भर्खरै :

गणतन्त्रमा पनि सामन्तवादकै राज

काठमाडौं, २० असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणतन्त्रमा पनि सरकारी निकाय सामन्तवादकै राज कायम भएकोतर्फ राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै निर्वाचनमा जातीय, भाषिक र क्षेत्रीय साम्प्रदायिकता बोक्नेलाई निर्वाचित गरिएको कारण ती पार्टीका नेता र मन्त्रीहरू हिजोका सामन्त र जमिनदारजस्तो भएको उल्लेख गर्नुभयो ।
उहाँले ३५–३६ किमि भएको मुग्लिन–नारायणगढ सडक २९ स्थानमा पहिरो र अवरोधको कारण सरकारमा गएका दलहरू, प्रधानमन्त्री र मन्त्रीहरू नै दोषीभएको र यसबारे जनताले ती नेता एवं मन्त्रीहरूलाई ध्यानाकर्षण गर्दासमेत कानमा कपास हालेर बसेकोमा विरोध गर्नुभयो ।
सांसद सुवालले प्रश्न गर्नुभयो–प्रधानमन्त्री र मन्त्रीहरू त फेरिरहे म्युजिकल चेयरजस्तै, योजना आयोग र स्थायी सरकार कर्मचारीतन्त्र किन चूप ?
उहाँले ६ वर्षमा २३ पटक पेट्रोलियम पदार्थ अवरोध, १३ पटक उद्योगी व्यवसायीको हड्ताल, आठ पटक आयल निगमबाटै अवरोध र भारतीय नाकाबन्दीको लागि आजसम्मका सरकारहरू दोषी भएको उल्लेख गर्दै भारतीय बाँधले सप्तरीमा डुबान भइरहेको, एक सयभन्दा बढी सीमामा भारतले नेपालीभूमि अतिक्रमण गरेको, खुला सीमाका ५९९४ सीमास्तम्भमध्ये भारतले ११ सयभन्दा बढी सीमास्तम्भ उखेलेर नेपाललाई सारेको र नेपालीभूमि डुबानमा पर्ने गरी दशगजामै सडक बनाएको रोक्नेतर्फ सरकारहरू तदारुक हुन नसकेको बताउनुभयो ।
सांसद सुवालले ९ खर्ब आयात र ६८ अर्ब निर्यातले देशको अर्थतन्त्र निकै कमजोर देखाएको उल्लेख गर्दै यसबाट जनता चिन्तित भए पनि सरकारमा गएकाहरू चिन्तित नभएको बताउनुभयो ।
मंगलबार सुरु भएको विनियोजन विधेयक २०७४ को सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमाथि भएको छलफलमा भाग लिदै सांसद सुवालले नेपालको सीमा नियमित र सुरक्षित नहुँदा भारतले नेपाली भूमि अतिक्रमण गरेको र अपराधीहरू एक अर्को देशमा लुक्ने गरेको बताउनुभयो ।
सांसद सुवालले नेपाल–भारत सीमा खुला भएसम्म दुवै देशको सुरक्षाको चुनौती तेर्सिने उल्लेख गर्दै युवा दुव्र्यसनी १,४१,८३४ पुगेको तथ्याड्ढतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो र युवाले बाटो बिराए देश र जनताले दुःख पाउने बताउनुभयो ।
उहाँले स्पष्ट गर्नुभयो–‘सङ्घीयता साध्य होइन साधनमात्र हो, सङ्घीयता नभएका देशहरू पनि विकासमा अगाडि बढेका धेरै उदाहरण छन् ।’
सांसद सुवालले सरकारमा गएका दलहरू र तिनका प्रतिनिधिहरूले आफ्नो प्रतिबद्धता पूरा गरेर देखाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारमा गएका नेताहरू र प्रधानमन्त्रीहरू सरकारी निवासमा बस्नु अगाडि कालो–बोका काट्नेजस्ता अन्धविश्वासमा लागेको हुँदा बोक्सी, छाउपडी, धामी झाक्रीजस्ता अन्धविश्वास बढ्दै आएको बताउनुभयो ।
उहाँले मदिरा पसलले सजिलै अनुमति पाउने तर भक्तपुर नगरपालिकाबाट स्थापना र सञ्चालन हुने ख्वप विश्वविद्यालयको विधेयक सचिवालयमा दर्ता भएको ६ महिनापछि पनि संसदको बैठकमा नआएको प्रश्न राख्दै यसअघिका शिक्षामन्त्रीहरूलाई शिक्षाको
महत्वबारे जानकारी नभए पनि वर्तमान शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई जानकारी हुने र विधेयक छिटोभन्दा छिटो संसद बैठकमा पेश हुने अपेक्षा गर्नुभयो ।
विनियोजन विधेयकका शीर्षकहरूमा असार २४ गतेसम्म छलफल हुने र असार २५ गते सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *