भर्खरै :

मेलम्चीमा राहतको भद्रगोल, सरकार भने अझै मौन

काठमाडौँ, ४ असार । इन्द्रावती नदीमा आएको बाढीको कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा ठुलो धनजनको क्षति भएपछि बाढी पीडित जनतालाई राहत दिन जानेहरूको ओइरो लागेको छ । राहत वितरणको विषयमा राजनीतिक सङ्गठनहरूबीच विवादले झगडाको रूपसमेत लिएको समाचार स्रोतहरूले बताएका छन् । बाढीको कारण घर खेत र अझ कतिपयले आफन्तसमेत गुमाएका सर्वसाधारण बसेको विद्यालयमा राहत वितरणको विषयमा दुई राजनीतिक सङ्गठनबीच भएको हातपातको घटनाप्रति जति खेद पोख्दा पनि पुग्दैन । त्यसले पीडित जनताको घाउमा मल्हम होइन, अझ पीडा थपेको छ ।
राज्यले पीडित जनतालाई तत्काल राहतको व्यवस्था गर्न नसक्दा अनेक थरी सङ्घ–संस्था र कथित अभियन्ताहरूले सल्बलाउने मौका पाएका छन् । फरक फरक स्वार्थ बोकेका ती सङ्गठनहरूले राहत वितरणको नाममा आफ्नो स्वार्थसिद्ध गर्न खोज्छन् । केही बोरा चामल वितरण गरेर सबै बाढी पीडितलाई आफूले नै पालेको जस्तो प्रचार गरिरहेका हुन्छन् । त्यस्ता प्रचारबाजीले एकातिर पीडामा परेका जनताको अवस्थाको दुरूपयोग र मनोभावनाको अपमान भइरहेको हुन्छ । सत्तारूढ दलसम्बद्ध एउटा सङ्गठन पनि व्यानर बोकेर गई राहत वितरण गर्न खोज्नु राज्यको गैरजिम्मेवार चरित्रलाई छोप्न खोज्नु हो ।
नागरिक समस्यामा पर्दा सबभन्दा बढी जिम्मेवारपूर्वक राज्य प्रस्तुत हुनुपर्छ । मेलम्चीका जनतालाई आवश्यक सबै बन्दोबस्तको जिम्मेवारी राज्यको हो । राज्यले उनीहरूलाई खान–बस्न, स्वास्थ्य सुरक्षादेखि शिक्षा र पुनःबाससम्मको व्यवस्था गर्नुपर्छ । नागरिकको आँसु पुछ्ने र भविष्यप्रति आशा देखाउने दायित्व राज्यको हो । तर, राज्यका पदाधिकारीहरूको भूमिका हेलिकप्टरबाट घटनास्थलको निरीक्षण र केही मानिससँगको भेटघाटबाट झाराटार्ने काममा सीमित देखिएको छ । मेलम्ची घटना भएको तीन दिन बित्दै छ । तर, केन्द्रीय सरकारले अझ पनि कुनै उल्लेखनीय राहतको घोषणा गरेको छैन । दलभित्रको झगडाबारे घण्टौँ लामो भाषण गर्नसक्ने प्रधानमन्त्रीले मेलम्ची, मनाङलगायत स्थानका जनताले भोग्नुपरेको कहरमा एक शब्द पनि बोलेका छैनन् । उल्टो आफ्नो दलसम्बद्ध सङ्गठनलाई केही बोरा चामल बोकाएर व्यानरसहित नाटक मञ्चन गर्न पठाउनु सरकारको अनैतिकताको हद हो ।
सरकारले तत्कालै राहत वितरणमा एकद्वार नीति लागु गरिनुपर्छ । सङ्घ–संस्थाको व्यानर झुन्ड्याएर राहत वितरण गर्ने अशोभनीय काम बन्द गरिनुपर्छ । मेलम्चीका जनताबीच राजनीतिक दलको सदस्यताको आधारमा पक्षपात गर्ने कृत्य हुनुुुुहुन्न । शुक्रबार इन्द्रावती नदीमा पानीको सतह अझै बढेको समाचार प्राप्त भएको छ । त्यसको अर्थ मेलम्ची र वरपरका बस्तीका जनताले तत्कालै यो विपत्तिबाट त्राण पाइहाल्ने अवस्था छैन । मेलम्ची पुनःस्थापनाको प्रक्रियाले लामो समय लिने देखिएको छ । त्यसकारण राज्यले टुक्रे कार्यक्रम होइन, बृहत् योजनासहित अघि बढ्न जरूरी छ । राहत वितरणदेखि पुनःस्थापना र पुनःनिर्माणसम्मको जिम्मेवारी र नेतृत्व राज्य आफैले लिन जरूरी छ । फेरि पनि वर्षायाममा घाँस उम्रेजस्तै जसलाई जे मन लाग्यो, त्यही गर्न दिने हो भने एउटा विपत्ति त टर्ला, तर अर्को विपत्ति अर्को कुइँनेटा कुनै पनि बाहिर आउन तयारी रहन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *