भर्खरै :

सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम

मध्यपुर, ५ असार । विभिन्न सङ्घ–संस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियानअन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत सङ्कलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुले सहकार्य गरेको छ ।
अभियानअन्तर्गत शनिबार थिमिको बालकुमारी (क्वलाखु) मा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जनाले रगत दान गरेका छन् । “हामीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनगर गरी रगत अभावको समस्यालाई पूर्ति गर्ने उद्देश्यले आकस्मिक रक्तदान कार्यक्रम गरेका छौँ”, कार्यक्रम संयोजक तथा भक्तपुर चेम्बरका सदस्य जगतबहादुर श्रेष्ठले बताउनुभयो । निषेधाज्ञा जारी भएको अवस्थामा रगत सङ्कलन गर्नु सजिलो विषय नभएको उहाँको तर्क थियो । त्यसैले सीमित समयावधिमा रक्तदाताको सङ्ख्या बढाउनको लागि मौखिकरूपमा आग्रह गर्नुपरेको संयोजक श्रेष्ठले जनाए ।
हुन पनि कोभिड सङ्क्रमणको त्रास विद्यमान रहेको अवस्थामा आकस्मिक रगत सङ्कलन गर्नु चुनौतीपूर्ण विषय हो । महामारीको बखत रगत अभाव हुनु स्वभाविक छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन हुँदै गरेको रक्तदान कार्यक्रमलाई सकारात्मक ढङ्गले लिन सकिन्छ ।
यसअघि हिजो कमलविनायक भक्तपुरको लान्चा फल्चाबाट रगत सङ्कलन गरिएको थियो । असार ६ गते आइतबार सूर्यविनायक चोकबाट नगर प्रवेश गर्ने टुरिजम मार्केटमा रक्तदान कार्यक्रम हुँदै छ ।
कोभिडविरूद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ सङ्घ, सीबीआर, भक्तपुर हार्ट एन्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *