भर्खरै :

चिकपाबाट प्राप्त स्वास्थ्य सामग्री विभिन्न अस्पतालमा वितरण

सुर्खेत, १ असार । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्रीमध्ये मङ्गलबार सुर्खेत जिल्लाको लाटीकोइली स्वास्थ्य चौकीमा ९६० थान (एन – ९५) मास्क, प्रदेश अस्पताल सुर्खेतमा १८४० थान (एन ९५) मास्क, दैलेख जिल्लाको दैलेख जिल्ला अस्पतालमा २,८८० थान (एन ९५) मास्क र १ थान हाइड्रोजन अक्सिजन मेसिन र दुल्लु स्वास्थ्य कार्यालयको निम्ति १,९२० थान (एन ९५) मास्क दैलेख अस्पतालका निमित्त प्रमुख थीरप्रसाद रेग्मीमार्फत हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरणको क्रममा सचिव सुवालले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षको अवसरमा जेठ १२ गते नेपालका ६ वटा राजनीतिक पार्टीका नेताहरू र चिनियाँ कम्युनिस्ट पार्टीबीच अनलाइन बैठक भएको बताउनुभयो । बैठकमा कोभिड १९ विरूद्धको लडाइँमा सहकार्य र सहयोग गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिबद्धताअनुसार जेठ १९ गते विभिन्न राजनीतिक दलहरूलाई स्वास्थ्य सामग्री उपलब्ध भएको उहाँले जानकारी गराउनुभयो । नेपाल मजदुर किसान पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त १ लाख थान मास्क र ८ थान हाइड्रोजन अक्सिजन मेसिन नेपालका विभिन्न सरकारी तथा सामुदायिक अस्पताललाई उपलब्ध गराउने पार्टीको निर्णयअनुसार कोभिड १९ रोगविरूद्ध अग्रपङ्क्तिमा खटिएर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई जनताको सेवामा अझ तदारूकताका साथ लाग्न हौसला पुग्ने विश्वासका साथ हस्तान्तरण भइरहेको बताउनुभयो । हस्तान्तरित स्वास्थ्य सामग्री कोभिड–१९ महामारी नियन्त्रणको लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले इमानदारीपूर्वक बिरामीको सेवामा प्रयोग गर्नुहुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
हस्तान्तरणको क्रममा लाटीकोइली स्वास्थ्य चौकीका मेडिकल अधिकृत कृष्णदेव गुरूङ्गले कोभिड–१९ सङ्क्रमणको सुरूको अवस्थामा स्वास्थ्यकर्मीलाई एन ९५ मास्क किन्नसमेत नपाएको उल्लेख गर्दै सङ्कटको घडीमा सहयोग गरेकोमा नेपाल मजदुर किसान पार्टीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले राजधानीबाट धेरै टाढाका अस्पतालहरूको लागि पनि स्वास्थ्य सामग्री ल्याइदिएकोमा आभार प्रकट गर्नुभयो ।
दैलेख जिल्ला अस्पतालमा सामग्री हस्तान्तरणको क्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, स्वास्थ्य कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मी, डा. जगत थापा, बायोमेडिकल इक्विपमेन्ट टेक्निसियन अर्चना बगालेलगायतले नेमकिपाद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्रीबाट दैलेखी जनताको स्वास्थ्य उपचारमा उल्लेखनीय सहयोग पुग्ने बताउँदै दैलेख अस्पतालको विकासको निम्ति आगामी दिनमा पनि निरन्तर सहयोग पाइरहने अपेक्षा व्यक्त गर्नुभयो ।
सुर्खेतमा सम्पन्न हस्तान्तरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिप्रसाद बोहरा, सचिव धनेन्द्र विक, गोविन्द योगी, बिजुकला राना, जीवनकुमार शाक्यलगायतका पार्टी कार्यकर्ताको उपस्थिति थियो भने दैलेखको हस्तान्तरण कार्यक्रममा पार्टी उपाध्यक्ष बमबहादुर सिंह, सचिव लक्ष्मीकुमार विक, रत्नेश श्रेष्ठ, जगतबहादुर ओली, हृदय दाहाल, खेमराज दाहाललगायत कार्यकर्ताको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *