भर्खरै :

प्राविधिकहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ : प्रमुख प्रजापति

भक्तपुर, २ असार । भक्तपुर नपाको आयोजनामा नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नगरपालिकाका प्राविधिक कर्मचारीहरूबीच बुधबार बैठक भयो ।
बैठकमा प्रमुख प्रजापतिले सांस्कृतिक केन्द्रको रूपमा रहेको भक्तपुर नपाले यहाँ अवस्थित सम्पदा संरक्षण तथा विकास निर्माण कार्य गुणस्तरीय ढङ्गले मौलिक शैलीमा निर्माण गर्न जोड दिइरहेको बताउनुभयो ।
जनप्रतिनिधि भनेका नीति निर्माता हुन्, कर्मचारीहरू भनेका कार्यान्वयनकर्ता हुन् भन्दै उहाँले भक्तपुर नपाका जनप्रतिनिधिप्रतिको विश्वास र नगरपालिकाप्रतिको अपनत्वका कारण नपाबाट सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा जनताको आर्थिक र भौतिक सहयोग प्राप्त हुनु गौरवको विषय भएको बताउनुभयो ।
कुनै पनि संस्थाको प्राविधिक पक्ष बलियो भए निर्धारित योजनाहरू समयमै सम्पन्न गर्न सकिने बताउँदै नगर प्रमुख प्रजापतिले देशकै सानो नगरपालिका भएर पनि भक्तपुर नगरपालिका देशकै नमुना नगरपालिका बन्न सफल हुनु आफैमा गौरव गर्नलायक छ भन्नुभयो । उहाँले भक्तपुर नपाका कर्मचारीहरू अरुभन्दा सभ्य, सुसंस्कृत र अनुशासित हुनुपर्ने बताउनुभयो ।
देशको सम्पदा निर्माणमा सहयोगी भूमिका खेल्न नगरपालिका सक्षम रहेको बताउँदै उहाँले नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न किसिमका तालिमहरू पनि सञ्चालन गरेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले प्राविधिक कर्मचारीहरू समयसापेक्षरूपमा प्रविधिमैत्री हुनुपर्ने र दक्ष प्राविधिकहरूबाट योजनाहरू सफल कार्यान्वयन हुने बताउनुभयो । भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपामा जनप्रतिनिधि बहाली भएको चार वर्ष पुगिसकेको बताउँदै नपाका आगामी योजनालाई समयमै सम्पन्न गर्न भक्तपुर नपा निर्माण समितिबाट भएका कार्यहरूबारे अवगत गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले कर्मचारीहरू अनुशासित हुनुपर्नेमा जोड दिनुभयो भने उक्त कार्यक्रममा योजना शाखाका कर्मचारी श्रीकृष्ण न्याइच्याइँले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *