भर्खरै :

सक्वको म राजदास–८९ / फर्कें म सोभियत सङ्घबाट डिग्री र आफ्नो परिवार बोकी

सन् १९७१ देखि भालेन्टिना र म सोभियत उक्राइनाको दोस्रो ठुलो सहर खार्कोभस्थित ‘भ्लादिमिर इलिच लेनिन खार्कोभ पोलिटेक्निकल इन्स्टिच्युट’ मा अध्ययनरत रह्यौँ । इन्स्टिच्युट एउटै रहे पनि हामी दुवै केमिकल इन्जिनियरिङ पढ्दै गरे पनि उनको विषय ग्लास टेक्नोलोजी र मेरो विषय सिमेन्ट टेक्नोलोजी भएको हुनाले हाम्रो कक्षा फरक फरक हुन्थ्योे । त्यही साल १९७१ मा हामीले खार्कोभ सहरमा विवाह दर्ता गरायौँ । विवाहको प्रमाणपत्र पनि सजिलै पायौँ । बिहे गर्नु धेरै सजिलो थियो सोभियत सङ्घमा । म विदेशी नागरिक भएको हुँदा केही कागजपत्रहरू तयार गर्नुपर्ने भयो  ।
मुख्य कुरो सोभियत सङ्घमा कानुनतः बहुविवाह बर्जित थियो । त्यसकारण विवाह दर्ताको लागि निवेदन दिँदा म नेपालमा विवाहित होइन/छैन भनी नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट प्रमाणित पत्र पेश गर्नुपर्ने भयो, जुन रूसी भाषामा सरकारी अड्डाबाट अनुवादित हुनुपर्ने थियो । मेरो नेपालमा विवाह भएको थिएन, मेरो छोरोले सोभियत सङ्घमा कुनै सोभियत महिलासँग विवाह गर्न चाहेमा मेरो मञ्जुरी छ भन्ने आशयको पत्र लेखी परराष्ट्र मन्त्रालयमार्फत पठाइदिनुहुन मैले आफ्नो बुबासँग अनुनय गरी पठाएँ । विनाहिच्किचाहत मेरो अनुरोधलाई स्वीकार गर्दै त्यस्तो पत्र मैले नेपाली दूतावासमा प्राप्त गरेँ । सोपत्र खार्कोभको आधिकारिक ‘नाटारिओस’ भन्ने अड्डामा अनुवादको लागि पेश गरेँ । उक्त पत्रसाथ मैले र भालेन्टिनाले विवाह दर्ता गर्ने अफिसमा निवेदन दियौँ । एक हप्तापछि हाम्रो पालो भनेर तिथिमिति दिएपछि हामी सोही दिन आफ्ना एक जना साथी साक्षीसहित चार जना विवाह दर्ता गर्न बिहान १०ः०० बजे कार्यालयमा हाजिर भयौँ । मेरो तर्फबाट मेरा एक जना नेपाली साथी गजेन्द्रबहादुर थापा र भालेन्टिनाको तर्फबाट उनको मिल्ने समकक्षी साथी गलिना पुश्कारोभा हाम्रो साथमा थिए साक्षीको रूपमा । विवाह कार्यक्रम धेरै छोटो थियो, आधा घण्टाजतिको । एकजना सरकारी कर्मचारीले हामी दुवैलाई सपथ खुवाए कि हामी एकआपसमा आजीवनसँगै रहने/बस्नेछौँ, आफ्नो घरवार र परिवार सम्हालेर । मैले श्रीमती भालेन्टिनाको हेरचाह र भरणपोषण गर्नेछु भन्ने प्रतिज्ञाका साथ हामीले विवाह दर्ता खातामा सही ग¥यौँ र हाम्रा दुई जना साक्षी साथीहरूले पनि । यसपछि हामीलाई बधाईका साथ एक एक ग्लास श्याम्पियन पिउन दिएर विवाह प्रमाणपत्र हातमा थम्याइयो । विवाह प्रमाणपत्र बोकेर एक एक गुच्छा फूलहरू लिएर हामी उक्त अफिसबाट सीधै खार्कोभ सहरको एक चोकमा अवस्थित भ्लादिमिर इलिच लेनिनको सिङ्गमर्मरले सजिएको सालिकमाथि गएर लेनिनको प्रतिमामा फूलका गुच्छा अर्पण गरी आफ्नो विवाहित जीवनको आशीर्वाद थाप्न गयौँ ।
तत्कालीन सोभियत सङ्घमा यो प्रचलन नै थियो । प्रत्येक वैवाहिक दम्पत्तिले लेनिनको सालिक र प्रतिमा भएको ठाउँमा फूल चढाई आफ्नो वैवाहिक जीवन सफल होस् भन्ने आशिक थापे र त्यही ठाउँमा आफूसँग गएका ५/१० जना साथीहरूले नवदम्पत्तिलाई बधाई दिँदै श्याम्पियन खोलेर उत्सव मनाए ।

सन् १९७१ मा सोभियत ऊक्राईनाको खार्कोभ सहरमा विवाह दर्ता गर्दाको क्षण
उक्त स्मारक स्थानबाट हामी आफू बस्ने छात्रावासमा फर्कियौँ । हामीलाई कक्षाका समकक्षी साथीहरूले बधाई दिन पार्टी राखेका थिए । कसैले फूलको गुच्छा, कसैले श्याम्पियन खोली हामीलाई शुभकामना र बधाई दिए । उनीहरू सबै मिलेर आवश्यक सबै सामान किनेर ल्याए र छात्रावासको भान्छा कोठामा बेलुकीको लागि विवाह भोज तयार गरे । राति १०–१२ बजेसम्म आफ्नो छात्रावासकै दुई वटा कोठामा नाचगान र खानपिन गरेर हामीले आफ्नो विवाह सम्पन्न ग¥यौँ ।
भोलिको दिन मैले खार्कोभ सहरस्थित १५–२० जना नेपाली साथीहरूले भोज बोलाएँ  । सबै साथीहरूले हामीलाई विभिन्न मूल्यवान उपहारसहित शुभकामना र बधाई दिए ।
यसरी आफूले खास केही पैसा खर्च नगरिकनै हामीले विवाह ग¥यौँ । साथीहरूलाई डिनर पार्टी बोलाउँदा हामीले केही रकम अवश्य खर्च ग¥यौँ तर बधाई दिन आउने इष्टमित्रहरूले कसैले जिन्सी उपहार दिए भने कसैले नगद उपहार दिए । हामीले पाएको नगद उपहार हामीले आफूले विवाहमा गरेको खर्चभन्दा बढी थियो । हामीले पाएका उपहारहरू भित्ते घडी, चित्रहरू र कलात्मक सामानहरू अहिलेसम्म मेरो कोठामा छन् । यसरी सोभियत सङ्घमा सजिलोसँग विवाह सम्पन्न हुन्छ या एक–दुई दिनमै सबै काम सकिन्छ । विवाहपछि सन् १९७२ मा हाम्रो प्रथम पुत्र अलेक्जेन्डरको जन्म भयो र सन् १९७४ मा दोस्रो छोरा देनिस श्रेष्ठको जन्म भयो ।
दुई छोराहरू स्थानीय अस्पतालमै जन्मिएका थिए । दुवै छोराको जन्म राम्रैसँग भयो । तर, एक पैसा पनि मेरो खर्च भएन । तत्कालीन सोभियत सङ्घमा शिक्षा र स्वास्थ्य सेवा पूर्णरूपले निःशुल्क थियो । यसकारण, दुइटा छोराहरूको जन्म राम्रो अस्पतालमा हुँदा पनि मैले अस्पताल शुल्क, डाक्टरको शुल्क आदि केही तिर्नु परेन । यसरी आफ्नो इन्जिनियरिङ्ग विषय अध्ययन गर्दागर्दै मैले श्रीमती र दुई छोराहरू उपहारस्वरूप प्राप्त गरेँ सोभियत उक्रात्को खार्कोभ सहरमा ।
दुई छोराहरूको स्याहारसुसार गर्दै हुर्किँदै गर्दा हामीलाई हामी पढ्ने इन्स्टिच्युटबाट पनि ठुलो सहयोग मिल्यो । हामीलाई छात्रावासमा एउटा अलग्गै परिवार कोठा (फेमेलि रूम) दिइयो । हाम्रो त्यो सानो निजी घरजस्तो भयो । कहिलेकाहीँ कक्षा जानु पर्दा बच्चाहरू हेर्नुपने केही समस्या भएन । बच्चाहरू हेर्नुपर्ने अवस्था आयो भने कहिले भालेन्टिनाका साथीहरू बसिदिन्थे भने कहिले मेरा नेपाली साथीहरू बसिदिन्थे । एवंरितले हामीले ४–५ वर्ष बितायौँ । मैले डिप्लोमा विथ अनर्स (रेड डिप्लोम) अथवा डिग्री विथ डिीस्टङ्कसन पाएँ । सोभियत सङ्घमा त्यसलाई ‘रेड डिप्लोम’ भनिन्छ । आफ्नो पढाइ सकिएपछि म आफ्नो परिवारसहित सन् १९७६ मा नेपाल फर्केँ र हाम्रो साथ थुप्रै सामानहरू थिए झन्डै एक हजार किलो । आफूलाई घर चलाउन आवश्यक सबै सामानहरू जस्तैः रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर, थुप्रै नाडी घडीहरू, रेडियो, ट्रान्जिस्टर, फिलस्कोप, जूस मेकर, रेकर्ड प्लेयर, थुप्रै पुस्तक र बच्चाका खेलौनाहरू थिए । यी सबै सामान बोकेर हामी केही दिन काठमाडौँमा बस्यौँ । तर, हामीले काठमाडौँमा तुरून्त केही काम नपाएकोले हामी जन्मस्थल साँखु, (सक्व देश) बस्न आयौँ । झन्डै एक वर्षजति हामी साँखुमा बस्यौँ । दुइटा बच्चाहरू घरमा आमा–बुबाकहाँ छोडेर हामी दुई जना काठमाडौँको ठाउँ–ठाउँमा अफिस अफिस दौडथ्यौँ – काम खोज्न या जागिर खान ।
झन्डै ६ महिना धाउँदा धाउँदै मैले लैनचौरस्थित खानी तथा भूभर्ग विभागमा काम पाएँ एक अनुसन्धान अधिकृतको रूपमा । काठमाडौँमा जागिर पाएपछि हामी साँखुबाट आएर काठमाडौँमा डेरा गरी बस्न थाल्यौँ । डेराको बहाल महिनाको ४०० रूपैयाँ र बिजुली–पानी गर्दा थप २–३ सय तिर्नुपथ्र्यो । मेरो तलब जम्मा ७५० रूपैयाँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *