भर्खरै :

माओ तुनको ‘वसन्तकालीन रेशमकीरा’

अघिल्लो पुस्ताका नेपाली साहित्यकारहरूबीच माओ तुन अपरिचित नाम होइन । चिनियाँ साहित्य कला महासङ्घको उपसभापतिको रूपमा उनले नेपालको भ्रमण गरेका थिए । उनको नेपाल भ्रमणबारे लेखक गोविन्द भट्टले लेखेको निबन्ध नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘गोविन्द भट्टका निबन्ध’ कृतिमा सङ्ग्रहित छ ।
नाम उच्चारणको कठिनाइ र भाषिक दुरुहताको कारण पनि हुनसक्छ, नेपालमा चिनियाँ लेखक–साहित्यकारहरूको उत्ति चर्चा हुने गरेको पाइँदैन । विशेषतः प्रगतिशील लेखक–साहित्यकारहरूको चासो र अध्ययनको कारण चिनियाँलेखक लु सुनका साहित्य र व्यक्तित्वबारे केही चर्चा हुने गरेका छन् । उनका केही कृतिको पनि नेपाली भाषामा अनुवाद भएको पाउँछौँ । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापनाका प्रारम्भिक वर्षमा चीनका साहित्यिक कृतिको नेपाली भाषामा अनुवाद र नेपालका केही साहित्य कृतिको चिनियाँ भाषामा अनुवाद र प्रकाशन भएको पाउँछौँ । त्यही परियोजनाअन्तर्गत चिनियाँ नेता माओ त्सेतुङका कविताहरूको नेपाली भाषामा सत्यमोहन जोशीले अनुवाद गर्नुभयो । अनि, नेपालका राजा महेन्द्रको कवितासङ्ग्रह पनि चिनियाँ भाषामा अनुवाद गरियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले चिनियाँ नाटक चु याँको नेपाली अनुवाद गरी प्रकाशन गरेको पाउँछौँ । प्रज्ञा प्रतिष्ठानले हालै सो कृतिको नयाँ संस्करणका साथै चिनियाँ लोककथाहरूको सङ्ग्रह पनि प्रकाशन गरेको छ । त्यसबाहेक अन्य चिनियाँ लेखक–साहित्यकारहरूका कृति भने कमैमात्र अनुवाद र प्रकाशन भएको पाउँछौँ । चीनको अर्थतन्त्र, राजनीति र इतिहासबारे घण्टौँ बोल्न र लामा–लामा लेख लेख्न सक्ने विद्वानहरू चीनको कला र साहित्यसम्बन्धी जानकारीमा गरिब भएको पाउँछौँ ।
चीनको क्रान्तिलाई सफलतामा पु¥याउन लाखौँ लाख लेखक–कवि–कलाकारहरूले योगदान गरेका थिए । क्रान्तिको मैदानबाटै कैयौँ कवि–कलाकार र लेखकहरूको जन्म भएको थियो । माओ त्सेतुङले चीनको येनानमा लेखक–कवि–कलाकारहरूबीच दिनुभएको विख्यात प्रवचन क्रान्तिमा उनीहरूको योगदानको अभिलेख हो । सो प्रवचनमा माओले क्रान्तिकारी कला–साहित्यको सैद्धान्तिक व्याख्या गर्नुभएको छ ।
माओ तुन चीनको क्रान्तिले जन्माएका साहित्यकार हुन् । उनको खास नाम शेन येन–पिङ हो । माओ तुन उनको साहित्यिक नाम हो । सन् १९१९ मा चीनमा सुरु भएको नयाँ साहित्य आन्दोलनका उनी अग्रणी थिए । त्यही आन्दोलनको आरम्भबाट उनले क्रान्तिकारी यथार्थवादी साहित्यिक सिद्धान्तमा उभिएर साहित्यिक कृतिहरूको रचना सुरु गरे । साङ्घाईलाई आधार बनाएर उनले साहित्यिक गतिविधि गरे । तर, उनी कोठामा बसेर कलम चलाएर क्रान्तिको बखान गर्दै बस्ने लेखक थिएनन् । उनी आफै पनि भूमिगत गतिविधिमा सामेल थिए । तिनताक साङ्घाई बहुराष्ट्रिय केन्द्र थियो । अर्थात्, चीनको प्राकृतिक र मानवीय स्रोत दोहन गरेर मोटाउन चाहने युरोपेली र अमेरिकी पुँजीपतिहरूको लागि साङ्घाई सहर प्रमुख केन्द्र थियो । साङघाई सहर आफै पनि विभिन्न खण्डमा विभाजित थियो जसमध्ये केही खण्डमा त विभिन्न देशले प्रशासन चलाउँथे । त्यत्तिबेला विभिन्न प्रवाहमा हेलिंदै साङ्घाई आइपुगेका विभिन्न देशका नागरिकलाई चीनको क्रान्तिबारे सही जानकारी दिन माओ तुनहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । न्युजिल्यान्डका नागरिक रेवी ऐलीले लेखेको पुस्तक ‘सिक्स अमेरिकन इन चाइना’ र सिड्नी सापिरोको पुस्तक ‘थर्टी एयर्स इन चाइना’ पुस्तकमा विभिन्न विदेशी नागरिकलाई क्रान्तिकारी प्रवाहमा समाहित गर्न माओ तुनहरूले खेलेको भूमिकाबारे चर्चा गरिएको छ । उनी त्यत्तिबेला साङ्घाईबाट प्रकाशन हुने साहित्यिक पत्रिकाका सम्पादक थिए ।
सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि माओ तुन लामो समयसम्म चीनको संस्कृति मन्त्री थिए । उनी चीनको राष्ट्रिय जनकाङ्ग्रेसका सदस्य र चिनियाँ जन राजनीतिक सल्लाहकार सम्मेलनका उपाध्यक्ष थिए ।
माओ तुनले मुख्यतः कथा र उपन्यास विधामा कलम चलाएका छन् । उनका अधिकांश कृति अङ्ग्रेजी भाषामा पनि अनुवाद भएका छन् । आजको यो लेखाइमा भने हामी उनको एउटा कथासङ्ग्रहबारे सङ्क्षिप्त चर्चा गर्नेछौँ । ‘स्प्रिङ सिल्कवम्र्स एन्ड अदर स्टोरिज’ अर्थात् वसन्तकालीन रेशमकीरा र अन्य कथाहरू’ कथासङ्ग्रहमा १३ वटा लामा–छोटा कथाहरू सङ्ग्रहित छन् । सुरुका तीन वटा कथाहरू –‘वसन्तकालीन रेशमकीरा’, ‘शरद्कालीन बाली’ र ‘ग्रीष्मकालीन क्षति’ एउटै परिवार र पृष्ठभूमिमा उनिएका तीन कथाहरू हुन् । यिनलाई ‘त्रिअङ्की कथा’ भन्न सकिन्छ । सन् १९३० को दशकमा चीनका अधिकांश ग्रामीण क्षेत्रहरू भोकमरीबाट पिरोलिएका थिए । अनिकाल र सुख्खाजस्ता समस्याको कारण किसानहरूको कडा मिहिनेतको अन्तिम परिणाम भने भोको पेट हुन्थ्यो । ऋणको चर्को भारीबाट किसानहरू उठ्न सक्ने अवस्था थिएन । यो वर्ष केही होला कि भनी रित्तो आशाका साथ साहुसँग ऋण काढेर बाली लगाउने किसानहरू अनिकाल र सुख्खायामको कारण बाली राम्रो नहुँदा थप ऋणको भारीबाट थला पर्ने अवस्थाको चित्रण यी कथाहरूमा गरिएको छ । माओ तुनले कथामा गरेको चिनियाँ किसानहरूको चित्रण नेपालका किसानहरूको अवस्थासँग धेरै मिल्दोजुल्दो अनुभव पाठकलाई हुन्छ । विशेषतः पञ्चायतकालमा चितवनमा जिल्लामा भोका जनताले गरेका सङ्घर्षको झल्को माओका ती कथाहरूमा पढ्न सक्छौँ । कथाको रोचक पक्ष चिनियाँ किसानहरूले रेशमकीराको खेती र धानबाली लगाउने तरिका पनि सूक्ष्मरूपमा व्याख्या गरिएको छ ।

माओ तुन
कथामा पुरानो विचार र नयाँ विचारबीचको सङ्घर्षको चित्रण जीवन्त छ । नयाँ विचार प्रतिरोधको पक्षमा उभिन्छ भने पुरानो विचारले सहनशीलताको बाटो लिएको हुन्छ । नयाँ पुस्ता आफूमाथिको अत्याचारको विरोधमा विद्रोहको पक्षमा उभिन्छ भने पुरानो विचारले यथास्थितिलाई नै अङ्गालेको देखिन्छ ।
प्रारम्भका तीन कथाबाहेक अन्य कथाहरू सहरी परिवेश अझ विशेषतः साङ्घाईकै पृष्ठभूमिका लेखिएको देखिन्छ । सहरिया मध्यम वर्ग आवरणमा जति शानदार देखिएको हुन्छ, त्यो वर्गको भित्र विचलन र पाखण्डीपनालाई माओ तुनले ‘इपिटोम’ नामको कथामा व्याख्या गरेका छन् । वर्गसङ्घर्षले सघनता लिएको तत्कालीन चीनमा शोषक वर्ग आर्थिकरूपमा मात्र होइन, नैतिकता र सांस्कृतिकको आधारमा पनि क्षीण बन्दै गएको कथामा चित्रण गरिएको छ ।
‘लिन परिवारको पसल’ लामो तर निकै रोचक एवम् सटिक कथा हो । सन् १९३० को दशक साङ्घाई सहरको लागि ज्यादै उल्लेखनीय वर्षको रूपमा आयो । सन् १९३२ तिर जापानले साङ्घाई सहरमा हमला ग¥यो । त्यसअघि चीनका विभिन्न क्षेत्रमा जापानले कब्जा जमाउन थालिसकेको थियो । त्यस अवस्थामा एक जना मध्यमवर्गीय व्यापारको अवस्थाबारे त्यो कथामा मिहिन चित्रण गरिएको छ । विगतमा आर्थिकरूपमा सम्पन्न वर्ग जापानी हमला, जनताको गरिबीको कारण कसरी आफै गरिब बन्दै गयो र आर्थिकरूपमा टाटपल्टिने अवस्था बन्यो भन्ने व्याख्या यो कथामा गरिएको छ । कथाको लिन परिवारलाई माओ त्सेतुङले सन् १९२७ ताका लेखेको ‘चिनियाँ समाजको वर्ग विश्लेषण’ लेखको ढुलमुले निम्न मध्यम वर्ग मान्न सकिन्छ । माओ त्सेतुङले सो लेखमा त्यो वर्ग परिस्थिति कसरी विकास हुन्छ त्यस आधारमा आफ्नो समर्थन निर्धारण गर्न पर्ख र हेरको मनस्थितिमा रहने भनी लेख्नुभएको छ । लिन परिवारको मनोदशा पनि उस्तै हुन्छ । उनीहरू न क्रान्तिकारी परिस्थितिलाई स्वीकार्न तयार देखिएका छन् न त आफ्नो गुम्दै गएको आर्थिक र सामाजिक स्तरलाई जोगाउन नै सकेका छन् । माओ तुन कम्युनिस्ट पार्टीकै वैचारिक निर्देशनमा कलम चलाउने लेखक भएको हुँदा अन्ततः लिन परिवारको अवनति र आर्थिक टाट पल्टिएको अवस्था नै चित्रण गरेका छन् । चिनियाँ जनता क्रमशः सर्वहाराकरणतिर लागेको व्याख्या कथामा गरिएको छ ।
सन् १९३२ मा जापानी साम्राज्यवादले चीनको साङ्घाई सहरमाथि हमला ग¥यो । त्यत्ति साङ्घाईको सबभन्दा ठुलो छापाखानामाथि हमला भएको थियो । सान गिन्सवर्गको पुस्तक ‘माइ फस्र्ट सिक्स्टी एयर्स इन चाइना’मा त्यो हमलाको व्याख्या गरिएको छ । त्यो हमला हुँदा साङ्घाईका दुई जना मजदुरहरूलाई नायक बनाएर लेखिएको कथा हो–वारटाइम । यसमा जापानी हमलाप्रति चिनियाँ जनताको उत्सर्गको कुरा छ । आफ्नो परिवार र बालबच्चालाई समेत त्यागेर मजदुरहरूले कसरी जापानविरुद्ध लड्ने सेनालाई सहायता गरिएको थियो भन्ने कुराको मार्मिक चित्रण कथामा गरिएको छ । विडम्बना ! कथाको अन्त्यमा साङ्घाई जापानीलाई छोड्ने कोमिन्ताङ सेनाको निर्णयले मजदुरहरूलाई क्षुब्ध बनाउँछ । आफ्नो उत्सर्ग र देशभक्तिभावनालाई कोमिन्ताङ सरकारले न्यूनाङ्कन गर्छ । यो कथामा जापानविरोधी सङ्घर्षमा कोमिन्ताङ सरकारको आत्मसमर्पणवादी चिन्तनको उजागर गरिएको छ ।
‘बिग नोज’ अर्थात् ‘ठुलो नाक’ रोचक कथा हो । त्यो कथामा हामी अङ्ग्रेजी साहित्यमा मार्क ट्वेनका कथामा भेट्ने बाल पात्र भेटाउँछौँ । साङ्घाई सहरका मार्क ट्वेनका बाल पात्र हुन्–बिग नोज । यो कथामा तत्कालीन साङ्घाई सहरमा बालबालिकाको अवस्था, बालश्रमिक, बाल श्रमको अवस्थाबारे कथात्मक चित्रण गरिएको छ । सहरमा माग्दै, चोरेर, कसैले फालेको खाँदै, पेट भर्दै हुर्केको ‘ठुलो नाक’ लाई शिक्षाको कुनै माने थाहा छैन । तर, साङ्घाई मौलाउँदै गरेको क्रान्तिकारी परिस्थितिले त्यो वर्गलाई पनि आफूसँग तान्दै लगेको कथामा चित्रण गरिएको छ ।
‘सेकेन्ड जेनेरेसन’ अर्थात् दोस्रो पुस्ता साङ्घाईमा हुर्कंदै गरेको क्रान्तिकारी नयाँ पुस्ताको कथात्मक प्रस्तुति छ । छोटो तर ज्यादै मीठो कथाले क्रान्तिसँगै आशावादी नयाँ पुस्ता हुर्कंदै गरेको देखाएको छ ।
‘एक जना चिनियाँ देशभक्त’, ‘निराशा’, ‘चाओ महोदयको अलमल’, ‘कार्यालयमा पहिलो दिन’ व्यङ्ग्यात्मक शैलीमा लेखिएको रोचक कथाहरू हुन् । ती सबै कथाले चीनको मध्यम वर्गको ढुलमुले, पाखण्डी, दोधारे, आडम्बरी स्वभावबारे उल्लेख छन् । ती कथाका प्रमुख पात्रहरूले त्यस्ता कुनै न कुनै प्रवृत्तिको प्रतिनिधित्व गरेका छन् ।
‘ठुलो घाँसे मैदानी जिल्ला’ ऐतिहासिक पृष्ठभूमिमा लेखिएको विद्रोहको कथा हो । जनताका छोराहरू नै सेनाका सिपाही हुन् । जनताको अवस्थाप्रति बेवास्ता गर्दै सरकारले राज्य विस्तार र जनतामाथिको दमनलाई मात्र ध्यान दिए सेनाभित्र पनि चेतना विस्तार हुने र त्यसले स्वयम् सरकारकै विरोधमा विद्रोह गर्ने ऐतिहासिक कथालाई कथाकारले लेखेका छन् ।
माओ तुनका कथाहरू वास्तवमै जनता र समाजका कथाहरू हुन् । उनका हरेक कथामा जनताले आफ्नो बोली पाएको अनुभव हुन्छ । पाठकलाई आफ्नै वरपरका पात्रहरूसँग भेटेको अनुभव हुन्छ । जनताका जीवन र समस्यालाई मिहिनरूपमा केलाउन सक्ने सामथ्र्य जनतासँगको सामिप्यताबाट मात्र प्राप्त हुनसक्छ । माओ तुनका कथाहरू पढ्दा उनी जनताको सामान्य समस्या र गतिविधिदेखि परिचितमात्र होइन, तिनलाई देश र संसारको समग्र परिवर्तनको विशाल तस्वीरसँग जोड्ने क्षमता राख्ने कथाकार हुन् भन्ने लाग्छ ।
माओ तुनका अन्य पुस्तकहरू हिजोआज बजारमा भेटाउन त गा¥है पर्ला । तर, उनको कथासङ्ग्रह पढेपछि अन्य कृतिहरू खोज्ने हुतहुती भने जागेको छ । कुनै पुस्तकालयको कुनै कुनामा वर्षौंदेखि चुपचाप बसिरहेका हुनसक्छन्– माओ तुनका अक्षरहरू । कथासङ्ग्रहलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर सिड्नी सापिरोले माओ तुनलाई संसारसँग परिचित बनाउन अतुलनीय योगदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *