भर्खरै :

महामारीमा शान्नानबाट भक्तपुरका जनतालाई सहायता

भक्तपुर, ३० जेठ । मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरूको सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त उपकरणहरूमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १०० वटा र आईसीयू बेड ५० वटा रहेको छ ।
तातोपानी नाकामार्फत पठाइएको उक्त सामग्रीहरू च्याह्मासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ । उक्त सहयोग चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय अर्थात् नेपाली रूपैयाँ १ करोड ९ लाख २१ हजार ६८ रहेको छ ।
वि.सं. २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । यस क्रममा दुई सहरबीच पटक–पटक अनुभव र सहयोग आदानप्रदान हुँदै आएको छ । भक्तपुर नगरपालिकाका प्रतिनिधिहरूले एक पटक शान्नान सहरको भ्रमण गरिसकेका छन् भने शान्नान सहरबाट पनि भक्तपुर नगरको भ्रमण भइसकेको छ । भ्रमणको क्रममा दुई नगरपालिकाहरूबीच अनुभवको आदानप्रदान भएको थियो ।
भक्तपुर नगरपालिकाको भगिनी सहर शान्नान सहरबाट वर्तमान विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ रोगको दोस्रो लहरबाट नेपालमा तीव्रगतिमा सङ्क्रमण बढेकोमा चिन्ता व्यक्त गर्दै भक्तपुरमा यस रोगको प्रभावबारे चासो लिई शान्नान नगरपालिकाबाट पत्राचार भएको थियो । सोही क्रममा भक्तपुर नपाले भक्तपुरमा पनि सङ्क्रमण दर तीव्ररूपमा बढिरहेको र सङ्क्रमितहरूको उपचारमा अक्सिजनको अभाव रहेको, भेन्टिलेटर र अक्सिजन सिलिन्डर व्यवस्था गर्न सकिए कोभिड १९ रोग रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्ने जानकारी गराएको थियो ।
एउटा असल मित्रको उदाहरण प्रस्तुत गर्दै भगिनी सहर शान्नानले तत्कालै आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न तत्पर रहेको भक्तपुर नपालाई पत्राचार गरेको थियो ।
चीनको शान्नान सहरबाट भक्तपुर नपालाई प्राप्त उक्त सहयोगबारे प्रतिक्रिया दिँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्कट परेको बेला छिमेकी मित्र देशको तर्फबाट भएको सहयोगको लागि शान्नान नपाका मेयर, विदेश विभागका कर्मचारीहरूमा नगरवासी र नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै दुई नगरबीचको सहयोग आदानप्रदानले आपसमा मित्रता र सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाले हाल ब्रह्मायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड–१९ का बिरामीको लागि ख्वप अस्पतालअन्तर्गत २५ शैय्याको एचडीयूसहित ७५ शैय्याको कोभिड युनिट सञ्चालन गर्दै आइरहेको अवगत गराउँदै उहाँले जनतासँग सहयोग सङ्कलनबाट उठेको रकमबाट ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टको आवश्यक सामग्रीहरू चीनको छेन्दुबाट ल्याइसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अक्सिजन प्लान्टबाट परीक्षणको रूपमा अक्सिजन उत्पादन भइरहेको छ, अबको केही दिनबाटै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुनेछ ।
उहाँले नेपालमा कोभिड नियन्त्रण तथा रोकथामको लागि मित्र राष्ट्र चीनले केही दिन अगाडि नेपाल मजदुर किसान पार्टीको तर्फबाट पठाएको १५ हजार थान मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर ख्वप अस्पताललाई प्राप्त भएको बताउनुभयो । चीन सरकारबाट प्राप्त उक्त स्वास्थ्य उपकरणहरूबाट ख्वप अस्पतालका कोभिड बिरामीका साथै अन्य बिरामीहरूको उपचारमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *