनी मस्कोकै अडीन र म खार्कोभ पुगेँ । तर, भालेन्टिनाले मसँगको सम्बन्ध छोड्न चाहिनन् । चिठी पत्रद्वारा उनले मसँग सम्बन्ध राखि रहिन् । प्रत्येक हप्ता दुई तीन वटा उनको चिठीपत्रहरू आइरहन्थ्यो । बिदाको अवसर पारेर उनी मलाई बरोबर खार्कोभ सहरमा भेट्न आउन थालिन् । एक वर्षपछि उनले आफ्नो विद्यालय (इन्स्टिच्युटबाट) ट्रान्सफर सर्टिफिकेट लिएर म पढ्ने खार्कोभ पोलिटेक्निकल इन्स्टिच्युटमै भर्ना हुन आइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *