भर्खरै :

मेलम्ची कहर : समस्या प्रकृति वा मानिसमा ?

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीमा आएको अनपेक्षित बाढीको कारण मेलम्ची बजारमा पुगेको धनजनको क्षतिले सिङ्गो देशलाई जति दुःखी बनाएको छ, त्यत्ति नै सजग पनि बनाएको छ । इन्द्रावतीमा किन अचानक यसरी ठुलो बाढी आयो भन्ने कारणको खोजी अझै भइरहेको छ । बस्ती बसाल्नुभन्दा अघि हामीले हरेक कोणबाट हेर्नुपर्छ ।
कुनै पनि सहर बसाउन व्यवस्थित अध्ययन आवश्यक हुन्छ । सहर बसाउने थलो प्राकृतिक हिसाबले मानिस बस्न उपयुक्त हो वा होइन, सहर बसाउन उपयुक्त ठाउँ भए त्यहाँ के कसरी घर बनाउन दिँदा मानिसलाई सामाजिक, आर्थिक, स्वास्थ्य आदि कोणबाट हितकर हुन्छ, सहर बस्नुअघि के कस्ता सामाजिक पूर्वाधारको विकास गर्ने हो भन्ने विषयमा वैज्ञानिक अध्ययन गरिनु आवश्यक हुन्छ । त्यसको निम्ति संसारले आजसम्म इन्जिनियरिङ क्षेत्रमा धेरै ठुलो फड्को मारिसकेको छ । सहरीकरणबारे संसारका धेरै विद्वान्, काल्पनिक समाजवादी, दार्शनिकहरूले पनि धेरै थरी विचार र प्रस्ताव अघि सारेका छन् । अर्थात्, सहरीकरण जसलाई जसरी मन प¥यो, त्यसरी गरिने प्रक्रिया होइन । त्यसभित्र धेरै विज्ञानको गठजोड आवश्यक हुन्छ । विडम्बना ¤ नेपालका केहीबाहेक अधिकांश सहरहरू योजनाबद्ध र व्यवस्थितरूपमा बनाइएका होइनन् । योजनाबद्धरूपमा बनाइएका कतिपय सहर पनि समयान्तरमा अव्यवस्थित भइसकेका छन् । फलतः सहर सहर नभएर कङ्क्रिट भवनको भद्रगोल समूह बनेको छ । न त्यहाँ प्राकृतिक, भौगर्भिक र वातावरण अध्ययन भएको छ न सहरको लागि आवश्यक सामाजिक पूर्वाधारको योजनाबद्ध विकास नै भएको छ । राज्यले न यस्ता योजना बनाउनमा चासो राखेको छ, न त बनेका योजनाको कार्यान्वयनमा जोड दिएको छ ।
फलतः मनपरी सहरीकरणको दुष्परिणाम हरेक वर्ष नेपाली जनता पीडा भोग्न बाध्य छन् । २०७२ सालको भूकम्पमा काठमाडौँको बालाजु, गोंगबुँ र खुशिबुँ क्षेत्रमा पुगेको भौतिक क्षतिले यही वास्तविकता उजागर गरिरहेको छ । सरकार अझै पनि स्मार्ट सिटीको बखान गर्न छोड्दैन । स्मार्ट सिटीको नाममा जग्गाको भाउ बढाएर दलाललाई पोस्ने र अव्यवस्थित सहरीकरण गर्नेभन्दा पर सरकारले सोच्न सकेको छैन ।
बाढी आउनु नदीको स्वभाव हो । नदी पानीको बाटो हो, कुनै पनि बेला बाढी आउन सक्छ । त्यसको निम्ति नदीलाई असार कुर्नु पर्दैन । समस्या नदीमा होइन, समस्या राज्यको योजनाविहीनता र नियन्त्रणहीनता हो । मेलम्चीमा इन्द्रावती नदीको बाढीले मच्चाएको वितण्डासँगै उदयपुरको गाईघाट र म्याग्दीको बेनी बजार पनि जोखिममा भएको समाचार आएको छ । तराईका अधिकांश सहर वर्षायाममा बर्सेनि डुब्ने गरेका छन् । राजधानी काठमाडौँ पनि यस्तो नियतिबाट अछुटो छैन । कुनै एउटा सहरमा मात्र भएको अवस्थामा त्यसलाई विपद् वा प्रकोप मान्न सकिएला । तर, यो अधिकांश क्षेत्रमा भइरहेको छ भने हाम्रो योजना निर्माण र सहर विकासमा नै केही कमजोरी भएको बुझ्नुपर्छ । देशैभरिका समस्यालाई अध्ययन गरेर राज्यले नेपालको परिस्थितिअनुसारको निष्कर्ष निकालेर हाम्रो विकास निर्माणका गतिविधिमा उपयोग गर्न किन सक्दैन ? हरेक वर्ष वियोगका समाचार सुन्दा के शासकहरूलाई खुसी लाग्ने हो ? ‘नेपाल पहाडी देश’ भनेर सबैले मुख टाल्ने अवस्थाको अन्त्य हुन आवश्यक छ । आज नेपालसँग हामीले भोगिरहेका समस्याको समाधान निकाल्न सक्ने प्रतिभाशाली दिमाग प्रशस्त छन् । तिनको सदुपयोग गरौँ ।
इन्द्रावतीमा आएको उर्लिंदो बाढी भोलि देशका अन्य कुनै पनि नदीमा आउन सक्छ । त्यत्तिबेला फेरि पनि मेलम्चीजस्ता सहर शोकमा डुब्न सक्छ । त्यस्तो अवस्था दोहोरिन नदिन सरकारले सहर विकासबारे नेपाल अनुुकूलताको अध्ययन गरी सोहीअनुसारको सहर विकासमा जोड दिनुपर्छ । मेलम्चीले भोगेको दुःख अन्य सहरले भोग्न नपरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *