भर्खरै :

प्रजग कोरियाबारे अर्को झूट

प्रजातान्त्रिक जनगणतन्त्र (प्रजग) कोरियाबारे पश्चिमा सञ्चारमाध्यमको पूर्वाग्रही र झूटा प्रचारबाजी नयाँ कुरा होइन । प्रजग कोरियाको राजनीतिक व्यवस्था, नेतृत्व, कूटनीतिक सम्बन्ध, सामाजिक जीवन, मानवअधिकार आदि धेरै विषयमा पश्चिमा सञ्चारमाध्यमले अनेकन झूटको खेती गर्दै आएका छन् । एउटा सार्वभौम देश, त्यहाँको राजनीतिक व्यवस्था र नेतृत्वलाई बदनाम गर्नुलाई ती सञ्चार कारखानाहरू प्रेस स्वतन्त्रतासँग जोड्ने गर्छन् । अनि पश्चिमा सञ्चारमाध्यमलाई नै सत्य उत्पादन गर्ने यन्त्र ठान्ने संसारका अन्य देशका सञ्चारमाध्यमले पनि उनीहरूकै कुरा रटान लगाउने गरेका छन् । सञ्चारक्षेत्रमा पश्चिमाहरूको प्रभाव र बाहुल्यताको कारण संसारले उनीहरूले भनेकै कुरालाई सत्य ठान्ने गल्ती गर्छन् । प्रजग कोरियाविरुद्धका झूटा प्रचार पनि यसरी फैलिंदै गएको हो ।
प्रजग कोरियाले आफ्नो प्रतिरक्षाको निम्ति केही बोल्दा त्यसलाई प्रचारबाजी (प्रोपागान्डा) भन्ने पश्चिमा सञ्चारमाध्यमहरू आफूले प्रजग कोरियाविरुद्ध लेखेका कुरालाई भने सत्य भन्नुपर्ने जिद्दी गर्छन् ।
हिजोआज प्रजग कोरियाको सत्तारुढ कोरियाली मजदुर पार्टीको आर्ठौ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठक चलिरहेको थियो । विस्तारित बैठकको तेस्रो दिनमा बोल्दै प्रजग कोरियाली सरकारका प्रमुख तथा कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनले सन् २०२१ को लागि पार्टीले तय गरेको योजनामा उल्लेखनीय सफलता हासिल नभएको भन्दै वर्षान्तसम्ममा त्यो सफलता हासिल गर्न थप मिहिनेत गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । गत जनवरी महिनामा आयोजित कोरियाली मजदुर पार्टीको महाधिवेशनबाट पारित पञ्चवर्षीय योजना कार्यान्वयनको यो पहिलो वर्ष हो । योजना कार्यान्वयनको पहिलो वर्षमा नै तोकिएको सफलता हासिल नभएकोमा नेता किमले चिन्ता व्यक्त गर्नुभएको हो । विस्तारित बैठकमा यसबाहेक अन्य धेरै विषयमा पनि छलफल भएका छन् । लक्षित योजना सफल बनाउन चालिनुपर्ने कदमबारे पनि छलफल भएको थियो । तर, प्रजग कोरिया भनेबित्तिकै नकारात्मकताको कालो कपडा बेरेर हेर्ने सञ्चारमाध्यमले यो समाचारलाई हुँदै नभएको झूटो कलेवरमा प्रस्तुत गरे । लक्षित योजनामा प्रगति नभएको भन्ने अभिव्यक्तिलाई पूर्वाग्रही सञ्चारमाध्यमले ‘भोकमरीको सम्भावना’ भनी प्रचार गरे ।
कुनै सरकारले बनाएको योजना सोचेजस्तो गतिमा अघि नबढ्नुको अर्थ त्यहाँ भोकमरी नै हुने, मानिसहरू खान नपाएरै मर्ने भन्ने कुरा पूर्वाग्रह नभए के ?
किमले उल्लेखनीय सफलता हासिल नभएको भन्नुभएको योजना कार्यान्वयनमा आएको भर्खर ६ महिना भयो । कार्यान्वयनको लागि अझै ६ महिना बाँकी नै छ । ६ महिनामा उल्लेखनीय सफलता हासिल गर्ने ध्येयले सरकारी अधिकारीहरूलाई घच्घच्याउन पनि किमले विस्तारित बैठकमा यो कुरा उठाएको हुनसक्छ । तर, जुन रङमा पूर्वाग्रही सञ्चारमाध्यमले यसलाई प्रस्तुत गरे, त्यसले खास कुराभन्दा ज्यादै फरक कुरा सर्वसाधारण जनताबीच सम्प्रेषण भएको छ । यसभित्र एउटा सार्वभौम समाजवादी देशको बदनाम गर्ने बदनियत प्रस्ट छ ।
संसारका सबै देशले पश्चिमा देशहरूले अँगालेकै व्यवस्था अवलम्बन गर्नु अनिवार्य छैन । खासमा त्यो व्यवहारिक पनि होइन । पश्चिमा देशहरूको इतिहास, सामाजिक सम्बन्ध, आर्थिक अवस्थाको आधारमा बनेको राजनीतिक व्यवस्था सूत्रात्मकरूपमा अन्य देशमा लागु गर्नुपर्छ भन्नु नै गलत हो । प्रजग कोरियाको आजको अवस्थालाई बुझ्न त्यसको इतिहासको सही बुझाइ हुन जरुरी छ । तर, प्रजग कोरिया र उसको इतिहासलाई पश्चिमा सूत्रमा मात्र बुझ्न खोज्नु ठीक होइन ।
प्रजग कोरियाविरुद्धका यस्ता प्रचारबाजीको मूल ध्येय समाजवादी व्यवस्था र कम्युनिस्ट विचारधाराको बदनामी गर्न खोज्नु हो । यस्ता झूटलाई चिर्न संसारका कामदार वर्ग पक्षधर र समाजवादी विचारधाराका प्रवक्ता सञ्चारमाध्यमहरूले लगातार आफ्नो जिम्मेवारी पूरा गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *