भर्खरै :

ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, ४ असार । सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले आज सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, – समान आधार र कारणबाट यसमा समेत नेपाल सरकारको आव २०७८/०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको नं १९९ को व्यवस्था प्रस्तुत रिट निवेदन किनारा नलागेसम्म कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नू ।
आदेशमा बाटोको म्यादबाहेक सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नसमेत भनिएको छ । उक्त निवेदनमाथिको सुनुवाइपछि उक्त अन्तरिम आदेश जारी भएको हो । सो विषयमा अधिवक्ताहरू त्रिलोकबहादुर चन्द र उहाँका तर्फबाट अधिवक्ताहरू कीर्तिनाथ शर्मा पौडेल तथा विकास भट्टराईले बहस गर्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर, रामबहादुर शाही, डा पुण्यप्रसाद खतिवडा, हरिराम लवजु, अतिस कार्की र विक्रम नगरकोटीले ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गिटी, बालुवा र ढुङ्गा निकासी गर्ने कार्यक्रम ल्याएको थियो । अध्यादेशमार्फत् ल्याइएको बजेटमा यस्तो व्यवस्था गर्दा चुरेलगायत तराई क्षेत्र विनाश हुने भन्दै आलोचना हुँदै आएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *