भर्खरै :

पेरुको राष्ट्रपतिमा पूर्वशिक्षक पेड्रो कास्टिल्लो

गएको आइतबार सम्पन्न दक्षिण अमेरिकी राष्ट्र पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदानमा फ्री पेरु पार्टीका नेता तथा वामपन्थी उम्मेदवार पेड्रो कास्टिल्लो विजयी भएका छन् । पेरुको राष्ट्रिय निर्वाचन बोर्डका अनुसार खसेको सबै मतको गणना सकिसक्दा नेता कास्टिल्लोले ८८ लाख ४८६ मत अर्थात् ५०.१९ प्रतिशत प्राप्त गरेका छन् भने पपुलर फोर्स पार्टीकी दक्षिणपन्थी उम्मेदवार केइको फुजीमोरीले ८७ लाख ३० हजार ७१२ मत अर्थात् ४९.८० प्रतिशत मत प्राप्त गरेकी छिन् । तर, त्यहाँको सर्वोच्च निर्वाचन अदालतले भने निर्वाचनमा अनियमितता भएको उजुरीमाथि छानबिन गर्ने समय लम्ब्याउँदै अन्तिम मत परिणाम र विजयी उम्मेदवार औपचारिक घोषणामा ढिलाइ गरिरहेको छ । पेरु मात्र होइन ल्याटिन अमेरिकाभर नै त्यहाँका आदिवासी, वामपन्थी तथा साम्राज्यवाद र नवउदारवादविरोधी जनताले कास्टिल्लोको विजयमा खुसीयाली मनाइरहेका छन् । कास्टिल्लोका समर्थकहरू पेरुको राजधानी लिमाको मुख्य चोक सान मार्टिन चोक र मत गणना केन्द्रको अगाडि आएर मङ्गलबारदेखि नै मतगणनामाथि निगरानी गरिरहेका थिए ।
पेरुको संविधान र निर्वाचन ऐनअनुसार पहिलो चरणको निर्वाचनमा जनताको प्रत्यक्ष मतदानमार्फत उम्मेदवारमध्ये कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएको अवस्थामा उनैलाई राष्ट्रपति निर्वाचित भएको मानिन्छ । तर, कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेको अवस्थामा भने सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार मात्र राखेर निणर्यकरूपमा दोस्रो चरणको मतदान गर्ने गरिन्छ र बढी मत ल्याएकालाई विजयी घोषित गरिन्छ ।

सान मार्टिनज स्क्वायरमा पेरुभियाली जनता

अप्रिल ११, २०२१ का दिन भएको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनका साथै पेरुको १३० सदस्यीय संसद्का लागि पनि निर्वाचन भएको थियो । निर्वाचनमा विभिन्न पार्टीका र स्वतन्त्र उम्मेदवार गरी १९ जना राष्ट्रपतीय उम्मेदवार रहेका थिए र तीमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । कुल मतदाता सङ्ख्याको ७०.१ प्रतिशत मत खसेको निर्वाचनमा फ्री पेरु पार्टीका कास्टिल्लो १९ प्रतिशत मतका साथ पहिलो स्थानमा रहेका थिए भने पपुलर फोर्स पार्टीकी फुजीमोरी १३.४ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा रहेकी थिइन् । जून ६ का दिन भएको दोस्रो चरणको मतदानमा भने ७४.६ प्रतिशत मत खसेको थियो ।
माध्यमिक विद्यालयका पूर्वशिक्षक एवम् नेता पेड्रो कास्टिल्लोलाई वामपन्थी फ्री पेरु पार्टीले उम्मेदवार बनाएको हो भने केइको फुजीमोरी पेरुका पूर्व तानाशाही राष्ट्रपति अल्वर्टो फुजीमोरीकी छोरी हुन् र तिनलाई फुजीमोरीपन्थी पार्टीहरूको गठबन्धनले उम्मेदवार बनाएको हो । फुजीमोरी २०११ र २०१६ को राष्ट्रपति निर्वाचनमा पनि उम्मेदवार बनेर पराजित भएकी थिइन् ।
निर्वाचनमा कुनै धाँधली छैन
जून ६ का दिन सम्पन्न दोस्रो चरणको निर्वाचनको पनि मत परिणाम आइसकेको छ । परिणामले झिनो मतान्तरकै आधारमा कास्टिल्लो विजयी बनेको स्पष्ट छ । मतान्तर झिनो बनेकै आधारमा र प्राविधिकरूपमा कास्टिल्लोको मत घटाएर आफू विजयी घोषित हुने नियतले फुजीमोरीले ३०० वटा मतदान केन्द्रमा धाँधली र अनियमितता भएको आरोप वा उजुरीसाथ विवाद सिर्जना गरेकी हुन् । वामपन्थी उम्मेदवार कास्टिल्लोले अनियमितताबाट २ लाख बढी मत पाएको आरोप लगाइएको छ ।
निर्वाचनमा अनियमितता र धाँधली गरेको पपुलर फोर्स पार्टीको आरोपलाई फ्री पेरुले मात्र नभई त्यहाँको राष्ट्रिय निर्वाचन बोर्डको कार्यालयले समेत खण्डन गरिसकेको छ । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) को निर्वाचन पर्यवेक्षण टोलीलगायत सबैजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरूले एकाध ठाउँमा स-साना विवाद सिर्जना भएकोबाहेक निर्वाचन शान्तिपूणर् र नियमित ढङ्गले नै सम्पन्न भएको जनाएका छन् । पेरुको संसद्को वर्तमान अध्यक्ष एवम् कार्यकारी राष्ट्रपति फ्रन्सिस्को सागास्तीले निर्वाचनमा कुनै अनियमितता र धाँधलीबारे प्रतिवेदन नआएको बताउँदै स-साना कमजोरीलाई राष्ट्रिय अन्योलको स्थिति उत्पन्न गर्ने बहाना नबनाउन आग्रह गरेका छन् ।
वामपन्थी उम्मेदवार कास्टिल्लोले भने पेरुभियाली जनतासमक्ष प्रजातन्त्रको रक्षा गर्न कुनै पनि बनावटी आरोपका आधारमा निर्वाचन परिणाम हेरफेर गर्ने कदमको विरोध गर्न आह्वान गरेका छन् । आफूहरूले कुनै गल्ती र धाँधली नगरेको स्पष्ट पार्दै संयमित प्रतिरोध कायम राख्न पनि आग्रह गरेका छन् ।
भेनेजुयला, बोलिभिया, अर्जेन्टिना, मेक्सिको, निकारागुवालगायत दक्षिण अमेरिकाका वामपन्थी सरकारहरूको अनौपचारिक सङ्गठन प्युब्ला समूह (एगभदबि न्चयगउ) ले पनि शुक्रबार नै एक विज्ञप्ति जारी गरी निर्वाचनबाट प्रदर्शित जनमतको कदर गर्न पेरुभियाली संस्थानहरू र राजनीतिक दलहरूलाई आग्रह गरेको छ । निर्वाचनमा व्यक्त जनमतको अवहेलना गरिएमा त्यसले राजनीतिक अस्थिरतातर्फ देशलाई धकेल्ने खतरा रहेको पनि औँल्याइएको छ ।
कास्टिल्लोलाई बधाईको ओइरो
निर्वाचन परिणामअनुसार राष्ट्रपतिमा निर्वाचित पेड्रो कास्टिल्लोलाई भने विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र चर्चित नेताहरूबाट बधाईको ओइरो लागिसकेको छ । बोलिभियाका राष्ट्रपति लुइस आर्से, अर्जेन्टिनाका राष्ट्रपति अल्वर्टो फर्नान्डेज, निकारागुवाका राष्ट्रपति ड्यानियल ओर्टेगा, भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो, मेक्सिकोका राष्ट्रपति आन्ड्रेज म्यानुअल लोपेज ओब्राडर र क्युवाका राष्ट्रपति मिग्वेल डियाज कानलले बधाई सन्देश पठाएका छन् ।
त्यस्तै, ब्राजिलका पूर्व राष्ट्रपतिहरू लुला दा सिल्भा र डिल्मा रुसेफ, कोलम्बियाका पूर्व सिनेटर तथा मानवअधिकारवादी नेतृ पाइडाड कोर्डोबालगायत धेरै चर्चित व्यक्तित्वहरूले पनि कास्टिल्लोलाई बधाईज्ञापन गरेका छन् ।
ल्याटिन अमेरिकामा वामपन्थी र प्रगतिशील सरकार आएको देख्नै नचाहने र जसरी भएपनि नवउदारवादी शासकहरूलाई शासनमा ल्याएर आफ्नो स्वार्थ पूरा गर्न उद्यत अमेरिकी सरकार र त्यसका दक्षिण अमेरिकी पिछलग्गू सरकारहरू भने आफ्ना राजदूतहरूको सक्रियतामार्फत विवाद सिर्जना गराउन भित्रभित्रै लागिरहेका छन् ।

केइको फुजीमोरी तानाशाही बाबुकी उत्तराधिकारी
जापान र पेरु दुवै देशको नागरिकता रहेका अल्वर्टो फुजीमोरी सन् १९९० मा निर्वाचन जितेरै पेरुको राष्ट्रपति बनेका थिए । आफ्नो शासनकालमा नवउदारवादी आर्थिक नीति कार्यान्वयन र क्रुर जनदमनका लागि फुजीमोरीले कुख्याती कमाएका थिए । तानाशाही चलाएको, घूस लिई तथा भ्रष्टाचार गरी अकुत सम्पति जोडेको र राष्ट्रिय ढुकुटीबाट डेढ करोड अमेरिकी डलर चोरेको अभियोग लागेपछि अल्वर्टो फुजीमोरी सन् २००० मा भागेर जापान गई त्यहीँबाट राजीनामा गरेका थिए । २००६ मा चिलीको भ्रमणमा जाँदा इन्टरपोलले फौजदारी र मानवताविरोधी अपराधको अभियोगको आधारमा फुजीमोरीलाई पक्राउ गरी पेरुलाई सुपुर्द गरेको थियो । बाबु फुजीमोरी आफ्नो शासनकालमा गरेको अपराधका लागि जेल सजाय काटिरहेका छन् भने छोरी केइको फुजीमोरी र छोरा केन्जी फुजीमोरी पेरुको राजनीतिमा अझै सक्रिय छन् ।

केइको फुजीमोरी

बाबु फुजीमोरीले आफूले राष्ट्रपति पद र देश छोड्नुभन्दा अघि नै आफ्नो उत्तराधिकारीको रूपमा संरा अमेरिकाको स्टोनी बु्रक र कोलम्बिया विश्वविद्यालयमा पढेकी छोरी केइकोलाई आफ्नो गुटको नेतृत्व सुम्पिसकेका थिए । केइकोले २००१ देखि नै फुजीमोरीवादी पार्टीको नेतृत्व गरिरहेकी छिन् । तिनले आफ्नो बाबुमाथि लागेका आरोप, भइरहेको अनुसन्धान र कानुनी सजाय राजनीतिक आरोपमात्र भएको दाबी गर्दै बाबुको समर्थनमा बरोबर र्‍यालीहरू समेत आयोजना गरिरहेकी छिन् । २०११ र २०१६ को आफ्नो निर्वाचन प्रचार अभियानका लागि बहुराष्ट्रिय कम्पनी ओडेब्रेख्तसित चन्दाको नाममा घूस लिएको अभियोगमा तिनीमाथि अनुसन्धान भइरहेको छ । हालैमात्र पेरुको भ्रष्टाचार निरोधक न्यायाधिवक्ता जोसे डोमिङ्गो पेरेजले राष्ट्रपतीय उम्मेदवार फुजीमोरीलाई अनुसन्धानका लागि हिरासतमा राख्न न्यायपालिकासित अनुमति माग गरेका थिए ।
पेरुमा पनि वापमन्थी र नवउदारवादविरोधी आन्दोलन उठेपछि त्यहाँका अतिदक्षिणपन्थी तथा दक्षिणपन्थी राजनीतिक दलहरू भ्रष्ट फुजीमोरीका उत्तराधिकारीलाई नै भए पनि सत्तामा पुर्‍याउन एकजुट भएका छन् ।
सन् २०२० मा गरिएको एक मत सर्वेक्षणमा केइको फुजीमोरो सत्तामा आएमा भ्रष्टाचार र अनियमिततालाई संस्थागत गर्ने बताउँदै ६३ प्रतिशत सहभागीले तिनलाई राष्ट्रपतीय उम्मेदवार बन्नबाट रोक्नुपर्ने बनाएका थिए ।
पेड्रो कास्टिल्लोबाट जनअपेक्षा
लामो समयसम्म पेरुको ग्रामीण पहाडी भेगमा प्राथमिक र माध्यमिक विद्यालयको शिक्षक रहेका, वामपन्थी अराजकतावादको विरोध गर्दै किसानहरूको प्रतिरोध मोर्चाहरूको नेतृत्व गरेका, प्रगतिशील आन्दोलनसित निरन्तर जोडिएका शिक्षक नेता हुँदै वामपन्थी फ्री पेरु पार्टीका संस्थापक नेता बन्न पुगेका समाजसेवी जोस पेड्रो कास्टिल्लोबाट जनताका अपेक्षा धेरै छन् । पेड्रो कास्टिल्लो सन् २०१७ मा भएको देशव्यापी तथा शिक्षामा बजेट कटौतीविरुद्धको लामो शिक्षक आन्दोलनबाट राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्व बनेका थिए । तर, उनी १९९० को दशकमै दुर्गम काजामार्का प्रान्तको ताकाबाम्बामा साइनिङ पाथ वामपन्थी अराजकतावादीहरूविरुद्ध स्वेच्छिक किसान मार्चको नेतृत्व गरेदेखि नै चर्चित थिए । पेरुको सेजार भाल्लेजो विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक र शिक्षा मनोविज्ञानमा स्नातकोत्तर गरेका कास्टिल्लोलाई वामपन्थी विचारधाराका नेताका रूपमा लिइन्छ ।
कास्टिल्लो निर्वाचित भएपछि उनले पेरुमा नवउदारवादी अर्थ नीतिका नाममा देशको सुनखानीलगायत राष्ट्रिय स्रोतहरूमा राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूले गरिरहेको लुटपात अन्त गर्ने अपेक्षा जनताले गरेका छन् । त्यस्तै किसान र मजदुरजस्ता कामदार वर्गका जनताको हितमा राष्ट्रिय नीतिहरू संशोधन हुने, न्यूनतम ज्यालामा उल्लेख्य वृद्धि हुने, बढ्दो आर्थिक असमानता कम गर्ने, सामाजिक सुरक्षाको क्षेत्रमा बजेट वृद्धि हुने अपेक्षा पनि गरिएको बताइन्छ । तर, संसद्मा दक्षिणपन्थी र नवउदारवादी पार्टीहरूको बहुमत पुगेको हुनाले कास्टिल्लोलाई राष्ट्रपति बन्नबाट रोक्न नसकेपनि लोकप्रिय कार्य गर्नमा विपक्षीहरूले अवरोध सिर्जना गरिरहने निष्कर्ष विश्लेषकहरूको छ ।


सन् २०११ को निर्वाचनमा पेरुभियाली सेना पूर्व लेफ्टिनेन्ट कणर्ेल ओलान्ता हुमालालाई पनि वामपन्थी राष्ट्रवादी निर्वाचन कार्यक्रमकै आधारमा निर्वाचित गरिएको थियो । तर, हुमालाले विदेशी दबाब र कर्मचारीतन्त्रको असहयोगसामु आत्मसमर्पण गर्दा उनको पाँच वर्षीय शासनकाल पनि नवउदारवादी आर्थिक नीतिका कारण सिर्जित अनियमितता, भ्रष्टाचार, घूसखोरी र काण्डैकाण्डका साथ अन्त भएको थियो । आफ्नो कार्यकालमा सार्वजनिक निर्माण कार्यको ठेक्का घूस लिएर ओडेब्रेख्त कम्पनीलाई दिएको अभियोगमा जुलाई २०१७ मा हुमाला र उनकी पत्नीलाई भ्रष्टाचार अनुसन्धान निकायले मुद्दापूर्वको हिरासतमा समेत राखेको थियो । कास्टिल्लो शिक्षित र सङ्घर्षशील किसान परिवारबाट आएका र फ्री पेरु पार्टीको बलियो आधार भएको हुनाले त्यहाँका कुलीन शासक वर्ग र दक्षिणपन्थीहरूसामु नझुक्ने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *