भर्खरै :

क्षति भोगिसकेपछि मात्र कति पछुताउने ?

  • असार ५, २०७८
  • आरोही श्रेष्ठ, काठमाडौं
  • विचार

हाम्रो देश जति प्राकृतिक सुन्दरताले भरिएको भूमि हो त्यति नै सम्भावित प्राकृतिक विपत्तिको क्षेत्र पनि हो । प्रकृतिले बेला बेलामा प्राकृतिक विपत्तिका रूपमा आफ्नो रौद्र रूप देखाइरहन्छ । तर, हाम्रो देशमा प्राकृतिक विपत्तिका घटना बढ्नुमा प्राकृतिक कारणभन्दा मानवीय कारण बढी जिम्मेवार रहेको छ । जथाभावी वनजङ्गल विनाश, नदी वा खोलाको प्राकृतिक मार्ग रोकिने गरी संरचना र वस्ती विकास, सडक, खेलकुद मैदान निर्माणका नाममा पहाड र डाँडाहरूको जथाभावी कटान आदि नै बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण हुन् भन्दा अन्यथा नहोला । हाम्रा बाबुबाजेको अनुभवमा पहाडमा वनजङ्गल रहेको अवस्थामा फेदिका गाउँवस्तीहरूमा ठुलो बाढी कहिल्यै आएन । जबदेखि पहाडका वनजङ्गल सखाप पार्दै लगियो उपत्यका र नदी किनाराका वस्तीमा विनाशकारी बाढी नियमित आकस्मिकता बनेको छ ।
केही दिनअघि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारलगायत वरपरका गाउँवस्ती पहिरोसहितको बाढीले पुरियो । तस्विर र भिजुअलसहित उक्त घटनाबारे समाचार बनाउने, घटना वर्णन र अन्तरवार्ताहरू युटयुबमा प्रचार गर्ने होड नै चलेको छ । तर, कसैले पनि उक्त विपत्ति आउनुको कारण र त्यसका दोषीहरूबारे सोधखोज गरेको पाएको छुइनँ । मेलम्चीबजारभन्दा माथि कुन कुन गाउँमा पहिरो सुरु भएको, पहिरोको कारण के हो ? त्यसमा दोषी को को हुन् वास्तविकता जनसमक्ष ल्याइनुपर्छ । प्राकृतिक विपत्तिको जोखिम बढ्ने गरी प्रकृतिका संरचना भत्काउने, मनपरी चलाउने र पानी पासको राम्रो बन्दोबस्त नगरी निर्माण कार्य अधुरै छोड्नु वास्तवमा एक प्रकारको अपराध नै हो । यस्तो अपराध सरकार, स्थानीय तह, ढुङ्गा बालुवाका ठेकेदार र व्यापारी तथा सर्वराधारणले पनि जानी नजानिकन गरिरहेका छन् । यस्ता जोखिम बढाउने लापरवाही रोक्नु नै भविष्यमा हुनसक्ने धनजनको क्षति रोक्ने अचुक उपाय हुनसक्छ । वातावरण संरक्षणका कुरा पनि बा¥है वर्ष निरन्तर छलफल र अभियानको विषय बनाइनुपर्छ । विपत्तिमा परी क्षति भोगिसकेपछि मात्र कति पछुताउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *