भर्खरै :

जी ७ को शिखर सम्मेलन र आजको विश्वमा जी ७

यो साता जी ७ को शिखर सम्मेलन हुँदै छ । त्यसको निम्ति धेरै मीठा मीठा शब्द खर्च गरिनेछन् । धेरै वाचाहरू गरिनेछन् । अनि काम भने निकै थोरैमात्र हुनेछ । धेरै अघिदेखि यस्तै हुँदै आएको छ । जी ७ को कुनै काम छैन । संरा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटाली, क्यानाडा र जापानसम्मिलित जी ७ सन् १९७० को दशकमा संसारको अर्थतन्त्रको मालिक थियो । तर, आज जी ७ आफ्नै विगतको मधुरो छायाबाहेक केही होइन । आज उसको भूमिका विश्व अर्थतन्त्रमा ओरालो लाग्दो हिस्साको भूमिका सीमित भएको छ । आज पनि उसले ठुलठुला कुरा गर्न भने छोडेको छैन । तर, संसारलाई पनि उसको वास्तविक हैसियत थाहा भइसकेको छ । यो साताको शिखर सम्मेलनको अध्यक्षता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गर्दै छन् । ठिक्कै भयो । उनी आफै पनि अतिरञ्जनापूर्ण अभिव्यक्ति र हावादारी कुराका लागि माहिर छन् ।
विकासशील विश्वको उदयसँगै जी ७ को भूमिका र महत्व निकै ओरालो लागिसकेको छ । विश्वको अर्थतन्त्रको झन्डै दुईतिहाइ भाग अहिले विकासशील विश्वले ओगटिसकेको छ भने पश्चिमा अर्थतन्त्रको हिस्सेदारी एकतिहाइमा सीमित छ । सन् १९७० को दशकमा यो अनुपात ठीक उल्टो थियो । पश्चिमा अर्थतन्त्रले दुईतिहाइ भाग ओगटेको थियो भने विकासशील विश्वले एकतिहाइ भाग । जी ७ को मधुरो बन्दै गएको आभाको सबभन्दा नाटकीय प्रदर्शन सन् २००८ मा भयो । त्यत्तिबेला वित्तीय सङ्कट उचाइमा पुगेको थियो । जी ७ को स्थान जी २० देशहरूले ओगटे ।
त्यसयता जी ७ आफ्नो भूमिका खोज्दै गरेको एउटा सङ्गठन हुँदै गएको छ । बाइडेन सरकारले जी ७ लाई पुनःगठन गर्ने प्रयास गर्दै छ । उसले एकतन्त्रविरूद्धको सङ्घर्षमा प्रजातन्त्रका पक्षधर प्रतिनिधि र मुखियाहरूको सङ्गठनको रूपमा जी ७ लाई अघि लान खोजिरहेको छ । उनीहरूको औँला चीनतिर नै तेर्सिएको छ । तर, बाइडेनको यस्तो प्रयासले पनि विश्व सङ्गठनको रूपमा जी ७ माथि ग्रहण लागेको निश्चय गरेको छ । अहिले आएर यो साताको सम्मेलनमा दक्षिण कोरिया, भारत, अस्टे«लिया र दक्षिण अफ्रिकामा आमन्त्रण गरिएको छ । जी ७ लाई अब डी १० अर्थात् डेमोक्रेटिक १० बनाउने पनि चर्चा छ । तर, यसले जी ७ को ओरालो लाग्दो प्रभावलाई अझ तल झार्ने काम गर्नेछ, विश्व नेता सङ्गठनदेखि अब वैचारिक गुटसम्म ।
सत्य के हो भने यो प्रस्तावले पनि जी ७ सदस्य वा अस्टे«लियाबाहेक सम्भावित नयाँ सदस्यबीच एकमत बनाउन सक्नेछैन । जी ७ देशहरूबीच सङ्कटको मूल जड के हो ? त्यो अरू केही भएर चीनको उदय हो । चीनको उदयले संसारको अर्थतन्त्रमा रूपान्तरण ल्याएको छ । जी ७ लाई छेउमा पु¥याएको छ र साथै जी ७ अर्थतन्त्रमै पनि हेरफेर ल्याएको छ । जर्मनी, फ्रान्स र इटालीको आर्थिक विकासको निम्ति चीनसँगको सम्बन्ध आवश्यक छ । त्यसकारण, उनीहरू जी ७ को बैठकलाई चीनविरोधी मोर्चा बनाउन चाहँदैनन् । जापानको मनसाय पनि त्यही छ । नयाँ सदस्यहरू बन्न लागेका दक्षिण कोरिया र दक्षिण अफ्रिका पनि त्यसरी नै सोच्छन् । जी ७ कै सदस्य र अरू सम्भावित सदस्यहरूबीचको मुख्य लक्ष्मणरेखा त्यही हो । पश्चिम आज विभाजित र विखण्डित छ । संरा अमेरिकाको प्राधिकार ओरालो लागेको छ । उसले हिजो हासिल गरेको स्थान फेरि पाउन उसलाई हम्मेहम्मे पर्नेछ ।
जी ७ को बढ्दो दुर्बलताको उजागर विकासशील विश्वसँगको सम्बन्धमा भएको छ । बितेका आठ वर्षमा पश्चिमा देशहरूले चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड महाभियान (बीआरआई) लाई कसरी लिने भन्ने विषयमा भगीरथ प्रयास गरिरहेका छन् । यो साताको जी ७ शिखर सम्मेलनमा पनि यो विषय उठाइनेछ । बीआरआईको विकल्पको रूपमा प्रस्तुत गर्ने कुनै पनि पश्चिमा विचार निरर्थक भएका छन् । यो असफलता विशेषरूपमा उल्लेखनीय छ । यो असफलताले एकातिर पश्चिमको वास्तविकता उजागर गरेको छ भने अर्कोतिर चीनको अवस्था पनि ।
बीआरआई विकासशील विश्वसँग चीनको सम्बन्धको सुन्दर अभिव्यक्ति हो । चीनले बीआरआई महाभियानलाई आफ्नै अर्ध सामन्ती इतिहासको जरामा गाड्नुका साथै आफै विकासशील देश हुनुको वास्तविकतासँग पनि जोडेको छ । तर, पश्चिमा देशहरू यसमा असफल छन् किनभने उनीहरूको इतिहास चीनको भन्दा ठीक विपरीत छ । विकासशील देशहरूको उपनिवेशीकरण, शोषण र लुटपाट नै देशहरूको इतिहास हो । पश्चिमा देशहरूसँग न विकासशील देश हुनुको अनुभव छ, न उनीहरूप्रति कुनै सद्भाव वा उत्प्रेरणा नै छ । धनी पश्चिमा संसार र विकासशील देशहरूबीचको फराकिलो विभाजनको बहुआयाम छ ।
विकासशील विश्वका खास आवश्यकताप्रति पश्चिमा देशहरूको उदासिनताको एउटा नाटकीय मञ्चन जी ७ को शिखर सम्मेलनमा पूर्ण प्रदर्शन हुने गर्छ । संरा अमेरिका र बेलायत र अझ समग्रमा भन्दा पश्चिम युरोपले कोभिड–१९ विरूद्ध आफ्ना बहुमत जनतालाई खोप दिइसकेको छ । तर, बेलायतले आजसम्म विकासशील देशहरूलाई एउटा पनि खोप सहायता गरेको छैन । उसले खोप जति आफ्नै लागि साँचेको छ । उसलाई भविष्यमा चाहिने परिमाणको खोपभन्दा बढी भइसक्दा पनि उसले खोप अरूलाई दिएको छैन, आफैसँग मात्र राखेको छ । संसारमा नयाँ नयाँ प्रजातिका भाइरसहरू फैलिरहेको बेला जबसम्म सबै देश सुरक्षित हुनेछैन, तबसम्म कुनै पनि देश सुरक्षित हुनेछैन भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ ।
महामारीमा कुनै पनि देश टापु हुनसक्दैन । एक मात्रा खोप पनि निर्यात गर्न असफल बेलायतले यो वर्षको अन्त्यसम्ममा ८ करोड खोप निर्यात गर्ने वाचा ग¥यो । यो तथ्याङ्कलाई चीनसँग दाजौँ त । चीनले ७७ करोड ७० लाख जनतालाई खोप लगाइसकेको छ । उसले विकासशील देशहरूमा ३० करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ । ल्याटिन अमेरिकामा लगाइएको आधाभन्दा बढी खोप त चीनबाट लगिएको छ । यसबाट प्रस्टतः धेरै ढिला हुनुअघि र लाखौँ लाख मानिसले जीवन गुमाउनुअघि पश्चिमा विश्व विकासशील विश्वलाई खोप लगाउने नैतिक जिम्मेवारीमा असफल हुने देखिन्छ ।
लेखक क्याम्ब्रिज विश्वविद्यालयको राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययन विभागका वरिष्ठ प्राध्यापक र चीनको सिङ्ग्वा विश्वविद्यालयको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध विभाग तथा फुदान विश्वविद्यालयको चिनियाँ प्रतिष्ठानका वरिष्ठ आमन्त्रित प्राध्यापक हुनुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *