भर्खरै :

सैन्य जनरल राउल क्यास्त्रोले १६ अप्रिल, सन् २०२१ मा क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको केन्द्रीय प्रतिवेदन – ३

अमेरिकी सरकारले सामाजिक सञ्जाललाई विनाशकारी माध्यममा परिवर्तन गर्न “क्युवाको निम्ति इन्टरनेट कार्यसमूह”(Internet Working Group for Cuba) बनाएको र संवेदनशील पूर्वाधारहरूमा साइबर हमला चालू राख्न राज्यले नियन्त्रण नै गर्न नसक्ने वायरलेस नेटवर्क बनाएको बिर्सनु हुँदैन ।
हामीले दर्जनौँचोटि इन्टरनेट र सामाजिक सञ्जालहरूको प्रयोगका फाइदा र खतराहरूबारे छलफल गरेका छौँ । इसपको जिब्रोसम्बन्धी कथाको उदाहरण दिँदै राष्ट्रिय सभाको बैठकमा यी माध्यमलाई असल र खराब दुवै उद्देश्यको निम्ति प्रयोग गर्न सकिन्छ भनेका छौँ । यस चरणमा आएर सूचना प्रविधिको सुरक्षा सुनिश्चित नगरीकन अज्ञानी हुन वा नयाँ प्रविधिहरूप्रति असीमित उत्साह देखाउन पाइँदैन ।
झूट, छलछाम र गलत समाचारको अब कुनै सीमा छैन । तिनको माध्यमबाट निकट भविष्यमा मर्दै गरेको समाज, पतनको मुखमा परेको, सामाजिक विस्फोटको ढोका खुलिरहेको देशको रूपमा क्युवाको भ्रामक तस्बिर कोरिँदै छ र चारैतिर प्रचारप्रसार गरिँदै छ । सत्य भने फरक छ । सामाजिक आधार, नेतृत्व र परिचालन क्षमताको अभाव रहेको आन्तरिक प्रतिक्रान्तिकारी (शक्ति) का समर्थकहरूको सङ्ख्या र सामाजिक प्रभाव पार्ने तिनका गतिविधि घटिरहेका छन् । त्यसले आफ्नो सक्रियता सामाजिक सञ्जाल र इन्टरनेटमा केन्द्रित गर्दै छ ।
हामी ढुक्क छौँ सडक, पार्क र प्लाजाहरू क्रान्तिकारीहरूको हुनेछ र हामीले कहिल्यै हाम्रा पराक्रमी जनताको क्रान्तिको रक्षा गर्ने अधिकारको हनन हुन दिनेछैनौँ । (ताली)
यी परिस्थिति आफैले मैले बताइसकेको सैद्धान्तिक क्षेत्रमा तत्काल परिवर्तन गर्नुपर्ने माग गर्छन् ।
कार्यकर्ता नीतिको सवालमा अघिल्लो महाधिवेशन र प्रथम राष्ट्रिय सम्मेलनसम्म हामीले निक्र्योल गरेको लक्ष्य पूरा गरिरहेका छौँ । नीति निर्माणको तहमा बिस्तारै नवीकरण गर्दै लाने नीतिको कार्यान्वयन र साङ्गठनिक अवधारणा निर्माणमा प्रगति हुँदै छ । त्यस्तै, युवा, महिला, अश्वेत र मिश्रित जातिका व्यक्तिहरूलाई तिनका योग्यता र व्यक्तिगत गुणका आधारमा हुर्काउँदै लग्ने दिशामा प्रगतिउन्मुख र दिगो बढोत्तरी हुँदैै छ । तैपनि पार्टी, राज्य र सरकारको मुख्य जिम्मेवारीको हकमा यो उपलब्धि एकदम अपुग छ । यङ्ग कम्युनिस्ट लीगबाट पार्टीका पेशेवर कार्यकर्ताहरू हुर्काउने क्रम जारी छ ।
यति नै बेला, हाम्रो कार्यकर्ता नीति कार्यान्वयन गर्ने मामिलामा कमजोरीहरू कायम छन् । धेरै मैमत्त कार्यकर्ताहरू औपचारिक र सतही प्रवृत्तितिर ढल्किने तथा आफ्नो दायित्वसम्बन्धी तालिम नलिने दृश्यबाट यो कुरा छताछुल्ल हुन्छ । जनतासँगको स्वाभाविक सम्बन्धमा, संवेदनशीलताको अभाव, समस्याहरूको निराकरणमा जनसमूहलाई परिचालन गर्न असक्षम हुनु र मातहतका कार्यकर्ताको हकमा फितलो व्यवहार, सबै टड्कारा छन् ।
छलफल र कुराकानीको संस्कृति अपुग छ । यसले उत्प्रेरित गर्ने, बुझ्ने, सहभागी हुने र कामदार जनतासँग सम्बन्धित विषयहरूमा बहस गर्ने क्षमता सीमित गरिदिन्छ । केही कामरेडहरूलाई जिम्मेवारी सम्हाल्ने योग्यता र तयारी नभए तापनि सीधै व्यवस्थापकीय भूमिकामा बढुवा गरेको स्थिति अझै छ । त्यस्तै महिला, अश्वेत र मिश्रित जातिको हकमा कार्यकर्ताहरूको सम्मिश्रण सुधार्ने कार्यमा फितलो नियत र योजना पनि देखापरेको छ ।
बढुवाका लागि अयोग्य व्यक्ति हो भन्ने सबैलाई थाहा हुँदाहुँदैै पनि उपनिर्देशक वा अघि सारिएको व्यक्तिलाई यथास्थानमा राख्ने अभ्यास कायम छ । यसले दिएको पदीय मर्यादा जगेर्ना गर्नेभन्दा पनि खस्काउँछ र नयाँ अगुवाहरूको सामान्य विकास र बढोत्तरी अवरुद्ध गर्छ ।
गणतन्त्रको संविधानको धारा ४ म यहाँ उल्लेख गर्न उपयुक्त मान्छु । त्यसमा भनिएको छ, “समाजवादी मातृभूमिको प्रतिरक्षा प्रत्येक क्युवालीको महानतम् गौरव एवम् सर्वोच्च कर्तव्य हो ।”
कार्यकर्ता नीतिलगायत सम्पूर्ण कम्युनिस्ट जोधाहाहरूले आफ्ना गतिविधिमा यो अहम संवैधानिक बुँदालाई ध्यानमा राख्नुपर्छ । कुनै उपयुक्त कारणबेगर आफ्नो सक्रिय सैन्य सेवा पूरा गर्न नसकेका कामरेडहरूलाई उच्च पदमा बढुवा गर्न सकिन्न जुन सैन्य तम्तयारीका लागि सबै नागरिक र प्रथमतः हरेक कार्यकर्ताले छिचोल्नुपर्ने प्रमुख मार्ग हो । समय बित्दै जाँदा यो कुरा झन् महत्वपूर्ण बन्दै जानेछ । सन् २०३० सम्ममा धेरै अर्थमा न्यून जन्मदरको प्रचलन गम्भीर समस्या बन्नेछ । त्यसकारण यस दिशामा समाधान खोज्नुपर्ने आवश्यकता प्रस्टिँदै जानेछ ।
यस मैदानमा, १९ वर्षअघि सन् २००२ मा विदेश मन्त्रालयको अनुरोधमा लिएको निर्णय हामीसामु मूल्यवान उदाहरणको रूपमा छ । सो निर्णयअनुसार केटा वा केटी दुवैथरी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय सम्बन्धको उच्च संस्थान (Advanced Institute of International Relations) मा भर्ना हुनुअघि ग्वान्टानामोस्थित अवैध नौसैनिक आधार इलाकाबाहिर सीमा ब्रिगेडमा एक वर्ष सैन्य सेवा गरेकै हुनुपर्छ । यो नियम कुनै व्यवधानबिना अहिलेसम्म बर्सेनि पालन भइआएको छ ।
मैले भन्दै थिएँ, अन्य थप कारणहरूले जस्तै बुढ्यौलीले छुँदै गरेको क्युवाली जनताको स्थितिले सेनामा भर्ती हुनका लागि चाहिने उमेर समूहका नागरिकहरूको सङ्ख्या सीमित गर्छ । उच्च शिक्षा लिने सम्पूर्ण विद्यार्थीहरूले अगाडि नै यो कर्तव्य पूरा गर्नुपर्ने अन्तर्राष्ट्रिय सम्बन्धको उच्च संस्थानको अनुभवलाई बिस्तारै सबैतिर सामान्यकरण गर्न अध्ययन गरिनुपर्छ ।
गणतन्त्रका राष्ट्रपति डियाज–कानल स्वयम्ले सेनानायकको एक आह्वानमा लास भिलासको केन्द्रीय विश्वविद्यालयबाट इलेक्ट्रोनिक इन्जिनियरको रूपमा स्नातक गरेपछि नयाँ प्रविधिको अनुभव लिन विमानप्रतिरोधी सुरक्षा युनिटको आफ्नो सैन्य सेवा स्वेच्छापूर्वक पूरा गर्नुभएको थियो । उहाँ आफैले मलाई भनेअनुसार त्यो तीन वर्षको अवधि एक क्रान्तिकारी कार्यकर्ताको रूपमा उहाँको हुर्काइमा निकै उपयोगी सिद्ध भएको थियो ।
एउटा उदाहरण कायम गर्नुभएकोमा म राष्ट्रपतिजीलाई प्रशंसा गर्छु । (ताली)
आफ्नो रणनीतिक प्रकृतिका कारण कार्यकर्ता नीतिलाई निरन्तर परिमार्जन र अद्यावधिको खाँचो पर्छ । प्रकाशमा आउने आकाङ्क्षा, घमण्ड, ठालूपना, खोक्रोपना, अहङ्कार वा महत्वाकाङ्क्षाका विरुद्ध क्रान्तिप्रतिको प्रतिबद्धता, विनम्रता, शिष्टता, व्यक्तिगत उदाहरण, नेतृत्व कौशल र दृढ अठोटले युक्त कार्यकर्ताहरूको छनोट, तालिम र प्रवद्र्धन गर्ने उद्देश्यले यसो गर्नु आवश्यक हुन्छ ।
क्युवाली कम्युनिस्ट पार्टीको कार्यकर्ता नीतिले जनतासँग नजिकको सम्बन्ध राख्ने, परिचालन, संवाद, वादविवाद गर्ने क्षमता राख्ने र निर्णायक बन्ने, राजनीतिक र मानवीय दृष्टिले संवेदनशील, जिम्मेवार, अनुशासित, तदारुकता र संयम भएको, समस्याहरूको उत्कृष्ट समाधान फेला पार्ने एकमात्र तरिकाको रूपमा सामूहिक नेतृत्वको उपयोग गर्ने भोलिका नेताहरूको समूह सुनिश्चित गर्नुपर्छ ।
म अहिले विदेश नीतिभित्र पस्दिनँ ।
आज हामीले भोगिरहेको अन्तर्राष्ट्रिय परिस्थिति सन् २०१६ अप्रिलमा हामीले सातौँ महाधिवेशन गर्दाको भन्दा एकदम भिन्न छ । यी पाँच वर्षमा अमेरिकी सरकारको आक्रामकता अघिको भन्दा असाध्यै चुलियो ।
इतिहासदेखि नै, अमेरिकी साम्राज्यवादी प्रभुत्ववाद क्युवाली राष्ट्रको भाग्य र अस्तित्वमाथि खतरा रहिआएको छ । यो नौलो घटना होइन । हाम्रो मातृभूमिको उदय हुँदा जब हाम्रा जनतामा सार्वभौमिकता र स्वाधीनताको पहिलो हुटहुटी पलायो, त्यतिबेलादेखि नै यो (प्रभुत्ववादी) प्रवृत्ति क्युवालीहरूसँगै अघि बढ्यो ।
१९ औँ शताब्दीमा स्पेनी उपनिवेशवादविरुद्धको सङ्घर्षका हाम्रा नायकहरूको लागि यो (अमेरिकी प्रभुत्ववाद) एउटा चुनौती थियो । २० औँ शताब्दीमा सङ्घर्ष जारी राख्ने पुस्ताहरूले पनि यसको सामना गरे र आज पनि जनताले एकढिक्का भएर प्राप्त स्वतन्त्रता र न्यायको प्रतिरक्षामा यसको सामना गर्दै छन् ।
यो प्रभुत्ववाद हाम्रो देशमा सन् १८९८ देखि १९०२ सम्म चलेको सैन्य कब्जा र लगत्तै संविधानमा प्लाट संशोधनको रूपमा परिशिष्ट लादेर जबरजस्ती जन्माइयो ।
मलाई नागरिकहरूबीचको छलफलमा अलि स्पष्ट नभएझैँ महसुस भएको एउटा विषय, त्यतिबेलाको राष्ट्रिय सरकारमाथि उत्तरी छिमेकीले थोपरेको १९३४ का सम्बन्धहरू विषयक सन्धि (1934 Treaty of Relations) सँगै हवाना तटमा अमेरिकी नौसेनाका युनिटहरूको धम्कीपूर्ण तैनाथीपछि त्यो (प्रभुत्ववाद) झन् मजबुत बनेको थियो । यसरी ‘प्लाट संशोधन’ लाई देखावटी पाखण्डपूर्ण मित्रभावले विस्थापन ग¥यो । त्यसका सर्वाधिक अपमानपूर्ण प्रावधानहरूलाई नयाँ सन्धिमा कायम राखियो । साथमा अमेरिकी पाउमुनि परनिर्भर भएर बस्नुपर्ने क्युवाली स्थिति झन् कसिलो बनाउने खालका राजनीतिक र आर्थिक प्रतिबद्धताहरू पनि थिए । यो स्थिति सन् १९५९ जनवरीसम्म जारी रह्यो ।
अमेरिकी प्रभुत्ववाद मेनिफेस्ट डेस्टिनी (Manifest Destiny) को साम्राज्यवादी अवधारणा, क्रूर मुनरो डक्ट्रिन (Monroe Doctrine) र अखिल अमेरिकावाद (Pan-Americanism) को दृष्टिकोणसँग नङमासु भएको चुनौती हो । यी विचारहरूमार्फत उनीहरूले सिमोन बोलिभारको पालादेखि हाम्रो भेगलाई दबाउन खोजिरहेका छन् ।
बितेका चार वर्षमा संरा अमेरिकाको तीव्र र असमान शक्ति प्रदर्शन र क्युवाविरोधी चुलिँदो आक्रामकतासँगै थप कहर थपिएको छ । अमेरिकी सरकार सामान्य बल प्रयोगको आधारमा मनपरी गर्ने र विश्वमा आफ्नो चाहना थोपर्ने छुट पाएकोमा ढुक्क भएझैँ देखिन्छ । दशकौँसम्म अन्तर्राष्ट्रिय सम्बन्धहरू उभिएका जराहरूमा राजनीतिक, वैधानिक र नैतिक सङ्कट निम्त्याउन उद्यत देखिन्छ ।
अन्तर्राष्ट्रिय समुदाय नेतृत्वकारी आर्थिक, सैन्य र प्राविधिक शक्तिका सबैभन्दा बदनाम अत्याचार र दुराचारहरूमाथि लगाम लगाउन असमर्थ भएको देखिन्छ । उसका गैरजिम्मेवार कर्तुतहरू शान्ति, स्थायित्व, पर्यावरणीय सन्तुलन र पृथ्वीमा जीवनको अस्तित्वको निम्ति सर्वाधिक खतरा बन्दै छन् ।
यो प्रसङ्गले आंशिकरूपमा भए पनि खासगरी संरा अमेरिकाले हाम्रो मुलुकमाथि थोपरेको आर्थिक नाकाबन्दीका कुप्रभावहरू छर्लङ्ग पार्छ । अन्तर्राष्ट्रिय अर्थतन्त्र झन्झन् अन्तरसम्बन्धित, अन्तरनिर्भर बन्दै गएको र वासिङटनले नियन्त्रण गर्ने वित्तीय केन्द्रहरूको शक्तिले त्यस अर्थतन्त्रलाई निर्देशित गरिरहेको स्थितिबाट पनि ती कुप्रभावहरू प्रस्ट हुन्छन् ।
अन्तर्राष्ट्रिय समुदायको बहुसङ्ख्याले बारम्बार अस्वीकार गर्दागर्दै पनि नाकाबन्दीले व्यवहारतः पृथ्वीका प्रत्येक राष्ट्रसँगको क्युवाका आर्थिक सम्बन्धहरूमा आघात गर्छ । ती राष्ट्रको राजनीतिक अवस्था जेजस्तो भए पनि हामीसित तिनको सम्बन्ध छ ।
धेरै मामिलामा (संसारका अधिकांश) सरकारहरूसँग आफ्नो क्षेत्रफलको आधारमा राष्ट्रिय एकाइको रूपमा आफ्ना क्रियाकलापमा सार्वभौम अधिकारको अभ्यास गर्ने क्षमता छैन । यी अधिकार प्रायः वासिङटनको जुवामुनि दब्छन् । मानौँ, हामी अमेरिकी एकध्रुवीय सत्ताको नियन्त्रण रहेको संसारमा बाँचिरहेका छौँ ।
यो परिघटना विशेषगरी वित्तीय क्षेत्रमा बढी प्रकट हुने गरेको छ । विभिन्न देशका राष्ट्रिय बैङ्कहरूले आआफ्ना सरकारका राजनीतिक निर्णयहरूमा अमेरिकी प्रशासनका सर्तहरूलाई प्राथमिकता दिने गर्छन् । नवउदारवादी भूमण्डलीकरण विस्तार हुँदैै जाँदा यी यथार्थहरू झन् प्रस्ट हुँदैै छन् ।
अन्य देशहरू हुन्थे र ती देश क्युवाभन्दा धनी र शक्तिशाली नै हुन्थे भने पनि हाम्रा जनताले आफ्नो जाँगर, बलिदान र रचनात्मकताका साथ ६० वर्ष चानचुन सामना गरेको नाकाबन्दीले तिनको आर्थिक र सामाजिक स्थायित्वलाई ध्वस्त पार्ने थियो । कुनै राष्ट्रविरुद्ध चलाइएको यो सबैभन्दा व्यापक, असमान र लामो आर्थिक युद्ध हो ।
सामाजिक न्याय, पार्टीवरपर गोलबन्द जनताको एकता र स्वदेशको रक्षा गर्ने साझा एकत्रित प्रयत्नहरूमा आधारित समाजवादी व्यवस्थामा मात्र हाम्रोजस्तो अल्पविकसित र तुलनात्मकरूपमा सानो राष्ट्रले थोरै प्राकृतिक स्रोतसाधन हुँदाहुँदैै पनि पतन पन्छाउन सक्छ र आफ्नो विकासमा लम्कन सक्छ ।
कोभिड–१९ महामारीको कठोर परिस्थितिबीच अघिल्लो अमेरिकी सरकारले अपनाएकै क्युवाविरोधी नीति पुनः लागू गरियो । साम्राज्यवादको निर्दयी चर्तिकला छताछुल्ल भयो ।
कहिलेकाहीँ संरा अमेरिकाले क्युवाली अर्थतन्त्रमा पु¥याएको क्षति र सन् २०१७ यता लागू गरिएका २४० करकापपूर्ण दमनकारी उपाय वास्तविक असर देखाउने ठोस आँकडाहरू राम्ररी बुझिन्न वा तिनको ध्यानपूर्वक लेखाजोखा गरिन्न । यिनलाई नाकाबन्दी कसिलो पार्ने सामान्य कार्यमात्र ठान्नुहुँदैैन, बरु यी नयाँ तरिकाहरू हुन् । यीमध्ये केही तरिका यसअघि अपनाइएका थिएनन् । यिनले आर्थिक युद्धको घनत्व गुणात्मकरूपले झन् आक्रामक तहमा पु¥याएका छन् । यो कुरा प्रत्येक क्युवालीको दैनिक जीवनमा देखापरेको भौतिक अभावमा प्रतिबिम्बित भएको छ ।
यसमा वासिङटनको खर्चपानीमा चल्ने अर्को लज्जास्पद अभियान थपिन्छ । यस अभियानले नाकाबन्दी वास्तविक होइन, यसले क्युवाली अर्थतन्त्रलाई खासमा नोक्सानी गर्दैन, यो हाम्रो विकास र हाम्रो आर्थिक स्थायित्वको निम्ति उल्लेखनीय समस्या होइन भनी प्रचार गर्छ । यो अफवाह साम्राज्यवादको सेवामा (तल्लीन) शक्तिशाली सूचना माध्यम र हाम्रा देशवासीलगायत धेरैजनाको सोचलाई प्रभावित गर्न बुनिएको डिजिटल सञ्जालको झूट फैलाइँदै छ ।
क्युवाली अर्थतन्त्रलाई पुनः घेराबन्दीमा पार्ने प्रथम पाइलाहरू सन् २०१७ नोभेम्बरमा चालिएको थियो । त्यतिबेला विद्यमान नाकाबन्दीकै स्थितिमा क्युवाली व्यवसायहरूको एउटा समूहमाथि थप प्रतिबन्धहरू लगाइएको थियो । धेरैचोटि अद्यावधि गरिएको सो सूचीमा आज २३१ सामग्री पर्छन् । तीमध्ये धेरै सामग्रीले देशको खुद्रा बजार धान्ने गर्छन् । यस बस्दोबस्तले अर्थतन्त्र र जनताका अहम् आवश्यकता, देशका सम्पूर्ण होटलका सरसुविधा र वित्तीय क्षेत्रका कैयन् संघसंस्थाका आवश्यकता परिपूर्ति गर्छ ।
अमेरिकी सरकारले सैन्य र सुरक्षा क्षेत्रसँग जोडिएका कम्पनीहरूका गतिविधिमा मात्र पावन्दी लगाएको बहानामा आफ्नो गतिविधिलाई न्यायोचित ठह¥याउँछ । यी गतिविधिहरूले क्युवामा मानव अधिकार हनन गर्न र भेनेजुयलामा क्युवाली हस्तक्षेप थोपर्न सघाउने उसको आरोप छ ।
हाम्रा जनतालाई थाहा छ, यो अवैध सास्ती समाजलाई आर्थिक र व्यवसायिक पक्षमा सघाउन सफल सामग्रीहरूप्रति लक्षित छ । संसारभरि यस्तै हुन्छ र यिनले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण देन दिन्छन् ।
जनतालाई के कुरा स्पष्ट थाहा छ भने, ऐतिहासिक अनुभवका आधारमा यो (अमेरिकी) अवैध अत्याचारको उद्देश्य व्यवसायिक प्रणालीलाई तहसनहस पार्ने, चलिआएको अर्थतन्त्रको प्रक्रियामा बाधा तेस्र्याउने, राज्यको व्यवस्थापन बिथोल्ने र अनौपचारिकता लाद्ने, आर्थिक गतिविधिलाई छिन्नभिन्न पारेर भाँडभैलो मच्चाउने हदसम्म आर्थिक घेराबन्दीलाई विस्तार गर्नु हो । यसका पछाडि स्पष्टतः देशको घाँटी थिच्ने र सामाजिक विस्फोट गर्नेे बदनियत छ ।
कोभिड–१९ महामारीको सामना गर्ने असामान्य कार्यभारले हामीलाई हाम्रा अस्पताल र स्वास्थ्य केन्द्रहरूमा आवश्यक उपकरण र सामग्रीहरूको तत्काल प्रबन्ध गर्नुपर्ने गरी उल्लेख्य स्रोतसाधन खर्च गर्न बाध्य पारेको छ । क्युवाले नाकाबन्दीका थुनछेक छल्दै प्रविधिको निम्ति अप्रत्यक्ष बजारको सहायता लिनु पर्दैनथ्यो भने यसको मूल्य कम कष्टदायी हुने थियो ।
आर्थिक सास्तीले अर्कोतिर क्युवाली लेनदेनविरुद्ध वास्तविक सास्तीको रूप लिएको छ । यसले हाम्रो उत्पादन र सेवा आयातको मूल्य तिर्न र निर्यातको असुली गर्न थुप्रै व्यवधान पनि तेस्र्याएको छ । यसले गर्दा समग्र वैदेशिक व्यापारको मूल्य बढेको छ ।
क्युवा र देशभित्र–बाहिर रहेका क्युवालीहरूलाई सजाय दिन संरा अमेरिकाले पहिले क्युवामा रेमिट्यान्स पठाउने सम्पूर्ण माध्यमहरू सीमित गरिदियो र पछि व्यवहारिकरूपमा ठप्पै पारिदियो ।
जनताको उपभोगको लागि अत्यावश्यक उत्पादनको अभावमा यी यथार्थ टड्कारा बन्छन् । बेलाबेलामा उत्पादनका निम्ति राष्ट्रिय उद्योगधन्दामा चाहिँदो गुणस्तरका अत्यावश्यक कच्चा पदार्थ प्राप्त गर्न नसक्दा पनि धेरै जटिलताहरू खेप्नुपर्छ । यसमा उपभोग्य सामग्री, औषधि र खाद्यान्न प्रशोधन उद्योगका उत्पादनजस्ता सामग्रीहरू पनि पर्छन् ।
मूल्य चुकाउने दृढ अठोट हुँदाहुँदैै पनि नाकाबन्दी चर्किँदा हाम्रा अन्तर्राष्ट्रिय वित्तीय प्रतिबद्धताहरू पूरा गर्न हम्मेहम्मे पर्छ । हामीले जतिसक्दो भुक्तानीका लागि गरिरहेका प्रयासहरूमा असाध्यै बलिदान गर्नुपर्ने हुन्छ ।
हवाई र समुद्री मार्ग हुँदैै क्युवाको भ्रमणमा अवरोधहरू तेस्र्याउन लगालग कठोर उपायहरू अपनाइँदै छ । यसले अर्थतन्त्रको सेवाप्रदायक गैर–सरकारी क्षेत्रको उल्लेख्य हिस्सामा निर्मम चोट पुगेको छ ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *