भर्खरै :

तुइनदेखि पुलसम्मको कथा –‘वकिङ टु स्कुल’

‘वावा’ लाई पनि रहर छ दिदी नास्यालाई जस्तै नदीपारिको विद्यालयमा पढ्न जाने । विद्यालयमा गएर नयाँ–नयाँ साथी बनाउने उसको मनमा पनि भरिभराउ चाहना छ । दिदी हरेक दिन विद्यालय जान्छिन् र नयाँ कुरा सिकेर फर्कन्छिन् । दिदीसँगै विद्यालय गएर नयाँ–नयाँ कुरा सिक्ने वावाको पनि सपना छ । तर, उसलाई विद्यालय त के, नदी तर्ने तुइन छेउछाउ जान पनि आमाले बर्जित गरेकी छिन् । नदी किनारमै बनेको घरको छानोमा कुकुरसँग खेल्दै दिन बित्छ उसको । आमा काममा निस्केपछि ओछ्यानमा थला परेकी बज्यैलाई खाजा खुवाउनु अनि कौसीमा बसेर व्यग्रतापूर्वक दिदी फर्किने बाटो कुर्नु, यति हो वावाको काम । दिदी कतिबेला तुइन चढेर घर पुग्छिन् र उसले सिकेका कुरा सिक्न र विद्यालयको हालखबर सुन्न ऊ अधैर्य भएर कुरेर बस्छ ।
वावालाई आफु ठूलो भइसकेको जस्तो लाग्छ । दिदी र गाउँका अरू केटाकेटीजस्तै उसलाई पनि घिर्नीमा डोरीले झुण्डिएर नदी तर्न सक्छु जस्तो लाग्छ । वावाकै उमेरका केटाकेटीहरू सबै विद्यालय जाँदा पनि आमाले वावालाई विद्यालय जान दिएकी छैनन् । तुइन चढ्दा आमा आफै एकपल्ट दुर्घटनामा परेर बल्लबल्ल ‘काल’को मुखबाट जोगिएकी थिइन् । त्यसकारण छोरालाई तुइनबाट नदी पारि विद्यालय पठाउन उनी डर मानेकी हुन्छिन् । वावाको बुबा आएपछि मात्र छोरालाई विद्यालय पठाउने विषयमा निधो गर्ने उनको निर्णयलाई गाउँको पार्टी सचिवले पनि हेरफेर गर्न सक्दैनन् । त्यही भएर वावाले नदी तर्ला भनी आमाले घिर्नी र डोरी पनि उसको छेउ पर्न दिन्नन् । कुनै दिन मौका परे नदी तर्ने विचारले वावाले लुकाएको घिर्नी र डोरी पनि आमाले धुइपाताल खोजेर भेटाउँछिन् र घिर्नी–डोरी लुकाएकोमा वावालाई खुबसँग गाली गर्छिन् । दिदीजस्तै आफू पनि विद्यालय जान पाउनुपर्ने दाबी गर्दा आमा झर्केर भन्छिन्,“अहिले मैले भनेको मान । जे कुरा गर्नुछ, तिम्रो बाबा आएपछि भन्नु ।” सहरमा काम गर्न गएको बुबा कहिले आउलान् भन्ने प्रतिक्षामा वावा उही छानोमा नदी पारिको सपना नियाल्दै बस्छ ।
सन् २००९ मा बनेको चिनियाँ चलचित्र ‘वकिङ टु स्कुल’ अर्थात् ‘विद्यालयमा पैदल’ चीनको युनान प्रान्तको फुकोङ काउन्टीमा घटेको सत्य घटनामा आधारित चलचित्र हो । फुकोङ काउन्टी भएर बग्ने नुच्या नदी तर्ने पुल बनिसकेको थिएन । गाउँलेहरू तुइनमा नदी वारपार गर्थे । तल बग्दै गरेको गहिरो र बेगवान नुच्या नदीमाथि हालिएको खिया परेको तारमा घिर्नी जोडेर डोरीको सहारामा मानिसहरू नदी वारपार गर्थे । नदी पारिको आधारभूत विद्यालयमा पढ्न जाने स–साना नानीहरू पनि डोरीमै झुण्डिएर जान बाध्य थिए । तुइनमा झुण्डिएर विद्यालय आउने जाने कथा हाम्रो देशको राजधानीबाट केही घण्टा पर त्रिशुली नदीमै पनि केही वर्षअघिसम्म देखिन्थ्यो । कतिपय दुर्गम जिल्लाहरूमा अझै पनि यो अवस्थामा परिवर्तन आइसकेको छैन ।
चीनले यसै वर्ष चरम गरिबीबाट आफू मुक्त भएको घोषणा ग¥यो । कुनै समय संसारकै सबभन्दा बढी गरिब मानिस बस्ने देश चीनको लागि गरिबी अब इतिहास बन्यो, एकादेशको कथा बन्यो । सायद यसैलाई क्रान्ति भनियो । तर, चिनियाँ जनताले यो उपलब्धि कम दुःख गरेर प्राप्त गरेनन् । सन् १९४९ को अक्टोबर १ मा चीनमा जनगणतन्त्र स्थापना भयो । जनगणतन्त्र चीन स्थापनाअघिका एक सय वर्षलाई मात्र फर्केर हेर्दा पनि चिनियाँ जनताले भोगेका आँधीबेहरीका वर्षहरूबारे बोध हुन्छ । जनगणतन्त्र स्थापनापछिका दसकहरू पनि चिनियाँ जनताको निम्ति पक्कै सहज थिएन । यद्यपि, जनगणतन्त्र चीनले चिनियाँ जनतालाई भविष्यप्रति आशाको किरण देखायो । पुरानो चीनमा युगौंसम्म नसुल्झिएका गाँठोहरू नयाँ चीनले तत्कालै फुकाउन सम्भव थिएन । गुजुल्टो परेका त्यस्ता गाँठोहरू फुकाउँदै चीन अघि बढ्दै गयो । चीनको निधारमा युगौंदेखि अमिट बनेको गरिबीको दागलाई अन्ततः चीनको नेतृत्वले मेट्न सफल भयो । चीनमा विगत ७० वर्षदेखि शासन गर्दै आएको चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०२१ सम्ममा चीनलाई मध्यम ढङ्गले समृद्ध समाज बनाउने लक्ष्य तोकिएको समयसीमाभित्रै पूरा गर्न सफल भएको छ । यो सफलता हासिल गर्नुअघि गरिबीसँग लडिरहेका चीनका कयौं दुर्गम गाउँका कथा भन्न ‘वकिङ टु स्कुल’ शक्तिशाली चलचित्र हो ।

नास्या पढ्ने विद्यालयमा सहरबाट नयाँ शिक्षिका आउने खबर सुनेर वावाले मन थाम्न सक्दैन । आमा काममा गएको मौका छोपेर एक दिन उसले नदी तर्ने निधो गर्छ । उसलाई आफूले नदी तर्न सक्छु भन्नेमा पूरा विश्वास थियो । आमालाई आफू नदीपारि गएको थाहा नहोस् र छोरा कौसीमै भएको भान परोस् भनेर वावाले कौसीमा एउटा बाँसलाई आफ्नो लुगाले छोपेर नदी तर्ने तुइनतिर जान्छ । आमाले निषेध गर्दागर्दै पनि उसले त्यो जोखिम उठाएको थियो । अन्ततः वावाले तुइनबाट नदी तर्छ र नदीपारिको विद्यालयमा पुग्छ । घरमा बस्दा एउटा कुकुरबाहेक वावाको कोही साथी थिएन । तर, विद्यालयमा आफूजस्ता केटाकेटी खेलिरहेको, पढिरहेको, गीत गाइरहेको देख्दा उसको मन लोभिन्छ । तर, आमाको डरले आफू विद्यालय गएको कुरा कसैलाई थाहा दिनु पनि हुन्थेन ।
लुकीलुकी विद्यालयबाहिर अरू केटाकेटी पढेको, खेलेको र गाएको सुन्ने क्रममा एक दिन उसको भेट एक जना सुशिल युवतीसँग हुन्छ । कक्षा कोठाबाहिर झ्यालमुनिबाट कक्षाभित्र चियाइरहेको सानो केटो देखेर तिनी युवती वावाको नजिक जान्छिन् । उनलाई देखेर वावा भाग्छ । विद्यालयमा आएकी सुशिल युवती दिदी नास्याले भनेकी नयाँ शिक्षिका हुन्छिन् ।
गाउँको विद्यालयमा विद्यार्थी र कक्षाकोठाको अवस्था देखेर सहरबाट स्वयम्सेवक शिक्षिकाको रूपमा आएकी युवतीको मन कुँडिन्छ । चिसो कक्षा कोठामा चप्पल लगाएका विद्यार्थीहरूका खुट्टा ठिहि¥याएर पढ्न सकिरहेका हुँदैनन् । त्यो दृश्यले आहत भएकी शिक्षिकाले सबै विद्यार्थीको निम्ति आफ्ना सहरका साथीहरूबीच चन्दा सङ्कलन गरेर जुत्ता किन्छिन् । सबैलाई घर–घरै गएर अभिभावकसामु जुत्ता लगाइदिन्छिन् ।
त्यही क्रममा एक दिन उनी नास्याको घरमा जान्छिन् । दिदीलाई नयाँ शिक्षिकासँग देखेर वावालाई फस्साद पर्छ किनभने वावा नदी तरेर विद्यालय गएको कुरा उनलाई बाहेक अरू कसैलाई थाहा थिएन । कदाचित शिक्षिकाले त्यो कुरा आमालाई सुनाए उसको विचल्ली हुने थियो । तर, त्यही बेला लुकेर बसेको वावालाई पार्टी सचिवले शिक्षिकाको अघि पु¥याउँछन् । वावालाई नदी तर्न निषेध गरिएको कुरा थाहा नपाएका शिक्षिकाले विद्यालयमा वावालाई भेटेको कुरा सुनाएपछि उसको पोल खुल्छ । वावाले आमाको पिटाइ खान्छ । वावाले शिक्षिकाले दिदीलाई दिएको जुत्ता आफूलाई दिए आफू उपरान्त नदी नतर्ने वाचा गर्छ । नास्याको लागि शिक्षिकाले दिएको उपहार अमूल्य र प्रिय थियो । तर, भाइको मन राख्न ऊ त्यसो गर्न तयार हुन्छे । यद्यपि भोलिपल्ट विद्यालय जाँदा भने वावाले दिदीलाई जुत्ता फर्काउँछ । भाइको समझदार व्यवहारको कुरा विद्यालयमा नास्याले शिक्षिकालाई सुनाउँछे । नास्याको कुरा सुनेर शिक्षिकाले त्यहींको एउटा पसलबाट वावाको लागि जुत्ता किन्छिन् र नास्याको हातमा थमाउँछिन् ।
भाइको लागि पनि नयाँ जुत्ता पाएर दङ्ग परेकी नास्या तुइन चढ्ने क्रममा नदीको बीचमा झोलाबाट भाइको जुत्ता खस्दै गर्दा समाउन खोज्दा नदीमा खस्छे र नास्याको निधन हुन्छ । त्यसै त तुइनको जोखिमको कारण वावालाई विद्यालय पठाउन आमा तयार थिइनन् । नास्यालाई कालको मुखमा पु¥याएको दुर्घटनापछि उनको यो निर्णय अझ जड बन्छ । तर, शिक्षिकाले पनि वावालाई विद्यालयमा भर्ना गरेर मात्र आफू गाउँबाट फर्कने निधो गर्छिन् । उनी वावालाई पढाउन हप्ताको एक दिन उसमै घरमै जान्छिन् । विडम्बना, वावालाई भने अब पढ्ने जाँगर नै हराउँछ । सधैं दिदीकै यादमा चुपचाप बस्छ । उसको कोही साथी पनि थिएन, त्यसकारण उसलाई एक्लै बस्ने बानी पर्छ । उसको त्यस्तो स्वभावमा परिवर्तन गर्न उसलाई विद्यालय पठाउनुको विकल्प थिएन । तर, वावालाई विद्यालय पठाउन एउटै कुराले रोकेको हुन्छ–तुइन । तुइनको सट्टा पुल बने आमा उसलाई विद्यालय पठाउन तयार हुन्छिन् । उनी आफ्नो अर्को एउटा सन्तान पनि नदीले खाएको सहन तयार थिइनन् । चलचित्रमा अन्ततः नदी पारि जान पक्की पुल बन्छ । पुलको उद्घाटनसँगै वावाको विद्यालय जीवन सुरु हुन्छ । पुलमा हिँडेर विद्यालय जाँदा उसलाई दिदी नास्या आफूसँगै भएको महसुस हुन्छ ।
जनजातिहरूको एउटा दुर्गम गाउँको परिवेशलाई निकै जीवन्त तरिकाले प्रस्तुत गरेको चलचित्रका प्रमुख दुई बालकलाकारहरूको अभिनय सशक्त लाग्छ । जनताको सेवा गर्ने हेतुले भन्दा सरकारको काम कहिले जाला घाम पाराले काम गर्ने सरकारी कर्मचारीको व्यवहार पनि एक जना चिकित्सकमार्फत् प्रस्तुत गरिएको छ । वावाको गाउँमा पुल बनेसँगै आजसम्ममा धेरै ठूलो परिवर्तन भइसकेको हुनुपर्छ । गरिबी उन्मूलनको निम्ति चीन सरकारले ल्याएको नीतिले त्यो गाउँको पनि रूप परिवर्तन भइसकेको हुनुपर्छ ।
चलचित्र हेर्दा नेपालकै कुनै गाउँको कथा हेरिरहेको अनुभव हुन्छ । पहाडी गाउँमा छायाङ्कन गरिएको चलचित्रमा नेपाली भाषाको डबिङ हुने हो भने नेपाली चलचित्र नै हेरिरहेको अनुभूति होला । गरिबीले मुक्त बनेको चीनको निम्ति यस्ता चलचित्र अब इतिहास बन्ने छ । तर, इतिहासको चित्र नै भविष्यको बाटो हुन सक्छ । गरिबीविरुद्ध चीनको लडाई अध्ययनको निम्ति यो चलचित्र अन्य देशको निम्ति एउटा सन्दर्भ सामग्री हुन सक्छ ।
पेङ चेनले लेखेको चलचित्रको निर्देशन चाएहुआङ पेङले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *